युगौँदेखि
पेरुंगोभित्र बन्धक
आदिम सिसिफस
पहिचानको संकटमा छ ।
मालिकको निगाहले
निर्मित छ उसको नियति ।
च्वाँ–च्वाँ गर्छ
उसको भाषा मालिकले बुझ्दैन ।
चिम्सो आँखाले समानता हेर्न खोज्छ
मालिकले देख्दैन ।
थेप्चो नाकले अधिकार सुँघ्न खोज्छ
मालिकले दिँदैन ।
पुड्को शरीर उठाउन खोज्छ
मालिकले उठ्न दिँदैन ।
पुख्र्यौली माटो जोत्न खोज्छ
मालिकले जोत्न दिँदैन ।
जगरजस्तै कठोर छ उसको मालिक ।
पेरुंगोभित्रै लाद्छ
समावेशी निरंकुश कानुन ।
ऊ सम्झन्छ
आदिम पुर्खाहरूले
आफ्नै स्वायत्त माटोमा
चरन गरेको इतिहास ।
ऊ सम्झन्छ
आदिम पुर्खाहरूले
वनजंगल र
खोलानालासँग रचेका
कथाहरू ।
तर आज
आफ्नै अगाडि देख्न विवश छ
पुख्र्यौली जंगल हडप्ने मालिक
मालिंगो मासेर
पेरुंगो बनाइरहेछ ।
विभेदको भाला रोप्न
लालायित निरंकुश मालिक ।