• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तारालाल श्रेष्ठ
२०७९ असार ३२ शनिबार ०७:०४:००
यात्रा

मेयर ‘साप’ साइकल चढौँ !

२०७९ असार ३२ शनिबार ०७:०४:००
तारालाल श्रेष्ठ

गुरु पूर्णिमाको बिहान त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाको एउटा इमेल पाएँ । कसरी आधुनिक अर्थमानवले साइकलयात्री हेप्छ भन्ने सार इमेलमा उल्लेख थियो । साइकलयात्री सहरभित्र चौडा मोटरमार्ग रुचाउँदैनन्, सडक दुर्घटना निम्त्याउँदैनन्, रोगव्याधि बोकेर धेरै अस्पताल धाउँदैनन् । इन्सोरेन्स अफिस, पेट्रोलपम्प, कारसर्भिसिङ सेन्टर, फास्टफुड हबहरूमा फजुल खर्च गर्दैनन् । गुरूपूर्णिमाका दिन उपत्यकामा पैदल हिँडेको नोस्टाल्जियामा हराउनुभएछ सायद माथेमा सर । सादगी जीवनशैली रुचाउने मानिस काठमाडौं सहरमा पनि धेरै छन् । सत्यमोहन जोशी अझै पैदल हिँड्न रुचाउनुको रहस्य पक्कै सादगी संस्कृतिको सत्वभित्र भेटिएला । थुप्रै पाका पुस्ताका विदेशी उपत्यकाको सादगी संस्कृतिको नोस्टेल्जियामा हराइरहन्छन् । 


हिजोका मानिस सादगी यात्राका सौखिन थिए । आजका मान्छे तीव्र गतिका सवारीसाधनका भोका छन् । हामी अरू दुर्घटनामा परेको, अंगभंग घाइते भएको देख्छौँ । सडकमै मृत्यु भएको दृश्य पनि देख्छौँ । आफू भने कहिल्यै दुर्घटनामा पर्ने कल्पना गर्दैनौँ । स्टारअंकित साधनमा आफूलाई सुरक्षित देख्छौँ । उही साधनले सादगी यात्रीलाई किच्न सक्ने कल्पना गर्दैनौँ । सबैले सडकमा सुरक्षित बोध गर्नुपर्छ भनेर सोच्दैनौँ । सुरक्षित यात्राको सारथी खोज्दैनौँ, रोज्दैनौँ । 


नेपालमा जलयातायातको परिकल्पना मीठो सपना मात्रै हो । राणाकालीन समयमा सञ्चालनमा आएको न्यारोगेज रेल्वे विस्तार भएर देशव्यापी हुनुपर्ने थियो । तर, त्यसको अस्थिपन्जर नै मेटिएको अवस्था छ । भूवनोटको हिसाबले नेपालमा हवाई यातायातको सम्भावना छ । तर, सर्वसाधारणको पहुँच हवाई यातायातमा नगण्य हुने नै भयो । मोटरगाडी नेपालको निर्विकल्प यातायातको साधनझैँ देखिएको छ । तर, नेपाली सम्पदा सहरहरूमा इन्धनवाला मोटरगाडी विनाशकारीसिद्ध भइसकेको छ । विशेषतः काठमाडौं उपत्यकामा मोटरकार संस्कृतिको बढोत्तरीले सभ्यतामै निकै नकारात्मक परिणाम देखाइसकेको छ । 


अनुसन्धानहरूले साइक्लिङको सार्वजनिक स्वास्थ्य, वातावरण तथा अर्थतन्त्रमा उल्लेखनीय फाइदा पुर्‍याउने तथ्यलाई सिद्ध गरिसकेको छ । साइकलयात्रीको शारीरिक तथा मानसिक स्वास्थ्य लाभको अलावा सवारीसाधनमा हुने भारी आर्थिक भार कटौतीका आँकडा पनि उल्लेखनीय देखिन्छ । साइकलमैत्री संरचना विकास नै साइकल संस्कृति प्रवद्र्धनको प्रमुख आधार हो । यसले पैदलयात्रीको सुरक्षालाई समेत सुनिश्चित गर्छ । यसर्थ, आजकाल संसारभर सचेत सरकार, नीति–निर्माता, जनप्रतिनिधि, स्वतन्त्र नागरिक सबै साइकल संस्कृति प्रवद्र्धनमा समर्पित देखिन्छन् । नेपालमा पनि साइकलमैत्री संरचनाका विभिन्न कार्यक्रम अगाडि बढाइरहेको पाइन्छ । 


साइकल संरचनाभित्र साइकलचालकलाई प्रदान गर्ने विभिन्न अत्यावश्यक सुविधा तथा सुरक्षासँग सम्बन्धित संरचनाहरू जस्तै १. मोटरबाहेकको सडक सञ्जाल, २. साइकल बाटो, लेन, ट्र्याक र ट्रेल्स, ३. साइकल पार्किङ, ४. सर्भिसिङ सेन्टर, ५. साइकल साइनेज र सिगनल, ६. साइकल सेयरिङ सुविधा, ७. विविध साइकल संस्कृति विकासका कुरा पर्दछन् । सन् १८८० को दशकदेखि जब साइकल संस्कृति युरोपलगायत विश्वका विभिन्न मुलुकमा विकसित भए, साइकल संरचनाको निर्माण तथा विकासले पनि गति लिएको देखिन्छ ।

 

साइकलचालकका लागि मात्र लक्षित र समर्पित साइकल संरचना १८८० को दशकदेखि नै विकास भयो । तर, २०औँ शताब्दीको मध्यदेखि मोटरजन्य सवारीसाधनको एकाएक अत्यधिक विकास र विस्तारले साइकल संस्कृति र साइकल संरचनालाई खर्लप्पै खायो । यद्यपि, छिट्टै मोटरजन्य सवारीसाधनको अत्यधिक प्रयोग र इन्धन तथा प्राकृतिक स्रोतसाधनको चरम दोहनको दुष्परिणामबाट पाठ सिकेर सन् १९७० देखि विश्वजगत् साइकल संस्कृतिलाई पुनस्र्थापित गर्न साइकल संरचनामा लगानी गर्न बाध्य भएका देखिन्छन् । साइकललाई दीर्घकालीन बहुआयामिक हितको सवारीसाधन स्वीकार गर्दै मोटरजन्य सवारीसाधनलक्षित चौडा रोडहरू पुनः साँघुरो बनाएर हरियाली मार्गसहित साइकल संरचनाले सिगार्दै छन् ।

संसारका अधिकांश सहरका सडक साइकल लेन पेन्टिङले सजिसजाउ देखिन्छन् । साइकल ट्र्याकलाई बोलार्डले छेकेर मोटरजन्य सवारीसाधनको अतिक्रमणबाट साइकलयात्रीलाई सुरक्षा प्रदान गर्दै आएको सुन्दर दृश्य विश्वका अधिकांश सहर जताततै देखिन्छन् ।

 

संसारका अधिकांश सहरका सडक साइकल लेन पेन्टिङले सजिसजाउ देखिन्छन् । साइकल ट्र्याकलाई बोलार्डले छेकेर मोटरजन्य सवारीसाधनको अतिक्रमणबाट साइकलयात्रीलाई सुरक्षा प्रदान गर्दै आएको सुन्दर दृश्य विश्वका अधिकांश सहर जताततै देखिन्छन् । अबको सहर साइकल संरचनाविना सुन्दर मान्नै सकिन्न । पैदल, साइकल, सार्वजनिक यातायात प्रवद्र्धनविना कुनै पनि सहर अव मानव बस्नलायक हुनेवाला छैन भन्ने आत्मज्ञान आमविश्व नागरिकले प्राप्त गर्दै छन् । उदाहरणका रूपमा नेदरल्यान्डका प्रायः सबै सडक कम्तीमा २.५ मिटर चौडाइ साइकल बाटोका लागि व्यवस्था गरिएको छ । बाटो क्रस गर्ने प्रत्येक स्थलमा साइकलयात्रीको सुरक्षाका लागि प्रोटेक्टेड इन्टरसेक्सनको पनि व्यवस्था गरेको छ ।


अहिले विश्वभर साइकल संरचनामा सरकारले ठूलो धनराशी खर्च गर्दै आएको देखिन्छ । साइकल लेन, रुट, बाटो पूर्ण रूपमा साइकल यात्रीका लागि समर्पित अनेक मोडल प्रयोगमा आएका छन् । सबैभन्दा सस्तो र बढी प्रयोगमा आएको मोडल भनेको साइकल लेन पेन्ट तथा सडक मार्किङ नै हो जसलाई बोलार्डले छेकबार गरी साइकलयात्रीलाई थप सुरक्षा प्रदान पनि गर्ने गरिन्छ । कतिपय साइकल बाटो मोटरजन्य सवारीसाधन चल्ने सडकसँग नजोडिएर अलग्गै पनि व्यवस्था गरिएका हुन्छन् । कतिपय फुटपाथसँग सेयर्ड साइकल बाटो पनि छन् । कति हरियाली मार्गका रूपमा अलग साइकल बाटो प्रयोगमा आएका छन् ।

 

निश्चित रूपमा अलग्गै साइकल बाटो (बेलायतलगायत देशले प्रयोग गरेको सेग्रिगेटेड साइक्लिङ सुविधा) सबैभन्दा सुरक्षित र सहज देखिन्छ । साइकल लेन मार्क, लेन पेन्ट, बफर लेन, ट्र्याक, साइकल बाटोदेखि नेदरल्यान्ड र डेनमार्कले साइकल सुपरहाइवे नै सञ्चालनमा ल्याएको उल्लेखनीय साइकल संरचना उदाहरणीय नमुनाका रूपमा प्रयोगमा आइसकेका छन् । यी साइकल सुपरहाइवेमा आवश्यक सर्भिस स्टेशनलगायत अनेकौँ सुविधा साइकलयात्रीका लागि खर्चिएका देखिन्छन् । साइकलयात्रीलाई एक अंश पनि असहज नहोस् भनी केहीबेर पर्खिनुपर्ने स्थानमा खुट्टा भुइँमा टेक्न नपर्ने सुविधासमेत प्रदान गरेको पाइन्छ । साइकलयात्रीको त्रासदी पूर्ण रूपले हटाएर साइकलमैत्री सहर बनाउने कार्यमा उनीहरू रातदिन खटिरहेका छन् ।

 

कोलम्बो, बोगोटा, कोपनहेगन, अमस्टरडम, लन्डनलगायत सहरहरूले मोटरजन्य सवारीसाधनलाई कमी गर्दै (अझ कतिपय मुख्य सहरहरूमा पूर्ण रूपमा रोक लगाई) साइकल सहरमा रूपान्तर गरेको देखिन्छ । विशेषतः कोपेनहेगनमा सन् १८८० देखि नै साइकल संरचनालाई प्राथमिकताका साथ विकास गर्दै लगेको पाइन्छ । साइकलमैत्री वातावरण निर्माणका लागि विश्वका कतिपय सहरभित्र वन–वे ट्राफिकमा टुवे साइक्लिङको समेत व्यवस्था गरेको पाइन्छ । एकपछि अर्को नवीन साइकल संरचना निर्माणमा होडबाजी विश्वभर बढ्दो छ । हामीले उनीहरूकै मोडल अपनाउनुपर्छ भन्ने छैन, नेपालमा आफ्नै मौलिक मोडल अपनाएर अघि बढ्न सक्छौँ । राष्ट्रिय ऐन–नियम, स्थानीय नीति तथा मौलिक सम्पदालाई ध्यानमा राखेर हामी हाम्रै भूगोल, अवस्था तथा अर्थतन्त्र सुहाउँदो साइकल संरचना विकास गर्न सक्छौँ ।


नेपालमा सन् १९९० अघि साइकल निकै सम्मानित सवारीसाधनका रूपमा स्थापित थियो । तर, सन् १९९० को दशकदेखि मोटरजन्य सवारीसाधन बढ्दै गयो । सन् २०१० देखि अझ अत्यधिक रूपमा मोटरजन्य साधन बढ्दो छ । चौडा सडक विस्तारको नकारात्मक परिणाम पनि देखापरेको छ । अन्ततः साइकल संस्कृतिकै विकल्प नरहेको बोध नेपाली सहरहरूमा बसोवास गर्ने नागरिकले पनि गरिसकेका छन् । पहिलो स्थानीय निर्वाचनमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले चुनाव घोषणापत्रमै काठमाडौंलाई साइकल सहर बनाउने मीठो परिकल्पना सार्वजनिक गरेका थिए । उक्त मीठो परिकल्पना कागजको खोस्टोमै सीमित बन्यो । व्यवहारमा भने ललितपुरको मेयर चिरीबाबु महर्जन सबैभन्दा अगाडि देखापरेका छन् । ललितपुरको अधिकांश सडकमा सेयर्ड साइकल लेन (हरियो पेन्ट) देख्न सकिन्छ । पहिलो र दोस्रो साइक लेन परियोजना सम्पन्न भइसकेपछि अहिले बल्खुदेखि कोटेश्वरसम्म रिङगरोडमा डेडिकेटेड साइकल लेनका लागि टेन्डर आह्वान भइसकेको छ ।

 

ललितपुरमा साइकल संरचना निर्माण गतिविधिमा संलग्न हुँदैगर्दा मलाई हेटौँडा आफैँमा अझ सहजै सम्पन्न साइकल सहर बन्न सक्ने बोध भयो । हामीले हेटौँडामा नमुना साइकल लेन बनाइहाल्यो । चितवन, पोखरा, दाङलगायत नगरहरूमा पनि साइकल संरचना निर्माण कार्यको थालनी भएको छ । यद्यपि, नेपालमा अहिलेसम्म साइकल सहरको सम्पन्न नमुना पेस गर्न सकिएको छैन । साइकल संरचनामा समर्पित सारथीहरूले साइकल रुटको सञ्जाल विस्तारमा सहजै सघाउन सक्छन् । ठूला मोटरजन्य सवारी चल्ने सडकमा अलग साइकल बाटो बनाउन सकिन्छ । यसका लागि अति धेरै खर्च गर्नु पनि पर्दैन । बिरुवा रोपेर मात्रै साइकल तथा पैदलयात्रीका लागि सुरक्षित अलग बाटो बनाउन सकिन्छ ।

 

बोलार्डले पनि अलग साइकल बाटो छुट्याउन सकिन्छ । नगरप्रमुख साइकल संरचनाका कुरा गर्दा पैसा छैन भन्छन् । साइकल तथा पैदल संस्कृति प्रवद्र्धनका लागि सडकमा साधारण साइनेजहरू, विविध सौन्दर्यीकरणका गतिविधि र सामान्य बत्तीको व्यवस्थालगायत साधारण गतिविधि काफी छन् । विभिन्न अनुसन्धानको निष्कर्षले भन्छ, साइकल संरचनाले दीर्घकालीन साइकल संस्कृतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अत्यधिक मानिसलाई साइकल यात्रा गर्न आकर्षित गर्छ । साइकल संस्कृतिले सहरलाई सुन्दर बनाउन सघाउँदछ । साइकल संरचनाको विकाससँगै महिला, बालबालिका, ज्येष्ठ नागरिक सडकमा देखिनेछन् । सडकमा स्पष्टै देखिने धनी र गरिबबीचको खाडल साँधुरिनेछ । 


ललितपुरका नगरप्रमुख चिरिबाबु महर्जनले हेटौँडामा साइकल लेन बनेको देख्दा निकै आनन्द आयो भन्नुभयो । व्यापक विरोध पनि आएको कुरा सुनाउँदा त्यसमा नआत्तिनुस् भन्नुभयो । ललितपुर लेनका बारेमा पनि विरोधका आवाज चर्कै थिए, अझै छन् । जहाँ जस्तो सडक छन् त्यहाँ त्यस्तै लेन बनाउने हो । विरोधले बहस निम्त्याउँछ । बहसले निकास निकाल्छ । मेयर महर्जनले विविध विरोधलाई पचाएरै थप साइकल संरचनाका योजना अघि सारिरहनुभएको छ । बुढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन सञ्जाल जोड्ने सपना सुनाइरहनुहुन्छ, बागमती करिडोर हुँदै । कीर्तिपुर र भक्तपुर त्यही लेनबाट सहजै जोडिन्छन् ।

 

कीर्तिपुर स्वतः साइकलमैत्री छ, आकर्षक कार्यक्रम पर्खिबसेको छ । मेयर विद्यासुन्दर शाक्यले कहिल्यै हुन्न भन्नुभएन । तर, साइकल संरचनाका काम अघि पटक्कै बढाउनुभएन । मेयर बालेन्द्र साहले ललितपुरको साइकल लेनलाई सुरक्षित भन्नुहुन्न । साइकल संस्कृति अभियानको मास भेलालाई सम्बोधन गर्ने क्रममा मेयर साहले यही कुरा दोहो¥याउनुभयो । काठमाडौंमा ललितपुरमा जस्तो लेन होइन, अध्ययन गरेर डेडिकेटेड सुरक्षित साइकल लेन बनाउने भन्नुहुन्छ । साझा (सयर्ड) लेन बनाउन त महाभारत छ, डेडिकेडेड सुरक्षित लेनको कुरा एकैपटक बनाउन सकिएला ? बचेखुसेको सार्वजनिकस्थलहरूमा अन्डरग्राउन्ड मोटरकार पार्किङ बनाउँदा रानीपोखरीको पानी पूरै सुक्न सक्छ । सहरको सौन्दर्य पनि सकिन्छ । कारको कुलत र कुसंस्कार थप बढ्छ । काठमाडौं थप कुरूप बन्छ । त्यसको साटो डेडिकेटेट साइकल लेन बनाएमा काठमाडौं साइकलमैत्री सहर बन्न सक्छ । खुलामञ्च र अन्य सार्वजनिक स्थलहरूमा अन्डरग्राउन्ड पार्किङ बनाउनै नपर्ला । नेपाली अर्थव्यवस्थाले इन्धनदोहनवाला कति कार क्रेजी नागरिक धान्न सक्ला ?


हेटौँडा साहित्य महोत्सवमा साइकल संरचनासम्बन्धी सेसनलाई सम्बोधन गर्दै निवर्तमान नगरप्रमुख हरिबोल महतले भन्नुभएको थियो, ‘म साइकलप्रेमी हुँ, मेयर भएपछि पनि साइकलमा हिँडेको देखेर सबैले उल्लीबिल्ली लगाए ।’ मेयरको जिम्मेवारीबाट मुक्त भएपछि उहाँ अहिले हेटौँडामा नियमित साइकल हाँक्दै हुनुहुन्छ होला । नेपालमा आजसम्म नियमित साइकल चढ्ने मेयर भेट्न सकेका छैनौँ । हामी हाम्रा जनप्रतिनिधिसँग पैदल हिँड्दै वा साइकलमा हुँइकिदै सडकमै नगर विकासको बात मार्न चाहन्छौँ । अनि अरूहरूसँग, क्रमशः । सामान्य जीवनशैलीबाट उदाएका नगर प्रमुखहरू ‘मेयर साप’वाला संस्कार होइन साइकलमैत्री संस्कृतिलाई आंशिक रूपमा मात्रै अंगीकार गरिदिएमा देशका सम्पदा सहर सुन्दर बन्न सक्छ । वहाँहरू सुन्दर सहर र सुरक्षित यात्राका सारथि सहजै बन्न सक्नुहुन्छ । आम ज्येष्ठ नागरिक, महिला, बालबालिका, श्रमजीवी समुदाय वहाँहरूको साथमा सँगसँगै यात्रा गर्न सक्छन् । सर्वसाधारण जनतासँग जनप्रतिनिधिको सम्बन्ध सुमधुर रहिरहनेछ । 


नेपालमा अझै केन्द्रीकृत मानसिकता हाबी छ । राजधानी काठमाडौं सदाबहार केन्द्र हो । ललितपुरबाट सुरु भएर चितवन, पोखरा, हेटौँडा हुँदै दाङसम्म साइकल लेनले सजिइसक्यो । पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्म साइकल संरचना थपिँदो छ । केन्द्र काठमाडौंले साइकल संस्कृति विकासलाई प्राथमिकतामा राख्नेबित्तिकै देशभर सकारात्मक सन्देश प्रवाह हुनेछ । अझ अधिकांश जनप्रतिनिधिले आंशिक रूपमै भए पनि साइकल चढेमा चमत्कार बोध हुन सक्छ । यसर्थ, मेयर’साप’, बालेन्द्र साह, साइकल चढौँ !