• वि.सं २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
बाबुकृष्ण कार्की
२०७९ भदौ ४ शनिबार ०६:३५:००
पर्यावरण

अनि नेपाल बन्नेछ टाइगरल्यान्ड

२०७९ भदौ ४ शनिबार ०६:३५:००
बाबुकृष्ण कार्की

सन् २०१० मा बाघको संख्या दोब्बर बनाउने संकल्प महत्वाकांक्षी थियो । त्यसवेला संकल्प मात्र गरिएन, बाघ बढाउने आधार क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज रहनेसमेत घोषणा गरियो । घोषणालगत्तै नेपाली सेना तैनाथ गरियो । अन्ततः बाघको संख्या बढ्यो । यस कार्यमा समर्पित वन रेन्जर, संरक्षण साझेदार संघ–संस्था, सिबिएपियू, वन हेरालु, सबै सुरक्षा निकाय र सिआइबी, सामुदायिक वनकर्मी, सञ्चारकर्मी सबैलाई सलाम । उनीहरूले कदरयोग्य काम गरेका छन् । बाघको संख्या ३५५ पुग्यो । बाघ संरक्षण गर्दा ज्यानको आहुति दिने स्थानीयवासी र तिनका परिवारलाई पनि सम्झिनुपर्ने हुन्छ । 


नयाँ चुनौती
यतिवेला सुखद राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मिडियामा छाएको छ । अब बाघको अंग माग बढ्नेछ । अवैध व्यापार चम्किनेछ । चोरी–सिकारीहरूले आदेश पाइसकेको हुनुपर्दछ । बन्दुक–बारुद, विषादी, पासोको जाल बिछ्याइनेछ । स्थानीय समुदायलाई भय र त्रास देखाएर भड्काइनेछ । संरक्षणकर्मीलाई होइन, चोरी–सिकारीलाई साथ दिन उक्साइनेछ ।


सुकुमबासी पुनर्वास अथवा पूर्वाधार निर्माणको नाममा संरक्षणविरोधी विकासको नारा उचालिनेछ । वनजंगल उत्खनन, विनाश र दोहनको लुटपाट बढ्नेछ । बाघलाई असहज बनाउन वन अतिक्रमण तीव्र पारिनेछ । बाघ बढ्दा गैँडा पनि बढेका छन् । अन्य वन्यजन्तुको पनि स्वतः वृद्धि भएको छ । नेपालमा बाघ बढ्दा भारतमा पनि बढेको हुनुपर्दछ । एउटा देशको चोरी–सिकारी चुनौतीले अर्को देशलाई पनि छाड्दैन । तसर्थ, संयुक्त संरक्षण प्रयास जरुरी छ । दोस्रो सत्य, बाघ बढेपछि स्वभावतः बाघ मानव द्वन्द्व बढ्नेछ । तर, त्यसको उपचार सम्भव छ ।


तेस्रो सत्य, बाघ तेब्बर हुनु भनेको
सुखद खबर हो । तर, त्यसले तीनगुणा ठूलो वासस्थान, तीनगुणा गुणस्तरीय घाँसेमैदान र स्वच्छ पानी तथा तीनगुणा धेरै आहार माग गरेको बुझ्नुपर्दछ । अर्कोतिर, त्यसले तीनगुणा धेरै राष्ट्रिय संरक्षण प्राथमिकता, तीनगुणा धेरै बजेट र स्रोतसाधन, तीनगुणा धेरै कर्मचारी र तिनको सक्रियता, तीनगुणा धेरै राम्रो व्यवस्थापन र ६ गुणा धेरै संरक्षणको माग राखेको हुन्छ । तसर्थ, सबैको जिम्मेवारी र कर्तव्य तीनदेखि ६ गुणा बढेको परिवर्तित अवस्थामा हामीले आफूलाई तदनुसार परिवर्तन गर्न, तिखार्न र जवाफदेहिता एवं क्षमता अभिवृद्धि गरेर प्रस्तुत हुन जरुरी छ ।


संरक्षण कसरी गर्ने ?
दुवै देशको बाघको ओहोरदोहोर संख्याको अभिलेख दुरुस्त राख्न र ती बाघलाई सुरक्षाको प्रत्याभूति दिन नेपाल–भारतले क्रस बोर्डर अनुगमन संयन्त्रलाई असरदार बनाउनुपर्दछ । सीमापारि बाघले मारेको घटनालाई सीमावारि मुचुल्का बनाई राष्ट्रिय ढुकुटी रित्याउने कपटी खेल बन्द गर्नुपर्दछ । सीमावारि होस् या सीमापारि बाघको आक्रमणबाट एकजना मानिसको पनि मृत्यु हुनुहुँदैन । त्यो द्वन्द्व शून्यमा झार्न सम्भव छ ।


बाघ बढ्दैमा द्वन्द्व बढ्छ भन्ने कुरा सत्य होइन । बाघ बढेसँगै बाघको ठूलो आकारको आहार प्रजाति बढाउन विशेष ध्यान दिनुपर्दछ । चितवन, पर्सामा गौर र अर्ना, बाँके बर्दियामा जरायो र शुक्लाफाँटामा बाह्रसिंगेको संख्या बढाउन अनुकूल वातावरण बनाइदिनुपर्दछ । घाँसेमैदान बाह्रै महिना सफा र स्वस्थ राख्न तथा पानीको स्रोत बढाउन शीघ्र काम थाल्नुपर्छ । भित्री कोर एरियामा रमाउने गरी वासस्थान सुधार गरेमा बाघ बाहिर आउने छैन ।

नेपाल बाघको सुरक्षित र सुन्दर वासस्थान हुनेछ । बाघ–मानव द्वन्द्व शून्यमा झर्नेछ । शून्य द्वन्द्व, शून्य सिकार व्यापारले समृद्धिको नयाँ ढोका खुल्नेछ । नेपालको पर्यटकीय ‘निकनेम’ टाइगरल्यान्ड हुनेछ ।


यद्यपि बाघ बुढो, घाइते हुनु स्वाभाविक हो । दुईदेखि पाँच प्रतिशत त्यस्तो समस्याग्रस्त बाघलाई रेडियो कलर लगाएर २४ घन्टा मोनिटर गर्ने चुस्त संयन्त्र बनाउन र आवश्यक पर्नासाथ नियन्त्रणमा लिएर खोरमा राख्न सबै निकुञ्जमा भेटेनरियन, प्राविधिक, बाघविज्ञ, सैनिक सम्मिलित शक्तिशाली मोबाइल र्‍यापिड रेस्पोन्स टिम स्ट्यान्डबाई रहन जरुरी छ । त्यस्तो बाघ राख्न हरेक निकुञ्जमा ठूलो राम्रो सुरक्षित उपचार तथा सुधारकेन्द्र हुनुपर्दछ ।

 

सौराहाको वन्यजन्तु अस्पताललाई दक्ष प्राविधिक जनशक्ति र स्रोतसाधन सम्पन्न बनाउन जरुरी छ । साथै, बाघको वासस्थानवरिपरिका समुदायलाई संरक्षण शिक्षा दिन, समूहमा मात्र जंगल जान लगाउन र सम्भव भए एस्कर्ट गरेर सुरक्षा दिन सकिन्छ । यो अनुशासनले बाघ मानव द्वन्द्व न्यूनीकरण मात्र होइन, शून्यमा झार्न सकिनेछ । तर, हेक्का रहोस् निकुञ्जभित्रको घुसपैठ, कुशासन र फितलो सुरक्षा सीघ्र सुधार गर्नुपर्छ । बाघको दीर्घकालीन रक्षाका निमित्त सुशासन र बफरजोन लक्षित समृद्धि सरकारको पहिलो लक्ष्य हुनुपर्दछ ।


स्थानीय जनतालाई तालिम दिने रेन्जर र निकुन्ज कर्मचारीहरूको प्रशिक्षण शून्य छ । पहिलो प्रशिक्षण फ्रन्टलाइनका जिम्मेवार पंक्तिलाई दिन जरुरी छ । नेपाली सेनाको संख्यात्मक होइन, गुणात्मक क्षमता बढाउन जरुरी छ । उसको इन्टेलिजेन्स, दुरबिन, जिपिएस, नाइट्भिजन, सिसि क्यामरा, ड्रोन ६ गुना बृद्धि होस् । अपरेसन क्षमता ६ गुना बढाउन साईकल, मोटरसाईकल, जिप, जहाज, डुंगा, रियलटाइम पेट्रोलिलियन् मोबिलिटी र कम्युनिकेसन बढाउन जरुरी छ । ठूला र भारि बन्दुक र बम ६ गुनाले घटाउनुपर्छ । 


निकुञ्ज फौजलाई नेपाली सेनाले रक्षा बजेटबाट संचालन गर्नुपर्छ । वनविकास बजेट बिज्ञान–प्रबिधि तथा प्रकृति मैत्री पूर्वाधारमा खर्च गर्ने अभ्यास गर्नुपर्दछ । निकुञ्जभित्र बाह्रै महिना, चौबीसै घन्टा हरेक कुना पुग्ने अलवेदर सडक सञ्जाल बनाउनुपर्दछ । यसो भयो भने नेपाल बाघको सुरक्षित र सुन्दर वासस्थान हुनेछ । बाघ–मानव द्वन्द्व शून्यमा झर्ने छ । शून्य द्वन्द्व, शून्य सिकार–ब्यापारले समृद्धिको नयाँ ढोका खुल्ने छ । नेपालको पर्यटकीय ‘निकनेम’ टाइगरल्यान्ड हुनेछ । अनि अनुशासित, स्वस्थ, सुखी र खुसी बाघ र उस्तै स्थानीय बासिन्दाको घरआँगनमा पर्यटकको घुँइचो लाग्नेछ ।