• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सुजाता तामाङ
२०७९ असार १८ शनिबार ०६:५१:००
समाज

महिला किसान : आलीदेखि थालीसम्म

२०७९ असार १८ शनिबार ०६:५१:००
सुजाता तामाङ

नेपालको परम्परागत खेतीपाती मुख्यतः पारिवारिक खेती प्रणाली हो । यस्तो खेती प्रणालीमा परिवारका सदस्यको कामको बाँडफाँड पारिवारिक संरचना र उनीहरूको सामाजिक तथा वर्गीय हैसियत, समाजमा स्थापति सामाजिक मान्यता र जातीय संस्कार आदि कुराले निर्धारण गर्छ । यी सबै आयामका केही अपवादबाहेक अधिकांश साना तथा श्रमिक किसान परिवारका महिलाले घरबार र खेतीपाती धान्ने र पुरुषहरू जीवन निर्वाहका लागि अन्य उपायको खोजी गर्ने कुनै न कुनै हिसाबले सबै समुदायको परम्परा हो । 


यो अहिले पनि यस्तै छ । खेतीपातीमा रातोदिन खटिरहने यस्ता महिला किसानको घरपरिवारका पुरुषसरह पसेका वा बिदेसिएका छन् । यी महिलाले घरपरिवार तथा समाजमा थपिएका तथा फेरिएका भूमिकासमेत पूरा गर्नुपर्छ । यसले महिलाहरूको कामको बोझ बढेको छ । आफ्ना सन्तानको भविष्य सुरक्षित गराउन र परिवारको सुखलाई मुख्य ध्येय बनाएका यी महिलाहरूले सबै बोझ उठाइरहेका छन् । कतिसम्म भने भोलि त दिन फेरिएला नि भन्दै आफूले दुःख गरेर घर धान्न सके अरू कमाइले आफ्ना सन्तानका लागि सुविधायुक्त बसाइ होला र बुढेसकालमै रमाउला भन्ने आस गर्दै अन्तहनि सम्झौतामा रमाइरहेका भेटिन्छन् ।


पारिवारिक, सामाजिक र राष्ट्रिय तहमा नै वैदेशिक आम्दानीमाथिको निर्भरता कति ठीक कुरा हो भन्ने छुट्टै बहसको विषय होला, तर यी महिलाको आजको अवस्थालाई मात्र हे¥यो भने उनीहरू झन् कठिन जीवन बाँच्न बाध्य छन् । सबैलाई खाना खुवाउने जोहो गर्न आलीदेखि थालीसम्म रातोदिन खटिने महिला किसानहरूको पहिचान र योगदानको कदर गरिँदैन । आलीदेखि थालीसम्म खटिने भनिए पनि बिउ जोगाउनेमा, श्रम गर्नेमा, थोरै हदसम्म प्रशोधन गर्नेमा, भण्डारण गर्नेमा महिलाहरूको योगदान छ । व्यापार, व्यवसायीकरणको प्रक्रियामा भने महिलाहरू बिरलै सहभागी हुन पाउँछन् । खासगरी, आर्थिक कारोबारको क्षेत्रमा उनीहरू पछि पर्छन् । घरायसी र भान्साको बन्दोबस्त गर्न किनमेल गर्ने र भान्सा हुँदै थालीसम्म पु¥याउने काम भने महिलाको पेवाजस्तै हुन्छ । यसरी खेतबारीमा रातोदिन खटिने महिलाको पहिचान मात्र होइन, उनीहरूको हजारौँ वर्षदेखिको प्रकृतिवादी विवेक र ज्ञानसमेत अपहेलित र उपेक्षित छ । आधुनिक खेतीपातीको विकासक्रममा यी दुवै कुरा किन र कसरी छेउ पर्दै गए ? यस विषयले भविष्यकोखाना र खेतीपातीमा गम्भीर असर
पर्ने देखिन्छ । 

आर्थिक उपार्जन हुनुलाई मात्र काम भनिने समाजमा महिला किसानले गर्ने काम बेतलबी र नगदमा नगनिने खालका हुन्छन् । त्यसैले महिलाको कामलाई महत्वका साथ हेरिँदैन । उनीहरूको खेतीपातीमाथिको श्रम आर्थिक उपार्जनसँग जोडिएको हुँदैन । तसर्थ उनीहरू सित्तैका श्रमिक मात्रमा सीमित छन् ।


महिलाहरूको पहिचानको उपेक्षा गरिन्छ । सँगसँगै उत्पादनको मुख्य स्रोत जमिनमाथिको पहुँचबाट सुरुबाटै वञ्चित गरिन्छ । महिलाको जमिनमाथिको स्वामित्व नभएपछि यससँग जोडिएर आउने उत्पादन सामग्री तथा स्रोतहरूमा समेत पहुँच हुँदैन । खेतीपाती र आयआर्जनका सबै आयाममा महिलाको अवस्था योभन्दा भिन्न छैन । 


महिलालाई ‘कमजोर’, ‘विचरा’, र ‘पुरुष बलियो बहादुर’को मानक बनाएको समाजले कृषिकर्मलाई यसैगरी वर्गीकरण गरेको छ । तसर्थ घरदेखि, खेतबारी र समाजसम्म दिदीबहिनीको उपस्थितिको त्यस्तै चित्र हाम्रो सामु आउँछ । अहिलेको समाज व्यवस्थामा कुनै न कुनै स्रोत, सम्पत्ति, सामाजिक, आर्थिक, प्राकृतिक वा राजनीतिक पहुँचजस्ता पुँजी नभएका मानिस सबैभन्दा किनारामा छन् । 


महिलाको सम्पत्ति भनेको उनीहरूको विवेक, रैथाने ज्ञान र अनुभव हो । महिलासँग भएका यस्ता ज्ञानलाई बढावा दिने, विस्तार गर्ने र एकअर्कामा साटासाट गर्ने, सिक्ने–सिकाउने वातावरण छैन । महिलाहरू सधैँको चटारोले गर्दा आफ्नो जीवनोपयोगी नयाँ ज्ञान, सीप र प्रविधि सिक्ने अवसरबाट वञ्चित छन् । आफ्नो आत्मबल, क्षमता र अवसर बढाउने मौकासमेत उनीहरूले पाइरहेका छैनन् । त्यसमाथि महिलाको भूमिकाको कदर नहुनुमा कामको प्रकृतिमा दिइएको सामाजिक मान्यता हो । मुख्यतः महिला किसानहरू मसिनो, समय लाग्ने तर महत्वपूर्ण काम गर्छन् । जस्तै बिउ जोगाउनेदेखि हुर्काउने, फलाउने र भण्डारण गर्नेजस्ता महत्वपूर्ण काममा महिलाहरू संलग्न छन् ।


आर्थिक उपार्जन हुनुलाई मात्र काम भनिने समाजमा महिला किसानले गर्ने काम बेतलबी र नगदमा नगनिने खालका हुन्छन् । त्यसैले महिलाको कामलाई महत्वका साथ हेरिँदैन । उनीहरूको खेतीपातीमाथिको श्रम आर्थिक उपार्जनसँग जोडिएको हुँदैन । तसर्थ उनीहरू सित्तैको श्रमिक मात्रमा सीमित छन् । महिलाहरू नै संलग्न उत्पादनहरूको बिक्री वितरण र बजारीकरण र त्यसबाट आउने आम्दानीसमेत महिलाहरूको पहुँच र नियन्त्रणमा बिरलै हुन्छ ।


यी सबैले किसान महिलाहरू समाजमा पुरुष सदस्यमाथि निर्भर रहेका ‘निरीह’, ‘अबला’ र ‘कठै’को दर्जामा दरिन्छन् । यसो भनिरहँदा सबै तहका महिला किसानको अवस्था र सवाल समान छैन । तथापि खेतीपातीमा संलग्न महिलाहरू भन्नेबित्तिकै उनीहरूको कडा मिहिनेत र श्रमको मात्र चित्र आउँछ, तर उत्पादक, उद्यमी, व्यवसायी या मुख्य व्यक्तिको रूपमा यिनको हैसियत हुनुपर्ने कुराको चर्चा कम हुन्छ । थोरै संख्यामा भएकाहरूलाई पनि हामीले कति प्रोत्साहन र सहज वातावरण बनाएका छौँ भन्ने कुरा पनि अर्को महत्वपूर्ण पक्ष हो । 

घरायसी र भान्साको बन्दोबस्त गर्न किनमेल गर्ने र भान्सा हुँदै थालीसम्म पु¥याउने काम भने महिलाको पेवाजस्तै हुन्छ । यसरी खेतबारीमा रातदिन खटिने महिलाको पहिचान मात्र होइन, उनीहरूको हजारौँ वर्षदेखिको प्रकृतिवादी विवेक र ज्ञानसमेत अपहेलित र उपेक्षित छ ।


हाम्रो सामाजिक सांस्कृतिक अभ्यासका अलावा आधुनिक खेतीपातीको विकासले पनि महिला किसानलाई अभैm सीमान्तकृत बनाउन बल पुर्‍याएको छ । पुरुषकेन्द्रित पुँजीवादी अर्थतन्त्रको विकाससँगै खेतीपातीमा आधुनिकीकरणको लहर चल्यो । खासगरी, खेतीपातीलाई आधाुनिक बनाउने भन्दै खेतीमा व्यवसायीकरण, यान्त्रीकरण, बजार तथा व्यापारकेन्द्रित खेतीलाई बढावा दिन थालियो । यी सबै कुरा पुरुषकेन्द्रित भएकाले उनीहरूकै भूमिका बढी हुने नै भयो । पश्चिमी मुलुक तथा भारतबाट सुरु भएर नेपालमा पनि यसको असर व्याप्त बन्दै गयो । यसले महिलाको खेतीमाथिको रैथाने र परम्परागत ज्ञानहरू र उनीहरूको भूमिकालाई सीमान्तमा पुर्‍यायो । यो सबैले महिला र पुरुषको ज्ञान, सीप र अभ्यासको भिन्नताको खाडल बढ्दै जाँदा अवसरको पहुँच पुरुषको बराबरीमा जान सक्ने अवस्था रहेन । 


हाम्रो सामाजिक सांस्कृतिक अभ्यासहरू र बजारकेन्द्रित खेतीपातीले महिला किसानलाई मात्रै सीमान्तमा पार्दै गएको छैन, रसायन विषादीरहित स्वच्छ  खेतीपातीबाट आउने स्वस्थ खाना पनि सीमान्तमा पार्दै गएको छ । हाम्रो परम्परामा र धेरै हदसम्म अहिले पनि भइरहेको खेतीपातीको अभ्यास हेर्‍यो भने साना किसानहरू विशेषतः महिला किसान केन्द्रमा रहेको खेतीपाती प्रणाली छ । जुन विविध र मिश्रित हुन्छ, जसले स्थानीय खाद्य र पोषण सुरक्षा मात्र गर्दैन, प्राकृतिक स्रोतहरूको संरक्षण र संवद्र्धन सुनिश्चित गर्छ । सबैभन्दा महत्वपूर्ण कुरा यसले माटो र प्रकृतिलाई जीवन्त अस्तित्व ठान्छ । प्राकृतिक स्रोतबीच एकअर्काको सहअस्तित्वलाई सहयोग पुर्‍याउँछ । साथै यो समुदायभित्रैको विविधतालाई पनि बढावा दिन्छ । 


यस्तो खेती प्रणाली जोगाउने र उन्नत बनाउने जिम्मेवारी कसले लिन्छ ? यो अहिलेको मूल प्रश्न हो । यो कुरा हाम्रो खाना र खेतीपाती कस्तो हुनुपर्छ भन्ने बहससँगै निधो हुने कुरा हो । हाम्रो जस्तो भौगोलिक हिसाबले सीमित खेतीयोग्य जमिन, वातावरणीय हिसाबले विविधतायुक्त र जोखिम रहेको तर सीमित संस्थागत क्षमता र अपर्याप्त प्राविधिक सेवा सुविधाको अवस्थामा खानका लागि र घरबार चलाउन कस्तो खेतीपातीको ढाँचा बनाउने भन्ने कुरा महत्वपूर्ण छ । साना र महिला किसानहरूको बाहुल्य र उनीहरू नै सामाजिक आर्थिक हिसाबले सीमान्तमा रहेको अवस्थासमेत सँगै विचार गर्नुपर्छ । सँगै, पुरुषप्रधान सोच र व्यावहारले बनाएको महिला–पुरुष भेदभावको खाडल पुर्ने हामी सबैको दायित्व हो ।

 

खेतीपातीमा पौरख देखाउने आधा आकाश भनिने महिला किसानहरूकोे योगदानको कदर र पहिचानविना खेतीपाती अगाडि बढ्ला ? महिला किसानको ज्ञान, सीप र अनुभवका आधारमा सिक्ने सिकाउने प्रकृतिवादी विवेकलाई आत्मसात् नगरेसम्म किसानी र खेतीपाती सुध्रिँदैन । सँगै, पेटभरि र पोषणयुक्त खान पाउने कुराको सुनिश्चितता यी महिला किसानहरूको पहिचान, अधिकारको सुनिश्चितता, उनीहरूको विवेकको कदरसहितको उन्नत खेतीपाती र त्यही खेतीपातीमा आधारित उद्यमशीलता र त्योभन्दा आधारभूत रूपमा महिला या पुरुष किसान बराबर हुन् भन्ने मान्यतामा आधारित व्यवस्था र व्यवहारले मात्र सम्भव छ । 


महिलाहरूको खेतीपातीको विवेक फर्काउने हो भने महिला किसान सशक्त हुने मात्र होइन, खाना र खेतीपाती पनि उन्नत हुँदै जान्छ । उनीहरूको भूमिकाको पहिचान र उनीहरूको आवश्यकताको सम्बोधन परिवारले, समाजले या राज्यले सामाजिक, नीतिगत र व्यावहारिक हिसाबले गर्नु आवश्यक छ ।


महिलालाई सधैँ कुप्रो परेर खेतबारीमै सीमित रहन दिनुपर्छ भन्ने पनि अवश्य होइन । तर, किसानभन्दा पुरुष किसान, खेतीयोग्य जमिनको हिस्सा पनि पुरुष त्यसमाथि अभैm सीमित वर्ग, जाति र क्षेत्रको पुरुषको भन्ने मान्यता छ । यो पर्खाल भत्काउन हामी सबै लाग्नुपर्छ । खेतीपातीमै श्रम गर्ने महिलाहरूको किसानी अधिकार सुरक्षित गर्दै खेतीपातीको अन्य पक्षहरू खासगरी स्रोतमा पहुँच र नियन्त्रण, निर्णय अधिकार, उद्यमशीलता, क्षमता अभिवृद्धिलाई बढावा दिँदै उनीहरूको खेतीपातीको विवेक फर्काउन सकिएन भने नेपालको खेतीपाती अझै  ओरालो लाग्ने र खानाको संकट झनै जटिल हुने निश्चित छ ।