• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७९ श्रावण २१ शनिबार ०७:२८:००
समाज

उत्पीडितले आफ्नो कथा आफैँ भन्नु पनि आन्दोलन नै हो

२०७९ श्रावण २१ शनिबार ०७:२८:००
नयाँ पत्रिका

नयाँ पुस्ताका आशालाग्दा रंगकर्मी हुन्, किरण चाम्लिङ । ‘लाटो पहाड’, ‘जोखाना’लगायत नाटक निर्देशन गरेका उनले दर्जनौँ म्युजिक भिडियो पनि निर्देशन गरेका छन् । वेलावेला फिल्मका पर्दामा पनि देखिने उनले हाल ‘खुवालुङ’ नाटक निर्देशन गरेका छन् । ‘खुवालुङ’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । निर्देशक चाम्लिङसँग झन् नयाँका लागि कवि
छम गुरुङले संवाद गरेका छन् :

 

तपाईंको रंगमञ्चीय यात्रा ‘खुवालुङ’सम्म कसरी आइपुग्यो ?


मेरो रंगकर्मको जग किराँत संस्कृति–सभ्यता नै हो । आफ्नो संस्कृति, इतिहास, सभ्यता र संस्कार आदिबारे जान्न मलाई मन पथ्र्यो र मनपर्छ । यस नाटकभन्दा पहिलेको ‘जोखना’ नाटकको जग पनि यही नै थियो । यसपालि पनि यस्तै–यस्तै केही गर्ने सोचिरहेको थिएँ । एक दिन राजन (मुकारुङ) दाइबाट ‘खुवालुङ’ नाटकमा काम गर्ने सुखद प्रस्ताव आयो । खुवालुङबारे त्यति गहिराइमा ज्ञान थिएन । सप्तकोसीको त्रिवेणीमा रहेको एउटा ढुंगा हाम्रो आस्थाकेन्द्र हो भन्नेसम्म थाहा थियो । राजन दाइले ‘म लेख्छु, काम गरौँ’ भन्नु भएपछि अझै सिक्ने र बुझ्ने अवसरका रूपमा आँट गरिहालेँ ।


एकल संस्कृतिनिष्ठ राज्यले खुवालुङलाई केवल एउटा साधारण ढुंगा मानिरहेको छ । ‘खुवालुङ’ थिएटरमा ल्याइसकेपछि कस्तो महसुस भइरहेको छ ? 


नाटक हेरिसकेपछि खुवालुङको महत्ताबारे थप बुझ्नुहोला र दर्शकहरू कुनै न कुनै रूपमा आन्दोलित हुनुहोला भन्ने लागेको छ । यसलाई एउटा निर्जीव ढुंगाको रूपमा मात्रै बुझिदिने सीमिततालाई भत्काएर सांस्कृतिक, ऐतिहासिक, मुन्दुमी सभ्यताको कोणबाट बुझ्ने अवसर पनि देला, यस नाटकले । केही समयअघि यसलाई फुटाउने कुरा आउँदा जनस्तरबाट बलियो प्रतिरोध भयो । प्रतिरोधकै कारण राज्य पछि हट्न बाध्य भयो । त्यही प्रतिरोधको आवाजलाई यस नाटकमार्फत निरन्तरता दिँदै सचेत खबरदारी गर्ने प्रयत्न गरिएको हो । राज्यको एकात्मवादी दृष्टिकोण तोड्न यस नाटकले पक्कै मद्दत गर्नेछ भन्ने लाग्छ । 


थिएटरमार्फत विभेदकारी राज्यविरुद्ध आजको पुस्ताले के–के गर्नुपर्ला ?

कविता, फिल्म, संगीत, भिडियो, नाटक, थिएटरलगायत अनेक माध्यम उत्पीडित वर्ग र समुदायमा पुग्नु, प्रचारित हुनु र परिवर्तनको हिस्सेदार बन्नु पनि एक तहको सफलता नै हो । यसले एउटा नरम आन्दोलनको रूप लिँदै छ । यो पनि बृहत्तर आन्दोलनको एउटा पाटो हो । तथापि, हामीले आन्दोलन गर्न घोषणा नै गर्नुपर्छ भन्ने जरुरी छैन । जसरी हामीले आफ्नो कथामार्फत हाम्रो पहिचान स्थापित गर्न खोजिरहेका छौँ । हामीमाथिको विभेदको अब चिरफार गर्नुपर्ने भएको छ । उत्पीडितले आफ्नो  कथा आफैँले भन्नु पनि एउटा आन्दोलन हो । हामी कलाका माध्यमबाट पनि आन्दोलित हुनु जरुरी छ । 


उत्पीडित राष्ट्रको सीमान्तकृत मिथक र इतिहासको सहारामा कथित मूलधारीय इतिहासको भाष्यलाई भत्काउन सकिएला ? 
हामीलाई विभेदकारी संरचना या नीति–नियमले धेरै पछाडि पारेकै हो । चुनौती छ नै । हाम्रो संस्कार, संस्कृति, भूगोल सबै उपेक्षामा पारिए । हाम्रा पुर्खालाई खस नेपाली भाषा नआउँदासमेत बोल्न बाध्य पारियो । आफ्नै भाषा हराउँदै गयो । आज झनै कठिन स्थितिमा छौँ, हामी ।

एउटा समुदायको आस्था र सभ्यतामाथि विकासको नाममा राज्यले जे गरिरहेको छ, त्यो ठीक हो कि होइन भन्ने बहस नाटकले उठान गरेको छ । खुवालुङ फुटाउन खोज्ने राज्यको कदमलाई हामीले नाटकमा सीधै गलत पनि भनेका छैनौँ ।

हराएको हाम्रो भाषा र संस्कृति फिर्ता ल्याउन गाह्रो छ । स्मृति–श्रुति परम्परामा आधारित हाम्रो संस्कृतिको मुख्य स्रोत–व्यक्तिहरू बिस्तारै हराउँदै जाँदै छन् । धेरैको भाषा त हराइ नै सक्यो । बाँकीको पनि हराउँदै छ । अर्कोतिर, आर्थिक र स्रोत–साधनका दृष्टिले पनि हामी वञ्चित छौँ । प्रमुख बाधक त राज्यको नीति र व्यवहार नै हो । थिएटरमा हाम्रो कथा आउन थालेकै कति नै भएको छ र ! हुन त नेपालमा नाटककै इतिहास पनि त्यति लामो छैन । पहिले–पहिले दरबारमा हुन्थ्यो होला । कथा र कलाकारहरूले पनि कसको प्रतिनिधित्व गर्थे भन्ने हेर्नुपर्छ । राज्यपोषित कथित मूलधारीय संगीत, कथा र नायकत्वको भाष्य जसरी स्थापित गरियो, त्यसभित्र हाम्रो पहिचान मेटिएको छ । हामीले यसलाई भत्काएर नयाँ निर्माण गर्नैपर्ने छ । आज हामीले जुन काम गर्न खोजिरहेका छौँ, यही नै सायद अबको वैकल्पिक बाटो र भाष्य बन्न सक्छ कि ?


‘खुवालुङ’ ले खास के भन्न खोजिरहेको छ ?
‘खुवालुङ’ले हिजोको इतिहास र आजको समसामयिकतालाई समेटेर जनपक्षीय आवाज अभिव्यक्त गर्ने कोसिस गरेको छ । राज्यले चालेको कदमबारे बहस गर्नु जरुरी छ । एउटा समुदायको आस्था र सभ्यतामाथि विकासको नाममा राज्यले जे गरिरहेको छ, त्यो ठीक हो कि होइन भन्ने बहस नाटकले उठान गरेको छ । खुवालुङ फुटाउन खोज्ने राज्यको कदमलाई हामीले नाटकमा सीधै गलत पनि भनेका छैनौँ । तर, फुटाउँदा कस्तो असर पर्ला भन्ने देखाउन खोजेका छौँ । 
बहुभाषिक समाजमा थिएटरभित्रमातृभाषालाई कसरी समावेशीमूलक निरन्तरता दिन सकिएला ? ‘खुवालुङ’मा पनि यस सवालको थोरबहुत छनक त देखिन्छ । 


अहिले धेरै भाषा क्रमशः लोप हुँदै गएको दुःखद स्थिति छ । यतिसम्म कि स्वयं कलाकारले समेत आफ्नो आमाको भाषा जानिरहेको छैन । तर, त्यो केवल कलाकारको दोष होइन । यसमा धेरै कुरा जोडिएर आउँछन् । मुख्यतः राज्य निर्माण र सामाजिक व्यवस्थाको निर्माण कसको आँखाबाट हेरेर बनाइयो भन्ने इतिहाससँग जोडिने कुरा हो । मलाई पनि खासमा आफ्नै भाषा बोल्न आउँदैन । यो दुःखद अवस्था सदियौँदेखिको भाषिक दमनको परिणाम हो । हामीले आफ्नै इतिहाससमेत पढ्नै पाएनौँ, जान्नै पाएनौँ । यसैको प्रभाव झन् बढ्दै गइरहेको पाउँछौँ । तैपनि, हामी थोरबहुत जोगाउन अभ्यास गरिरहेका छौँ । ‘खुवालुङ’मा पनि छ–सातवटा भाषाको आंशिक प्रयोग गरेका छौँ ।

नेपाली समाजको विविधतायुक्त सभ्यता, सौन्दर्य दृष्टिकोण र संस्कृतिको मर्मअनुरूप थिएटरमा न्यायिक प्रतिनिधित्व भइरहेको देख्नुहुन्छ ?


थिएटरमा कम्तीमा पनि समाज बुझेका र बुझ्न चाहनेहरू नै आइरहेछन् । यो ज्यादै राम्रो पक्ष हो । भाषिक, लैंगिक तथा समावेशिताको सवालमा सचेत नै देखिन्छन् । वर्कसपमा पनि यी कुरा प्रायः उठाइरहेका हुन्छौँ । अहिले थिएटरमा नयाँ पुस्ताको आगमन र विविध समुदायको संलग्नता बढिरहेको छ । यो आशावादी हुने दृश्य हो ।


अझै पनि थिएटरहरू काठमाडौंकेन्द्रित भइरहनु राम्रो हो र ? 
राज्य पुनर्संरचना नै अपूरो छ । हरेक कुरा अझै केन्द्रीकृत नै छन् । संरचनात्मक कारणबाहेक एउटा त स्रोत र पहुँचको कारण पनि होला । हामी अर्थपूर्ण संघीय राज्य प्रणालीभित्र छौँ भने कम्तीमा राज्यले प्रत्येक प्रदेशको मुख्य सहरमा एउटा थिएटर निर्माण गर्नुपथ्र्यो । तर, निजीस्तरबाट भने केही न केही काम भइरहेका छन् । भौतिक पूर्वाधारहरूको अभावका बाबजुद पनि आर्टिस्टहरूकै पहलमा केही काम भइरहेका छन् । विडम्बना ! राज्यको आँखा अझै पनि पर्न सकेको छैन ।

 
तपाईंको कलायात्रा र रंगमञ्चीय संघर्षबारे केही बताइदिनुस् ।
सुरुमा संगीत पढेँ । नृत्यमा पनि संलग्न भएँ । पछि टेलिभिजनमा काम गर्दै सम्पादकसम्म भएँ । काठमाडौंमा भने धेरै वर्षपछि आएर काम गर्न थालेको हुँ । विधागत सम्मिश्रणसहित काम गर्ने उपयुक्त थलोका रूपमा थिएटरलाई पाएँ, जसले मलाई आनन्द र चुनौती दुवै दिइरहेको छ । चाहे एक्टरको रूपमा होस्, चाहे डिरेक्टरको रूपमा । सिक्ने र प्रयोग गर्ने प्लेटफर्मका रूपमा थिएटर भेटेँ ।

 

शिल्पी थिएटरसँग जोडिएर पनि मैले केही वर्ष काम गरेँ । त्यहीँ मेरो पहिलो निर्देशनमा उपेन्द्र सुब्बाकृत ‘लाटो पहाड’ नाटक सफलतापूर्वक मञ्चित भयो । जसले मलाई यस क्षेत्रमा स्थापित गर्नमा ठूलो भूमिका खेल्यो । त्यसपछि मण्डला थिएटरमा मैले दोस्रो नाटक ‘जोखना’ निर्देशन गरेँ । यो नाटकले पनि मेरो परिचयलाई थप फराकिलो बनायो । मैले केही फिल्ममा पनि काम गरेको छु । बीच–बीचमा मैले म्युजिक भिडियोमा काम गरेँ ।

‘खुवालुङ’चाहिँ तेस्रो नाटक–निर्देशन हो । आफ्नो कथामा काम गर्नका लागि हामीसँग पर्याप्त स्रोत र लिखित ‘टेक्स्ट’ नै छैनन् । यस्ता चुनौतीबीच पनि थिएटरसम्म धाएर हाम्रै कथा हेर्ने र बुझ्न खोज्ने बढ्दो जमातले आशा जगाउँछ । यस संस्कृतिले आउँदो पुस्तालाई थप सहज बनाउने नै छ ।


तपाईंको नाट्ययात्रामा कसको प्रेरणा वा प्रभाव छ ?
आफ्नै भोगाइ र कथा भन्न मन लागेर नै यस क्षेत्रमा आएँ । विविध कुराको प्रभावले होला, ‘¥यान्डम्ली’ काम गर्दै आएँ । ठोस प्रभावको ठोकुवा गर्न सक्दिनँ । याद भएसम्म मलाई प्रत्यक्ष प्रभाव पार्ने केही नाम छन् । कलकत्ताको अन्तर्राष्ट्रिय ड्रामा फेस्टिभलमा मणिपुरको निर्देशक रतन थियमको एउटा नाटक हेर्ने मौका पाएँ, त्यस नाटकको गहिरो प्रभाव ममा गढेर बसेको छ । थियमको जस्तो नाटक गर्न पाए भन्ने हुटहुटी जिउँदो छ । मजिद मजिदीका फिल्म र झाङ यिमाउका फिल्मले मलाई नयाँ बाटो देखाइरहेजस्तो लाग्छ । भविष्यमा कत्ति गर्न सक्नेछु, त्यो त थाहा छैन । तर, यी कृतिहरूको छापलाई मिठो मान्दै मेरो आफ्नै मौलिक हस्ताक्षर बनाउने चुनौती छ ।