• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्बिर : संजित परियार
२०७९ श्रावण १४ शनिबार ०६:४४:००
संगीत

ट्रेन्डिङको मोह त्याग्नुपर्छ

अहिले त धेरैजसो १५ दिने, एकमहिने गीत छन्, ट्रेन्डिङ मोहले बजारमा गीत ल्याउन हतारिन्छन्

२०७९ श्रावण १४ शनिबार ०६:४४:००

नेपाली लोकगायन क्षेत्रका चर्चित गायक हुन् राजु परियार । लमजुङमा जन्मिएका उनी तीन दशकमा करिब १६ हजार गीत गाइसकेको बताउँछन् । पछिल्लो समय पनि उनी लाइभ दोहोरी, स्टेज कार्यक्रम र गीत रेकर्डमा व्यस्त छन् । उनको गायन यात्राबारे शिवहरि घिमिरेले कुराकानी गरेका छन् :

 

गायक बन्ने सपना बोकेर पहिलोपटक काठमाडौं आउँदाको क्षणलाई कसरी सम्झनुहुन्छ ? 
०५६ को अन्त्यतिर काठमाडौं आएको थिएँ । त्यतिवेला गाउँबाट आएका मानिसलाई सहरमा निकै दुःख हुन्थ्यो । कहाँ बस्ने ? कहाँ खाने अत्तोपत्तो थिएन । त्यसवेला धरहराको फेदमा भोकै सुतेर तीन रात कटाएँ । अहिले धरहरा देख्नेबित्तिकै त्यही दिनको झल्को आउँछ । धरहरा मेरो सुरुवाती संघर्षको साक्षी हो । 


बितेको तीन दशकको यात्रालाई आज कसरी सम्झनुहुन्छ ? 
मलाई विगत सपनाझैँ लाग्छ । मैले यसरी गायन क्षेत्रमा लागेर यहाँसम्म आउँछु भनेर सोचेकै थिइनँ । तर, कसरी आएँ र कसरी आजसम्म यो ठाउँमा अडिएको छु अचम्मै लाग्छ । आफूले सानोमा कल्पना नगरेको क्षेत्रमा यहाँसम्मको यात्रा तय गर्दा खुसी पनि लाग्छ । 


गायक नबनेको भए के बन्नुहुन्थ्यो होला ? 
सानो हुँदा डाक्टर बन्छु, फौजी बन्छु, इन्जिनियर बन्छु भन्ने सोच आउँथ्योे । कुनै न कुनै क्षेत्रबाट देशको सेवा गर्छु भन्नेचाहिँ लागेको थियो । तर, गायकैचाहिँ बन्छुजस्तो लाग्दैनथ्यो । अहिले गायन मेरो आफ्नो क्षेत्र बन्यो । म संगीत क्षेत्रमै रहनेछु । किनकि, ख्यालख्यालैमा  यो क्षेत्रमा लागेको होइन ।


सहरमा कलाकारलाई जिउन मुस्किल छ भनिन्छ । तपाईंको जीवन कसरी चल्दै छ ? 
जति दुःख पाउनु भो हाम्रा अग्रजहरूले पाउनु भो । हिजो एक गाँस खानकै लागि गाउनेहरू पनि हुनुहुन्थ्यो । मेरोचाहिँ जीवन जेहोस् चलेकै छ भनौँ । 


गायन क्षेत्रमा दुःख छ है ।
दुःख नभएको क्षेत्र कुन छ र ? जहाँ पनि दुःख छ । पहिले–पहिले बुढापाकाले धेरै गीत गाउनेले दुःख पाउँछ भन्थे । त्यो भनाइ ममा लागू भएजस्तो लाग्छ । तर, जति नै दुःख भए पनि गायन क्षेत्रलाई म आत्मसन्तुष्टि पेसाको रूपमा लिन्छु । यो कसैको सिफारिसमा बन्न सकिने क्षेत्र पनि होइन । कलाक्षेत्रमा कसैको सिफारिस चल्दैन । सिर्जना गर्न दुःख हुन्छ नै । तर, त्यो दुःखबाट आनन्द मिल्छ ।


केही समयअघि तपाईंको जीवनीमा आधारित फिल्म बन्ने हल्ला चलेको थियो । पछि बनेन । खास कुरा के हो ?
फिल्म बन्नका लागि म सकिनुपर्छ । यो क्षेत्रमा लागेको धेरै समय पनि भएको छैन । फिल्म बन्ने गरी मैले कुनै  योगदान छैन । चलचित्रमा सिंगो जिन्दगीको पाटो जोडिन्छ । मेरो संघर्ष अझै बाँकी छ । त्यसैले हतार नगरेको हो । 


तपाईंले गाएका अहिलेका गीतभन्दा पुरानै गीत चर्चित छन् । अहिले तपाईंको गायन खस्किएको भन्छन् नि । 
यो कुरा सत्य हो । किनकि अहिले मिहिनेत पनि कम गर्छु । बजारमा नयाँ गीत छिटोछिटो ल्याउने होडबाजी चलेको छ । उहिले क्यासेटमा गीत निकाल्ने वेला अलि बिस्तारै काम गरिन्थ्यो । मिहिनेत पनि अलि बढी हुन्थ्यो । मेरो अहिले जति पनि गीत चलिरहेका छन् ती सबै पुराना गीतका फ्लेबर नै हुन् । 


भनेपछि तपाईंले मिहिनेत गर्न छाड्नुभयो ? 
होइन, मैले त मिहिनेत गरेको छु । तर, गीत गाउनेले मात्रै मिहिनेत गरेर हुन्न । ती गीतसँग जोडिएका सबैले मिहिनेत गर्नुपर्छ । अहिले हजारवटा गीत गाउँदा एउटा गीत चल्छ । यसलाई के चलेको भन्नु । त्यसवेला मिहिनेत धेरै हुन्थ्यो । अहिले सबै गीतमा उस्तै मिहिनेत गरिन्न ।


मिहिनेत कम हुनुको अरू पनि कारण छन् कि ?
अहिले त धेरैजसोे १५ दिने, एकमहिने गीत मात्र छन् ।ट्रेन्डिङको मोहले बजारमा गीत ल्याउन हतारिन्छन् । कतिपयले अर्काले जे गरेको छ त्यही गर्छन् । यो गलत ट्रेन्डलाई परिवर्तन गर्नुपर्छ । अनि मात्रै कलाकारले मिहिनेत गर्न थाल्नेछन् । म सकेसम्म मिहिनेत गरेर राम्रो गीत ल्याउनुपर्छ भन्ने पक्षमा छु । 


तपाईंको पुस्ताका कैयन गायक–गायिका प्रवासी भइसकेका छन् । केही समयपछि राजु परियारलाई भेट्न अर्को मुलुकतिर खोज्दै जानुपर्ने त हुन्न नि ?
म पलायन हुन्न । किनकि गीत मेरो जीवन हो । यसबाहेक मेरो अन्य विकल्प छैन । अर्को कुरा सबैको आफ्नो निजी जिन्दगी हुन्छ । कोही बाध्यताले होला । कोही रहरले होला । कलाकार विदेश जानुलाई नराम्रो भन्न मिल्दैन ।


लोक दोहोरी क्षेत्रमा नयाँ पुस्ताका गायक–गायिकाको संख्या कम छ । थोरै संख्यामा आएका नवगायक–गायिकाहरूले पनि लोकगीतलाई संरक्षण गर्नुभन्दा विकृत बनाइरहेको भनिन्छ । यसबारे के भन्नुहुन्छ ? 
लोकगीत क्षेत्रमा नयाँ भाइबहिनी आउनुभएको छ, यो खुसीको कुरा हो । उहाँहरू आउनु भनेको यो क्षेत्रको विस्तार हुनु पनि हो । तर, नयाँ गायक–गायिकाले लोकगीतको फ्लेबर बिर्सनु हुँदैन । किनभने कुनै पनि गीतको एउटा रस र राग हुन्छ । त्यो मुख्य रस र रागलाई नयाँ पुस्ताका भाइबहिनीहरूले नभुलीकन आउनुभएको म ठान्छु । नयाँ भाइबहिनीप्रति मलाई कुनै चित्त दुखाइ छैन । उहाँहरूको अलिकति मिहिनेत पुगेको छैन, यो अलग कुरा हो । त्यसो त म आफँै पनि लोकगीतमा पूर्ण छैन ।

हामी आफूले आफैँलाई मूल्यांकन गर्नुपर्छ । समाजमा कस्ता गीतसंगीत दिनुपर्छ भन्नेबारे स्वयं सर्जक सतर्क हुनु जरुरी छ । लोकगीत मेरा आमा, बुबा, छिमेकीले पनि हेर्नुहुन्छ भन्ने हेक्का राख्नुपर्छ । 


कतिपयले अहिलेका लोकगीत र गायक–गायिकालाई खहरे भेलसँग पनि तुलना गर्छन् नि । 
लोकगीतलाई खहरे भेल ठान्नु महापाप हो । मेरो नजरमा अहिले आएका भाइबहिनीहरू खहरे भेल होइनन् । राम्रो गायक बन्नु कठोर तपस्या गर्नुसरह हो । यो निकै कठिन क्षेत्र हो । यसको यात्रा निकै लामो हुन्छ । 


लोकगीतमा नाममा अहिले बजारमा आएका सबै गीतलाई लोकगीत भन्न सुहाउँछ ? 
हामीले त्यसलाई लोक–सिर्जना मान्न सक्छौँ । तर, सबैलाई लोकगीत भन्न मिल्दैन । लोकगीतबारे म अझै अध्ययन गर्दै छु । म प्राज्ञिक व्यक्ति होइन । तर, मेरो बुझाइ र अग्रजहरूको भनाइअनुसार लोकको हित हुने र लोकले बनाएको मेलोडी नै लोकगीत हो । यो समाजबाट आएको चिज हो । लोकको भावना, वेदना, पीडा पोखिनुलाई नै लोकगीत भनिन्छ । अर्को कुरा, लोकगीत मौलिक हुनुपर्छ । प्रत्येक गाउँ र टोलको आ–आफ्नै मौलिकता छ । त्यसकारण लोकगीतले त्यो गाउँ र त्यहाँका लोकको पनलाई बोलेको हुनुपर्छ । 


आफूलाई आधुनिक ठान्नेहरूले लोकगीतलाई रुन्चे वा गाउँले भाका भनेको पनि सुनिन्छ नि ।
यस्तो कुरा संगीत नबुझेकाले भन्ने हो । तर, लोकगीत भनेको माटोको गीत हो । लोकगीतमा देशको मौलिकता हुन्छ, जीवन–दर्शनको कुरा हुन्छ ।


पछिल्लो समय लाइभ दोहोरीमा तपाईं देखिनुहुन्छ । अचेलका लाइभ दोहोरी वा रेकर्डेड दोहोरी परिवारसँग बसेर हेर्न नसकिने खालका पनि  छन् । यसबाट लोकगीतको अपमान भइरहेको ठान्नेहरू पनि छन् । यसरी लोकगीतको विकास होला र ? 
म प्रतिस्पर्धाबाट गायक भएर आएको व्यक्ति हुँ । लाइभ दोहोरीमा धेरै रमाउन सकिन्छ  र यसको मजा पनि बेग्लै छ । अहिले प्रत्यक्ष लाइभको मार्केट पनि राम्रो छ । तर, उच्छृंखलता ल्याउने र लोकलयलाई बंग्याउने कुरामा म सहमत छैन । जहाँसम्म लोकगीतको अपमान भइरहेको र परिवारसँगै बसेर हेर्न नसकिने कुरा छ, यो सत्य हो । अलि अघिदेखि नै यो कुरा चलिरहेको छ । हामी आफूले आफैँलाई मूल्यांकन गर्नुपर्छ । समाजमा कस्ता गीत–संगीत दिनुपर्छ भन्नेबारे स्वयं सर्जक सतर्क हुनु जरुरी छ । लोकगीत मेरा आमा, बुबा, छिमेकीले पनि हेर्नुहुन्छ भन्ने हेक्का राख्नुपर्छ ।