
कविता
म जान्दिनँ
खै कुन–कुन नाम दिन्छन्–
नियति ?
भाग्य ?
म जान्दिनँ
कसरी बदलिन्छ साइनो पलभरमै ?
कसरी हुन्छ पराइ आफू हुर्केको मैरा ?
किन साँघुरिन्छ बा–आमाको घर जाने बाटो ?
म जान्दिनँ तमाम कुरा
अथवा स्विकार्दिनँ कैयौँ कुरा
कसरी बिर्सिनु ?
मेरो बाले देशको सिमाना काट्नुभयो
र पो
मैले जान्न पाएँ
बुजु गोङभन्दा पर पनि अर्को सिमाना हुँदो रहेछ ।
साटेको भएर मेरा बाबाले
मैले सिक्ने अक्षरसँग
आफ्नो जीवन–संगिनीसँगको प्रेमिल यौवन,
आफ्नै भिरपाखामा बग्ने रगत,
अनि,
आफ्नै माटोमा भिज्नुपर्ने पसिना
अरबको मरुभूमिमा
र पो
आइपुगेको छु यहाँ, जहाँ म उभिएको छु ।
कसरी स्विकार्नु कर्म यस्तै भनेर
बाले ताछेको चण्डनको पाटीमा
आधा रातमा खरी–खोला पुगी
बाले नै ल्याइदेको
खरीले चिनेको मेरो संसारमा
जन्मघर पराइ हुन्छ भनेर ।
म जान्दिनँ तमाम कुरा
अथवा स्विकार्दिनँ कैयौँ कुरा ।
कसरी मानूँ ?
मेरा बा–आमाको घर मेरो होइन ?
जहाँको मैरामा बसेर
पर्खिएँ– बा आउने बाटो
जहाँको झ्यालबाट देखिएको चन्द्रमा देखाउँदै
आमाले सुनाउनुभयो सिलुक
कसरी मानूँ त्यो मेरो थिएन ?
मान्दछु
संस्कारलाई शिरोपर गर्दै
भलै मैले अर्कैको घरको पित्तर पुजौँला
तर
बा–आमाको घर मेरो होइन म मान्दिनँ ।
मान्नेहरूले तमाम मान्लान्
जन्मेको घर आफ्नो होइन भन्लान्
मान्नेहरूले मलाई गलत मान्लान्
बिर्सिनेहरूले बिर्सेलान् जन्मघर
र भनिदेलान् माइती ।
तर म मान्दिनँ कैयौँ कुरा
बरु मान्छु
संसार अलि फराकिलो भयो
साइनोहरू अलि धेरै जोडिए
दुई बा–आमा चार भए
एक घर थियो दुई भए ।
बा,
म जुनै वेला पनि आउन सक्छु
नसोध्नु कहिल्यै
‘छोरी, माइत कहिले आउने ?’
बरु भन्नू उसैगरी
जसरी भन्ने गर्नुहुन्थ्यो
‘आज घर आएस्’
०००
मैरा : पिँढी
बुजु गोङ : जेल्बाङ गाउँलाई छेक्ने एउटा लेक
पित्तर : मगर समुदायको मृत पुर्खालाई पूजा गर्ने परम्परा