• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
टेक घर्ती मगर
२०७९ श्रावण १४ शनिबार ०६:३१:००
पर्यावरण

अरूको बचेरा हुर्काइदिने धाईआमा चराहरू

अन्डाको आकार र रंग नमिले पनि धाईआमा चराले ख्याल गर्दैनन्, ती अन्डा आफ्नै ठानेर कोरल्छन्

२०७९ श्रावण १४ शनिबार ०६:३१:००
टेक घर्ती मगर

 

जीवित प्राणी र बोटबिरुवाले आफ्नो जीवनचक्र चलाउन आ–आफ्नै बानीको विकास गरेका हुन्छन् । परजीवी जीव–जनावर वा बिरुवा प्रत्यक्ष रूपमा आहारा र आश्रयका लागि ‘हस्ट’ प्रजातिमा निर्भर हुन्छन् । परजीवी जीव भनेर शरीरको छालाबाहिर रहेर रगत चुस्ने जुम्रा, उपियाँ, किर्नालगायतलाई बुझ्न सकिन्छ । त्यस्तै ऐंजेरु, लिसो र आकाशबेलीलाई परजीवी बिरुवाका रूपमा लिन सकिन्छ । तर, यहाँ अन्डा अर्काको गुँडमा पारिदिएर ओथारो बस्ने र बच्चा हुर्काउने जिम्मासमेत अर्कै प्रजातिलाई लगाउने परजीवी चराबारे चर्चा गर्न खोजिएको छ । 


नेपालको सन्दर्भमा कुक्कु एवं कोइली कराउनु भनेको ऋतुराज वसन्त ऋतु आगमनको संकेत हो । वसन्त ऋतुको आगमनसँगै गर्मीका दिनमा यिनीहरूको आवाज सुन्न सकिन्छ । तराई, पहाड अनि हिमाली क्षेत्रसमेत कुक्कु, कोहोकोहो, काफल पाक्यो अनि बिउकुहियोलगायतका आवाजले दिनरात गुन्जायमान हुन थाल्छ । ग्रीष्मयामको अन्त्यतिरबाट त्यो आवाज हराउन सुरु हुन्छ ।

 

नेपालमा पाइने १९ प्रजातिका यिनै कुक्कुमध्ये १५ प्रजातिका कुक्कुहरू आफ्नो गुँड कहिल्यै बनाउँदैनन्, अरू चराको गुँडमा अन्डा पारी बच्चा हुर्काउने जिम्मा पनि अरूलाई नै दिन्छन् । यसरी अर्काको बच्चा पालनपोषण गरी हुर्काइदिनेहरूलाई ‘होस्ट’ भनिन्छ । जसअन्तर्गत कोइलीले काग, बिउ कुहियोले बगाले भ्याकुर, पहाडी बिउ कुहियोले तोरीगाँडा, काफल पाक्योले चिबे, कुक्कुले धोबिनी एवं फिस्टो चरा, जुरे कोइलीले जुरेली एवं पात सिउनेफिस्टो, ठूलो जुरेकोइलीले कालीकन्ठे तोरीगाँडा, चीबेकोइली, धर्के खैरो कोइली, सानो कोइली र फुस्रो सानो कोइलीले फिस्टो, वनभ्याकुर, रानीचरी र जुरेली प्रजातिहरूलाई धाईआमाको रूपमा रोज्छन् । सबै कुक्कु एवं कोइली प्रजातिले अर्काको गुँडमा फुल पारिदिन्छन् भन्ने पनि हुँदैन ।

 

एकै प्रजातिका न्याउरी र हरित मालकौवा, सानो र ढोडे गोकुललगायतले आफैँ गुँड बनाउँछन् । अति उष्ण दक्षिणी भूभाग श्रीलंका, म्यानमार, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, दक्षिणी भारत, अफ्रिकालगायत ठाउँबाट बच्चा हुर्काउने उपयुक्त वातावरणको खोजीमा चैत–वैशाखदेखि नेपाल आई असोज–कात्तिकतिर बच्चा कोरलेर हिउँद बिताउन उतै फर्कन थाल्छन् ।


आफ्नो वंशको रक्षा गर्ने र सृष्टिको नियमलाई निरन्तरता दिने चाहना हरेक प्राणीमा हुन्छ । यो सबै प्राणीको नैसर्गिक प्रवृत्ति हो । चराहरू पनि उपयुक्त उमेर र मौसम आएपछि सहवासलगायत प्रजननका क्रियाकलाप एवं सन्तान उत्पादन गर्नलाई गुँड बनाउन र अन्डा पार्न थाल्छन् । अपवादको रूपमा केही प्रजातिका चराले आफैँ गुँड बनाउँदैनन्, तर वंश विस्तारलाई निरन्तरता दिइरहेका हुन्छन् । कुक्कु एवं कोइली चरा यही प्रजातिमध्येमा पर्छन् । कुक्कु प्रजातिका चराले जुन चरालाई अन्डा कोरलेर बच्चा हुर्काउन दिने हो, तिनै चराको गुँडको वरिपरि बसेर गतिविधि नियाल्न थाल्छन् । उक्त चरा गुँडबाट आहारा खोज्न गएको मौका छोपी त्यहाँ भएको अन्डा खाएर वा भुइँमा खसालिदिएर त्यसको ठाउँमा आफ्नो अन्डा पारिदिन्छन् र उक्त चराले देख्नु अगाडि नै त्यहाँबाट भाग्छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्रको पितम देउरालीमा पहाडी बिउ कुहियोको बच्चालाई आहारा खुवाउँदै कटुसटाउके तोरीगाँडा

अन्डाको आकार र रंग नमिले पनि साटिएको कुरा धाईआमा बन्ने चराले ख्याल गर्दैन । ती अन्डा आफ्नै ठानेर कोरल्छन् । कुक्कुहरूको बच्चा अवस्थामा पछाडिको भागमा अत्यन्तै संवेदनशील कोशिका विकसित भएको हुन्छ । जसकारण जन्मेको केही दिनमा थाहा पाउनेबित्तिकै त्यस गुँडमा भएका अन्डा एवं बच्चाहरूलाई पछाडिबाट बलपूर्वक धकेलेर भुइँमा खसालिदिन्छन् । आहाराको खोजीमा बाहिर गएका धाईआमा चराले यी सब कुरा थाहा पाउँदैनन् । फर्किंदा गुँडमा कुक्कुका बच्चा मात्र हुनाले आहारमा कुनै प्रतिस्पर्धा हुँदैन र प्रशस्त खान पाएर छिटोछिटो हुर्किन्छन् । बच्चा हुर्किएर उड्ने भएपछि नजिकैबाट निगरानी गरिराखेका आफ्नो अभिभावकले साथमा लिएर जान्छन् । अनि मात्रै धाईआमा चराले आफूले हुर्काएका बचेराहरू आफ्नो होइन भन्ने थाहा पाउँछ ।

नेपालमा पाइने १९ प्रजातिका यिनै कुक्कुमध्ये १५ प्रजातिका कुक्कु आफ्नो गुँड कहिल्यै बनाउँदैनन्, अरू चराको गुँडमा अन्डा पारी बच्चा हुर्काउने जिम्मा पनि अरूलाई नै दिन्छन् । यसरी अर्काको बच्चा पालनपोषण गरी हुर्काइदिनेहरूलाई ‘होस्ट’ भनिन्छ ।


नेपालमा अत्यन्तै परिचित कुक्कु प्रजातिमध्ये बगैंचा तथा उपवनमा कोहोकोहो गर्दै कराउने कोइली पनि एक हो । भालेको चमकदार कालो रंगको शरीर र रातो आँखा हुन्छ भने पोथी टाटेपाटे रंगको हुन्छ । यसले आफूभन्दा ठूलो र अति चलाख कागको गुँडमा समेत यसरी नै अन्डा पारेर बच्चा हुर्काउने जिम्मा लगाएको हुन्छ । यसकारण नेपाली समाजमा ‘कागभन्दा कोइली बाठो’ भन्ने उखान निकै प्रचलित छ ।


कुक्कु र कोइलीले आफूभन्दा कैयौँ गुना साना चरा अर्थात् फिस्टालाई समेत बच्चा हुर्काउने जिम्मा लगाएका हुन्छन् । फिस्टाले आफ्नै बच्चा ठानेर प्रशस्त आहारा खुवाउने गर्छन् । कुक्कु प्रजातिका चराहरू छिटो–छिटो हुर्किनुको कारण एक त एउटा मात्र बच्चा हुनाले हो अनि अर्को महत्वपूर्ण पक्षचाहिँ आहारा खाने वेलामा मुख आँ गर्दा दायाँ–बायाँका दुईवटै कुइना कुप्रो पारेर मुखकै बराबरी सतहमा पर्ने गरी बस्ने हुँदा तीनवटा बचेरा भएझैँ गरेर बस्छन् र धाईआमाले तीनवटा बच्चा सम्झेर प्रशस्त आहारा खुवाउने हुँदा निकै छिटो बढ्ने गर्छन् भन्ने कुरामा पक्षीविद्हरूको विश्वास रहेको पाइन्छ । अर्को कुरा यिनीहरूको मुख्य आहारा अन्य चराले खासै मन नपराउने झुसिल्किरा हो । एउटा वयस्क कुक्कुले एक दिनमा सयौँ झुसिल्किरा खान्छ भने हुर्किंदै गरेको बच्चाले चालीसदेखि पचास वटासम्म खाने गर्छन् । यसमा पाइने प्रशस्त प्रोटिन खाएका कुक्कुको बच्चा स्वस्थ जन्मिने नै भयो । साथै कुक्कुले हाम्रो अन्नबाली खाइदिने र देख्दै डरलाग्दो झुसिल्किरा खाइदिएर किसानलाई निकै सहयोग पुर्‍याएका हुन्छन् ।

ढोरपाटन नपा– ३ कालापोलमा पूर्वीय कोइलीको बच्चालाई आहारा खुवाउँदै फुस्रे चाँचर

अफ्रिकी घाँसे मैदानमा पाइने केही प्रजातिका चराले बच्चा हुर्काउने जिम्मा हरेक वर्ष एकै प्रजातिलाई रोजेका हुन्छन् । हेन ह्वाइदासले वाक्सबिल र फिसर्स ह्वाइदासले पर्पल ग्रेनडाइरको गुँडमा अन्डा पारेर बच्चा हुर्काइदिने जिम्मा लगाएका हुन्छन् । हामीकहाँ आउने कुक्कु प्रजातिले झैँ जसको पायो त्यसैको गुँडमा अन्डा पारिदिने काम गर्दैनन् । यसो गर्नुको कारण दुवै प्रजातिको बच्चा अवस्थामा आहारा खाने आनीबानी र प्वाँखहरू ठ्याक्कै मिल्ने विशेषताले गर्दा एकै प्रजातिकालाई रोजेको हुन सक्ने विश्वास गरिन्छ ।


एक प्रजातिका चराले अरू नै फरक प्रजातिको चराको गुँडमा अन्डा पारेर बच्चा हुर्काउन जिम्मा दिनुलाई ‘अन्तर्जातीय’ अर्थात् ‘इन्टरस्पिसिज’ भनिन्छ । नेपालको सन्दर्भमा कुक्कु र कोइली चरा यही प्रजातिमध्येमा पर्छन् । अफ्रिकामा पाइने हनिगाइड, प्यारासाइट विभर, साउथ अमेरिकामा पाइने ब्ल्याक हेदेद डक भनिने हाँसको एक प्रजाति, अमेरिकन ओरिअल आदि यसअन्तर्गत पर्छन् । त्यस्तै एकै प्रजातिमा एकले अर्काको गुँडमा अन्डा पारेर बच्चा हुर्काउने जिम्मा लगाउनुलाई ‘इन्ट्रास्पिसिज’ भनिन्छ । कहिलेकाहीँ यसलाई अन्डा थुपार्ने कार्य पनि भन्ने गरिन्छ । जलमा आश्रित पानीहाँस, भिर तथा ओडारमा प्रजनन गर्ने गौंथली र समूहमा प्रजनन कार्य गर्ने सारौँका प्रजाति यसअन्तर्गत पर्छन् ।