• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
चिरञ्जीवी घिमिरे
२०७९ श्रावण २८ शनिबार ०७:००:००
फिल्म

पूर्वकी विद्रोही रंगकर्मी

सम्भवतः मोफसलकी एक्ली महिला नाटक निर्देशक हुन्, कविता । उनीभित्रको नाटकप्रतिको हुटहुटीले काँकडभिट्टामा जन्मियो, परिवर्तन थिएटर ।

२०७९ श्रावण २८ शनिबार ०७:००:००
चिरञ्जीवी घिमिरे

 

झापाकी रंगकर्मी कविता नेपालको कक्षा सातमा पढ्दै गर्दा ‘खोसिएको सिउँदो’ सडक नाटकबाट रंगकर्म सुरु भयो । २०५८ सालताका सडक नाटकमा अभिनय गर्दै गर्दा नाटकमार्फत जीवनका अनेक भोगाइ देखाउन सकिन्छ भन्ने लाग्यो उनलाई ।


नाटकमा उनी श्रीमान् गुमाएकी एकल महिलाको भूमिकामा थिइन् । एकल महिलाका दुःख र संघर्षको कथा नाटकमा हेरेपछि गाउँले महिलाहरूको आँसु थामिएन । ‘गाउँमा देखाएको नाटक हेरेर धेरै दर्शक भक्कानिएर रुनुभयो । खासगरी एक महिलालाई भावनात्मक रूपमा नाटकले छोयो,’ उनी भन्छिन्, ‘म त सानै थिएँ । स्टेजमा कसरी नाटक देखाउने भन्ने डर थियो । तर, मान्छे रुवाउन सफल भएछु । त्यही वेलादेखि नाटकले जीवन भोगाइ बोल्छ भन्ने लागेको थियो ।’ 


झापा चन्द्रगढीका पुराना रंगकर्मी कृष्ण अनमोलका नाटकले सानैदेखि उनलाई तान्यो । ‘खोसिएको सिउँदो’मार्फत नाटकप्रतिको उनको उत्कट चाह बाहिरियो । ‘५४ सालतिर कृष्ण अनमोल दाइहरूले नाटक गर्नुहुन्थ्यो । २० रुपैयाँ टिकट थियो । पैसा नभए झ्यालबाट हेर्थें,’ उनी भन्छिन्, ‘पछि एक प्रेम, तीन चिहान नामक नाटक पूरै हेर्ने मौका पाएँ । नाटकले जीवनमा अर्थ राख्दो रहेछ भन्ने लाग्यो । यसले नाटकप्रति झनै रुचि बढ्यो ।’


ब्राह्मण परिवारमा जन्मिएकी उनलाई अभिनय क्षेत्रमा आउन सजिलो थिएन । कविताले रंगमञ्चमा कुनै विद्रोही पात्रको भूमिका निर्वाह गर्दा मात्रै होइन, वास्तविक जीवनमा पनि समाजको परम्परागत पर्खाल तोडिन् । कविताले आफ्नो जीवनमा आजसम्म तीनपटक विद्रोह गरिन्, पहिलो– रंगमञ्चमा पाइला टेकेर, दोस्रो– मनोक्रान्तिमा सहभागी भएर र तेस्रो– अन्तर्जातीय विवाह गरेर । परिवारको नजरमा यी क्षेत्र ‘नराम्रा’ ठानिए पनि उनलाई आफ्नो विद्रोहप्रति गर्व छ । ‘बाह्मण समुदायमा जन्मिएकी म । बुबा यस्तो मनोरञ्जनप्रति चासै दिनुहुन्न थियो । साथीहरूसँग घुम्ने, मनोरञ्जन गर्ने त हाम्रा लागि कल्पनाबाहिरको कुरा थियो,’ उनी सम्झन्छिन्, ‘मेरो पहिलो विद्रोह थियो त्यो । नाटकपछि पाएको प्रतिक्रियाले झन् उत्साहित बनायो ।’ 


एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि कविता काठमाडौं पसिन् । नाटकदेखि टाढिइन् । नाटकबाट टाढिँदा उनलाई लामो प्रेम सम्बन्ध टुटेजस्तो भयो । नाटकबाट टाढै रहे पनि परिवारसँगको विद्रोह भने जारी नै थियो । आइए सकिएपछि नाटकबाट क्रान्ति गर्ने मान्छे अकस्मात् मनोक्रान्तितिर पो मोडिइन् । हाँस्दै सुनाउँछिन्, ‘केही समय साधिका बनियो ।’ कलेज पढ्ने क्रममा ०६३ सालमा कलेजबाटै प्रकाशित हुने अखबारका लागि अन्तर्वार्ता लिन गएकी उनी विकासानन्दको विचारबाट प्रभावित भइन् । ‘घरबाट स्वीकृत थिएन । तर, मैले फेरि विद्रोह गरेँ,’ उनी भन्छिन्, ‘घरबाट लिन पनि आउनुभयो तर गइनँ । त्यसवेला जिल्ला–जिल्लामा ध्यान सिकाउन जाँदा तत्काल स्क्रिप्ट तयार पारेर नाटक पनि देखाउँथ्यौँ ।’


०६५ सालमा गुरुपूर्णिमाको दिन कविता र उनका साथीहरू मिलेर विकासानन्दको जीवनीमाथि नाटक देखाए । त्यो पहिलो स्टेज नाटक थियो, कविताको । ‘विकासानन्दको जीवनीमा आधारित एउटा किताब थियो । मलाई त्यसमा केही गर्न मन थियो । त्यसलाई नाट्य रूपान्तरण गरेँ,’ उनी भन्छिन्, ‘तीन दिनको तयारीमा नाटक देखायौँ । विकासानन्द पनि नाटक हेरेर प्रभावित हुनुभयो । सबै दर्शक रुनुभयो । त्यो ठूलो सफलता मानेँ ।’


०६६ सालतिर कविता चन्द्रगढी फर्किइन् । त्यही क्रममा एकजना दलित युवासँगको प्रेम सम्बन्ध अन्ततः बिहेमा परिणत भयो । झापाका पत्रकार पर्वत पोर्तेलसँग २०६७ जेठ २३ गते अन्तर्जातीय विवाह गरेर कविताले तेस्रो विद्रोह गरिन् ।बिहेपछि पारिवारिक र सामाजिक यातना व्यहोरिन् । तर, उनलाई आफ्नो विद्रोहप्रति गर्व थियो । जातीय छुवाछुतजस्ता निकृष्ट सामाजिक व्यवहारदेखि घिन लाग्थ्यो उनलाई । ‘मेरो परिवार बाह्मण समुदायको, पर्वतजी दलित समुदायको । यो त स्विकार्ने कुरै थिएन । अहिलेका घटना हेरेर सम्झन्छु, धन्न ! पर्वतजीलाई केही भएनछ,’ कविता भन्छिन्, ‘लामो समयसम्म परिवारसँग भेटघाट भएन । आमासँग पनि सात महिनापछि मात्र फोनमा कुराकानी भयो ।’ विवाहपछि कविता रंगमञ्चमा फर्किइन् ।

विवाहपछि सीमावर्ती सहर काँकडभिट्टालाई कार्यथलो बनाई कवितालगायत महिलाले ‘परिवर्तन महिला समूह’ गठन गरे । कविताले जनचेतनामूलक सडकनाटक तयार पारिन्, स्क्रिप्ट लेखिन् र निर्देशन गरिन् ।


विवाहपछि सीमावर्ती सहर काँकडभिट्टालाई कार्यथलो बनाई कवितालगायत महिलाहरूले ‘परिवर्तन महिला समूह’ गठन गरे । कविताले जनचेतनामूलक सडक नाटकहरू तयार पारिन् । आफैँले स्क्रिप्ट लेखिन्, आफैँले निर्देशन गरिन् । ‘त्यसवेला पुरुष पात्र भेट्नै गाह्रो हुन्थ्यो,’ उनी भन्छिन्, ‘महिलाले नै पुरुष पात्रको भूमिका निभाउनुपर्ने बाध्यता थियो ।’उनीहरूले प्रदर्शन गर्दै आएको सडक नाटक अब स्टेजसम्म आइपुग्यो । ०६९ फागुनमा रिडर्स झापाले आयोजना गरेको कला साहित्य उत्सवको स्टेजमा उनीहरूले ‘हुँदैन कलाको मृत्यु’ नामक नाटक प्रदर्शन गरे । द्वन्द्वकालमा मारिएका पत्रकार डेकेन्द्र थापाको जीवनीमा आधारित नाटक थियो, त्यो । ‘मैले मनोक्रान्ति अभियानमा जिल्ला जाँदा यो घटनाबारे दैलेखमा थाहा पाएँ । त्यहाँका पत्रकार साथीको पनि नम्बर लिएको थिएँ । उहाँहरूसँग कुरा गरेर नाटक तयार पारेँ,’ उनी भन्छिन्, ‘आफैँले निर्देशन गरेँ । नाटकको प्रतिक्रिया पनि राम्रो आयो ।’


कविताले ०६९ मा जर्मन प्रशिक्षक आन्ने डिर्नस्टोर्फरसँग कचहरी नाटकबारे काँकडभिट्टामै प्रशिक्षण लिइन् । यो प्रशिक्षणले झनै आत्मबल बढायो । त्यसलगत्तै ०७० मा चन्द्रगढीमा ‘कचहरी क्याम्प’ भयो । जहाँ देशभरका एक सय रंगकर्मी थिए । त्यो प्रशिक्षणमा कविताले पनि सहभागी हुने मौका पाइन् । ‘यो दुईवटा प्रशिक्षणपछि त कलाका बारेमा धेरै जान्ने मौका पाएँ । मभित्रको कलालाई झनै निखार्न पाएँ,’ उनी भन्छिन्, ‘त्यसपछि रंगमञ्चमा धेरै सहज भयो ।’


०७१ मा आरोहण गुरुकुलको आयोजनामा राष्ट्रिय नाटक महोत्सव हुने भयो । त्यो महोत्सवमा ‘हुँदैन कलमको मृत्य’ प्रदर्शनमा लैजाने निर्णय भयो । पहिलोपटक काँकडभिट्टामा अडिसन लिँदै कविताले पुरुष कलाकार पनि छनोट गरिन् । त्यसपछि क्रमशः गणेश बस्नेत, अभिषेक गर्तौला, शिशिर चौलागाईं , एन्जल खड्का, अनिष बस्नेत आदि पुरुष कलाकार पनि रंगमञ्चमा जोडिन थाले । ‘पूर्वाञ्चल नाट्य महोत्सवमा हाम्रो नाटक उत्कृष्ट भयो,’ उनी भन्छिन् । ‘हुँदैन कलमको मृत्यु, ‘मलाया एक्सप्रेस’, ‘रेमिटल्यान्ड’, ‘सुनामी’, ‘सुकुम्बासी राजा’लगायतका दर्जनबढी नाटक निर्देशनको अनुभव कवितासँग छ । 


चन्द्रगढीमा भएको कचहरी क्याम्पपछि कविताकै अन्तर्जातीय विवाहको कथामा आधारित कचहरी नाटक तयार भयो । उक्त नाटक कविताकै गाउँमा देखाउने निर्णय भयो । तर, कविताले सहभागिता जनाइनन् । अन्य कलाकारले उनको कथामा अभिनय गरे । ‘परिवारले स्वीकार नगरेको अवस्था । मलाई पनि डर भयो नि !,’ उनी भन्छिन्, ‘आमा पनि त्यहाँ आउनुहुन्छ भन्ने लाग्यो । त्यहीकारण जान सकिनँ ।’ उनकै गाउँमा, उनकै कथामाथि बनेको नाटक मञ्चन गरियो । गाउँलेको प्रतिक्रियाचाहिँ अन्तर्जातीय विवाह गर्नु गलत भन्ने आयो । ‘म नगए पनि प्रतिक्रिया भिडियोमा हेरेँ । गाउँलेले हाम्रो गाउँमा पनि यस्तै भएको छ । अन्तर्जातीय विवाह गर्नु गलत भएको प्रतिक्रिया दिएछन्,’ उनी भन्छिन्, ‘तर, सबै ढोंगी हुन् ।’ 

 

अनि, जन्मियो परिवर्तन थिएटर
सम्भवतः मोफसलकी एक्ली महिला नाटक निर्देशक हुन्, कविता । उनीभित्रको नाटकप्रतिको हुटहुटीले काँकडभिट्टामा जन्मियो, परिवर्तन थिएटर । परिवर्तन महिला समूहभन्दा महिलाको मात्रजस्तो भएकाले पुरुष कलाकार नआएको निष्कर्षसहित परिवर्तन थिएटर गठन गरियो । ०७२ वैशाख ३ गते थिएटर जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भयो । कविता परिवर्तन थिएटरको संस्थापक अध्यक्ष बनिन् । लामो समय उनले थिएटरलाई नेतृत्व दिइन् । त्यसयता परिवर्तन थिएटरले दर्जनबढी नाटक प्रदर्शन गरिसकेको छ । वर्कसप पनि सञ्चालन गर्दै आएको छ, जसबाट नयाँ कलाकार उत्पादन पनि भए । ‘थिएटरमार्फत समाज परिवर्तन गर्न सकिन्छ भनेर परिवर्तन थिएटर स्थापना गर्‍यौँ । समाजलाई नाटक पनि केही रहेछ भन्ने प्रमाणित गर्‍यौँ,’ उनी भन्छिन्, ‘मानिसलाई टिकट काटेर थिएटरसम्म आउने बनायौँ ।’ तर, नाटकमा एक दशकदेखि संघर्ष गरिरहँदा पनि परिवर्तन थिएटरको आफ्नै नाटकघर छैन । सामुदायिक भवन मागेर रंगमञ्चको गतिविधि गर्नुपर्ने बाध्यता छ ।

कविताले आफ्नो जीवनमा आजसम्म तीनपटक विद्रोह गरिन्, पहिलो– रंगमञ्चमा पाइला टेकेर, दोस्रो– मनोक्रान्तिमा सहभागी भएर र तेस्रो– अन्तर्जातीय विवाह गरेर । परिवारको नजरमा यी क्षेत्र ‘नराम्रा’ ठानिए पनि उनलाई आफ्नो विद्रोहप्रति गर्व छ ।


पछिल्लो समय दर्शक नाटक घरसम्म आउन थालेका थिए । काँकडभिट्टामा पश्चिम बंगालबाट नेपाली भाषी पनि उनीहरूको नाटकको दर्शक बन्दै थिए । तर, कोरोना महामारीपछि परिवर्तन थिएटरको गतिविधि अघि बढ्न सकेन । ‘कोरोनाले रंगमञ्चलाई ठूलो क्षति ग¥यो । आर्थिक रूपमा घाटा भयो । त्यसकारण हामी अहिलेसम्म रंगमञ्चमा फर्कन सकेका छैनौँ,’ कविता भन्छिन्, ‘तर, फेरि हामी जुर्मुराउँछौँ । नाटकको तयारी गरिरहेका छौँ ।’ कोरोनाकालमा कलाकार पनि लाखापाखा लागे । ‘रंगमञ्च चल्न छाडेपछि बाध्य भएर कलाकारले अर्कै बाटो रोजे । कतिपय कलाकार पलायन भए,’ उनी भन्छिन्, ‘कलाकारलाई स्थानीय सरकारले पनि सहयोग गरेन । तर, फेरि नयाँ कलाकार उत्पादन गरेका छौँ ।’ 

 

अनुदार सरकार
स्थानीय सरकारको पहिलो कार्यकाल सकियो । तर, स्थानीय सरकारको नजर कलाक्षेत्रमा नपरेको देख्दा उनलाई दिक्क लाग्छ । कला, साहित्य सहरका गहना हुन् । तर, स्थानीय सरकारले कला नबुझ्दा वर्षौंदेखि कविताहरूजस्ता रंगकर्मीहरूले दुःख झेलिरहेका छन् । भाडाको भवनमा बस्नुपर्ने बाध्यता छ । ‘स्थानीय सरकारले कला नै बुझ्ने कोसिस गरेन । हाम्रो प्रयासले यहाँसम्म आयौँ । तर, आफ्नो भवनसमेत छैन,’ उनी भन्छिन्, ‘नजिकको सरकारको नजरमा रंगमञ्च नपर्दा दुःख लागेको छ । रंगमञ्च पनि समाज परिवर्तनको संवाहक हो भन्ने कुरा कहिले बुझ्ने होला, थाहा छैन ।’