• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
जीवन लामा
२०७९ श्रावण २८ शनिबार ०८:११:००
समाज

नयाँ बन्दै विद्यालय, पढाइ छाड्दै विद्यार्थी

२०७९ श्रावण २८ शनिबार ०८:११:००
जीवन लामा

दोलखा कालिञ्चोक गाउँपालिकाको बालोदय माविमा भूकम्पपछि दुईवटा नयाँ भवन थपिए, चारवटा नयाँ कोठा पनि थपिए । त्यति मात्रै होइन, छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय बने, खानेपानीको धारा पनि बन्यो । भवन पहेँलो रङले उज्यालो देखियो । तर, दुःखद पक्ष, स्कुलमा जति नै भौतिक सुविधा थपिए पनि विद्यार्थी घट्ने क्रम भने रोकिएन । यता स्कुलमा भौतिक सुविधा थपिँदै जान्छन्, उता कक्षाकोठामा विद्यार्थी घट्दै जान्छन् ।


भौतिक सुविधाले बालबालिकाको ध्यान तान्नै सकेन । बालोदय माविमा पढ्ने ५४ विद्यार्थीमध्ये ६ जनाले वार्षिक परीक्षा नै दिएनन् । विद्यालयका प्रधानाध्यापक कमल पाख्रिन यो समस्याबाट चिन्तित छन् । उमेर बढ्दै गएपछि पैसा कमाउने मोह बढ्ने भएकाले विद्यार्थीहरूले कक्षा छाड्ने गरेको उनको निष्कर्ष छ । 


जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यस पालिकामा सडक सुविधा पुगे पनि अन्य भौतिक पूर्वाधार बनेका छैनन् । यो पालिकामा ६५ प्रतिशत थामी समुदायको बसोवास छ । कच्ची सडकका कारण गाडी हिउँदमा मात्रै चल्छ । शिक्षा, स्वास्थ्य र खानेपानीको समस्या अहिले पनि उस्तै छ । परिवर्तनको महसुस स्थानीयले अझै गर्न पाएका छैनन् ।


राज्यले थामी जातिलाई आदिवासी जनजातिभित्रको अति सीमान्तकृत समुदायमा सूचीकृत गरेको छ । यस क्षेत्रको थामी समुदायको मुख्य आम्दानीको स्रोत खेतीपाती र ज्याला मजदुरी नै हो । उनीहरू अहिले पनि जीविकोपार्जनका लागि खेतीपाती, ज्याला मजदुरी र वैदेशिक रोजगारीमा निर्भर छन् । थामी समुदाय शिक्षामा पछाडि छ । त्यसमाथि अहिले थामी समुदायका बालबालिकामा विद्यालय छोड्ने क्रम बढेको छ । यसबाट थामी जाति शिक्षामा झनै पछाडि पर्ने देखिन्छ । विगतमा पनि थामी समुदायका अधिकांश बालबालिका विद्यालयबाहिर रहेपछि गाउँपालिकाले थामी समुदाय विशेष शैक्षिक कार्यक्रम सञ्चालन गरेको थियो । जसमा थामी समुदायका लागि छुट्टै छात्रवृत्ति र दिवा खाजाको व्यवस्था गर्ने साथै पोषाक सहयोग गर्नेजस्ता कार्यक्रम सञ्चालनमा ल्याएको थियो । तर पनि थामी समुदायका बालबालिकालाई सो कार्यक्रमले आकर्षित गर्न सकेन । 


पालिकाले शिक्षालाई प्राथमिकतामा राखेर गत चैतमा बालमैत्री गाउँपालिका घोषणा गरेको थियो । स्थानीय सरकारले थामी समुदायलाई लक्षित गरी विशेष छात्रवृत्ति र दिवा खाजाको प्रबन्ध गरेको छ । तर पनि थामी बालबालिकाको विद्यालय छाड्ने क्रम रोकिएको छैन । ढिला गरी विद्यालय जाने थामी समुदायका बालबालिकाको उमेर बढ्दै गएपछि आवश्यकता बढ्दै जान्छन् । १४–१५ वर्ष पुगेपछि उनीहरूको आवश्यकता बढ्दै जाने अनि स्टेसनरी, झोला, विद्यालय पोसाक आदिको अभावले पनि विद्यार्थीलाई सताउन थाल्छ । किन्ने पैसा हुँदैन । आफ्नै दौँतरीहरू कमाउन थालिसकेका हुन्छन् । कोही–कोही त खाडी पुगिसकेका हुन्छन् । आफूचाहिँ किन विद्यालय जाने भन्ने मनोविज्ञानले पनि थामी समुदायका विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् । यसमा अभिभावक पनि विवश देखिन्छन् । 

आफ्नै दौँतरीहरू कमाउन थालिसकेका हुन्छन् । कोहीकोही त खाडी पुगिसकेका हुन्छन् । आफूचाहिँ किन विद्यालय जाने भन्ने मनोविज्ञानले पनि थामी समुदायका विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् ।


पालिकाकै दिव्येश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक निरबहादुर घिसिङ कुनै दिन त ६०–७० प्रतिशत नै विद्यार्थी विद्यालय नआउने गरेको बताउँछन् । गाउँमा कतै ज्याला मजदुरीको काम वा विकास निर्माणको काम भएका वेला विद्यार्थी काममा गएपछि विद्यालय नै शून्य हुने गरेको छ । अति सीमान्तकृत थामी समुदायमा मजदुरी नगर्ने हो भने दैनिक जीवनयापनमा समस्या हुने गर्छ । त्यसमाथि बढ्दो प्रविधिको प्रयोगले थामी किशोरकिशोरी पनि अलग रहन सकेका छैनन् । सहरप्रतिको मोहले पनि विद्यालय छाड्नेको संख्या ह्वात्तै बढाएको बताउँछन् दिव्येश्वर आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर थामी । थामी समुदायका बालबालिका सुरुमा भर्नाचाहिँ धेरै हुने तर ७–८ कक्षामा पुगेपछि बीचैमा पढाइ छाड्ने गर्छन् । अभिभावकले शनिबार र बिदाको दिन काममा लगाउँदा–लगाउँदै पैसा कमाउने बानी परेकाले पनि स्कुल नआउने गरेका हुन् । यस समुदायमा उमेर पुगेपछि कामका लागि छिमेकी देश भारत र खाडी मुलुक जाने क्रम पनि बढेको छ । कतिपय त साथीभाइको लहैलहैमा घरमा अभिभावकलाई थाहै नदिई बिदेसिएका पनि छन् । यो समस्या २०७२ को भूकम्पपछि झनै बढ्यो । 


विद्यार्थी टिकाउन वडाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि विद्यार्थी टिकाउन नसकिएको वडा नम्बर १ का वडाध्यक्ष पदम थामी बताउँछन् । छात्रवृत्ति वितरण गरे पनि, खाजा व्यवस्था गरे पनि विद्यार्थी टिकाउन नसकिएको वडाध्यक्ष थामीको भनाइ छ । 


वडा नं. १ मा एउटा माध्यमिकसहित चारवटा विद्यालय छन् । आठ सय २२ जना विद्यार्थी पढ्ने यस वडामा चार सय २६ छात्र र तीन सय ९६ छात्रा छन् । विद्यालयमा मातृभाषा पढाउन पालिकाकै सहयोगमा दुईजना शिक्षकको पनि व्यवस्था गरिएको छ । यति प्रयास हुँदाहुँदै पनि विद्यालय आउने बालबालिकाको संख्या भने बढ्न सकेको छैन । पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाकी संयोजक रोशनी आचार्य बालमैत्री गाउँपालिका घोषणा भइसकेको हुँदा स्थानीय सरकारले शिक्षामा प्रशस्तै लगानी गरेको बताउँछिन् । विद्यालयबाहिर बालबालिका हुनुहुँदैन भनेर अभिभावक, शिक्षकहरूसँग गाउँपालिकाले पहल गर्दै आएको देखिन्छ । तर, बालबालिकाले विद्यालय छाड्ने क्रम भने रोकिएको छैन । यसबारे गाउँपालिकाले छिटै अर्को पहलकदमी लिने बताउँछन्, पालिकाका उपाध्यक्ष रोशन बुुढाथोकी ।


गाउँपालिकासँगै सामाजिक संघसंस्थाहरूले बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने, विद्यालय भवन निर्माणदेखि भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्दै आएका छन् । तर पनि यस समुदायमा शिक्षाभन्दा श्रममा बढी जोड देखिन्छ । राजनीतिक दलहरूले चुनावताका मिठा–मिठा सपना बाँड्छन्, तर शिक्षामा सीमान्तकृत समुदायलक्षित कुनै ठोस कदम चाल्दैनन् । थामी समुदाय भोट बैंक मात्रै कहिलेसम्म बनिरहने ? थामी विद्यार्थीले विद्यालय छाड्ने क्रम कहिले रोकिने ?