• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रीमती जसिया सदा र जेठो छोरा पल्टु सदा बृहस्पतिको मृत्युसंस्कारका क्रममा ।
पचुलाल माझी
२०७९ असार २५ शनिबार ०९:१९:००
सम्झना

फर्किएनन् महाजनको खेत खन्न गएका बृहस्पति

मधेसतिर

२०७९ असार २५ शनिबार ०९:१९:००
पचुलाल माझी

 

मधेसमा बर्सेनि १५ कृषि मजदुरको खेतमा काम गर्दागर्दै मृत्यु हुन्छ

 

४२ वर्षीय बृहस्पति सदा

मधेसका दलितहरू रोग र भोकको दलदलमा फसेका छन् । अर्धदासजस्तो बँधुवा किसानको रूपमा बाँच्न बाध्य छन् । यस्तै बँधुवा कृषि मजदुरी गरिरहेका व्यक्ति थिए धनुषा, मिथिला बिहारी–२ मथलेश्वरका ४२ वर्षीय बृहस्पति सदा ।

 

असार १२ गते आइतबारका दिन बिहानै उनी महाजनको खेतमा काम गर्न कोदालो लिएर हिँड्न ठीक परे । श्रीमती जसिया सदालाई बासी भात तताइदिनू भनेर बृहस्पति शौचका लागि बाहिर गए । १४ जनाको संयुक्त परिवार भएकाले बासी भात बाँकी थिएन । बृहस्पति भोकै महाजनको खेतमा काम गर्न जान तयार भए । कहिले चर्को घाम लाग्ने, कहिले सिमसिम पानी पर्ने भइरहेको थियो । श्रीमती जसियाले खाना एकैछिनमा पाक्छ खाएर जानू भनिन् । तर, ढिलो भइसकेको भनेर भोकै बृहस्पति हतारहतार महाजनको खेततिर लागे ।

 

महाजन सकल यादवको खेतमा बृहस्पतिले पहिला पनि काम गरेका थिए । पहिला काम गरेको बाँकी पैसा पनि त्यही दिन पाउने आशाले उनी खेततिर लागेका थिए । एकछिनअघि पानी परिरहेको थियो । उनी हिँड्ने वेलामा घाम लाग्न थाल्यो ।

 

बृहस्पतिको परिवार साँझ कामबाट फर्किंदा पैसा लिएर आउने आशामा बस्न थाले । छोराछोरी र श्रीमतीको आशा त्यति मात्रै थिएन, गाउँभरि आँप पाकेकाले बेलुकी आँप पनि खान पाइन्छ भन्ने सोचेका थिए । पाँचजना छोराबुहारी र आठजना नातिनातिनीहरू बाबा आउने आशामा बसिरहे ।

 

बृहस्पति सदाजस्तै हरेक वर्ष मधेसमा विपन्न दलितहरू अकालमै मरिरहेका छन्, अघिल्लो वर्ष मलर सदा यस वर्ष बृहस्पति सदा । यस्तो मृत्युको शृंखला कहिले रोकिने ? अकालमै मर्नुपर्ने गुलामको जस्तो जीवन कतिन्जेल जिउने ?

 

समय बित्दै जाँदा घाम चर्किँदै जान थाल्यो । दिउँसो अचानक घरमा महाजन सकल यादव आफैँ देखा परे । उनले जसियालाई भने, ‘बृहस्पतिलाई सन्चो छैन । खेतमा हिँड् ।’ हस्याङफस्याङ गर्दै जसिया र उनका छोरा खेतमा पुगे । बृहस्पति खेतमा लडिरहेको देखे । आमाछोरा आत्तिए । बृहस्पतिलाई उठ भनेर चिच्याए । महाजनले उनीहरूलाई भने, ‘तिम्रो श्रीमान् कोदालो चलाउँदा–चलाउँदै आफैँ लडेर मर्‍यो ।’

 

त्यसपछि आमाछोराको रुवावासी सुरु भयो । महाजनको खेतमा उनीहरूको चीत्कार सुन्ने कोही थिएन । उनीहरूलाई सान्त्वना दिने पनि कोही भएन । घरको मूली खेतमा कोदालोसँगै लडिरहेको थियो । आमाछोरा खेतको डिलमा बसी रोइरहेका थिए । तातो घाममा महाजनको खेत खन्दाखन्दै त्यहीँ ढलेका बृहस्पतिको खुट्टाभरि माटो आलै थियो । मैलो हाफ पाइन्ट र गन्जी लाएर उनी आराम गरिरहेजस्ता देखिन्थे । तर, उनले महाजनको खेत खन्ने पुस्तौँदेखिको बँधुवा मजदुरीबाट छुट्कारा पाएका थिए ।

 

आमाछोरा रोइनै रहे । कति वेला प्रहरी आएर बृहस्पतिको शव पोस्टमार्टम गर्न जनकपुर लिएर गए आमाछोराले पत्तै पाएनन् । परिवार शोकमा डुब्यो । दाहसंस्कार गर्ने सामग्रीहरू गाउँलेले व्यवस्था गरिदिए । बृहस्पतिको शव सड्छ भनेर दाहसंस्कार गर्न लगाइयो । पोस्टमार्टमको रिपोर्टचाहिँ आइसकेको छैन । ‘शरीरभित्र रोग रहेछ । त्यही रोगले मर्‍यो’ वा जाँडरक्सी खाएर मर्‍यो भन्ने झुटो रिपोर्ट आउनेमा पक्का छ । जसियाले रुँदै आफ्नै भाषामा भनिन्, ‘हमरा घरवाला के मारदेलक, नकोनो बिमारी रहल, न दारु पिइत रहल, भोरे भुखले पेट गेल रहल कोदारी चलाबे, घरे फिरतो न आइल अब १३ जनाके परिवार केना चलत ? बालबच्चा के वियाह केना करब ? महाजनके पैसा केना चुक्ता करब ?’ (मेरो श्रीमान्लाई मारेको हो । उहाँ जाँडरक्सी खानुहुन्नथ्यो । बिहानै भोकै कोदालो लिएर महाजनको खेतमा जानुभएको थियो । तर घर फिर्ता आउनुभएन । अब १३ जनाको परिवार कसरी पाल्ने ? छोराछोरीको विवाह कसरी गर्ने ? महाजनको रिन कसरी चुक्ता गर्ने ?)

 

०००                                         ०००

 

बृहस्पति सदा एकजना प्रतिनिधि पात्र मात्रै हुन् । मधेसमा यस्ता कैयौँ बँधुवा कृषि मजदुरले अकालमै ज्यान गुमाउँछन् । उनीहरूबारे न कसैले समाचार लेख्छ, न कसैले देखेजस्तो गर्छ । नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदा भन्छन्, ‘बर्सेनि १० देखि १५ जना मधेसी दलितहरू यसरी नै खेतमा काम गर्दागर्दै मर्छन् । संघको तर्फबाट सम्बन्धित निकायलाई खबर पनि गर्छौं । तर, आजसम्म यो घटनालाई कसैले गम्भीरतापूर्वक लिएका छैनन् । राज्यले चासो दिएको छैन । मृतक परिवारले कुनै पनि क्षतिपूर्ति पाएका छैनन् ।’

 

एकाइसौँ शताब्दीमा पनि पाँचदेखि आठ किलो धानका लागि दिनभरि काम गर्न बाध्य छन् मधेसका दलितहरू । त्यति धानको मूल्य २०० देखि २५० सम्म पर्छ । कोरोना कहरको वेला सप्तरी, कन्चनरूप नगरपालिका–५ पथरीका मलर सदा पनि साहु–महाजनको खेतमा कोदालो चलाउँदा–चलाउँदै यसरी नै भोकै मरेका थिए । बृहस्पति पनि वर्षापछिको चर्को घाममा काम गर्दागर्दै भोकै मरे । तर, विडम्बना ! हाम्रो देशमा मृत शरीर नापचाँज गर्ने यन्त्र छ, तर भोक नाप्ने कुनै यन्त्र छैन । अब बृहस्पतिको पोस्टमार्टम रिपोर्टमा पनि उच्च रतmचाप, किड्नी फेल, हर्ट अट्याक, मदिरापान यस्तै–यस्तै कारणले मृत्यु भएको देखाउने निश्चित छ ।

 

दिनाभद्री मुसहर समुदायको कुलदेवता हो । दिनाभद्रीलाई भुइया महाराज(भूमिको राजा) पनि भनिन्छ । भूमिको राजाका सन्तान मुसहरहरू आज भूमिविहीन, घरबारविहीन, नागरिकताविहीन हुँदै राज्यविहीन भएर बाँच्नुपरेको छ । तथ्यांक विभागको २०११ को तथ्यांकअनुसार ९९.४ प्रतिशत मुसहर भूमिहीन छन् । मुसहर समुदाय गाउँभन्दा बाहिर ऐलानी जमिनमा घाटनजिक पोखरीको डिलमा, नदीको किनारमा, गोरेटो बाटोको छेउ तथा साहुमहाजनहरूको बँधुवा मजदुर भएर बाँच्न बाध्य छन् । महाजनको खेतमा काम गरेबापत दिएको जग्गामा खर, पराल र बाँसले सानो झुप्रो बनाउँछन् र संयुक्त परिवार त्यही बसेर गुजारा चलाउँछन् । गाउँभन्दा टाढा गोरेटो बाटोमा, नदीको किनारमा ऐलानी जग्गामा बस्छन् । तर, त्यहाँबाट पनि पटक–पटक डोजर लगाएर उठिबास लगाइन्छ ।

 

हरूवाचरुवाको रूपमा अर्धदास भई मुसहर समुदायले जीवन गुजारिरहेका छन् । सानो झुप्रोमा पुरानो लुगाले बेरेर बाख्रावस्तुसहित संयुक्त परिवारमा बस्छन् । मुसहरका बालबच्चाहरू जाडो, गर्मी, वर्षामा पनि नांगै शरीर माटोमा खेल्दै हुर्किन्छन् । एकमुठी सास रहुन्जेल जमिनमै काम गरिरहेका हुन्छन् । बन्जर भूमिलाई हराभरा बनाउँछन् । तर, पेट भर्न एक दाना अन्न नपाएर मुसहरहरू मर्न बाध्य छन् । मृत्युपछि पनि चिहानका लागि दुई गज जग्गा पनि पाउँदैनन् । २०७४ सालमा सप्तरी कोइलाडी वडा नं. ६ का ८ वर्षीय कमल सदाको अन्त्येष्टिका लागि जमिन नपाएर उनका बुबा देवकुमार सदाले आफ्नो बालक छोरालाई कोसीनदीमा बगाएको थियो । कुनै वेला भूमिको राजा भएकाहरूले अहिले अन्त्येष्टिका लागि थोरै जमिन पनि पाउँदैनन् । 

 

भोक, शोक, रोग, शोषण र दमनको सिकार भएका मुसहर समुदायको मुख्य पेसा कृषि मजदुर नै हो । मुसहर समुदाय अरूको खेतमा, इँटाभट्टामा काम गर्छन् । धेरैजसो मुसहरहरू कृषि मजदुरकै रूपमा काम गर्न भारतको पन्जाबसम्म पुग्छन् । पन्जा नजानेहरू नेपालमै बँधुवा मजदुरको रूपमा काम गर्छन् । आपत् परेको वेला साहु–महाजन, ठेकेदारसित लिएको पैसा चुक्ता नगरुन्जेल अरू श्रमिकको तुलनामा कम ज्यालादारीमा काम गर्न बाध्यता हुन्छन् । मुसहर समुदाय मिहिनेती, इमानदार, कर्मठ, सोझो, बलियो र दृढ संकल्पित हुन्छन् ।

 

गाउँका सोझासीधा दलित विपन्न महिलाहरूको कथा अझै दर्दनाक छ । उनीहरूले श्रम गरेबापत पारिश्रमिक पाउँदैनन् । सरकारले कृषि मजदुरका लागि न्यूनतम पारिश्रमिक तोकेको छ ? नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकबारे कृषि मजदुरलाई थाहा छ त ? कसैले यसबारे आवाज उठाएको छ त ? यस्ता कैयौँ प्रश्न मनमा उब्जिन्छन् ।

 

तातो घाममा महाजनको खेत खन्दाखन्दै त्यहीँ ढलेका बृहस्पतिको खुट्टाभरि माटो आलै थियो । मैलो हाफ पाइन्ट र गन्जी लगाएर उनी आराम गरिरहेजस्ता देखिन्थे । तर, उनले महाजनको खेत खन्ने पुस्तौँदेखिको बँधुवा मजदुरीबाट छुट्कारा पाएका थिए ।

 

साधारणतया मधेसको चर्को घाममा मानिसहरू एकछिन पनि हिँड्न सक्दैनन् । घाममा हिँड्यो भने ज्वरो आउने, मुर्छित हुने, अलिकति वर्षामा भिजियो भने बिरामी हुने अवस्था सिर्जना हुन्छ । यहाँसम्म कि घाम, वर्षामा सल्टो पाउ हिँडी (काम गर्दा निहुरिएर अगाडि बढ्ने) मजदुरी गर्दा पनि जस्तोसुकै बलवान् मानिस पनि मुर्छा पर्ने, छिनछिनमा रुखको छहरीमा आराम गर्नुपर्ने हुन्छ । तर, मुसहरहरू असार–साउनको चर्को घाममा, मुसलधारे वर्षामा अलिकति पनि नहिचकिचाई घन्टौँ निहुरिएर उल्टो पाउ हिँडी (काम गर्दा निहुरिएर पछडि सर्ने प्रक्रिया) काम गरिरहन्छन् । त्यतिसम्मको कठोर काम गरेर मिहिनेत गर्दा पनि उनीहरूले एक गाँस मिठो खान पाउँदैनन् । वर्षभरि नै साहु–महाजनको खेतमा कठोर परिश्रम गरिरहनुपर्छ ।

 

उनीहरू मिहिनेती भएर पनि शिक्षा नभएको कारण अवसर र पहुँचबाट वञ्चित छन् । जसले सबैभन्दा धेरै कठोर परिश्रम गर्छ, उनीहरूलाई नै जातको कारण पारिश्रमिकमा भेदभाव गरिन्छ । असार–साउनको चर्को घाममा, मुसलधारे वर्षामा घन्टौँ निहुरिएर उल्टो पाउ हिँडी धान रोप्ने महिलाहरूले पुरुषले भन्दा कम ज्याला पाउँछन् । केही भयो भने क्षतिपूर्ति पनि पाउँदैनन् । 

 

पाँच घन्टा काम, पाँच किलो धान

 

चर्को घाममा घन्टौँ निहुरिएर उल्टो पाउ हिँडी धान रोप्ने किसान महिलाहरूले बिहान सात बजेबाट १२ बजेसम्म काम गरेको पाँच किलो धान पाउँछन्, जसको मूल्य सयदेखि १५० सम्म हुन्छ । त्यसकै तुलनामा पुरुषहरूले धानको बिउ बिहान सात बजेदेखि दुई बजेसम्म उखाडेबापत १० किलो धान पाउँछन्, जसको मूल्य बढीमा ३०० सम्म हुन्छ । बिहान काम गर्नेले नास्ताबापत रोटी र तरकारी खान पाउँछन् । दिउँसो एकदेखि साँझ पाँच बजेसम्म काम गर्नेले केही पनि खान पाउँदैनन् । 

 

तराईको बोर्डर साइडमा बिहान सात बजेदेखि दुई बजेसम्म काम गरेबापत नास्ताखानासहित पाँच किलो आलु ज्याला पाउने पनि गरेका छन् । सर्लाही, गोडैता नगरपालिका निवासी रामविनय ठाकुरका अनुसार काम गर्ने महिलाहरू आफैँ भन्छन्, ‘महाजन ! हामीलाई आलु वन (पारिश्रमिक) दिनू ।’ चार किलो आलुको मूल्य पनि बढीमा सयदेखि १५० रुपैयाँ सम्म हुन्छ ।

 

ज्यालामा आँप पनि 

 

मधेसमा ज्यालास्वरूप आँप पनि दिने र लिने गरिन्छ । योचाहिँ रोपाइँ हुनुअघि नै दिने गरिन्छ । यसलाई अगात वन (पारिश्रमिक) भनिन्छ । यो खासगरी जेठ महिनामा नै दिने गरिन्छ । गरिब, विपन्न, दलित, एकल महिलाले आँपको सिजनमा पैसाले आँप किन्न नसक्ने हुनाले मालिककहाँ गई आफ्ना छोराछोरीलाई खुवाउन आँप वन (पारिश्रमिक) लिने गर्छन् । आँप वन (पारिश्रमिक) आँपको प्रकारमा निर्भर हुन्छ । किसानलाई महाजनले आँप पनि सयदेखि १५० रुपैयाँसम्मकै दिन्छन् ।

 

त्यस्तैगरी, महाजनहरूले चामल, आँटा, गेहु पनि ज्यालामा दिने गरेका छन् । त्यसको मूल्य पनि सयदेखि १५० रुपैयाँसम्म हुन्छ । पैसाको साटो समान दिँदा मालिकलाई फाइदा हुन्छ । पैसा दियो भने २०० देखि माथि नै दिनुपर्ने हुन्छ, तर सामान दिँदा बढीमा १५० मात्र पर्न जान्छ । मिहिनेतअनुसारको यो पारिश्रमिक के उचित हो त ? महँगी बढिरहेको यस्तो अवस्थामा के तिनीहरूको पारिश्रमिकले घर–परिवार चल्छ होला त ? 

 

धनुषा, लक्ष्मिनियाँ गाउँपालिका सिनुरजोडा निवासी वसन्ती सदा भन्छिन्, ‘वन बढाइदेऊ भनेर मालिकसित मुख लगायो भने आफ्नो खेतबारीमा जान दिँदैन । हामीहरूलाई काम गर्न बोलाउँदैन । गाउँबाहिरको महिलालाई बोलाएर धानको रोप्नी, कटनी गरिहाल्छ ।’ फ्याक्ट्रीमा काम गर्ने, शिक्षिक–शिक्षिका, विभिन्न संघसंस्थामा काम गर्नेहरूको पारिश्रमिक युनियन, संगठनहरूले तोक्छन् । उनीहरूलाई विभिन्न किसिमको सेवासुविधा तथा सुरक्षाको व्यवस्था गरिएको हुन्छ । तर, कृषिमा श्रम गर्ने महिलाहरूको कुनै किसिमको सुविधा छैन । न कसैले आवाज नै उठाउँछन् ।