• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘खुवालुङ’ को एक दृश्य
पवन बराइली
२०७९ श्रावण ७ शनिबार ०७:१५:००
फिल्म

जुर्मुराउँदै छ रंगमञ्च

‘अहिले नेपाली रंगमञ्चमा उभार आएको छ, यो उभारलाई रंगकर्मीहरूले कायम राख्नुपर्छ ।’

२०७९ श्रावण ७ शनिबार ०७:१५:००
पवन बराइली

 

जमाना त्यस्तो पनि थियो, जतिवेला नाटकघरमा दर्शक नगण्य हुन्थे । नाटक हेर्ने संस्कृतिको विकास पनि भइसकेको थिएन । कलाकारको अभिनयको भोक मेट्ने माध्यमभन्दा फराकिलो बन्न सकेको थिएन, रंगमञ्च । उम्दा अभिनय र रित्तो गोजी नाट्यकर्मीको नियतिजस्तै थियो, भलै अवस्था अझै धेरै सुधार भइसकेको छैन । 


झन्डै एक दशकअघिसम्म अवस्था यस्तै थियो । पछिल्लो दशक बिस्तारै चलायमान भएको यस क्षेत्रको रफ्तारमा महाभूकम्पको धक्का बाधक बनिदियो । धुलो टकटक्याउँदै उठ्ने साहस नभएको होइन, तर कोरोना महामारीबाट फेरि थलिन पुग्यो रंगमञ्च । झन्डै दुई वर्षसम्म यो क्षेत्र थिलथिलो भयो । धेरै कलाकार लाखापाखा लागे । विविध समस्याका बाबजुद अहिले फेरि रंगमञ्च जुर्मुराउँदै छ । भलै आर्थिक अवस्था अझै सुधार भइसकेको छैन, तर नाटकलाई हेर्ने दृष्टिकोण व्यापक बदलिएको छनक पछिल्ला गतिविधिले दिन्छ । जस्तो, मण्डला थिएटरमा ‘मितज्यू’ नाटक हेर्ने दर्शकको संख्या धेरै भएपछि प्रदर्शन मिति एक साता लम्ब्याउनुपर्‍यो । ‘पल्पसा क्याफे’ नाटक हेर्न मण्डलामै आएका कतिपय दर्शक टिकट नपाएर घर फर्कनुपर्‍यो । 


०००
कौसी थिएटरमा ‘हरेक बबाल कुरा’ हेर्न दर्शकको घुइँचो लागेपछि एक साता प्रदर्शन मिति लम्ब्याउनुपर्‍यो ।  नयनराज पाण्डेको उपन्यास ‘उलार’मा आधारित नाटक कौसी थिएटरमै पनि राम्रै चल्यो । सिनामंगलस्थित पुरानो घरमा जनयुद्धको विषयमा आधारित ‘खत’ले पनि धेरै दर्शकलाई आकर्षित गर्‍यो । महामारीपछि मञ्चन भएका ‘शिरीषको फूल’, ‘हरेक बबाल कुरा,’ ‘ढल्केको सालैज्यू’ ‘मितज्यू’ले दर्शकलाई आकर्षित गरेको थियो । ‘चोरको स्वर, ‘कथा कस्तुरी’ले पनि दर्शकको मन जित्यो । ‘कौसी थिएटरमा ‘ऐया माया’, मण्डलामा ‘इनसाइड आउटसाइड’ ‘ककन हरलता’लगायत नाटकले पनि राम्रो चर्चा बटुलयो । अहिले शिल्पीमा ‘हिउँको पृथ्वी यात्रा’, सर्वनामा ‘सपना अनेक अनेक’ र मण्डलामा ‘खुलालुङ’ मञ्चन भैरहेको छ ।  

शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’को दृश्य

‘कतिपय साथीहरूको चिन्ता मण्डला नयाँ ठाउँमा सरेपछि दर्शकको उपस्थित घट्छ भन्ने थियो । तर, हामी आशावादी थियौँ र अन्ततः सोचेजस्तै भयो,’ नाट्यकर्मी विजय बराल भन्छन् । नेपालमा नाट्य क्षेत्रको भविष्य उज्ज्वल देखेकाले नै होला, सिनेमाका धेरै अफर छाडेर उनी नाट्यकर्ममा समर्पित छन् । 


नाटकघरमा दर्शक नफर्केलान् भन्ने डर कौसी थिएटरकी सञ्चालक आकांक्षा कार्कीलाई थियो । ‘कोरोनाले दुई वर्षसम्म नाटकघर ठप्प भयो । त्यसपछि दर्शक आउँदैनन् कि भन्ने डर थियो । ‘बबाल कुरा’ एकल प्रस्तुतिमै मञ्चमा ल्याउनुको कारण यही हो । तर, दर्शकको घुइँचो लाग्यो । हामीलाई नयाँ ऊर्जा मिलेको छ,’ उनी भन्छिन्, ‘नयाँ–नयाँ नाटक मञ्चन गर्ने आँट आएको छ । महामारीपछि नेपाली रंगमञ्चले नयाँ लय समातेको छ ।’


थिएटर मलका सञ्चालक नाट्यकर्मी केदार श्रेष्ठ महामारीपछि नेपाली रंगमञ्चको माहोल अलग बन्दै गइरहेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रोमा अहिले झन्डै ५० प्रतिशत दर्शक नयाँ छन् । नाटकप्रति युवापुस्ताको क्रेज बढेको संकेतका रूपमा मैले यसलाई बुझेको छु ।’


पुरानो नाटकघरका सञ्चालक नाट्यकर्मी सुलक्षण भारतीको अनुभव फरक छ । ‘हामी अहिले रंगमञ्चमा दर्शक फर्काउन प्रयास गरिहेका छौँ । अपेक्षा गरेअनुसार दर्शक अझै आइसकेका छैनन्  । बरु, दर्शकलाई फर्काउने भरमग्दुर प्रयास भइसकेको छ’, उनी भन्छन् । 


कोरोना महामारीका कारण धेरै सिनेमा हल बन्द भए । ती हल खुल्ने छाँट अझै देखिएको छैन । तर, नाटकघरहरू धमाधम खुलिरहेका छन् । नवनिर्मित मण्डला नाटकघरले नियमित नाटक मञ्चनसँगै अध्ययन–अनुसन्धान र शोधका काम पनि अघि बढाइरहेको छ । उता एक्टर स्डुडियोले पनि राजधानीमा नाटकघर सञ्चालनमा ल्याएको छ । आरोहण गुरुकुलले पनि एक दशकपछि नाटकघर सञ्चालनमा ल्याएको छ । 

कौसी थिएटरमा मञ्चन भएको  नाटक ‘ऐया ! माया’को दृश्य

मोफसलमा पनि रौनक 


मोफसलमा पोखरामा ‘गन्धर्व’, विराटनगरमा ‘गुरुकुल’ र ‘झोराहट’, काँकडाभिट्टामा ‘परिवर्तन’ तथा दमकमा ‘कदम थिएटर’ले पनि आफ्नो नाट्य गतिविधि सुरु गरेका छन् । परिवर्तन थिएटरकी कबु नेपाल अहिले मोफसलमा पनि नाट्य गतिविधि तीव्र रहेको बताउँछिन् । ‘महामारीपछि अधिकांश कलाकार पलायन भए । त्यसकारण नाटक मञ्चन गर्न सकेनौँ । नयाँ कलाकारहरूसँग जोडिन समय लाग्यो । रंगमञ्चमा नाटक देखाउन नसके पनि ‘फोरम थिएटर’अन्तर्गत झापाका सबै स्थानमा नाटक प्रदर्शन गर्दै आइरहेका छौँ’, उनी भन्छिन् । 


परिवर्तन थिएटरले नयाँ नाटक प्रदर्शनका लागि तयारी गरिहेको उनी बताउँछिन् । ‘मोफसलमा परिवर्तन थिएटरले सबैभन्दा बढी नाटक उत्पादन र प्रदर्शन गरेको छ । अहिले नयाँ नाटकका लागि वर्कसप गराउँदै छौँ’, उनी भन्छिन् । 


युवा रंगकर्मीले जगाएको आशा


सोमनाथ खनाल, सुदाम सिके, आशन शर्मा, अनिल सुब्बा, राज शाह, चे शंकर, लगायत धेरै युवा कलाकारहरू अहिले रंगमञ्चमा जमेका छन् । वरिष्ठ नाट्यकर्मी तथा सर्वनाम नाट्य समूहका अध्यक्ष अशेष मल्ल युवापुस्ताका रंगकर्मीहरूको सक्रियताले नै नाटक जुर्मुराएको बताउँछन् । उनी भन्छन्, ‘रंगमञ्चमा युवाहरूको आगमनसँगै उत्साह थपिएको छ, आशाको दियो बलेको छ । नाटक हेर्न आउने दर्शकहरू पनि युवा पुस्ता नै छन् । यसले रंगमञ्चमा खुसी पक्कै ल्याएको छ ।’

सर्वनाम थिएटरमा मञ्चन भइरहेको गीति नाटक ‘सपना अनेक–अनेक’को दृश्य

अहिले निजी क्षेत्रबाट भइरहेका प्रयासले नेपाली रंगमञ्चलाई गतिशील बनाउँदै लगेको नाट्यकर्मी अनुप बराल सुनाउँछन् । उनी भन्छन्, ‘नाटक हेर्न आउने दर्शकहरूमा पनि विविधता आउन थालेको छ । नयाँ–नयाँ दर्शकहरूको उपस्थिति देखिन्छ । स्कुल तथा कलेज पढ्ने विद्यार्थी आउन थालेका छन् । यसरी माहोल बन्दै जाने हो भने रंगमञ्चले पक्कै सुखद यात्रा गर्छ ।’


नाट्यकर्मी निशा शर्मा एकपछि अर्काे नाटक घर खुलेर नेपाली नाट्यकर्ममा उज्यालो फर्किएको बताउँछिन् । ‘दुई वर्ष अन्यौलमा समय वित्यो । अहिले त्यो समयलाई मञ्चमा देखाउने अवसर मिलेको छ । नाटक हेर्न आउने दर्शक पनि बाक्लिएका छन् । यसले रंगमञ्चमा उत्साह थपिएको छ ।’


नाट्यकर्मी विमल सुवेदीको विचारमा दर्शकले नाटकलाई विश्वास गर्नु नै ठूलो हो । उनी भन्छन्, ‘सिनेमाले लय समात्न सकिरहेको छैन । सिनेमा हेरेर मनोरञ्जन लिने दर्शक पनि नाटकमा फर्किएका छन् । सिनेमाभन्दा नाटकलाई बढी विश्वास गरेको पाइएको छ’, उनी भन्छन्, ‘दर्शकको उपस्थिति एकदमै उत्साहजनक छ ।’


विमलको विचारमा थिएटरमा दर्शकको उपस्थितिले नेपाली समाज बौद्धिक बन्दै गएको संकेत गर्छ । सुवेदी भन्छन्,‘अहिले रंगमञ्चको लिट्रेसी पनि बढेको छ । यो नेपाली रंगमञ्चका लागि सकारात्मक हो । अहिले रंगकर्मीको अवसर र दायित्व दुवै बढेको छ ।’


‘खुवालुङ’ नाटकका लेखक तथा आख्यानकार राजन मुकारुङ नेपाली रंगमञ्च अग्रगमनतिर लागेको बताउँछन् । उनी भन्छन्, ‘नेपाली समाजको सौन्दर्यशास्त्रमा आधारित केही नाटक मञ्चन भइरहेका छन् । अहिले नेपाली रंगमञ्चमा उभार आएको छ । रंगमञ्चमा आएको यो उभारलाई रंगकर्मीहरूले कायम राख्नुपर्छ ।’


अझै पुरानै नाटकको भर


रंगमञ्चका चुनौती पनि छन् । जस्तो, अहिले प्रदर्शनमा आइरहेका अधिकांश नाटक या त अनुवाद हुन् वा उपन्यासमा आधारित छन् वा पुरानै नाटक दोहोरिएर प्रदर्शन भइरहेका छन् । यसबाट नयाँ सिर्जनाको खडेरी देखिएको छ । थिएटर मलमा देखाइएको पारिजातको ‘शिरीषको फूल’ होस् वा मण्डलामा देखाइएको नारायण वाग्लेको ‘पल्पसा क्याफे’,कौसीमा मञ्चन गरिएको ‘उलार’ होस् वा पुरानो नाटक घरमा देखाइएको ‘लाटीको छोरो’ यी सबै नाटक पहिले नै प्रकाशित भइसकेका उपन्यासमा आधारित हुन् । 

झापाको दमकस्थित कदम थिएटरमा मञ्चन भएको नाटक ‘सिमिक्का’को दृश्य


राम्रा नाटकको अभावका कारण किताबको सहारा लिनुपरेको नाट्यकर्मी विमल सुवेदी स्विकार्छन् । ‘अहिले नेपाली रंगमञ्चमा नाटक लेखन शून्य नै छ’, उनले भने । तर कविता, उपन्यास र कथाबाट नाटक बन्ने चलन नेपालमा मात्रै नभएर विदेशमा पनि रहेको उनी बताउँछन् । ‘नाटक देखाउन नाटकै हुनुपर्छ भन्ने होइन ।’ 


विमलको भनाइसँग नाट्यकर्मी घिमिरे युवराज पनि सहमत छन् । नेपाली रंगमञ्चमा राम्रा नाटक अभाव भएरै विकल्प खोज्न बाध्य भएको उनी बताउँछन् । ‘नेपाली नाटक लेखन एकदमै सुस्त छ । त्यसैले विदेशी नाटकको अनुवाद, उपन्यास र कथालाई रूपान्तरण गर्नु परेको हो । उपन्यास, निबन्ध, कथाजस्तो प्रशस्तै नाटक लेखिएको छैन ।’


आख्यानकार मुकारुङ नाटक लेखकलाई प्रोत्साहन नहुँदा मौलिक नाटकको अवस्था कमजोर बनेको बताउँछन् । ‘उपन्यास वा सिनेमा लेख्दा त्यसबाट लेखकलाई राम्रो पारिश्रमिक हुन्छ, बजारमा पनि चर्चा हुन्छ । नाटकमा उति नै समय र मिहिनेत आवश्यक हुन्छ’, उनी भन्छन्, ‘नाटक लेखकलाई ठूलो लगानी गर्ने चलन छैन  । त्यसैले पुराना कृतिहरूलाई जोडेर नाटकमा रूपान्तरण गर्नुपरेको हो ।’


कलाको अन्य विधाभन्दा नाटक लेखन गाह्रो विधा भएकाले नाटक कम लेखिएको बताउँछन्, अषेश मल्ल । ‘कलाको अन्य विधाभन्दा नाटक लेखन गाह्रो काम हो’, उनी भन्छन्, ‘विश्वमा २०–३० वर्षको बीचमा राम्रो नाटककार जन्मिछन् । सेक्सपियरपछि अर्काे नाटककार जन्मन वर्षाैं लागेको थियो । नेपालमा मात्रै होइन संसारभर नाटककार कम छन् । त्यसकारण नयाँ नाटक कम लेखिनु स्वाभाविक हो ।’ पुराना नाटकहरू अझै धेरै मञ्चन हुन बाँकी रहेको मल्लको दाबी छ । उनी थप्छन् ‘हामीसँग मञ्चन गर्नुपर्ने अझै धेरै नाटकहरू छन् ।’