• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
निर्मल अर्याल
२०७९ असार १८ शनिबार ०८:२८:००
संगीत

दिव्य स्मृतिमा दिव्य खालिङ

२०७९ असार १८ शनिबार ०८:२८:००
निर्मल अर्याल

स्वभावैले स्रष्टाहरू बढी स्वप्नशील हुन्छन् । तर, कालान्तरमा अत्यन्त कम स्रष्टाहरूको सपनाले मात्र मूर्त रूप पाउँछ । सांगीतिक क्षेत्रका स्रष्टाहरूको हकमा होनाहार गीतकार–संगीतकार दिव्य खालिङ एक त्यस्ता दुर्लभ पात्र हुन् जसले अथक मिहिनेतका कारण आफ्नो सपनालाई साकार पारे । संगीत मर्मज्ञ अम्बर गुरुङका चेला तथा आफूलाई अर्का विशिष्ट संगीतकर्मी गोपाल योञ्जनका ‘एकलव्य’समेत ठान्ने खालिङको सपना नै आफ्नो गीत–संगीतमा स्वरसम्राट नारायणगोपालको ‘कालजयी’ स्वर भर्नु थियो ।


जब दिव्य खालिङ ‘मेरो गीत–संगीतमा नारायणगोपालले गीत गाउनेछ’ भन्दै झिटीगुन्टा बोकेर दार्जिलिङबाट काठमाडों आए, धेरैले उनलाई गिज्याए । गोपाल योञ्जनसँगको सांगीतिक बिछोड तथा रेडियो नेपालमा गीत नगाउने अडानपछि हक्की स्वभावका नारायणगोपालको सांगीतिक यात्रामा लागेको ‘ब्रेक’लाई तोड्न खालिङ सफल भए । यस अर्थमा नारायणगोपालको सांगीतिक यात्राको दोस्रो इनिङ खालिङसँगको सहकार्यका कारण नै अविस्मरणीय रह्यो । केही संगीतकर्मी त नारायणगोपालको पुनर्जन्मको श्रेय नै खालिङलाई दिन्छन् ।

 

वाद्य संयोजनका उस्ताद खालिङ नारायणगोपालका लागि संगीतको ‘नोटेसन’ बुझ्ने ‘सच्चा साथी’ साबित भए । पश्चिमेली संगीतमा आधारित ‘एक्सपेरिमेन्टल ट्युन’लाई नेपाली संगीतमा अब्बल तरिकाले समायोजन गर्न निपूर्ण थिए खालिङ । खालिङको संगीतमा नारायणगोपालले गाएका सदावहार गीतहरू ‘तिमी जुन रहरले...., तिमीलाई भुल्दा म एक्लो भएछु..., म त लालीगुराँस भएछु...’लगायत यसैको ज्वलन्त उदाहरण हुन् । उम्दा गीतकारसमेत रहेका खालिङको रचना तथा संगीतमा नारायणगोपालले गाएका गीतहरू ‘प्रेयसीका यादहरू...., विपना नभई बाँचिदिने...., मायाको आधारमा......,’लगायत सधैँ चर्चाको शिखरमा छन् ।

 

यी गीतमा सजिएका बृहत् काव्यिक चेतका शब्दहरूको जति प्रशंसा गरे पनि, कम नै हुन्छ । खालिङले संगीत दिएका केही नाटकमा पनि स्वरसम्राट ‘बेजोड’ सुनिए । ‘आघात’, ‘कुहिरोभित्र अल्मलिँदा’लगायतका नाटकमा खालिङले नारायणगोपालको स्वर भरेर सांगीतिक वृत्तमा एक किसिमको ‘हलचल’ नै ल्याइदिए । जानकारहरूका अनुसार दरबारको ‘मोह’मा समेत नपरेका नारायणगोपाल दिव्यको गीत–संगीतमा भने ‘दिव्य’ आनन्द महसुस गर्थे । त्यसैले उमेरले निकै कान्छो भए पनि खालिङ नारायणगोपालको ‘सोम’ (घनिष्ठ मित्र) को सूचीमा थिए । 


नारायणगोपालको अत्यन्त महङ्खवाकांक्षी तथा महङ्खवपूर्ण रेकर्ड ‘ब्लु नोट्स’को संगीत संयोजनको खाका खालिङले नै बुनेका थिए । खालिङले संगीत संयोजन गरेका र नारायणगोपालले गाएका गीतहरू ‘मलाई नसोध कहाँ दुख्छ घाउ......,’ ‘झ¥यो जिन्दगी.....’ कालजयी छन् । भनिन्छ ‘सग्लो’ नारायणगोपाल खालिङको गीत–संगीतमा अझ जीवन्त पाइन्छ । कवि–गीतकार कालीप्रसाद रिजाल भन्छन्, ‘अरूको विरलै प्रशंसा गर्ने नारायणगोपाल खालिङको भने खुलेर तारिफ गर्थे’ रिजाल थप्छन्, ‘शब्दको ध्वनि, स्वरूप र विन्यासअनुरूपको संगीत बनाउन खप्पिस खालिङले नेपाली संगीतलाई स्तरीय बनाउन ठूलो योगदान दिएका छन् ।’

नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रियस्तरको बनाउनेबारेमा पनि नारायणगोपाल र खालिङबीच घन्टौँसम्म घनीभूत वार्ता हुन्थ्यो । नारायणगोपाल र खालिङबीच हुने गीत–संगीतको रोमाञ्चक अभ्यास अहिले पनि झल्झल्ती सम्झिन्छिन् खालिङकी जीवनसाथी ग्रेस ।

 

खालिङले बायाँ हातले हार्मोनियम बजाउँदै नयाँ–नयाँ ट्युनमा गीत सुनाउन थालेपछि नारायणगोपाल ‘सोम’ले ‘खायो खायो’ (एकदम ठीक छ) भन्दै थप ऊर्जा भरिदिन्थे । आफ्नो सपनाको ‘हिरो’ यसरी प्रस्तुत हुँदा खालिङलाई पनि संसार जितेझैँ भान हुन्थ्यो । नारायाणगोपाललाई दार्जिलिङ, सिक्किम लगेर खालिङले धेरै सांगीतिक कार्यक्रमको पनि संयोजन गरे । त्यसो त खालिङको आफ्नै स्वर पनि उच्च कोटीको थियो । त्यसैले पत्नी ग्रेससहित धेरैले उनलाई आफ्ना कालजयी रचनामा आफ्नै सङ्गीत र स्वर भर्न कर गर्थे । उनीहरू सबैलाई खालिङको एकमुष्ठ जवाफ हुन्थ्यो, ‘गीत पनि म आफैँले गाएँ भने नारायण दाइले चाहिँ के गर्ने ?’ तर के खालिङलाई स्मरण गर्दा स्वरसम्राट मात्र जोडिन आउँछन् त ? उनको योगदान नारायाणगोपालको सांगीतिक यात्रालाई अझ उचाइ दिनु मात्र थियो त, बिलकुल थिएन । खालिङपत्नी ग्रेसले भनेझँै उनको सांगीतिक योगदानलाई नारायणगोपालसँग मात्र जोड्न खोज्नु उनको अवमूल्यन गर्नु हो । 


समग्रमा खालिङले आफ्नो सीप र कौशलले नेपाली सांगीतिक क्षेत्रलाई जुन दिव्य मार्गमा डोर्‍याए, त्यसको वस्तुनिष्ठ समीक्षा आजका दिनसम्म हुन नसक्नु विडम्बना नै हो । राष्ट्रकवि माधव घिमिरेले भनेझैँ खालिङमा दुई दिव्य गुण थिए– सही स्वरज्ञान र शीघ्र संगीत रचना । घिमिरेका अनुसार यही जगमा टेकेर अनवरत नेपाली गीत–संगीतको सेवा गरेका खालिङ आधुनिक नेपाली संगीतको दिव्यलोकमा सदा अमर रहनेछन् ।

 

वरिष्ठ गीतकार–संगीतकार दीपक जंगमका अनुसार खालिङको गीत–संगीतको समीक्षा गर्दा नातिकाजी, शिवशंकर, अम्बर गुरुङ, गोपाल योञ्जनहरूकै हाराहारीमा उनलाई राख्न सकिन्छ । गीतकार श्रीपुरुष ढकालकै शब्दमा सहज र सरल शब्दमा गहिरो दर्शन दिन सक्नु एवं मृदु संगीत सिर्जना गर्न सक्नु खालिङको विशिष्ट क्षमता हो । खालिङको निकै स्नेह पाएका कवि–गीतकार दिनेश अधिकारी नेपाली गीत–संगीतलाई एकसाथ स्तरीय तथा लोकप्रिय बनाउने अत्यन्त सीमित संगीत साधकमध्ये पहिलो पंक्तिमा खालिङलाई नै स्मरण गर्छन् । अन्य सांगीतिक स्रष्टाको तुलनामा खालिङसँग शास्त्रीय, लोक र पाश्चात्य संगीत सबैको उत्तिकै बेजोड ज्ञान थियो । 


दिव्य खालिङको जन्म सन् १९५२ मार्च २८ मा दार्जिलिङमा भएको थियो । बाल्यकालमा नै खालिङलाई पोलियो रोगले छोएको पुष्टि भएपछि परिवार मर्माहत हुनु स्वाभाविक नै थियो । चकचके स्वभावका खालिङलाई केन्द्रीकृत गर्न उनका पिता श्यामसनले हार्मोनियम किनिदिए । खालिङका देव्रे हातका औँलाहरू हार्मोनियमको रिडमा यसरी सलबलाउन थालेकी, उनको समीप पर्ने जोकोहीले यिनी भविष्यमा गीत–संगीतका एक विशिष्ट प्रतिभा बन्ने ठोकुवा गर्थे । दार्जिलिङका चर्चहरूमा उनको गीत–संगीतझैँ गायनकलाको पनि चौतर्फी तारिफ सुरु भयो ।

 

दार्जिलिङमा देखाइने नाटकहरूमा संगीत भर्ने जिम्मेवारी पनि उनकै काँधमा आउन थाल्यो । सांगीतिक माहोलबीच नै सन् १९७३ मा नेपाल आएका खालिङले इसाई समुदायका लागि रचेका गीत–संगीत निकै लोकप्रिय भए । उनका गहकिला मिनी क्यान्टाटा (गीतिकथा) विश्वभर छरिएर रहेका नेपाली तथा भारतीय मूलका इसाई धर्मावलम्बीहरूले कण्ठस्थ पारेका छन् । आज पनि इसाई समुदायमा उनका गीत–संगीतलाई उछिन्ने अरू पात्र देखिएका छैनन् । त्यसैले इसाई धर्मका अगुवाहरू दाबाका साथ भन्छन्, ‘यसभन्दा अघि न कसैले खालिङले झैँ हाम्रो मनमुटु छुने गरी उत्कृष्ट गीतहरू ल्याए, न भविष्यमा ल्याउने सम्भावना छ ।’


सन् १९७८ मा प्रताप सुब्बा निर्देशित नाटक ‘रातको प्रथम प्रहर’मा खालिङको गीत र पृष्ठसंगीतले तहल्का पिटेपछि उनी सर्वप्रिय भए । काठमाडौंमा समेत यो नाटक अत्यन्त चर्चित रह्यो जसको महङ्खवपूर्ण श्रेय खालिङलाई नै दिइयो । यही सिलसिलामा उनको भेट नेपालका ख्यातिप्राप्त संगीतकर्मीहरूसँग भयो । स्वरस्रमाट नारायणगोपाल पनि यस्तै मेसोमा भेटिएका हुन् । नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रियस्तरको बनाउनेबारेमा पनि नारायणगोपाल र खालिङबीच घन्टौँसम्म घनीभूत वार्ता हुन्थ्यो ।

 

नारायणगोपाल र खालिङबीच हुने गीत–संगीतको रोमाञ्चक अभ्यास अहिले पनि झल्झल्ती सम्झिन्छिन् ग्रेस । आ–आफ्नो विधामा उत्तिकै पोख्त यी दुई सांगीतिक हस्तीबीच पनि मनमुटाव नभएको होइन, तर मिर्गौला खराब भएर नारायणगोपाल डायलाइसिसमा जाने पक्का भएपछि दुई सोमबीचको भावनात्मक सम्बन्ध पुनः एकाकार भएको थियो । ‘बागीना’मा खालिङ नारायणगोपाललाई स्मरण गर्र्दै लेख्छन्, ‘२०४७ साल कात्तिक १३ गते आइतबार डायलाइसिसमा जानुभन्दा एक दिनअघि मात्र शनिबार नारायण दाइसित मेरो धेरै लामो कुरा भएको थियो । त्यस दिन पनि गीत–संगीत इत्यादिका बारेमा धेरै लामो चर्चा चल्यो हाम्रो । बिमारीबाट स्वस्थ्य भएपछि भव्यताका साथ सांगीतिक कार्यक्रम गर्ने र सो कार्यक्रममा मैले पनि उनलाई साथ दिनुपर्ने आशय व्यक्त गर्नुभयो ।’


अधिकांश कुशल स्रष्टाले आफ्नो प्रतिभा आफूमा मात्र सीमित राखेको पाइन्छ । तर, खालिङ यसमा अपवाद थिए । नारायणगोपाल, भक्तराज आचार्य, दीप श्रेष्ठ, मीरा राणा, ज्ञानु राणा, प्रकाश श्रेष्ठ, दीपक खरेलजस्ता गायक–गायिका मात्र होइन, नवप्रतिभाहरूलाई पनि मौका दिनुपर्छ भन्नेमा स्पष्ट थिए । त्यसैले उनी नयाँ प्रतिभाहरूको खोजीमा तल्लीन रहे । खालिङको संगीतमा रविन शर्मा, लोचन भट्टराई, कुन्ती मोक्तान, अरुण थापा, यम बराल, राजेशपायल राई, उदय–मनिला सोताङलगायतले गाएका गीतहरू चर्चित छन् ।

खालिङ संगीतमा नयाँ–नयाँ प्रयोग गर्न चाहन्थे । नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्छ भन्ने मान्यता उनी राख्थे । उनी दिनरात स्तरीय गीति नाटक तयार पार्ने परिकल्पनासमेत गर्थे ।  

 

ओम गुरुङ, दिनेश सुब्बालगायतका गायक उत्पादन गर्नमा पनि खालिङकै महङ्खवपूर्ण योगदान रहेको छ । यसबाहेक सेन्ट जेभियर्स, ज्ञानोदयलगायतका स्कुलहरूमा संगीत शिक्षकको भूमिकामा रही उनले हजारौँ शिष्यहरूलाई दीक्षित गरेका छन् । नेपाली सुगम–संगीतलाई अझ उर्वर बनाउने काम खालिङका शिष्यहरूले आज पनि गरिरहेका छन् । खालिङका रचनाका पहिलो स्रोता ग्रेस नै हुन्थिन्, ग्रेस पनि आफूले जानेबुझेको सुझाव दिन्थिन् । आफ्नो अन्तरआत्मालाई चित्त नबुझेसम्म गीत–संगीत सार्वजनिक नगर्ने स्वभावका थिए खालिङ । ग्रेस भन्छिन्, ‘दिव्यले गुणस्तरीय गीत–संगीत सिर्जनामा कहिल्यै कसैसँग सम्झौता नै गरेनन्, सायद त्यसैले होला आजसम्म पनि उनी सबै संगीतप्रेमीको मन–मस्तिष्कमा बस्न सफल भएका छन् ।’ 


स्रष्टाहरूले आफू आबद्ध पेसाका बारेमा आलोचनात्मक चेत राखेको हामी विरलै पाउँछौँ । तर, खालिङ यसमा अपवाद थिए । उनी कलाजस्तो मर्यादित क्षेत्रमा आबद्ध जो–कोही सर्वप्रथम आफैँ आत्मसम्मानसहित टिक्न सक्नुपर्ने मान्यता राख्थे । यसै प्रसंगमा उनले बागीनामा लेखेका छन्, ‘कलाकारले आफूलाई मात्र एउटा मनोरञ्जनकर्ता सम्झिनु भएन । कलाजस्तो पवित्र माध्यमलाई अपनाएर संख्या बढाउनकै निम्ति मात्र अथवा भनौँ सस्तो लोकप्रियताका निम्ति गीत, संगीत र गायनमा लाग्नु भएन । यस विषयमा अझ धेरै अध्ययन, चिन्तन र मनन गर्न आवश्यक छ । अनि कलामा लागेका हरेक व्यक्ति स्वयं आफैँले पहिलो आत्मसम्मान र गर्वका साथ कलाकार भएर जिउन सक्नुपर्छ अनि मात्र वास्तविक रूपले निश्चय नै जनताले त्यस्ता कलाकारहरूलाई स्नेह, माया र सम्मान गर्छन् ।’ 


खालिङ संगीतमा नयाँ–नयाँ प्रयोग गर्न चाहन्थे । नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्छ भन्ने मान्यता उनी राख्थे । उनी दिनरात स्तरीय गीति नाटक तयार पार्ने परिकल्पनासमेत गर्थे । बृहत् वाद्यवृन्दमा कार्यक्रम गर्ने उनको ठूलो धोको थियो । तर, ब्रेन स्ट्रोकका कारण खालिङ २०६१ साल मंसिरमा थला परे । पछि त्यसैको प्रभावका कारण २०६३ असार ११ मा उनको निधन भयो । उनका सबै गीत–संगीतको संकलन अझै हुन सकेको छैन । उनका गीत–संगीत सञ्चारमाध्यमबाट वर्षौँदेखि निरन्तर बजिरहे पनि परिवारले अपवादबाहेक रोयल्टी पाएको छैन । आजीवन नेपाली गीत–संगीतको सेवा गरेका खालिङको योगदानको कदर नहुँदा धेरै स्रष्टाहरूको अहिले पनि मन पोलेको छ ।

 

गायिका लोचन भट्टराई ‘दिव्य संगीतकार–दिव्य खालिङ’मा लेख्छिन्, ‘जुन देशमा कला र साहित्यको कदर हुँदैन, त्यो देशलाई संवेदनाले छुँदैन । हामी विकासका ठुल्ठूला नारा दिन्छौँ, तर सभ्यताविना विकास सम्भव छैन । सभ्यताको द्योतक संस्कृति हो, संस्कृतिको संवाहक कलासाहित्य हो । संगीतकला त अझ सरल र जनमानसमा चाँडै प्रभाव पार्ने सशक्त माध्यम हो । यस्तो माध्यमलाई आफ्नो मूल कर्म ठानी त्यसैमा जीवन समर्पण गर्ने खालिङ कर्म गरी फलको आशा नगर्ने पात्र थिए ।’ आफ्नो विशिष्ट प्रतिभालाई उच्च परिश्रमले अझ परिष्कृत पारेका खालिङ आफ्नो जीवन्त गीत–संगीतका कारण संगीतकर्मीहरूमाझ आदर्श बनेका छन् । खालिङका अत्यन्त निकट रहेका कवि–गीतकार कञ्चन पुडासैनी प्रिय मित्रलाई आज पनि गोकर्णेश्वर–५ स्थित निवासमा आफ्नो यसै भावको कवितामार्फत हरदम स्मरण गरिरहेका भेटिन्छन् । 

 

साँच्चै खालिङ दिव्य थिए, ती प्रतिभा र परिश्रमले गर्दा 
दुःख लाग्यो नै उनको जीवन दुनियाँदेखि बाहिर पर्दा 
जीवन अधुरो, अधुरा इच्छा, हामी आखिर छौँ, असहाय
छैन यहाँ क्यै शोक मनाई चित्त बुझाई बस्नुसिवाय