
चिया विश्वभरि नै सबैभन्दा बढी पिइने पेयपदार्थ हो । नेपालमा चिया केवल पेयपदार्थ मात्र होइन, भावनासमेत हो । बिहान उठेर कहीँ कतै गए सबैभन्दा पहिले सोध्ने प्रश्न हो, ‘चिया खानुभयो ?’ फोनमा कुराकानी भएपछि अन्त्यमा भन्ने गरिन्छ, ‘अब एक दिन भेटेर चिया खाउँँला है ।’ कतै बाटोमा परिचित साथीसँग भेट भयो भने भनिन्छ, ‘चिया खान जाऊँ ।’ यसरी चियासँग दैनिक गरिने हाम्रा धेरै क्रियाकलाप जोडिएका छन् ।
चियाका धेरै प्रकार छन् र यसलाई विविध तरिकाले खाने गरेको पाइन्छ । संसारमा चिया खाने प्रचलन चीनबाट सुरु भएको मानिन्छ । चिया चिनियाँ सम्राट् र जडीबुटीविद् शेल नुंगले इसापूर्व २७३७ मा पत्ता लगाएको भनिन्छ । चियाको उत्पत्तिबारे एउटा रमाइलो कथा पनि छ । चिनियाँ सम्राट् शेल नुंग सधैँ उमालेको पानी मात्र पिउने गर्थे । सम्राट्लाई सेवकले सधैँ उमालेको पानी दिने गर्थे । एक दिन सम्राट् टाढाको यात्रामा निस्के ।
यात्राका क्रममा आराम गर्न एक ठाउँमा रोकिए । त्यसै वेला एक सेवकले सम्राट्का लागि पानी उमाले । त्यही वेला जंगली चियाकोे पात पानीमा परेछ । एकाएक पानी खैरो रङमा परिणत भयो । तर, त्यो कुरा सेवकले थाहा पाएनन् । सेवकले सम्राट्लाई त्यही पानी दिए । सम्राट्ले चिया पिए । त्यसपछि उनले आफूमा धेरै स्फुर्ती बढेको महसुस गरे । सेवकले आफूलाई के खुवाए भन्नेबारे खोजी भयो । खोज्दै जाँदा जंगली चियाको पात खसेको थाहा पाए । सम्राट्ले पछि त्यही जंगली चियाको पात नियमित प्रयोग गर्न थाले । यसरी नै चियाको अस्तित्व सुरु भएको मानिन्छ । कालान्तरमा चिया चीनबाट संसारभर फैलियो ।
चिया पिउने संस्कृति नेपालमा पनि मौलाएको छ । राजनीतिक पार्टीहरूले समेत चाडपर्वमा चियापान कार्यक्रम आयोजना गर्छन् । यस आलेखमा चाहिँ विशेषतः भोटे चियाको इतिहास र यसको व्यापकताबारे उजागर गर्ने कोसिस गरिएको छ ।
तिब्बतमा भोटे चियाको आगमन
इस्वी संवत् ६४१ मा राजकुमारी वेनचेङ तिब्बतको यार्लुङ वंशका तेह्रौँ राजा सोङत्सेन गाम्पोसँग विवाह गरी तिब्बत आएकी थिइन् । त्यसै वेलादेखि तिब्बत र ताङ राजवंशबीचको सांस्कृतिक आदानप्रदानका कारण चिया पहिलोपटक तिब्बतमा आइपुग्यो । बिस्तारै तिब्बतीहरूले चिया पिउनुको फाइदा महसुस गर्न थाले । चिया पिउने संस्कृति तिब्बतमा फैलियो । तिब्बत पठार, मरुभूमि र उच्च भूभाग भएकाले त्यहाँका मानिसले हरिया सागपात, फलफूल, तरकारी कम खान पाउँछन् । चिया पिउनाले त्यो कमी हटाउन सकिन्छ भन्ने उनीहरूको विश्वास थियो । त्यो विश्वासले तिब्बतमा चिया पिउने चलनले व्यापक रूप लिँदै गयो ।
यसका आलावा तिब्बतमा झन्डै तीन हजार वर्षपहिले चीनको युनान प्रान्तबाट भोट भेगसम्म टी–ट्रेडको रुट थियो । सिल्क रोडले समेटेको ठाउँमा सोही बाटो हुँदै जाने र नसमेटेको ठाउँमा छुट्टै चिया व्यापारिक मार्ग (टी ट्रेड रुट) भएर चिया ओसारपसार गर्ने गरिन्थ्यो । त्यतिवेला चियालाई आधा प्रशोधन गरेर इँटाजस्तो वा गोलो बनाएर भोट पु¥याउने गरिन्थ्यो भनिन्छ । त्यति वेला चिया सुनसँग साट्ने गरेको इतिहाससमेत भेटिन्छ ।
चिया बिस्तारै तिब्बती जीवनका लागि अत्यावश्यक हुँदै गयो । चियालाई मुद्राको विकल्पको रूपमा प्रयोग गरिएको थियो । तिब्बती चियालाई बाँस, उखु बोक्ने कन्टेनरमा एक निश्चित आकारमा प्याक गरिन्थ्यो । चियालाई अन्य सामानसँग साट्न सजिलो होस् भनी इँटाकार र गोलाकार रूपमा राखिन्थ्यो । तिब्बत आफैँमा पठार भएकाले चिया उत्पादन हुँदैनथ्यो । त्यहाँका सबै चिया चीनबाट आयात हुन्थ्यो । मानिसहरूले चियासँग तिब्बती घोडा र भेडाहरू साटासाट गर्थे, र यसलाई चिया–घोडा व्यापार पनि भनिथ्यो । त्यसैको आधारमा एक निश्चित व्यापारिक मार्ग पनि विस्तार भयो, जसलाई चिया घोडा मार्ग ‘द टी हर्स रोड’ भनी नामकरण गरियो ।
हिजोआज हिमाली क्षेत्रमा भोटे चियाको ठाउँ कफीले लिन खोज्दै छ । भोटे चियाका लागि चाहिने भोटे नुन पाउन छाड्नु, चौँरी तथा भेडाच्यांग्राको घिउ नपाउनु, हिमाली क्षेत्रमा पशुपालन कम हुँदै जानु यसका कारण हुन् ।
चीनको चिया व्यापार मार्गको रूपमा रहेको चिया घोडा मार्ग (द टी हर्स रोड) मुख्यतया युनान, सिचुवान र तिब्बत हुँदै अघि बढ्थ्यो । यो व्यापारिक मार्गहरू छैटौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्म सक्रिय थियो । सिचुवान र युनान प्रान्तका मानिस तिब्बतका मानिससँग घोडा र चिया साट्न घोडा लिएर पैदल र घोडा सवारमा यात्रा गर्थे । चिया घोडाको बाटो ‘चिया–घोडा व्यापार’, विशेषगरी चिनियाँ हान र तिब्बती मानिसबीचको परम्परागत ‘घोडाको लागि चिया’ व्यापारबाट सुरु भएको थियो । यो ताङ राजवंश (६१८–९०७) को पालामा चियामा तिब्बतीहरूको रुचि भएबाट सुरु भएको थियो । सोङ राजवंशको समयमा सिचुवानका केही ठाउँहरू जस्तै मिङसानमा चिया घोडाको व्यापारको व्यवस्थापन र निरीक्षण गर्न विशेष सरकारी निकाय स्थापना भएको थियो ।
चिया घोडा व्यापारिक मार्गले सिचुवान, युनान र तिब्बतलाई जोडेको थियो । तिब्बतको ल्हासाबाट भोटे चिया भुटान, सिक्किम, नेपाल र भारतसम्म फैलिन्थ्यो । यसरी चिनियाँ चियाको संस्कृति विदेशमा पनि फैलियो । तिब्बतमा पठार भएकाले बोसो र उच्च तातो खाना जस्तै गाईको मासु, भेडा च्यांग्राको मासु, र दुग्धजन्य पदार्थहरू दैनिक आहारको रूपमा प्रयोग हुन्थ्यो । चिसो र ठन्डीको कारण पानी कम पिउँछन् । भोटे चिया पानीको विकल्पको रूपमा तिब्बतीहरूको प्रिय पेयपदार्थ बन्न पुग्यो ।
नेपालमा भोेटे चियाको प्रचलन
भोटे चिया नेपालको हिमाली क्षेत्रमा पनि लोकप्रिय पेयपदार्थ हो । हिमालीहरू दिनको कम्तीमा तीन–चारपटक भोटे चिया पिउँछन् । विशेष अवस्थामा एक दर्जनपटकसम्म पनि पिउने गर्छन् । नेपालको हिमाली समुदायमा भोटे चिया संस्कृति कहिलेदेखि प्रारम्भ भयो भन्नेबारे यकिनका साथ भन्न सकिन्न । तर, हिमाली क्षेत्रमा भोटे चियाको प्रचलन तिब्बतबाट भित्रिएको हो भन्न सकिन्छ ।
नेपालमा भोटे चियालाई सुचिया र नुन चिया पनि भनिन्छ । हिमाली समुदायले भने भोटे चियालाई स्थानीय भाषामा ‘पोयच्या’ भन्ने गर्छन् । नेपालको हिमाली समुदायको सांस्कृतिक सम्बन्ध तिब्बतसँग जोडिने भएकाले ‘पोयच्या’ पिउने प्रचलन तिब्बतबाट नै आएको हो भन्नेमा दुईमत छैन । ‘पोयच्या’को संस्कृति नेपाल भित्रिनुमा विशेषगरी विवाहवारी र व्यापारिक सम्बन्ध जिम्मेवार छ । नुन, ऊन र अन्न साटासाट गर्ने वेला तिब्बती र हिमालमा बस्ने नेपालीबीच बाक्लो भेटघाट हुन्छ । हिमालीमा बस्नेहरूमध्ये कतिपय विभिन्न समयमा तिब्बतबाट बसाइँ सरेर आएकाहरू पनि छन् । यिनै कारणले भोटे चिया संस्कृति नेपाल भित्रिएको मान्न सकिन्छ ।
चीनले तिब्बतलाई अधीनमा पार्नुअघि नेपाल र तिब्बतबीच विभिन्न नाकामा व्यापरिक सम्बन्ध कायम थियो । ताप्लेजुङ ओलाङचुङगोलाको टिप्ताला भन्ज्याङबाट नजिकै तिब्बतको रिवा बजारमा नेपालीहरू जान्थे । संखुवासभाको किमाथाङ्काबाट नजिकै तिब्बतको देन्दाङ र रिवा बजारमा नेपालीहरू जान्थे । दोलखाको लामाबगर र गोरखाको लार्के पार गरी तिब्बतको गोङङाङिजयाङमा पुगिन्थ्यो । हुम्लाको हिल्साबाट तौजियासी, ताक्लाकोट, बुराङहरूमा व्यापार हुने गथ्र्यो । यिनै नाकाबाट भोटे नुन र भोटे चिया आउने गथ्र्यो । तर, डोल्पाको सन्दर्भमा भने फरक छ ।
नेपालमा भोटे चियालाई सुचिया र नुन चिया पनि भनिन्छ । हिमाली समुदायले भने भोटे चियालाई स्थानीय भाषामा ‘पोयच्या’ भन्ने गर्छन् । नेपालको हिमाली समुदायको सांस्कृतिक सम्बन्ध तिब्बतसँग जोडिने भएकाले ‘पोयच्या’ पिउने प्रचलन तिब्बतबाटनै आएको हो भन्नेमा दुईमत छैन ।
डोल्पाको सिमाना नजिक तिब्बती बस्ती छैन । भोटे चिया तिब्बतबाट कालिम्पोङ पुग्छ र त्यहाँबाट डोल्पाको उपल्लो भोट क्षेत्र लगेर बिक्री गर्ने गरेको अनुभव स्थानीय काजिमान रोकाको छ । काजीमान डोल्पाबाट भदौ असोजमा खसीच्यांग्रा लिएर बेनी, बाग्लुङ झर्थे । खसीच्यांग्रा बेचेको पैसा लिई उनी भारतको कलकत्ता र कालिम्पोङ पुग्थे । त्यहाँबाट घोडाको गलामा बाँध्ने घण्ट, काँटी, रंग र भोटे चिया बोकेर बुटवल, पाल्पा हुँदै ढोरपाटन पुग्थे । त्यहाँबाट लेक काटेर तिछुरोङ पुग्ने र वैशाख जेठमा त्यही भोटे चिया लगेर उपल्लो डोल्पा जाने गरेको अनुभव काजीमान सुनाउँछन् ।
चियाको केन्द्र कालिम्पोङ
कलकत्ता र कालिम्पोङ नेपाल, भारत, भुटान र तिब्बतको एउटा प्रमुख व्यापारिक केन्द्र थियो । कालिम्पोङलाई अंग्रेजहरूले १८६५ मा भुटानबाट प्राप्त गरेको थियो । कालिम्पोङ नुन र भोटे चिया व्यापारको केन्द्र थियो । त्योसँगै कालिम्पोङ विशेषगरी युरोपेली मिसनरी र अन्वेषकहरूको लोकप्रिय ठाउँ थियो । नेपाली र तिब्बती शासकले युरोपेली क्षेत्रीय महत्वाकांक्षाबाट बच्ने अभिप्रायले सीमापार यात्रा र व्यापारमा कडा प्रतिबन्ध लगाएपछि कालिम्पोङ तिब्बत र नेपाल जोड्ने प्रमुख केन्द्र बन्यो । कालिम्पोङले ब्रिटिस, जर्मन, फ्रान्सेली र स्क्यान्डिनेभियन प्रवासीलाई आकर्षित गरेको थियो भनी जयती शर्माले ‘प्रोडुसिङ हिमालयन दार्जिलिङ : मोबाइल पिपल एन्ड माउन्टेन एन्काउन्टर्स’ मा उल्लेख गरेका छन् । त्यसैगरी टिना ह्यारिसको किताब ‘जियोग्राफिकल डाभर्सन : तिबेतेन ट्रेड एन्ड ग्लोबल ट्रान्जाक्सन’ मा पनि सो प्रसंग उल्लेख छ ।
कालिम्पोङदेखि भोटे चियाको भारी उपल्लो डोल्पासम्म पुर्याउँदाको अनुभव काजीमान रोकाया यसरी सुनाउँछन्, ‘दुःख त जीवनमा धेरै गरियो । कहिले खाली पेट दिनभर भारी बोकेर हिँडियो । कहिले हिउँ परेर भारी आधा बाटोमा छाडेर गएँ । घरबाट हिँडेको ५–६ महिनामा बल्ल घर पुगिन्थो । फेरि भोट पुग्ने, बेनी–बाग्लुङ झर्ने गर्दागर्दै ७–८ महिना बित्थ्यो ।’
एउटा रोचक प्रसंग उनले यसरी सुनाए, ‘बुटवल पाल्पा हुँदै भोटे चियाको भारी बोकेर डोल्पा जाने क्रममा फाल्गुने दूरी भन्ने ठाउँमा पुग्दा भयानक हिमपात भयो । रुकुमतिर जान निकै कठिन थियो । खानलाई अन्न थिएन । बसौँ भने भोकले मर्ने थियो । त्यसैले भारीलाई फाल्गुनेको ओडारमा छाडेर डोल्पातिर लागेँ । दुःखको कुरो त्यसवेला भारीभित्र रेडियोे थियो । मन परेको रेडियो पनि भारीमै छोडेँ । गाउँ पुगेर भारीको चिन्ताभन्दा पनि रेडियो बिग्रेला र केही होला भन्ने पिरले सतायो । एक महिनापछि हिउँ सुक्यो र भारी लिन आएँ ।’ ओलाङचुङगोलामा भोटे चिया तिब्बतबाट नै ल्याउने गरेको ताम्ला उक्याब र ससाङ लामा बताउँछन् ।
भनिन्छ, भोटे चियाका धेरै फाइदा छन् । जस्तै भोटे चियाले उचाइको रोग निको पार्छ, ज्यानलाई न्यानो बनाइराख्छ । सुक्खा मौसममा ओठ फुट्नबाट जोगाउँछ । धेरै भोटे चिया पिउनाले शरीरलाई बलियो बनाउँछ, आन्द्रा र पेटलाई पोषण दिन्छ र शरीरलाई ऊर्जा दिन्छ । भोटे चियामा उच्च क्यालोरी हुन्छ । शरीरमा पानीको मात्रा सन्तुलित राख्न भोटे चियाले काम गर्छ । हिमालीहरू भोटे चियासँग चाम्पा (सातु) र त्यसमा छुर्पीको धुलो मिसाएर बिहान र दिउँसोको खाजास्वरूप खान्छन् ।
भोटे चिया हिमालकोे वातावरणसँग अन्तरघुलित हुन सघाउने पेयपदार्थ मात्र नभई एउटा संस्कृति पनि हो । हिमाली समुदायको दैनिकीको सुरुवात भोटे चियाबाटै हुन्छ । बिहान उठ्नेबित्तिक्कै सबैभन्दा पहिला चुलोमा भोटे चिया बसाल्छन् । तर, हिजोआज हिमाली क्षेत्रमा भोटे चियाको ठाउँ कफीले लिन खोज्दै छ । भोटे चियाका लागि चाहिने भोटे नुन पाउन छाड्नु, चौंरी तथा भेडाच्यांग्राको घिउ नपाउनु, हिमाली क्षेत्रमा पशुपालन कम हुँदै जानु यसका कारण हुन् ।