• वि.सं २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
कमल मादेन
२०७९ असार २५ शनिबार ०९:४१:००
समाज

विवाहबारे केही अनौठा दृष्टान्त

२०७९ असार २५ शनिबार ०९:४१:००
कमल मादेन

 

संसारका कतिपय स्थानमा अझै पनि ढुंगेयुगकै वैवाहिक संस्कार जीवित छ

 

मानवशास्त्री तथा पुरातत्वविद्का अनुसार ढुंगेयुगका एक मानव परिवारमा २०–३० जनाजति सदस्य हुन्थे । त्यस्ता परिवार एकभन्दा बढी पुरुषको नेतृत्वमा हुन्थ्यो । नेतृत्वदायी पुरुषका धेरैजना महिलासँग र एक महिलाको धेरैजना पुरुषसँग संसर्ग हुन्थ्यो । यसकारण सन्तान व्यक्तिविशेषको नभई समूहका हुन्थे ।

 

ढुंगेयुगबाट खेतीपाती युगमा प्रवेश भएपछि परिवारको संरचना अलि साँघुरिँदै गयो । परिवार परिचालन हुन केही परम्परागत दायरा सुरु भए । सामूहिक पतिपत्नीबाट एक पति र एक पत्नीको सुरुवात भयो । पतिपत्नी पहिले एकै परिवारका हुन्थे । साइनो सम्बन्धमा विवाह गर्न हुँदैन भन्ने निकै पछि मात्र सुरु भयो । तर, अझै रगतनाताबीच विवाह प्रचलन कायमै छ । हाम्रो मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद ११ अन्तर्गत दफा १७२ मा हाडनातामा विवाह गर्न नहुने उल्लेख छ । यसमा लेखिएको छ, ‘कसैले परम्पराअनुसार चलिआएको अवस्थामा बाहेक हाडनातामा करणीमा सजाय हुने र नातामा विवाह गर्न वा गराउन हुँदैन ।’ 

 

अंग्रेजी शब्दावलीअनुसार परिवारका सदस्य वा नजिकका नातेदारबीचको यौन क्रियाकलापलाई ‘इन्सेस्ट’ भनिन्छ । ‘इन्सेस्ट’को अर्थ गर्न नहुने अर्थात् अनाचार काम हो । हाडनाता सम्बन्धअन्तर्गत यौन क्रियालाप गर्न नहुनेलाई ‘इन्सेस्ट टबू’ भनिन्छ । टबूको शाब्दिक अर्थ वर्जित हो । नेपालमा हाडनाताबीचको यौन क्रियाकलाप अनाचर मानिन्छ र सार रूपमा वर्जित छ । तर, केही समुदायमा भने अझै कायमै छ । भारतको अवस्था पनि उस्तै छ । 

 

अनाचार विवाह

 

लेप्चा समुदाय मूलतः सिक्किम र नेपालमा बसोवास गर्छन् । झापा जिल्लास्थित बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकाको उत्तरतर्फ सिमाना जोडिएको इलामको रोङ गाउँपालिकामा लेप्चा समुदायको बाक्लो बसोवास छ । अघिल्लो जनगणनामा उक्त पालिकामा लेप्चा समुदायको जनसंख्या ९७८ थियो । यो समुदायमा पहिले बुबाको भाइका स्त्रीहरूसँग सहवास गर्न वैध मानिन्थ्यो । यो कुरा सन् १९६७ मा प्रकाशित ‘हिमालयन भिलेज : एन एकाउन्ट अफ द लेप्चास अफ सिक्किम’ शीर्षकको पुस्तकमा उल्लेख छ । हिजोआज भने यो चलन हटेको छ । आसामको खासी समुदायमा विवाह गरेपछि दुलहादुलहीको घरमा बस्ने परिपाटी थियो । दुलहीको बाबु याने ससुरा बितेपछि यदि सासूआमा जवान नै रहेको अवस्था भए ज्वाइँले सासूसँग विवाह गर्ने प्रचलन थियो । 

 

हाडनाता अर्थात् रगतको नाता भएकाबीचबाट जन्मिने सन्तान अन्यको तुलनामा कमजोर हुन्छन् भन्ने मान्यता छ । आनुवंशिक अध्ययनअनुसार हाडनाताबीचको सम्बन्धबाट जन्मिएको जीवमा रोगसँग लड्ने क्षमता हँुदैन । हाडनाताबाट जन्मेका जीवमा आनुवंशिक विविधता अन्यको तुलनामा कम हुन्छ ।

 

राहुल सांकृत्यायन भन्छन्, ‘एकताका मंगोल शासकको मृत्यु हुँदा तिनका छोराले तीनजना सौतेनी आमालाई अपनाएका थिए (मध्य एसियाको इतिहास, खण्ड २, २०१८, पृष्ठः ३०३–३०४) । योचाहिँ नश्ल जोगाउन गरिएको थियो । राजाले ऐरेगैरेलाई रानी बनाउनुभन्दा पहिले बाबुले कुनै राज्यको राजकुमारीलाई रानी बनाएकैलाई बाबुका सेखपछि पनि रानी बनाई वंश र राज्य चलाइयो । उसवेला राजाको अकाल वा युद्धमा मारिएपछि वंश चलाउन यसरी विवाह गराइन्थ्यो ।

 

ज्ञानमणि नेपालले नेपालका प्रधानमन्त्री पण्डित रंगनाथ पौडेलका पालामा ऐनकानुन सुधार हुँदा लिम्बुवानमा सौतेनी आमा व्यहोर्ने चलन प्रतिबन्ध लगाइएको कुरा उल्लेख छ (नेपाल निरुपण, २०५५, पृष्ठः १९८) । जनकलाल शर्माले मंगोल–किरातहरूमा खास गरेर लिम्बूहरूमा आमाकी बैनी अर्थात् सानीआमासित विवाह गर्ने चलन थियो भन्ने लेखेका छन् (हाम्रो समाज एक अध्ययन, चौथो संस्करण २०६७, पृष्ठः ४६) । लिम्बू र लेप्चा समुदायको बसोवास पहिले एकै ठाउँ भएकाले त्यस्तो प्रचलन यी दुवै समुदायमा थियो होला । अनौठोचाहिँ के छ भने इलाम र पाँचथरका एक लिम्बू थरका पूर्वज लेप्चा पुष्टि भएको छ । उनीहरू आफँै हामी त लेप्चाका सन्तान हौँ भन्छन् । 

 

भारतको अरुणाचल राज्यभन्दा दक्षिणमा असाम र असामको दक्षिणमा नागाल्यान्ड राज्य छ । नागाल्यान्डका मूलवासी नागा हुन् । नागा समुदाय नागाल्यान्ड राज्यसँग जोडिएको म्यान्मार अर्थात् बर्मामा पनि छन् । यो समुदायमा हिजोआज बहिर्गमन विवाह अर्थात् ‘इक्जोग्यामस् म्यारिज’ प्रचलनमा छ । यस किसिमको विवाहमा नजिकको रगत सम्बन्ध भएको नातामा विवाह गरिन्न । 

 

भारतका ब्राह्मण गद्दीहरू सगोत्र विवाह गर्ने तथा आर्यहरूकै एउटा शाखा पारसीहरूमा मातृविवाहको प्रथा प्रचलनमा थियो । मनुस्मृतिमा लेखिएको एक वाक्य यस्तो छ, ‘पतिविहीन नारी यदि पुत्रकी अभिलाषा रखे तो अपने देवरद्वारा प्राप्त कर शक्ति है ।’ पहिले विधवा भाउजू विवाह गर्नेलाई दिधिषपति भन्दा रहेछन् । 

 

अरबमा मोहमदको आगमनअघि पुरुषको मृत्यु हुँदा तिनका श्रीमतीहरू सम्पत्तिजस्तै हकवालाको हक लाग्ने वा उपभोग गर्न पाउँथे । त्यस्तो हक ज्येष्ठताका आधारमा लागू हुन्थ्यो । सहोदर छोराहरू नभएको अवस्थामा मात्र अन्य दाजुभाइका छोरामा त्यस्ता हक सथ्र्यो । जेक्कारिया सित्चिनले ‘बाइबलमा पनि अब्राहमले आफ्नो पत्नी साराह आफ्ना बाबुका छोरी तर आफ्नी आमापट्टिको छोरी नभएको लेखेका छन् (द इन्ड अफ द डेज, २००६, पृष्ठः ४–५) । जर्ज जी क्यामरुनले ‘हिस्टोरी अफ अर्ली इरान’ पुस्तकको ‘द ल्यान्ड एन्ड इट्स पिपुल’ शीर्षकको च्याप्टरमा इरानीहरूमा चेलीमाइतीबीच विवाह हुन्थ्यो भन्ने खुलस्त लेखेका छन् (सन् १९३६, पृष्ठः २०) । 

 

नेपालको मुलुकी ऐन १९१० मा मातृपक्षका फुपूचेला, मामाचेलो बिहा गर्ने अनुमति दिएको थियो । (जनकलाल शर्मा, हाम्रो समाज : एक अध्ययन, २०६७, पृष्ठ : ४६) । शर्माले थप लेखेका छन्, ‘नेपाली समाजमा मामाकी छोरी फुपूको छोराले र फुपूकी छोरी मामाका छोराले विवाह गर्ने शाह, मल्ल, सिंह, ठकुरी तथा राणा क्षेत्री र गुरुङ, मगर आदि समुदायमा छ ।’ सन् १८०२ मा काठमाडाैँ आएका बुखानन् ह्यामिल्टनले ब्राह्मण जातमा सबैले आफन्तका विधवालाई रखैल बनाएर राख्न पाउँथे भन्ने लेखेका छन् (एन एकाउन्ट अफ किङडम अफ नेपाल, २००७, पृष्ठ : १७) । 

 

भगिराज इङ्नामले लेखेको ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह : संवत १७१९–२०२०’ पुस्तकमा भाउजू करणीसम्बन्धी वि.सं. १९०३ मा जारी एक कानुन प्रस्तुत छ (पृष्ठः २०५) । त्यो कानुनअनुसार किराती, लिम्बू, लेप्चा र जुम्लीबाहेक भाउजू करणी गर्नेलाई दण्ड–सजाय गर्नू भन्ने जानकारी छ । यस्तै, सोही पुस्तकमा पल्लो किरातका लिम्बूहरूसम्बन्धी वि.सं. १९५५ मा जारी एक अर्को कानुन समावेश छ (पृष्ठः ८०९) । यसअनुसार लिम्बूहरूले विधवा भाउजू र विधवा भाइबुहारी व्यहोर्ने प्रचलन थिएछ । पछि ऐन जारी गरी भाइबुहारी राख्नेलाई मुडेर धपाइदिनू भन्ने नियम बनेछ । विधवा भाइबुहारी स्वास्नी बनाई जन्मेका सन्तान १५–२० वर्ष भएपछि पनि अड्डामा उजुर गरी कार्बाही गर्न थालिएछ । यसविरुद्ध लिम्बूहरूले सरकारमा उजुरी गरेछन् । तत्कालीन प्रधानमन्त्री वीर शमशेरले लिम्बुवानमा लिम्बू समुदायमा भाइबुहारी विवाह गरेको भए पनि त्यसउपर नालिस नलिनू र उजुर गरेको भए तापनि दण्ड सजाय नगर्नू भनी कस्यरुक्का जारी गरेका थिए । 

 

भारतमा कुनै सैनिकको सेवामा वा सेवानिवृत्त भएपछि मृत्यु हुँदा निजकी श्रीमतीलाई दिइने पेन्सनको प्रबन्धमा हालसालै परिवर्तन गरिएको छ । पहिले सैनिककी श्रीमतीले मृतकको भाइसँग विवाह गरे पनि पेन्सन पाइरहने व्यवस्था थियो । हिजोआज विधवाले देवरसँग विवाह गरे पेन्सन नदिने व्यवस्था छ । विधवा भाउजूसँग विवाह गर्ने परिपाटीलाई ‘लेभ्रेट म्यारिज’ भनिन्छ । ल्याटिन शब्द ‘लेभिर’बाट ‘लेभ्रेट’ बनेको हो । यस्तो विवाहको चर्चा हिब्रू बाइबलमा पनि छ । छोरा नभई श्रीमान्को मृत्यु भए तिनका भाइबाट विधवा भाउजूलाई विवाह गरिन्थ्यो (रिडिङ रुथ इन एसिया, २०१५, पृष्ठ : ५७) । 

 

मल्लकालमा काठमाडौंका राजाले रैतीका छोरीबुहारीलाई बलजफ्ती यौनशोषण गर्थे । यसबाट बच्न काठमाडाैँका नेवारहरूले घरको ढोका होचा बनाउन थाले । त्यसको कारणचाहिँ राजाहरू घरमा पसेर छोरीबुहारीलाई जबर्जस्ती नगरून् भन्ने थियो । किनभने राजाहरू टाउको झुकाएर हिँड्दैनथे ।

 

नेपालमा कथित अछुत भनिएको जातसँग भएको करणी सम्बन्धमा एक कस्यरुक्का वि.सं. १८९७ मा जारी भएको थियो ( लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह : संवत् १७१९–२०२०, पृष्ठ : १९७) । त्यसअनुसार कथित अछुत जातसँग भूलचुकमा करणी भए हिन्दूधर्म मान्ने लिम्बू, राईले धर्माधिकारीबाट शुद्ध हुने जनाइएको छ । तर, हिन्दूधर्म नभई मुन्धुमअनुसार चल्ने लिम्बूबाट भए सरकारलाई खेत चढाएर मात्र शुद्ध हुने उल्लेख गरिएको छ । त्यसका निम्ति मुन्धुम परम्पराबाट दुबो, ढुंगो छुवाएर शुद्धाई गरिन्थ्यो । पछि पडट्ठा श्यामलाल पाथ्यले हिन्दूधर्म मान्ने र मुन्धुम मान्ने दुवै समूहलाई एकै किसिमको दण्ड–सजाय तोके ।

 

राजा–व्यापारी कुकर्म

 

मल्लकालमा काठमाडाैँका राजाहरूले रैतीका छोरीबुहारीलाई बलजफ्ती यौनशोषण गर्थे । यसबाट बच्न काठमाडाैँका नेवारले घरको ढोका होचा बनाउन थाले । अझै पनि नेवारको घरको ढोका होचो बनाउने चलन छ । उहिले घरको ढोका होचो बनाउनुको कारणचाहिँ राजाहरू घरमा पसेर छोरी–बुहारीलाई जबर्जस्ती नगरून् भन्ने थियो । किनभने राजाहरू टाउको घोप्टो पारेर हिँड्दैनथे । होचो घरमा प्रवेश गर्न टाउको झुकाउनुपर्थ्यो । यो प्रसंगलाई बुखानन् ह्यामिल्टनले ‘दरबारबाहेक काठमाडौंका राम्रा भनिएका घरका कोठाहरूसमेत एकदमै होचा हुन्थे’ भनेर लेखेका छन् । त्यस्ता कोठामा ठिंग उभिन सकिन्नथ्यो, टाउको निहुराउनुपर्थ्यो ।

 

नेपालको उत्तरी भेगमा बसोवास गर्ने भोटे जातिमा बहुपति प्रथा अझै जीवित छ । उहिले ल्हासामा बत्तीस कोठी स्थापना गरी बसेका नेपाली व्यापारीका वैवाहिक कहानी पनि रोचक छ । ती नेपाली व्यापारीले ल्हासामा श्रीमती लैजाँदैनथे । उनीहरू उता स्थानीय तिब्बतीसँग मित लाएर बस्थे । उसबेलाको तिब्बती संस्कारमा मितबारे अनौठो संस्कार थियो । ती व्यापारीको मिततर्फको स्वास्नीबाट छोरा जन्मे नेपाली र छोरी जन्मे तिब्बती हुन्थ्यो । त्यो कुरा सरदार भीमबहादुर पाँडेले २०४४ सालमा लेखेको ‘त्यस बखतको नेपाल’ पुस्तकमा उल्लेख छ । नेवार समुदायमा तिब्बतमा जन्मेका व्यापारीका छोराबाट बनेका एकाध थरहरू छन् ।

 

तेह्रथुम, आठराईतिरका वेदप्रकाश उप्रेतीले उनको सन् १९७५ मा गरेको विद्यावारिधिमा ल्हासाको मित व्यवहारसम्बन्धी एक रोचक घटना लेखेका छन् । उनका अनुसार आठराईतिरका एक ब्राह्मण ल्हासाका व्यापारी थिए । उनको मित ल्हासाका एक व्यापारी हुने नै भए । उनी ल्हासामा मितकहाँ पुग्दा मितज्यूकी श्रीमतीसँग सहवास हुन्थ्यो । तिनी ल्हासाको संस्कारमा रमाइरहेका थिए । उनको परिवारलाई यो सब जानकारी थिएन । एक दिन थाहै नदिई ती ल्हासाका व्यापारी तिनका घर आठराई टुप्लुक्क पुगेछन् । साँझ पर्दै गयो । ती ब्राह्मणको हंसले ठाउँ छाडेजस्तो भयो । श्रीमतीलाई ल्हासामा आफूले गरेको कुरा भन्नैपर्ने भयो । भनेर मात्र भएन, मनाउनु पनि थियो । त्यो सम्भव थिएन । श्रीमती मान्नेवाला थिइनन् । सामाजिक इज्जत प्रतिष्ठाको सवाल थियो । उनी बडो सकसमा परे । अन्तमा, एक जुक्ति निकाले । घरमा काम गर्ने सहयोगी महिला पनि उमेरदार नै थिइन् । उनैलाई सिँगारपटार गरेर आफ्नी श्रीमती भनेर मितज्यूलाई चिनाए ।

 

‘इन्सेस्ट टबू’बारे थप केही चर्चा गरौँ । अमेरिका, चीन, भारत, थाइल्यान्ड, फ्रान्स, ब्राजिल, अर्जेन्टिनालगायत करिब दुई दर्जन देशमा अझै पनि कुनै न कुनै रूपमा हाडनाताबीच यौन क्रियाकलाप मान्य छ । युकेबाट प्रकाशित ‘मिरर’ नामक न्युजपेपरले २ मे २०२२ संस्करणमा ‘इन्सेस्ट’बारे ‘हरिफाइङ म्याप सोज ह्वेर इसेस्ट इज स्टिल इन लेगल इन वर्ल्ड– एज फ्रान्स मुभ्स टु ब्यान इट’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ । यो समाचारले संसारमा अझै पनि ढुंगेयुगकै वैवाहिक संस्कार जीवित छ भन्ने प्रस्ट हुन्छ । 

 

कुनै–कुनै देशमा यस्तो गतिविधि नियन्त्रण गर्न कडा कानुन जारी गरिएका छन् । नेपालमा पनि कतै–कतै एकै वृद्धवृद्धाका नाति–नातिनीबीच विवाह भइरहेको अवस्था छ । यो पशुवत् संस्कार हो । ऐनकानुन बनाउने विज्ञहरूले धर्म र संस्कारले के भन्छ भन्ने मात्र होइन, जारी गरिएका कुरा विज्ञानसम्मत छन्, छैनन् त्यो विचार गर्नुपर्छ । 

 

हाडनाता अर्थात् रगतको नाता भएका बीचबाट जन्मिने सन्तान अन्यको तुलनामा कमजोर हुन्छ भन्ने मान्यता छ । आनुवंशिक अध्ययनअनुसार हाडनाताबीचको सम्बन्धबाट जन्मिएको जीवमा रोगसँग लड्ने क्षमता हुँदैन । हाडनाताबाट जन्मेका जीवमा आनुवंशिक विविधता अन्यको तुलनामा कम हुन्छ । किन पनि यसो हुन्छ भने नजिकको रगतको सम्बन्ध भएका जीवमा मिल्दाजुल्दा आनुवंश अर्थात् जिनहरू हुन्छन् । भालेको शुक्राणु र पोथीको अण्डा तथा फुलको रजकण (पोलेन ग्रेन) र अण्डाशय समायोजन भई बन्ने जीवमा मिल्दाजुल्दा जिनहरू नष्ट हुन्छन् । जति रगतको नाता नजिक हुन्छ, उति उस्तै गुण भएका जिनहरू हुन्छन् । त्यसैले त एक जोडी जीवका सन्तानहरू निकै हदसम्म उस्ताउस्तै देखिन्छ । तर, तिनीहरूबीचबाटै सन्तान उत्पादन गर्ने हो भने तिनका मिल्दाजुल्दा जिनहरू निष्प्रभावी हुन्छन् । यसको उदाहरण, अर्थर पि. वल्फ र विलियम एच. दुर्हाम सम्पादित ‘इनब्रिडिङ, इन्सेस्ट एन्ड द इन्सेस्ट टबू (सन् २००५)’ शीर्षक पुस्तकमा प्रशस्त जानकारी छन् । यसैले, अहिले राज्यले हाडनाताबीचको यौनसम्बन्ध जायज मान्नु अक्षम्य अपराध हो । यसकारण हाम्रो मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ११ अन्तर्गत दफा १७२ मा उल्लेख गरिएको परम्पराअनुसार चलिआएको हाडनातामा वैवाहिक मान्यता गलत छ । त्यो परिमार्जन गर्न जरुरी छ ।