• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
माधव ढुंगेल
२०७९ श्रावण १४ शनिबार ०६:१६:००
पर्यावरण

माटाका मलामीहरूसँग

माटोको सुन हाम्रो जमिनबाट नुन बिलाएझैँ बिलाइरहेछ, हामी थाहै नपाएझैँ निदाइरहेछौँ

२०७९ श्रावण १४ शनिबार ०६:१६:००
माधव ढुंगेल

 

म माटोविज्ञ होइन, न कृषि पढेको मान्छे हुँ । माटाका बारेमा आधारित ज्ञान बोल्ने क्षमता मसँग छैन । माटाको भौतिकशास्त्र, रसायनशास्त्र वा जीवशास्त्रका बारेमा बताउन म सक्दिनँ । तर, पनि मैले बोल्नुपरेको छ । नजानी नजानीकन पनि मैले बोल्ने दुःसाहस गर्नुको उद्देश्य यत्ति हो कि समस्या गम्भीर लागेको छ, कोही जानेको मान्छेले यसमा अगाडि बोलिदेओस् । खासगरी विज्ञहरू बोलिदिनुहोस्, जसले गर्दा अबको संकटबाट पार पाउन हामीलाई मार्ग मिलोस् ।


खेतीपातीमा आउनुभन्दा अगाडि माटो सामान्य कुरा लाग्थ्यो । लाग्थ्यो, माटो बिग्रिँदा किसानको अर्थतन्त्र बिग्रिन्छ, उब्जनी घट्छ, अनिकाल पर्न सक्छ, ऊ गरिबीको खाडलमा धकेलिन्छ । तर, वास्तविकता त्यसभन्दा धेरै व्यापक रहेछ । अहिले थाहा भयो, माटो सामान्य कुरा होइनरहेछ । माटो बिग्रिँदा माटो एक्लै बिग्रिँदोरहेनछ । माटो बिग्रिँदा किसान मात्रै होइन, उपभोक्ता र पर्यावरण नै संकटमा फस्ने रहेछन् । बाँच्ने आधार नै सबै बिग्रिने रहेछ । 


कीट नाशकका रूपमा प्रयोग गरिने बिख माटो बिगार्ने वा मार्ने प्रमुख कारण बनेको छ, तर अहिले पनि पालिकास्तरका कृषि प्राविधिकहरू माटामा बिख मिसाउन सिकाइराखेकै छन् । रेडियो टेलिभिजनहरूमा आउने कृषिसम्बन्धी सरकारी कार्यक्रममा पनि यो विषादी यो मात्रामा भनेर सिकाउने काम जारी छ । उनीहरू आफूले पढेअनुसारको मात्रा मिलाएर हाल्न सिकाउँछन्, तर रोग र कीराबाट आत्तिएका किसानहरू बिखमाथि बिख घोप्ट्याएर आर्थिक हिसाबले सुरक्षित हुने असफल प्रयासमा छन् । 


प्राविधिक वा पसलेहरू बिखलाई औषधि भनेर किसानलाई किनाइराखेका छन् । किसान कीरा मार्ने ‘औषधि’ माग्छ, बिख बेचुवा पसले औषधि भनेर बिख बेच्छ । बचाउनेलाई पो औषधि भन्छन्, मार्नेलाई औषधि भनेर बेच्न मिल्छ ? त्यो त बिख नै हो नि । प्रतिबन्धित बिख ‘झन् कडा औषधि’का नाममा महँगो मूल्यमा बिकिरहेछन् । बेच्नेले पैसाको मोहमा परी अन्नधुन्न बिख बेचिरहेको छ, किसानले माटामा मनलाग्दी खन्याएको खन्यायै छ । तर, सभ्य देशका हामी नागरिकले माटामा बिख किन खन्याएका छौँ भनेर न किसानलाई सोध्न मिल्छ, न पसलेलाई, न प्राविधिकलाई नै सोध्न मिल्छ । सोधिहाले पनि बनिबनाउ उत्तर मुखैमा छ– बिख हालेन भने केही फल्दैन, खान पाइँदैन । 


आफ्नो घरबारीमा कुखुरा–बाख्रा पाल्नु पर्दा वा कुटान–पिसानको टिकटिके मिल राख्नुपर्दा छिमेकी र सँधियारसँग अनुमति लिनुपर्छ । वडासचिवको रोहबरमा चारै दिशाका सँधियारहरूलाई नेपाली कागजमा ‘हाम्रो सहमति छ’ भनेर सहीछाप गराउनुपर्छ । तर, नजिकदेखि टाढासम्म देखिनेदेखि नदेखिनेसम्मका सबैलाई असर पार्ने विषादी प्रयोग गर्दा न मात्रा मिलाउनुपर्छ, न कुनै कानुनी प्रतिबन्धको हेक्का राख्नुपर्छ, न त कसैको सहमति लिनु नै आवश्यक हुन्छ । 


जिउँदो माटो, मरेको माटो
जंगलको माटो जिउँदो माटो हो । इँटा वा त्यसको धुलो मरेको माटो हो । एक अर्थमा हेर्दा दुइटै माटा हुन् तर माटाको गुणवत्ताका दृष्टिले हेर्ने हो भने यी दुई भिन्न पदार्थ हुन् । पहिलो भिन्नता हो जैविक भिन्नता । जीवविज्ञानीहरू भन्छन्, ‘हाम्रो शरीर सूक्ष्मजीवहरूको वासस्थान पनि हो । शरीरमा सूक्ष्म जीवहरूको हिस्सेदारी ६ प्रतिशत छ ।’ अर्थात् ५० किलोको कोही व्यक्ति सर्लाहीबाट काठमाडौँ पुग्दा ऊ एक्लै काठमाडौं आइपुगेको हुँदैन, तीन किलोजति सूक्ष्मजीव पनि साथै लिएर आइपुगेको हुन्छ । बसबाट ओर्लिँदा ऊ एउटा ओर्लिएको देखिन्छ, तर खर्बौँ जीवहरू सँगसँगै ओर्लिएका छन् । त्यस्तै नै माटोमा पनि हुन्छ । एक ग्राम जिउँदो माटोमा करोडौँ सूक्ष्म जीवहरूको बसोवास हुन्छ भनेर जीवशास्त्री भन्छन् । माटोका विज्ञहरूलाई यो बढी थाहा छ । ती असंख्य सूक्ष्म जीवसहितको माटो जंगलको माटो हो । इँटाको धुलो ती जीवविनाको मृत माटो हो । 


कृषिमा ‘एउटा त्यान्द्रोबाट क्रान्ति’ सम्भव देख्ने प्राकृतिक कृषिका गुरु जापानी नागरिक मासानोबु फुकुओकालाई ध्यान दिने हो भने खेतको कसिंगर ठानेर ढांड वा छ्वाली सल्काउनेहरूले कसिंगर होइन, जानेरनजानेर आफ्नै भाग्य सल्काइरहेका छन् । 


भाग्य कसरी सल्काएका छन् भने त्यस ढोड वा छ्वालीलाई खेतबारीमा आच्छादनका लागि प्रयोग गर्न सकिन्थ्यो । आच्छादन गरेपछि झार कम आउँथ्यो, गोडमेलको दुःख घट्थ्यो । आच्छादनले जमिनमा चिस्यान बनाइराख्थ्यो, पानीको समस्या घट्थ्यो, खडेरीमा पनि बिरुवा बाँच्थे । सबभन्दा महत्वपूर्ण कुरा त जमिनमा सूक्ष्म पर्यावरण निर्माण हुन्थ्यो जहाँ कडा घाम वा ठन्डीबाट सूक्ष्मजीवहरूको वासस्थान वा कोलोनीलाई बचाउन सकिन्थ्यो । गडयाैँलालगायतका जीवहरूलाई आकर्षित गर्न सकिन्थ्यो । आच्छादन सडेर, कुहिएर माटामा मिल्दा पनि बिरुवाले जमिनबाट लिएको सूक्ष्म तत्व धेरै मात्रामा जमिनमै फिर्ता हुन्थ्यो । बाहिरबाट मल हाल्ने झन्झट टथ्र्यो । फोहोर ठानिएको मकैको ढोड खेतबारीको माटो बचाउने अमृत हुन्थ्यो । आगो लगाएर खरानी बनाएपछि केही सूक्ष्म तत्वहरू त जमिनमा फिर्ता भए, तर धेरै लाभ आगोमा डढेर नोक्सान भए । यो घर सल्काएर खरानी बेच्ने कथाजस्तै हो ।

माटो मरेको हेर्न उत्सुक यस्ता कृषिविज्ञहरूलाई म विज्ञ भन्दिनँ, माटाका मलामी भन्छु । ज्ञान र क्षमता भएर पनि उहाँहरू उपचारक होइन, मलामी बन्न चाहिरहनुभएको छ । रोग उहाँहरूलाई थाहा छ, औषधि उहाँहरूलाई थाहा छ, मात्रा र तरिका पनि उहाँहरूलाई थाहा छ, तर उहाँहरू माटो बचाउनतिर लाग्नुभएको देखिँदैन ।


हरेक साल थोरै–थोरै मात्रामा खेतबारीको माटो इँटाको धुलोमा बदलिँदै जाने र त्यसलाई जोतेर माटामा मिसाउँदै जाने क्रम ५०औँ वर्ष चलेपछि खेतबारी आखिर इँटाको धुलोको समुद्र हुने न हो । इँटाको धुलोमा न साग फलाउन सकिन्छ, न फर्सी । कसैले भन्ला, पानीको पाइपमा साग फलेको छ, धुलामा किन फल्दैन ? फल्ला पनि, तर त्यो महँगो पर्छ र स्वाभाविक कुरा त्यो होइन । यो कृषिलाई महँगो बनाउने नाफाखोरी तर्क हो ।


हाम्रोतिर पुसको आधाआधीपछि तरुल खनिन्छ, लहरा जलाइन्छ र जोतेर माटोलाई घाममा सुकाइन्छ । फागुनमा बेसार खनिन्छ र त्यही गरिन्छ । यसो गर्दा माटो मलिलो हुन्छ भन्ने विश्वास छ । अलिअलि जमिनमा पैदा भएका सूक्ष्म जीवहरू पनि घाममा डढाएर मारेपछि मृत जीवांशको मल त लाग्ने नै भयो जसरी खरानीको मल लाग्छ । तर, यसो गर्दा घाटा छ । एकातिर अलिअलि तयार हुन थालेका सूक्ष्म जीव पनि मर्छन् भने अर्कातिर ह्युमसको क्षति हुन्छ ।


ह्युमस उर्वरता हो, जीवित माटोको अर्को लक्षण हो । ह्युमस बन्ने प्रक्रिया धेरै मन्द र जटिल प्रक्रिया हो । यो माटोको सम्पत्ति हो, तर कहिले वर्षाको पानीले सित्तैमा बगाइदिन्छ । कहिले आँधीहुरीले त्यत्तिकै उडाइदिन्छ, कहिले आगो लगाएर हामी नै खरानी पार्छौँ । माटोको सुन हाम्रो जमिनबाट नुन बिलाएझैँ बिलाइरहेछ । हामी थाहै नपाएझैँ निदाइरहेछौँ । 


कहीँ चिलायो भने हाम्रो हात त्यहीँ पुग्छ, हामी कन्याउन थाल्छौँ । जीवित शरीरमा यो हुन्छ । जिउँदो माटोमा पनि त्यही हुन्छ जसलाई संयुज्यता भन्न सकिन्छ । माटोको कुन हिस्सामा कुन तत्वको उपस्थिति छ वा माटोको कुन हिस्सामा के–कस्तो जैविक रासायनिक प्रक्रिया चलिरहेको छ भन्ने ज्ञान माटोभित्रका सूक्ष्म जीवहरूलाई स्वतः भइरहेको हुन्छ । माटोभित्र पनि एउटा संसार छ । त्यहाँभित्र पनि कोही–कसैको शत्रु वा मित्र होलान्, मार्ने लखेट्ने काम होला, सन्तान जन्माउने काम होला, खानाको खोजीमा भौँतारिनुपर्ला । 


सूक्ष्म जीवहरूमा पनि संवेनात्मक ज्ञान हुन्छ । कुन बिरुवाको जरामा आफ्नो खुराक पर्याप्त मिल्छ, कुन बिरुवाका जरामा शत्रुको वास छ, कुन बिरुवालाई के दियो भने त्यसले आफूलाई भोजन दिन्छ । जन्मिनेबित्तिकैको शिशुले आमाको दूध भेट्टाएजस्तो तिनीहरू आफ्नो आवश्कयता पूरा गर्न सहज रूपमै सिपालु हुन्छन् । आफू कसरी बाँच्ने, कसरी सन्तान बढाउने र कसरी शत्रुबाट जोगिने त्यो तिनीहरूलाई थाहा छ । संकेतैसंकेतबाट काम हुने माटोभित्रको यो संसार त्यतिवेला मात्रै सहज रूपले चल्न सक्छ जतिवेला माटोमा संयुज्यता उपलब्ध हुन्छ । 


बीचमा तार अवरुद्ध छ भने स्विच अन गर्दैमा बत्ती बल्दैन । त्यसैगरी, संयुज्यता टुटेर अस्तव्यस्त भएको रोगी माटामा सूक्ष्म जीवहरूले उल्लिखित संवेदना अनुभव गर्न सक्दैनन् । माटोमा रासायनिक र भौतिक सन्तुलनबाट प्राप्त हुने संयुज्यता माटो जिउँदो हुनुको अर्को लक्षण हो । अनेक प्रकारका कृत्रिम रसायन र ठुल्ठूला मेसिन आदिको अधिक प्रयोगले माटोको रासायनिक र भौतिक अवस्थिति भत्काइदिन्छ, संयुज्यता अस्तव्यस्त बनाइदिन्छ । 


हाम्रोतिर बडेमाका ट्र्याक्टर लगाएर बारम्बार जोतिन्छ । माटो खुकुलो बनाउन जोत्नु ठीकै होला, तर ५० किलो क्षमताको व्यक्तिलाई १०० किलोको भारी बोकाइदियो भने के होला ? ट्र्याक्टरको टायरले माटो खाँदेको कुरा कसैले हेक्का राखेको छैन । कति वर्गफिट जमिनले कति केजी भार वहन गर्न सक्छ भन्ने सोचिएको छैन । ट्र्याक्टर लगाएर बढीमा एक फुट माटो त खुकुलियो होला, तर त्यसमुनिको माटो पत्थर भएको छ । माथिमाथि हिलो हुन्छ, बाढी जान्छ, माटो बगाउँछ, तर जमिनमुनि पानी छिर्दैन । जरालाई पनि त्यो तह पार गरेर मुनि जान गाह्रो होला । माथिको पानी तल जाँदैन, तलको पोषण माथि आउँदैन । भूजलको सतह झन्झन् तल जाँदै छ । यस्तो भएपछि बिरुवालाई खडेरी त लाग्ने नै भयो । जंगलमा खडेरी लाग्दैन, तर हाम्रो खेतबारीमा लाग्दै आएको छ ।


हो, माटो खुकुलो हुनुपर्छ, तर त्यो खुकुलोपन माटोको भौतिक संरचनामा सुधार भएर हुनुपर्छ । माटोभित्रको जैविक संसारले खुकुलो पार्नुपर्छ । माटामा हुने अनेक प्रकारका कीरा, गँड्यौला, असंख्य सूक्ष्म जीवहरू, तिनका मृत शरीर, मूत्र–विष्टा, सडेका जरा वा जैविक कार्बन, ह्युमस आदि अनेक जैविक रसायनका कारण माटो खुकुलो हुनुपर्छ, भौतिक संरचनामा सुधार भएको हुनुपर्छ । रोटावेटर लगाएर खुकुलो पार्नु लट्याउने औषधि खाएर रोग निको पार्नुजस्तै हो । एकछिनलाई त भएजस्तै देखिन्छ, तर त्यसले समस्या थपेको हुन्छ । 


माटोलाई रोटावेटर लगाएर खरानीजस्तो धुलो बनाउनु भनेको सूक्ष्म जीवहरू र तिनको पर्यावरणलाई तहसनहस बनाइदिनु हो । सूक्ष्म जीवहरूको वासस्थान वा कोलोनीलाई सुनामीले झैँ अस्तव्यस्त र बर्बाद बनाइदिनु हो । हामी आँगन बढार्नका लागि सुनामी ल्याउने मार्गमा छौँ । सायद यही गर्न राज्य यान्त्रिकीकरणमा जोड दिइरहेको छ ।


जैविक विविधताको संरक्षण माटो संरक्षणको अर्को उपाय हो, तर हामी विविधताका विपरीत दिशामा एकोहोरिएका छौँ । अहिले हाइब्रिडको एकछत्र राज छ, कसैले लगाउँछु भने पनि स्थानीय बिउ प्रायः पाइँदैन । यो खन्चुवा बिउ खाएकोखायै गर्ने ब्रोइलर कुखुराजस्तै हो जो स्वाभाविक रूपमा अघाउनै जान्दैन, जसलाई हेरचाहको आवश्यकता ज्यादा पर्छ र जसलाई रोगको जोखिम पनि बढी नै हुन्छ । यस्तो चुसाहा र जोखिमपूर्ण बिउ लगाएपछि माटोमा भएको सामान्य पोषणले पुग्दैन र बाहिरबाट थप्नै पर्छ । माटो जति नै जाँच गर्नुस्, जुन–जुन तत्व थपेर जति नै मिलाउन खोज्नुस्, पूरा सन्तुलन सम्भव छैन । यो त सेता गोलीको साइड इफेक्टजस्तै हो, जति थप्छौँ, त्यति बिगार्छौँ, यो त पक्का छ । 


हामी ‘एक गाउँ : एक उत्पादन’मा जोड दिइराखेका छौँ । एउटा ठाउँमा एकै बाली लगाउँदा माटोको उही तहबाट उही पोषणको निरन्तर दोहन हुन्छ जसले गर्दा बाहिरी मल तथा विषादी एक प्रकारले अनिवार्य आवश्यकताजस्तो बन्न पुग्छ । किसान, पर्यावरण र अर्थतन्त्रको विकासका लागि पनि यो जोखिमपूर्ण छ । तर, हामी जोखिमकै बाटो रोजिरहेका छौँ । जोन, सुपर जोनका नाममा जो एकल बाली प्रणालीलाई प्रोत्साहन गर्ने तरिका छ, यसले व्यापारीहरूलाई त सजिलो बनाएको छ, तर माटोको जीवन्तताका दृष्टिले यो ठीक छैन । माटोको माया गर्छु भन्नेले गर्न सुहाउने काम यो होइन । 


राज्यले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, औद्योगीकरण, व्यवसायीकरण, बजारीकरण, जोन–सुपरजोन आदि विशिष्टीरणका जे योजना अघि सारेको छ, माटो बचाउने दृष्टिले यी उचित छैनन् । यी सबै ‘करण’ आमा भनिने भूमिमाथि भएका ‘जबर्जस्तीकरण’ हुन् । कृषि र स्वास्थ्य क्षेत्रका ठुल्ठूला कम्पनीलाई यसबाट आर्थिक लाभ अवश्य मिलेको छ, तर किसान उपभोक्ता र पर्यावरणलाई यसबाट हानि नै छ । 


यस्ता समस्याको समाधान व्यक्ति एक्लैले वा एउटा समुदाय मात्रैले गर्न सक्दैन । राज्य खासमा यस्तै बृहत्तर समस्याको समाधानका लागि आवश्यक पर्ने संरचना थियो । राज्य समस्या सुल्झाउनेभन्दा बल्झाउनेतिर छ । यस्तो वेलामा विज्ञहरू बोल्नुपर्ने हो, तर के भएको छ, उहाँहरू पनि खुलेर बोल्नुहुन्न । कहिलेकाहीँ बाध्यताले थोरै बोल्नैपर्छ र बोलिदिनुहुन्छ किनभने उहाँहरू विज्ञताको दाबी गर्ने ‘स्पेस’ सिध्याउन चाहनुहुन्न । 


माटो मरेको हेर्न उत्सुक यस्ता कृषि विज्ञहरूलाई म विज्ञ भन्दिनँ, माटाका मलामी भन्छु । ज्ञान र क्षमता भएर पनि उहाँहरू उपचारक होइन, मलामी बन्न चाहिरहनुभएको छ । रोग उहाँहरूलाई थाहा छ, औषधि उहाँहरूलाई थाहा छ, मात्रा र तरिका पनि उहाँहरूलाई थाहा छ, तर उहाँहरू माटो बचाउनतिर लाग्नुभएको देखिँदैन । सायद माटो कसरी मर्दै छ, त्यसको अभिलेख बनाउनतिर व्यस्त हुनुहुन्छ होला । विश्वविद्यालयमा पढाइ होस्, त्यसका लागि पुस्तक तयार पार्दै हुनुहुन्छ होला । मलाई जिज्ञासा छ, माटो नै मरिसकेपछि (किनभने माटो एक्लै मर्दैन) त्यो अभिलेख कसका लागि सर–म्याडम ? माटोलाई माटोमा पुरेर माटोको इतिहास पढाउन के सम्भव होला ? त्यतिवेला पढ्ने–पढाउने को–को होलान्, तपाईँको विवेकले के भन्छ ?