• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विराट अनुपम
२०७९ असार १८ शनिबार ०६:४४:००
साहित्य

सगरमाथा सर्भेयरको ‘इन्साइड स्टोरी’

२०७९ असार १८ शनिबार ०६:४४:००
विराट अनुपम

नेपालभित्र सबैभन्दा लोकप्रिय कर्मचारी कुलमान घिसिङ भएजस्तै विश्वमा सबैभन्दा धेरै चिनिएका नेपाली कर्मचारी हुन् खिमलाल गौतम । नेपालको नापी विभागको सर्भेयरको रूपमा गौतम नेतृत्वको टोलीले २०७६ जेठ ८ गते सगरमाथा चुचुरोमा पुगेर ‘समिट अब्जर्भेसन’ गरेको थियो । झन्डै सवा घन्टा भएको समिट अब्जर्भेसनले नेपालको सगरमाथा नापी इतिहास मात्रै होइन, विश्वको सर्भेयरको नाममा समेत रेकर्ड बनेको थियो । बेलायतका सर्भेयर जर्ज एभरेस्टको नाममा नामकरण भएको सगरमाथाको पहिलो आरोहण प्रयास तिब्बततर्फबाट सन् १९२१ मा हुँदाका नेतृत्वकर्ता क्यानडाका सर्भेयर सर इडवार्ड ओलिभर नै थिए । सगरमाथाको चुचुरोमा पुगेर समिट अब्जर्भेसन गर्ने विश्वकै प्रथम सर्भेयर हुन् खिमलाल गौतम । त्यही कारण उनको चर्चा विश्वभर भएको छ । 

 

भारतीय, चिनियाँ, युरोपेलीदेखि अमेरिकी मिडियाहरूमा उनी छाएका छन् । उनलाई देश–विदेशका नापनक्साको कार्यक्रममा निम्तो तारकातार आइरहेको छ । यत्ति मात्रै होइन, उनलाई नापी क्षेत्रकै महत्वपूर्ण काम गरेकोमा सन् २०२१ मा ‘जियोस्पासियल वल्र्ड’को सूचीमा ‘संसारका ५० उदाउँदा ताराहरू’को सूचीमा पनि उनी परे । त्यो उनको मात्रै होइन, नेपाली सर्भेयरहरूकै इतिहासमा पहिलो सूचीकरण हो ।

 

नेपाली कर्मचारीले नेपाल भ्रमण वर्ष २०११ मनाउने क्रममा २०६८ जेठ ४ गते गरेको प्रथम आरोहण दलमा बसेर सगरमाथा चुचुरोमा पुग्ने नौ कर्मचारीमा प्रथम कर्मचारी गौतम नै थिए । खिमलाल गौतम सगरमाथा दुईपटकका आरोही मात्रै होइनन्, उनले विभिन्न देशी–विदेशी जर्नलहरूमा सगरमाथाबारे आफ्ना खोजमूलक लेखरचना लेखेका छन् । नेपाली पत्रपत्रिका तथा अनलाइनहरूमै पनि उनका सगरमाथाबारे लेखिएका खोजमूलक लेखहरू आइरहेकै हुन्छन् । उही सर्भेयर गौतमले ल्याएको ताजा किताब हो ‘पन्धौँ चुली’ ।


यो किताबलाई गौतमले आफ्नो आरोहणको अनुभव, अनुभूति, सगरमाथा मापनको नेपाली तथा विश्वकथाहरू मात्रै राखेका छन् । सगरमाथा उत्पत्तिदेखि नापनका इतिहास र त्यसका पूर्वीय शास्त्रीयदेखि आधुनिक प्रविधिका एक–एक रोचक कुरा उनले ३५१ पृष्ठको पुस्तकमा अटाएका छन् । ‘पन्धौँ चुली’लाई तीन अध्यायनमा विभाजन गरिएको छ । यी अध्यायलाई चलचित्र मान्ने हो भने पहिलो अध्याय रोमान्सको अध्याय हो । निजामती कर्मचारीहरूको प्रथम सगरमाथा आरोहणको छनोटमा वैकल्पिकमा परेर अन्ततः अर्का एक छनोट भएका सदस्यले सहभागी नभएपछि छनोट भएका थिए गौतम । त्यही वेला उनको प्रेम हेम हुमागाईंसँग टुसाएको थियो । सगरमाथा जाँदा नापी विभागका सुब्बा भएर गएका थिए उनी । आउँदा अधिकृत भए । सगरमाथा आरोहण सकिएपछि आएको परीक्षाको नतिजामा उनी सफल हुन्छन् । आरोहण गरेर आएपछि उनको विवाह हुन्छ । 


दोस्रो अध्यायलाई थ्रिल र ट्राजेडी मान्न सकिन्छ । चुचुरोमा जाँदा चैत २७ गते बालुवाटारमा प्रधानमन्त्री ओलीले बिदा गरेका थिए । आधार शिविरबाट उकालो लाग्नुअगाडि वैशाख २८ गते भूमिसुधारमन्त्री पद्मा अर्याल नेतृत्वको टोली आएर बिदाइ गरेको थियो । नेपालको तर्फबाट भएको प्रथम सगरमाथा नापनको काममा खटिएकाले जान्नेबुझ्नेहरू सबैमाझ गौतमको टोली सेलिब्रेटी भइसकेका थिए । उनीहरूसँग साउथ कोलमा समेत जापानी आरोही महिलाले आफ्ना गाइड आशिष गुरुङलाई भनसुन गर्न लाएर तस्बिर लिएकी थिइन् । यी कुरा सुन्दा यस्तो भिभिआइपी आरोहणजस्तो देखिन्छ । यसभित्रका दुःखका कथा उस्तै थिए । 


साउथ कोलसम्म पुग्दा १५ अक्सिजन सिलिन्डर हुनुपर्नेमा नौ मात्रै हुन्छ । व्यवस्थापन कम्पनीका सदस्यहरूले ठाउँ–ठाउँमा असहयोग गछ्र्रन् । व्यवस्थापन कम्पनी पिक प्रमोसन प्रालीले थर्मसमा राखेको पानी आइस हुन्छ । अर्थात् सामग्रीमा त्यस्तो स्तरको खेलाँची भएको देखिन्छ । यत्ति हुँदाहुँदै गौतम नेतृत्वको टोली सगरमाथा चुचुरोमा पुग्छ । साउथ कोलबाट मध्यदिनमा जोकोही हिँड्दैनन् । तर, सगरमाथाको ट्राफिक जाम छल्न र समिट अब्जर्भेसन गर्न यस्तो जोखिम लिनुपर्ने अवस्था आएको थियो ।

खिमलाल गौतम सगरमाथा दुईपटकका आरोही मात्रै होइनन्, उनले विभिन्न देशी–विदेशी जर्नलहरूमा सगरमाथाबारे आफ्ना खोजमूलक लेखरचनाहरू लेखेका छन् । नेपाली पत्रपत्रिका तथा अनलाइनहरूमै पनि उनका सगरमाथाबारे लेखिएका खोजमूलक लेखहरू आइरहेकै हुन्छन् ।


सगरमाथाको ट्राफिक जामको तस्बिर गौतमहरूले समिट अब्जर्भेसन गरेर ओर्लिएकै दिन अर्थात् २०१९ मे २२ मा लिएका थिए । निर्मल पुर्जाको भाइरल तस्बिर सार्वजनिक भएकै दौरानमा सहभागी आरोही थिए गौतमहरू । त्यो दिन मात्रै २२३ आरोहीले सगरमाथा चुचुरोमा पुगेको पर्यटन विभागको तथ्यांक छ । अझ बाटोमा आउँदा गौतमको दुई खुट्टाको बुढीऔँला हिँउले खाए । उनी साउथ कोलमा बेहोस भएर ढल्छन् । नापी विभागका कर्मचारी रविन कार्की साउथ समिटमा लर्बराएर लड्छन् । दोस्रो क्याम्पबाट उनीहरूको हेलिकोप्टरबाट उद्धार गरेर काठमाडांै ल्याउनुप¥यो । सबैभन्दा ट्र्याजेडी चाहिँ सगरमाथाबाट आएपछि श्रीमतीको पेटमा हुर्केर जन्मेको पहिलो सन्तान आशुतोषको भारतदेखि नेपालका विभिन्न अस्पतालमा उपाचार हुँदाहुँदै असम्भव भएर मृत्यु हुन्छ । पहिलोपटक सगरमाथा आरोहण गर्दा सुन्दर मात्रै नजिता आएका थिए । दोस्रोमा केही वियोगान्त कथाले छपक्क छोप्यो । 


तेस्रो अध्यायलाई ‘बिहाइन्ड द सिन’ भन्न सकिन्छ । यहाँ सगरमाथाको उत्पत्ति, तिब्बत तथा नेपाल दुवैतर्फबाट भएका आरोहण कथा, नेपालबाट रचिएको आरोहणको सफल कथादेखि सगरमाथा नापजाँचका विभिन्न देशहरूले गरेका कुराहरू समेटिएका छन् । बढी प्राविधिक र ऐतिहासिक पक्ष भएकाले पहिलो र दोस्रो अध्यायमा जस्तो भावनात्मक कुरा कम छन् । तर, ठाउँ–ठाउँमा नेपाल र नेपाली जोडेर उनले यो अध्यायलाई रोचक बनाएका छन् । जस्तै उनले सन् १९२१ मा भएको तिब्बततर्फको आरोहणमा सहभागी भएका भारतीय सर्वे विभागमा काम गर्ने नेपाली नागरिक सर्भेयर लाल वीर सिंह थापाको कुरा जोडेका छन् । १९२२ को दोस्रो आरोहण प्रयासमा उनले नेपालकै आरोही तेजवीर बुढाको कथा जोडेका छन् । 


पुस्तकमा सगरमाथा नापनको कूटनीतिका कुरादेखि कर्मचारीतन्त्रका असहयोगका रोचक किस्सा पनि छन् । जस्तै– पहिलोपटक सगरमाथा आरोहण गरेर निजामती कर्मचारी आएपछि आर्थिक वर्ष ०६९/७० मा वार्षिक कार्यक्रममा सगरमाथा मापनको कुरा गर्दा अर्थसचिव कृष्णहरि बास्कोटाले असहयोग गरेका कुरा छन् । २०६८ मै नापी विभागका तत्कालीन उपमहानिर्देशक कृष्णराज बिसीले सगरमाथा नाप्न एक करोड बजेट माग्दासमेत नदिइएको कुरा गौतमले खुलाएका छन् ।

 

यस्तै २०७६ जेठ ९ गते सगरमाथाको समिट अब्जर्भेसन गरेर नापी विभागको टोली काठमाडांै आएको पाँच दिनपछि जेठ १४ मा चिनियाँ सर्वे विभागका महानिर्देशक नेतृत्वको नौजनाको टोलीको नेपाल आगमन भएपछिको संयुक्त उचाइ घोषणाको प्रस्तावदेखि चिनियाँ रास्ट्रपति सी चिनफिङको २०७६ असोज २५ र २६ गतेको नेपालको राजकीय भ्रमणको दौरानमा दुवै देश मिलेर संयुक्त उचाइ मापन गरेको कुरा गौतमले खुलाएका छन् । नेपाल र चीनले संयुक्त रूपमा २०७७ मंसिर २३ गते सगरमाथाको उचाइ ८८४८.८६ मिटर भएको सार्वजनिक गरेका थिए । सगरमाथालाई सीमा मानेका दुई देशले संयुक्त रूपमा सार्वजनिक गरेको सगरमाथाको उचाइ त्यही पहिलो हो । यसले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छ । 


पुस्तकमा केही देखिने कमजोरी भने छन् । जस्तै– नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामो शेर्पाको घर गौतमले चौंरीखर्क भनेका छन् । उनको घर चौंरीखर्च नभएर सुर्के हो । कतै सगरमाथा पूरा नेपालको हो र कतै चुचुरो आधा–आधा भएको भनेका छन् । यस्तै पृष्ठ ३२६ देखि एकैपटक पृष्ठ ३४३ आउँछ । ३४८ देखि ३३३ आउँछ भने ३३४ पछि ३५१ आउँछ । यो प्राविधिक समस्या हो । 


सगरमाथाको नियात्रा, नापनको कथादेखि सगरमाथाको इतिहास समेटिएको यो किताबले नेपाली सगरमाथा साहित्यलाई बलियो बनाएको छ । सगरमाथा पहिलोपटक चुम्ने दुईजनामा एकजना नेपाली तेन्जिङ नोर्गेको ‘टाइगर अफ द स्नोज्’ किताबसमेत नेपालीमा आएको छैन । नेपालका पछिल्ला विश्वविख्यात आरोही निर्मल पुर्जाको पुस्तक ‘बियोन्ड पोसिबल’ नेपालीमा आएकै छैन । तर, गौतमले आफ्नो पुस्तक नेपालीमा ल्याएर सगरमाथाको खुराक नेपालीमा पढ्न चाहने पाठकलाई ठूलो गुण लगाएका छन् ।