• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ असार १८ शनिबार ०६:२६:००
समाज

कहिले होला परायापनको अन्त्य ?

२०७९ असार १८ शनिबार ०६:२६:००

बाबु नमस्कार’, एकजना दलित समुदायका बुबाले मेरो गैरदलित साथीलाई आदर गर्दै भन्नुभयो । ‘दाइ तिमी सन्चै छौ ?’, मेरो साथीले जवाफ फर्कायो । म अकमक्क परेँ । म र मेरो साथी त्यस वेला कक्षा ८ मा पढ्थ्यौँ । कम्तीमा ४० वर्षको फरक भएका ती दुईजना व्यक्तिबीचको संवाद हो यो ।


सामान्यतया नेपाली समाजमा कम उमेरको व्यक्तिले बढी उमेरको व्यक्तिलाई आदर गर्ने चलन छ । तर, यो घटनामा कम उमेर भएको मेरो साथीले ती बुबालाई तिमी भनेर सम्बोधन गर्‍यो । ती बुबाले मेरो साथीलाई तपाईं भनेर नमस्कार गरे । मैले पछि बुझँे, त्यो संवाद र सम्बोधनको पृष्ठभूमिमा जात–व्यवस्थाले काम गरेको रहेछ । 


मेरो अपेक्षाविपरीत सहरमा पनि मैले जातीय विभेदको सामाना गर्नुपर्‍यो । मलाई लाग्थ्यो, सहरमा बस्ने मानिस शिक्षित हुन्छन् र उनीहरूले जातका आधारमा विभेद गर्दैनन् । तर, मेरो विश्वासले काम गरेन । एसएलसीपछि २०५५ सालतिर उच्च शिक्षाका लागि बुटवलमा बस्न थालेँ । त्यहाँ मेरो जात थाहा पाएपछि घरबेटीले कोठा छाड भन्यो । यो सहरमा घर नहुने प्रायः सबै दलित समुदायका व्यक्तिको नियति मेरो जस्तै थियो । दलितहरूलाई सहरमा पनि विभेदबाट बच्ने छुट थिएन र छैन ।


गाउँ होस् वा सहर सबैतिर दलित भएकै कारण जातीय विभेद र अपमानको भोगाइले मलाई विद्रोही बनायो । म जातीय विभेदबाट मुक्ति पाउनका लागि सधैँ विकल्पको खोजीमा रहन्थेँ । पढ्दै जाने क्रममा मेरा थुप्रै साथीसँग भेट भयो ।म एक दिन साथीहरूसँग चर्चमा गएँ, जहाँ मलाई पहिलोपटक आत्मसम्मान मिलेको अनुभव भयो । त्यहाँ म नयाँ भएकाले स्वागतसँगै परिचयको कार्यक्रम गरियो । परिचय लिने–दिने क्रममा मैले आफ्नो जात लुकाइनँ । त्यहाँ गैरदलित समुदायका व्यक्ति पनि थिए । तर, त्यहाँ न कुनै भेदभाव थियो, न उँचनिचको भावना नै । 


त्यो चर्चमा मैले अन्दाजी ५० वर्षका एकजना व्यक्तिलाई भेटेँ । उनी दलित समुदायका थिए । तर, सबैले उनलाई ‘जय मसिह’ भन्दै हात जोडेर आदर गर्थे । एकछिनपछि उनले प्रवचन दिए । उनलाई कसैले दलित भनेर भेदभाव गरेनन् र उनको प्रवचन सुन्नबाट इन्कार पनि गरेनन् । 


मेरो मात्र अनुभव होइन यो । यसरी न्याय र आत्मसम्मानका लागि धेरै दलित तथा सीमान्तकृत समुदायका व्यक्ति इसाई धर्म अँगालिरहेका छन् । जातीय विभेदका कारण धर्म, संस्कृति, शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा पछाडि पारिएका दलित समुदायले इसाई धर्ममा सम्मानको अनुभूति गर्न पाउँछन् । यसको मतलव दलित समुदायबाट धर्म परिवर्तन गरी इसाई हुँदैमा दलित समुदायले जातीय विभेदबाट छुट्कारा पाएका छन् भन्ने होइन । यही समाजमा नै बस्ने भएकाले उनीहरू पनि इसाई समाजबाट बाहिर निस्किएपछि अरू दलितसरह नै विभेद भोग्न बाध्य छन् । उनीहरूले कम्तीमा धार्मिक स्थलमा प्रवेशबाट वञ्चित हुनुपर्दैन र इसाई धर्मावलम्बीहरूले दलित भनेर उनीहरूको घरमा प्रार्थना गर्न आउन इन्कार गर्दैनन् । 

कतै पनि हिन्दूधर्मले दलितलाई हेलाहोचो गरेर पढाउने पाठ्यसामग्रीबारे आवाज उठाइँदैन


तर हिन्दू धर्मावलम्बी हुँदासम्म मलाई र मेरो समुदायलाई हिन्दू समाजमा न सम्मान मिल्थ्यो, न त भगवान्को घरमा शरण । हामीलाई गाउँको मन्दिरमा प्रवेश गर्न मात्र होइन, टीका लगाइदिनसम्म पनि इन्कार गरिन्थ्यो । धेरैपटक पातमा टीका थापेर लगाउन बाध्य हुनुपरेको छ । आफ्नै गाउँमा मन्दिर छोएको वा प्रवेश गर्ने प्रयास गरेको भनेर धेरैपटक हिंसा भोग्नुपरेको छ । ०५६÷५७ सालतिर अर्धाखाँचीको वाङ्ला गाविसको देउराली डाँडा भन्ने गाउँमा मन्दिर प्रवेश गर्ने प्रयासमा मेरै नातेदारहरू मरणासन्न हुने गरी कुटपिटमा परेर कैयौँ दिन अस्पतालमा भर्ना हुनुपरेको घटनाले अहिले पनि झस्काउँछ । सायद उनीहरू इसाई भएको भए आफूले आस्था राखेको धार्मिक स्थलमा प्रवेश गर्दा शारीरिक रूपमा अंगभंग हुनुपर्ने त थिएन ।


कतिपय हिन्दूधर्मका अगुवाको तर्क छ, हिन्दुधर्मका कुनै धर्म ग्रन्थमा छुवाछुत तथा भेदभावको उल्लेख नगरिएको हुनाले हिन्दूधर्मका कारण जातीय विभेद भयो भनेर भन्न मिल्दैन । तर, एक सामान्य दलित व्यक्तिका लागि हिन्दूधर्म भनेको मन्दिर पनि हो, जहाँ उसले सहजै प्रवेश पाउदैन । हिन्दूधर्म भनेको उसले प्रवेश गर्न नपाउने मन्दिरमा पूजा गर्ने पुजारीको विभेदजन्य व्यवहार हो । सबै कुराहरू लिखित मात्र हुँदैनन् । धर्ममा त झन् आस्थाका आधारमा बढी नियमन हुने हुनाले यसमा सबै कुरा लिखित हुँदैन । मान्दै आएका परम्परा र संस्कारले पनि धर्म बनाएका हुन्छन् । त्यसकारण हिन्दूधर्म ग्रन्थमा विभेद छैन भनेर कुनै पनि अगुवाहरूले उम्कन मिल्दैन । 


धर्मग्रन्थमा लेखिए पनि नलेखिए पनि अहिले पनि दलित समुदाय हिन्दू धर्मावलम्बीबाट बढी जातीय विभेदमा परिरहेका छन् । हिन्दूधर्ममा दलित समुदायलाई राम्रोसँग धर्मको अनुयायी बन्न पनि छुट छैन । दलितको श्रम र स्रोतबाट बनेको मन्दिरमा नै उनीहरू प्रवेश गरेर पूजाआजा गर्न पाउँदैनन् । दलितको घरमा ब्रतबन्ध आदि हिन्दूधर्मका मूल कर्महरू गराउन हिन्दू पण्डित आउन पनि मान्दैनन् । हिन्दूधर्ममा दलित समुदायलाई सबै विधि पु¥याएर धर्मकर्म गर्ने सुविधा पनि छैन । 

दलितको श्रम र स्रोतबाट बनेको मन्दिरमा नै उनीहरू प्रवेश गरी पूजाआजा गर्न पाउँदैनन् । दलितको घरमा ब्रतबन्ध आदि हिन्दूधर्मका मूल कर्म गराउन हिन्दू पण्डित आउन पनि मान्दैनन् । हिन्दूधर्ममा दलित समुदायलाई सबै विधि पुर्‍याएर धर्मकर्म गर्ने सुविधा पनि छैन ।


तर आज आएर धर्म परिवर्तनको दोष भने धर्म परिवर्तन गर्ने व्यक्तिलाई लगाइन्छ । विशेषतः सीमान्तकृत र बहिष्कृत समुदायलाई लाञ्छना लगाउनका लागि धर्म परिवर्तनलाई दोष दिने र उल्टै उनीहरूलाई सजाय दिने काम भइरहेको छ । उनीहरूले किन धर्म परिवर्तन गरे भनेर कसैले बुझ्ने प्रयास पनि गर्दैन । जातीय विभेद र जातीय हिंसाजस्ता समस्या आज पनि ज्युँकात्युँ राखेर विभेद र अन्यायबाट भागिरहेको कमजोर समुदायलाई धर्म परिवर्तन गरेको भनेर अनगिन्ती लाञ्छना लगाउने काम हुन्छ । विशेष गरेर उनीहरूलाई डलरको लोभमा परेर धर्म परिवर्तन गरेको आरोप लगाउने गरिन्छ । यद्यपि धर्म परिवर्तन गरेर कति दलित समुदायको आर्थिक उन्नति भयो भन्ने तथ्यांक भने कसैले पनि दिन सक्दैन । विनातथ्य दलित तथा सीमान्तकृत समुदायलाई लाञ्छना लगाउने काम मात्र गरिन्छ ।

 
दलित समुदायका बालबालिकाहरू जातकै कारणले गुरुकुल जस्ता राज्यको पूर्ण अनुदानमा चल्ने विद्यालयबाट शिक्षा लिनबाट वञ्चित हुन्छन् । हालै ललितपुरको शंखमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण चारजना बालकलाई पढाइबाट वञ्चित गरेको छ । उनीहरूलाई भर्ना लिइसकेपछि पनि जात थाहा पाएर विद्यालयबाट निष्कासन गरिन्छ । यस विषयमा कुनैपनि गैरदलित सांसदले संसद्मा आवाज उठाउँदैनन् । तर, एउटा बोर्डिङ स्कुलले ‘क्ष बाट क्षेत्री’ र ‘ऋ बाट ऋषी’ भनेर पढाउँदै आएको देशमा धर्म निरपेक्षतापश्चात् ‘ई बाट इसाई’ भनेर पढायो भनेर धर्मनिरपेक्ष देशको संसद्मा हल्लाखल्ला गरिन्छ । ती एकजनाको संसद्मा राखेको भनाइलाई भाइरल बनाउन पढेलेखेका शिक्षित समुदाय आफ्नो सबै काम छाडेर लाग्छन् । तर, कतै पनि हिन्दूधर्मले दलितलाई हेलाहोचो गरेर पढाउने पाठ्यसामग्रीबारे आवाज उठाइँदैनन् ।


नेपालमा धर्म परिवर्तनमा वृद्धि आयो भनेर रोइलो गरेर बस्नुभन्दा आफूभित्रको परायापनको अन्त्य र सबै जातजातिका व्यक्तिलाई समान व्यवहार गर्ने संस्कारको विकास गर्न आवश्यक छ । सबैलाई एउटै धार्मिक आस्थाभित्र बस्न सक्ने वातावरण सिर्जना गर्न सक्यो भने अवश्य पनि कसैले त्यो धर्म छाडेर अर्को धर्ममा जाने छैनन् । भीम रावलजस्ता राजनीतिज्ञले ‘ई बाट इसाई’ पढाएको भनेर संसद्मा हल्लाखल्ला गर्नुभन्दा पहिला नवराजहरूलाई भेरीमा मारेर फाल्नेका विरुद्ध आवाज उठाउन सक्नुपर्छ र दलित छात्रहरूलाई विद्यालयबाट निकाल्ने प्राचार्यविरुद्ध आवाज उठाउन सक्नुपर्छ । 


यदि नेपालमा धर्म परिवतर्नमा कसैले कमी ल्याउने काम गर्न चाहन्छ भने सबैभन्दा पहिले समाजमा व्याप्त जातीय विभेदलगायत सबै प्रकारका विभेदको अन्त्य जरुरी छ । आफ्नो धर्मको संरक्षण र संवद्र्धन गर्नु भनेको त्यहाँ भएका सबै संस्कारको विनाकुनै आलोचना स्वीकार गर्नु होइन, कमी–कमजोरीलाई सुधार्नु पनि हो । हिन्दूधर्मको संरक्षण र संवद्र्धनका लागि पनि हिन्दूधर्ममा लागेको कलंकलाई मेटाउन जरुरी छ । यो कलंक मेटाउन पनि समाजबाट जातीय विभेदलाई निमिट्यान्न पार्न जरुरी छ ।