• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
न्युयोर्क टाइम्स
२०७९ श्रावण ७ शनिबार ०८:१९:००
अनुवाद

फिरौती सकियो, लुट सकिएन : हाइटीकै बैंकमार्फत फ्रान्सले लुटिरह्यो

२०७९ श्रावण ७ शनिबार ०८:१९:००
न्युयोर्क टाइम्स

दास विद्रोहबाट आफ्नो स्वतन्त्रता जित्ने पहिलो आधुनिक राष्ट्र थियो– हाइटी । तर, १९औँ शताब्दीको अधिकांश समय हाइटीले ठूलो संघर्षपछि हासिल गरेको स्वतन्त्रता जोगाउन फ्रेन्च सरकारले माग गरेअनुरूपको फिरौती तिर्नुपर्‍यो । पूर्वउपनिवेशकबाट आर्थिक रूपमा बाँधिएपछि हाइटीले पूर्वाधारमा लगानी गर्न सकेन । तर, सन् १८८० सम्म आइपुग्दा हाइटीलाई तोपको डरमा थोपरिएको फिरौती रकमको अन्तिम किस्ता तिर्ने दिन नजिकिँदै थियो । यसै वर्ष सेप्टेम्बर २५, १८८० मा नवनिर्वाचित राष्ट्रपति लिसियस सलोमनले एक रात्रिभोज आयोजना गरे ।

 

रात्रिभोजमा आमन्त्रित पाहुनाहरूका सामु उनले एक सुखद समाचार घोषणा गरे, ‘छिटै हाइटीको आफ्नै राष्ट्रिय बैंक हुनेछ ।’ फिरौती रकम तिर्ने समय ढिलो हुँदा समुद्री क्षितिजमा फ्रेन्च युद्धपोतहरू देखिएला भनेर डरमा रहनु नपर्ने कल्पनाले समाजमा आशा सञ्चार भएको थियो । विज्ञहरूले देशले अब एक आर्थिक संकटबाट अर्कोमा फस्नु पर्नेछैन भन्न थालेका थिए । नयाँ राष्ट्रपति लिसियस सलोमनले स्वतन्त्रतादेखि नै हाइटीको सपना रहेको राष्ट्रिय बैंक स्थापना गर्ने सपना देख्नु त्यसैको निरन्तरता थियो । 

 

तर सलोमनले त्यति धेरै आशा गरेको ‘नेसनल बैंक अफ हाइटी’ नामको मात्र नेसनल (राष्ट्रिय) थियो । हाइटीवासीले देशको समृद्धिको साधन हुने ठानेको तिनको केन्द्रीय बैंक सुरुदेखि नै पूर्वऔपनिवेशिक शक्तिको पकड कायम राख्ने नयाँ साधन बन्यो । नेसनल बैंक अफ हाइटीको इतिहास पूर्णतः हाइटीमाथि फ्रेन्चले मच्चाएको लुटको कथा हो । सो बैंक स्थापना हुँदा फ्रान्सले दासमालिकका सन्तानलाई दासदासीका सन्तानले जुन फिरौती रकम तिर्नुपर्ने कबोल गराएको थियो, त्यो लगभग तिरिसकेको थियो । देशलाई वित्तीय स्वतन्त्रता दिने वाचाका साथ स्थापना भएको राष्ट्रिय बैंकले आगामी केही दशक देशको सम्भावनालाई कुल्चियो । 

 

हाइटीको केन्द्रीय बैंकलाई पेरिसस्थित एक बैंक क्रेडिट इन्डस्ट्रियल एट कमर्सियल (सिआइसी)ले स्थापना गर्न सघाएको थियो । त्यो त्यही समय हो, जब सो बैंकले फ्रान्सेली स्वतन्त्रताको स्मारकको रूपमा विश्वप्रसिद्ध एफिल टावर निर्माणमा लगानी गरिरहेको थियो । बैंकले एक नयाँ राष्ट्रको आम्दानी पेरिसमा लगेर सो देशको विद्यालय, अस्पताल र अन्य पूर्वाधार निर्माण गर्ने क्षमतामा धक्का दिइरहेको थियो । सिआइसी अहिले युरोपको सबैभन्दा ठूलो वित्तीय समूहको सहायक कम्पनीका रूपमा ३५५ अर्ब डलरको कम्पनी हो । तर, इतिहासमा यसले हाइटीमा गरेको शोषणले एक कुख्यात दोहनको विरासत खडा गरेको छ ।

 

स्थापनाकालदेखि नै फ्रेन्च सम्भ्रान्तहरूले हाइटीको राष्ट्रिय बैंकलाई फ्रान्सेली राजधानीबाट नियन्त्रण गरे । न्युयोर्क टाइम्सले अध्ययन गरेको मौलिक तथ्यांक तथा कागजपत्रको विश्लेषण गर्दा क्रेडिट इन्डस्ट्रियलले राष्ट्रिय बैंकको प्रयोग गरेर हाइटीबाट दसौँ लाख डलर फ्रेन्च धनाढ्यको खल्तीमा पुर्‍याएको थियो । क्रेडिट इन्डस्ट्रियलले सिर्जना गरेको राष्ट्रिय बैंकले हाइटियन सरकारले गरेको लगभग हरेक कारोबारमा शुल्क लिन्थ्यो । बैंकका सेयरधनीले यसबाट यति धेरै पैसा कमाए कि केही वर्षमै तिनको नाफा १५ लाख जनसंख्या भएको एउटा देशको सम्पूर्ण सार्वजनिक बजेटभन्दा बढी थियो । 

पहिलेको दासमालिक परिवारको ठाउँमा क्रेडिट इन्डस्ट्रियल आएको थियो । यसमा हाइटीका नेताहरू पनि केही जिम्मेवार छन् । किनकि केही भ्रष्ट नेताले यो ऋण ल्याउन फ्रेन्च लगानीकर्तासँग साँठगाँठ गरेका थिए र उनीहरूले यसको केही अंश कमिसन पाए । 


तर बैंकको दोहनको यो इतिहाससम्बन्धी धेरै तथ्य तथा अभिलेखहरू नष्ट गरेको पाइएको छ । क्रेडिट इन्डस्ट्रियलले आफूलाई फ्रान्सको सबैभन्दा पुरानो बैंकको रूपमा प्रचार गर्ने सामग्रीमा हाइटी कतै पनि उल्लेख पाइँदैन । न्युयोर्क टाइम्सले यो आलेख तयार पार्दा बैंकका एक प्रवक्तासँग हाइटीमा बैंकले गरेका कामबारे सोध्दा उनले ‘बैंकलाई यस अवधिबारे कुनै जानकारी नभएको’ बताए । न्युयोर्क टाइम्सको अध्ययन टोलीले गरेको छलफलको अनुरोध बारम्बार अस्वीकार गरियो । ‘आजको हाम्रो बैंक बिल्कुल फरक हो,’ प्रवक्ता पल गिबर्टले भने । (यो आलेख प्रकाशित भएपछि, बैंकका मातृ कम्पनीका अध्यक्षले हाइटीसँग जोडिएको यसको इतिहास र ‘वित्तीय औपनिवेशीकरण’मा यसले खेलेको कुनै पनि भूमिकाको खोजीका लागि अनुसन्धानकर्ता नियुक्त गर्ने बताएको छ ।)


न्युयोर्क टाइम्सले १९औँ शताब्दीका कागजपत्र, कूटनीतिक अभिलेख तथा बैंकका कागजात खोज्यो, जसबारे इतिहासकारले बिरलै अध्ययन गरेका छन् । ती कागजातले क्रेडिट इन्डस्ट्रियलले हाइटीका तत्कालीन सम्भ्रान्त वर्गका भ्रष्ट सदस्यसँगको साँठगाँठमा राष्ट्र निर्माण गर्ने भन्दै उसलाई झन्डै असफल मुलुक बनाउन लागेको देखाउँछ ।


२०औँ शताब्दीको सुरुसम्म हाइटीको राजस्वको सबैभन्दा ठूलोमध्ये एक स्रोत कफी बालीमा लाग्ने करको आधा हिस्सा सिआइसी तथा कथित राष्ट्रिय बैंकका फ्रान्सेली सेयरधनीको खल्तीमा जान थालेको थियो । हाइटीको अन्य ऋणहरू कटौती गरिसकेपछि त्यहाँको सरकारसँग प्रत्येक तीन डलर संकलित राजस्वमा ६ पेनी(समानार्थी पैसा) बाँकी रहन्थ्यो, जुन देश सञ्चालनका लागि पर्याप्त हुँदैनथ्यो । यसले हाइटीलाई दीर्घकालीन असर पुर्‍यायो ।


तीन दशकभन्दा बढी समय फ्रान्सेली सेयरधनीले हाइटीको राष्ट्रिय बैंकबाट आजको डलरभाउमा कम्तीमा १३.६ करोड डलर नाफा कमाए । जुन सो मुलुकको तत्कालीन समयको वर्षभरको सम्पूर्ण राजस्वबराबर रहेको कागजातले देखाउँछन् । यसले पारेको कुल नोक्सानी धेरै बढी थियो । हाइटीको राष्ट्रिय बैंकले संकलन गरेको सम्पत्ति देशमै रहेको भए त्यसले केही वर्षमा हाइटीको अर्थतन्त्रमा कम्तीमा १.७ अर्ब डलर थप्ने थियो, जुन सन् २०२१ को हाइटी सरकारको कुल राजस्वभन्दा बढी हो । 


अझ महत्वपूर्ण कुरा हाइटीको राष्ट्रिय बैंकको दोहन दासमालिकलाई पुस्तौँपुस्तासम्म क्षतिपूर्ति तिरेपछि सुरु भएको थियो । हाइटीका राजनीतिज्ञ तथा अर्थशास्त्री एडमन्ड पलले सन् १८८० मै यस लुटबारे लेख्दै भनेका थिए, ‘खिइएको सार्वजनिक कोषको उद्धार गर्न आएको भनेर दाबी गर्ने एक बैंकले पैसा जम्मा गरिरहेको छैन, बरु मूल्य भएका हरेक चिज अन्तै लगिरहेको छ ।’

आशा र आकांक्षाहरू
क्रेडिट इन्डस्ट्रियलका अध्यक्ष हेनरी डुरियुले फ्रान्सका राष्ट्रिय बैंकले सेनेगल र मार्टिनिकजस्ता उपनिवेशमा अवलम्बन गरेको कृत्यलाई प्रेरणाका रूपमा लिएका थिए । डुरियु र उनका सहकर्मीहरू ‘धनी तर सुदूर मुलुकमा बैंक सिर्जना गर्ने’ कुरामा उत्साहित भएको फ्रान्सको राष्ट्रिय अभिलेखमा रहेका तिनका हस्तलिखित नोटहरूमा वर्णन भेटिन्छ । ऋण बजारको लागि नयाँ मुलुक हाइटी यसै पनि स्रोतका लागि पहिले नै चर्चित थियो । यसैले क्रेडिट इन्डस्ट्रियलका लगानीकर्ताका लागि यो राम्रो सम्भावना भएको मुलुक थियो । यता बैंकका सेयरधनीले समृद्ध मानेको लामो कालको फिरौती भुक्तानीले गरिब भइसकेको थियो । तर, यो मुलुक युरोपेलीहरूका लागि अझै सम्भावना बोकेको मुलुक थियो । एक ब्रिटिस कूटनीतिज्ञ स्पेन्सर सेन्ट जोनले सन् १८८४ मा लेखेका थिए, ‘(हाइटीसँग जति) कुनै पनि देशसँग यति ठूलो क्षमता वा यति राम्रो भौगोलिक अवस्थिति वा माटो, जलवायु तथा उत्पादनको यति धेरै विविधता छैन ।’

‘पहिलेभन्दा धेरै ऋणको भारी’
डुरियुलाई सपना बेच्ने तरिका थाहा थियो । पाँच वर्षअघि सिआइसी र अहिले बन्द भइसकेको उसको साझेदार संस्थाले हाइटीलाई ३.६ करोड फ्र्याङ वा आजको भाउमा १७.६ करोड ऋण दिएको थियो । उक्त रकम पुल, बजार, रेलमार्ग र लाइटहाउस निर्माण गर्न प्रयोग गर्नुपर्ने थियो । फेरि त्यस वेलाको विश्वव्यापी माहोल पनि पूर्वाधार निर्माणकै थियो । इंग्ल्यान्डले नयाँ विद्यालय निर्माण गरेर शिक्षालाई अनिवार्य गर्ने कानुन पारित गरेको थियो । फ्रान्सको राजधानी पेरिसमा सफा पिउने पानी बोक्ने ९७ माइल लामो पाइप निर्माण भएको थियो । न्युयोर्कले चर्चित ब्रुकलिन पुल बनाएर इन्जिनियरिङ क्षमता मात्र प्रदर्शन गरेन पुलको सहाराले सहरको अर्थतन्त्रलाई सधैँका लागि बदल्यो । 

भन्नलाई हाइटीको राष्ट्रिय बैंक भनियो, तर सञ्चालनमा उसको कुनै भूमिका थिएन । राष्ट्रिय बैंकको मुख्यालय नै क्रेडिट इन्डस्ट्रियलको मुख्यालयमा थियो, जुन पेरिसको नाइन्थ एरोन्डिसमेन्टमा थियो ।


हाइटीले सिआइसीबाट लिएको रकमको २० प्रतिशत हिस्सा उसले तिर्न बाँकी फिरौती रकमको अन्तिम किस्ताका लागि छुट्यायो । यो कुरा ऋण सम्झौतामै उल्लेख थियो । ‘अब देश आर्थिक संकटबाट बाहिर आउनेछ । अर्थतन्त्रले काँचुली फेर्नेछ,’ हाइटियन सरकारको त्यो वर्षको वार्षिक प्रतिवेदनले उत्साहका साथ भविष्यवाणी गरेको छ । तर, त्यस्तो केही भएन । माथिबाट, फ्रेन्च बैंकका शीर्ष अधिकारीले कमिसन र विभिन्न शुल्कको नाममा ऋणको ४० प्रतिशत हिस्सा आफँैले राखे । बाँकी ४० प्रतिशत रकममध्ये केहीले हाइटीले तिर्न बाँकी केही पुरानो ऋण चुक्ता भयो र साथमा ठूलो रकम भ्रष्ट हाइटियन राजनीतिज्ञको खल्तीमा हरायो । ‘कुनै पनि लक्ष्य हासिल भएन । अहिले देशको काँधमा पहिलेभन्दा धेरै ऋण मात्र थपिएको छ,’ एकजना हाइटियन सिनेटरले सन् १८७७ मा घोषणा गरे ।


क्रेडिट इन्डस्ट्रियल र यसको साझेदारबाट हाइटीले लिएको सन् १८७५ को ऋणले दुई ठूला असर छाड्यो । अर्थशास्त्री थोमस पिकेट्टीका अनुसार पहिलो असर ‘क्रूर औपनिवेशिकता’बाट ‘ऋणको माध्यमबाट नवऔपनिवेशिकता’तर्फको संक्रमण थियो । हाइटीले आफ्ना पुराना दासमालिकलाई तिर्ने बोझ हटाउने आशामा लाखौँ नयाँ ऋण थोपरेको थियो । यस ऋणले हाइटीको वित्तीय बन्धनलाई लम्ब्याउन मद्दत गर्‍यो । पहिलेको दासमालिक परिवारको ठाउँमा क्रेडिट इन्डस्ट्रियल आएको थियो । यसमा हाइटीका नेता पनि केही जिम्मेवार छ । किनकि केही भ्रष्ट नेताले यो ऋण ल्याउन फ्रेन्च लगानीकर्तासँग साँठगाँठ गरेका थिए र उनीहरूले यसको केही अंश कमिसन पाए । 


दोस्रो असर भने तुरुन्तै महसुस भयो । ऋण लिएलगत्तै हाइटी सरकारले निर्यातबाट हासिल गर्ने करको झन्डै आधा हिस्सा सिआइसी र उसको साझेदारलाई तिर्नुपर्ने थियो । यो व्यवस्था ऋण नतिरेसम्म रहने थियो । यस व्यवस्थाले एकदम प्रभावकारी रूपमा देशको आयको मुख्य स्रोतमा धक्का दिएको थियो । सन् १८७५ को ऋणले डुरियु र उनको फ्रेन्च बैंक सिआइसीलाई हाइटीको आर्थिक भविष्यमाथि हिस्सेदारी खोज्ने बाटो खोलिदिएको थियो । यस सफलताले उनले आफ्नो दृष्टि अझ विस्तार गरे । 

 

पेरिस मुख्यालयमा हाइटीको राष्ट्र बैंक
हाइटीको राष्ट्रिय बैंक स्थापना गर्ने सम्झौतामा डुरियु र उनका सहकर्मीलाई राज्यकोषको डाडुपन्यु नै बुझाएजस्तो थियो । पैसा छाप्ने, कर संकलन र सरकारी तलब भुक्तानी तिनकै नियन्त्रणमा पुग्यो । हाइटी सरकारले जति पनि पैसा जम्मा गथ्र्यो वा भुक्तानी तिर्‍यो, राष्ट्रिय बैंकले त्यसमा कमिसन लिन्थ्यो । त्यो पैसा कहाँ जान्छ भन्ने कुनै शंका थिएन । बैंक स्थापनाको सम्झौताले नेसनल बैंक अफ हाइटी फ्रान्सको कानुनअनुसार चल्थ्यो । यसले हाइटीमा न कर बुझाउनुपदैनथ्यो, न त्यहाँको कानुन नै यसलाई लागू हुन्थ्यो । 


बैंकसम्बन्धी सम्पूर्ण अधिकार पेरिसमा रहेका बोर्ड अफ डाइरेक्टरको हातमा राखिएको थियो । भन्नलाई हाइटीको राष्ट्रिय बैंक भनियो, तर सञ्चालनमा उसको कुनै भूमिका थिएन । राष्ट्रिय बैंकको मुख्यालय नै क्रेडिट इन्डस्ट्रियलको मुख्यालयमा थियो, जुन पेरिसको नाइन्थ एरोन्डिसमेन्टमा थियो । पेरिस फाइनान्सियल एसोसिएसनले सन् १८९६ मा लेखेको थियो, ‘हैटीको राष्ट्रिय बैंक एक फ्रान्सेली वित्तीय संस्था हो, जसको मुख्यालय पेरिसमा छ । हाइटीमा रहेका यसका कार्यालय केवल शाखा हुन्, जुन मुख्य कार्यालयको अख्तियार र नियन्त्रणमा छ ।’


डुरियुले चालेको चालले राम्रो मुनाफा दिन थाल्यो । जुन समयमा प्रायः फ्रेन्स लगानीको पाँच प्रतिशत मुनाफा आउथ्योे, त्यो समयमा नेसनल बैंक अफ हाइटीका बोर्ड सदस्यहरू र सेयरधनीहरूले तिनको लगानीमा वार्षिक औसत १५ प्रतिशत कमाउने गरेका न्युयोर्क टाइम्सको वित्तीय कागजातको अध्ययनले देखायो । केही वर्ष त मुनाफा फिर्तीदर २४ प्रतिशतसम्म पुग्यो । हाइटीले सन् १८७५ को ऋणमा आलोचना खेपेको बैंकबाट त्यति कमजोर सर्तमा सहमति जनाएको तथ्यले एक त ऊ जुनै सर्तमा वित्तीय सबलता बढाउने मनस्थितिमा रहेको देखाउँछ । साथमा यसमा हाइटीका प्रमुख वार्ताकार चाल्स लाफोरेस्ट्रीको बदनियतलाई इंगित गर्छ । आफ्नो जीवनको अधिकांश समय पेरिसमा बिताएका लाफोरेस्ट्रीले आफ्नो देशवासीभन्दा बैंकरलाई फाइदा हुने गरी सम्झौता गरेका थिए । 


पछि जुन मुलुकको रष्ट्रिय बैंक भनिएको छ, त्यहीँको नागरिक तथा व्यवसायीको बचत खाता खोल्दैनथ्यो यसले । सम्झौताले मुलुकका व्यवसायलाई ऋण दिन अनुमति दिएको भए पनि फ्रान्सको राउबिक्समा रहेको बैंकको अभिलेखमा बैंकले कहिले पनि हाइटीको नागरिकता खाता खोलेन । रोजगारीको हकमा पनि हाइटीको नेसनल बैंकमा, हाइटीहरूका लागि मात्र आरक्षित पदहरू क्यासियर मात्र हुन्थ्यो । 


१९औँ शताब्दीको दोस्रो भाग हाइटीका लागि ठूलो अवसर हुनुपथ्र्यो । किनकि उसको प्रमुख उत्पादन कफीको विश्वव्यापी माग उच्च थियो । क्यारिबियन सागरकै अर्को मुलुक कोस्टारिकाले कफीबाट आर्जित आयलाई विद्यालय, ढल निकास प्रणाली र ल्याटिन अमेरिकामा पहिलो नगरपालिकाको विद्युतीकृत प्रकाश सञ्जाल निर्माणमा लगाइरहेको थियो । तर, उता हाइटी भने कफीकरको ठूलो हिस्सा फ्रान्सलाई भुक्तान गर्न बाध्य भइरहेको थियो, पहिले पूर्वदासमालिकका सन्तानलाई त्यसपछि क्रेडिट इन्डस्ट्रियललाई ।


क्यारिबियन क्षेत्रको इतिहास अध्येता तथा अर्थशास्त्री भिक्टर बुल्मर–थोमसद्वारा संकलित तथ्यांकका अनुसार हाइटीले अर्थतन्त्रलाई कफीमै केन्द्रित गरिराख्नु गम्भीर गल्ती हुन गयो । पछि कफीको बिक्रीमा असर परेपछि उसको अर्थतन्त्र नराम्ररी थलियो, उठ्न गाह्रो भयो । तथापि भिक्टर भने कफीको बिक्री उचाइमा रहँदा साम्राज्यवादी शक्तिले उसलाई उठ्न नदिएको मान्छन् । 

पछि जुन मुलुकको राष्ट्रिय बैंक भनिएको छ, त्यहीँको नागरिक तथा व्यवसायीको बचत खाता खोल्दैनथ्यो यसले । सम्झौताले मुलुकका व्यवसायलाई ऋण दिन अनुमति दिएको भए पनि फ्रान्सको राउबिक्समा रहेको बैंकको अभिलेखमा बैंकले कहिले पनि हाइटीको नागरिकता खाता खोलेन । 


सन् १८९० मा डुरिउको मृत्यु भयो र केही वर्षपछि उनले स्थापना गरेको बैंकहरूमाथि हाइटीमा विरोध सुरु हुन थाल्यो । सन् १९०३ मा बैंकमाथि जालसाजीपूर्ण अति शुल्क लिएको, ऋणको दोहोरो ब्याज लिने गरेको र देशको हितविपरीत काम गरेको आरोप चर्को रूपमा उठ्न थाल्यो । बैंकको विरोधमा सबैभन्दा चर्को आलोचक थिए, देशका अर्थसचिव फ्रेडरिक मार्सेलिन । एक सफल हैटियन व्यापारीका छोरा मार्सेलिन आफैँमा पनि व्यापारी, पत्रकार र राजनीतिज्ञ थिए । उनले वर्षौं नेसनल बैंक अफ हाइटीलाई हाइटीको नियन्त्रणमा ल्याउन संघर्षको नेतृत्व गरे । 


विरोध चर्किंदै गएपछि बैंकले एक महत्वपूर्ण विवरण स्मरण गरायो– यो फ्रान्समा चार्टर्ड भएको बैंक रहेकाले ऊ त्यहाँको कानुनको बन्धनमा नरहेको बतायो । यस तथ्यबाट विचलित नभई मार्सेलिनले संसद्लाई राष्ट्रिय बैंकलाई बलजफ्ती नियन्त्रण लिन र हाइटीको पैसा आफैँले छाप्न मनाए । तर, कूटनीतिक अभिलेखहरूले यो समयमा नेसनल बैंक अफ हाइटीलाई फ्रेन्च नियन्त्रणमा राखिराख्न फ्रेन्च सरकार आफैँ अघि सरेको देखाउँछ । सन् १९०८ जनवरीमा हाइटीका लागि फ्रान्सका राजदूत पियरे कार्टनरले मार्सेलिनसँग भेट गरे । भेटमा कार्टनरले मार्सेलिनलाई बैंकसँग सम्बन्ध सुधार गर्न आग्रह गरे । मार्सेलिनले प्रस्ताव अस्वीकार गरे । हाइटीको नेसनल बैंक जीवित रहने हो भने यसले हाइटीको आर्थिक विकासमा काम गर्नुपर्ने उनले अडान लिए । 


‘त्यो सम्भव छ, तर त्यसका लागि हाइटीले


आफ्नो राज्यकोष फ्रान्सको नियन्त्रणमा दिनुपर्छ । तपार्इंलाई पैसाको आवश्यकता छ, त्यसलाई कहाँबाट ल्याउनुहुन्छ ?’ कार्टनरले जवाफ दिए । कार्टनरले मार्सेलिनलाई यति भने पनि उनी यसमा सहमत हुनेमा आश्वस्त थिएनन् । त्यसैले उनले पेरिसमा रहेका आफ्ना सहकर्मीलाई नयाँ योजना ल्याउन भने जुन ‘हाइटीमा नयाँ फ्रान्सेली ऋणदाता प्रतिष्ठान स्थापना गर्नेमा केन्द्रित हुनुपर्छ र त्यसमा हाइटी सरकारको सम्बन्धन हुनुहुँदैन ।’ यससम्बन्धी कार्टनरको हस्तलिखित भनाइ अझै भेटिन्छ ।


त्यो नयाँ संस्था पुरानो नाममा हल्का बदलेर सन् १९१० मा खोलियो । नाम थियो, नेसनल बैंक अफ द रिपब्लिक अफ हाइटी । फ्रान्सको अझै पनि हिस्सेदार थियो, तर झन्डै तीस वर्षपछि क्रेडिट इन्डस्ट्रियल एट कमर्सियल भने हाइटीबाट बाहिरियो । त्यतिन्जेल वित्तीय संसारमा गुरुत्वाकर्षणको नयाँ केन्द्र निर्माण भइसकेको थियो, जसको नाम थियो– वाल स्ट्रिट । वाल स्ट्रिट र त्यसमा पनि वाल स्ट्रिटस्थित नेसनल सिटी बैंक अफ न्युयोर्कका बैंकरहरूको समूह (जुन पछि सिटी ग्रुप बन्यो) हाइटी लुट्ने नयाँ संस्थाको रूपमा अघि आयो । यसको छुट्टै अध्यायमा वर्णन गरिनेछ ।


(न्युयोर्क टाइम्सका लागि क्याथरिन पोर्टर, कन्स्टेन्ट मेहेउट, म्याट अपुजो र सेलम गेब्रेकिडेनद्वारा तयार खोज रिपोर्टको दोस्रो खण्ड श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)