• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राजकुमार दिक्पाल
२०७९ भदौ ४ शनिबार ०७:३९:००
इतिहास

कहिलेदेखि चल्यो तामाङ लेख्ने चलन ?

२०७९ भदौ ४ शनिबार ०७:३९:००
राजकुमार दिक्पाल

जो आज आफूलाई ‘तामाङ’ भनी गौरव गर्छन्, उनीहरूलाई जनाउने जात–थरका रूपमा ‘मुर्मी भोट्या’ भन्ने शब्द प्रयोग गरिन्थ्यो । ‘मुर्मी’ शब्दको प्रयोग खासगरी सरकारी अभिलेखहरूमा प्रशस्त पाइन्छन् । मुर्मीको अर्थ सिमानाको बासिन्दा हुन्छ भन्ने केही विद्वान्को भनाइ छ । (जनकलाल शर्मा, ‘हाम्रो समाज एक अध्ययन’–२०७५ः३८८) ।


तिब्बती भाषामा ‘तामाङ’ शब्दको अर्थ खुलाउँदा ‘ता’को अर्थ घोडा ‘माङ’को अर्थ व्यापारी वा धनी हुन्छ । उनीहरूलाई कतैकतै घोडचडी पनि भन्ने गरेको पाइन्छ । तामाङलाई मुर्मी भोट्या भन्दाखेरि ‘सिमानातिरको तिब्बती मान्छे’ भन्ने अर्थ लाग्छ । यसप्रति तामाङहरू असहमत छन् । 


भाषाशास्त्री अमृत योञ्जनको भनाइमा भाषाशास्त्रीय आधारमा ‘ताम’ भनेको कुरा अर्थात् भाषा र ‘पाङ’ भनेको बोल्नु हो । यसरी ‘ताम’ र ‘पाङ’ मिलेर तामाङ भएको हो । यसको अर्थ कुराको पहल गर्ने वा भाषाको उत्पत्ति गर्ने भन्ने लाग्छ । यसैमा तामाङहरूले आफूलाई तामाङ भन्नु वा भनाउनुमा गौरव गरेको देखिन्छ ।


तामाङहरू आफूलाई नेपालका पुरानो जाति ठान्छन् । उनीहरूको नेपालसँग प्रागैतिहासिक सम्बन्ध भएको पुरातात्विक अन्वेषणमा आधारित भएर पुरातत्वविद् जनकलाल शर्माले पनि अनुमान गरेका छन् । रुसी प्रागैतिहासिक पुरातत्वविद् डा. अनातोली याकोब्लेभ सटेन्कोले गरेको खोज–अनुसन्धानसँग जोडेर तामाङको प्राचीनतालाई पुष्टि गर्ने गरिएको छ ।


रुसको लेनिनग्राद विश्वविद्यालयका यी प्रागैतिहासिक पुरातत्वविद् डा. सटेन्कोले २०३४ माघ २ गतेदेखि चैत ११ सम्म नेपालमा पुरातात्विक अध्ययन गरेका थिए । अध्ययनका क्रममा उनले काठमाडौं उपत्यकाको बुढानीलकण्ठको दक्षिणपूर्वको धोबीखोलाको किनारमा केही पाषाण हतियारहरू फेला पारे । अध्ययनबाट डा. सटेन्को काठमाडौं उपत्यकामा मानवबस्ती मध्यपाषाण युगदेखि चलिआएको निष्कर्षमा पुगे । शर्माका अनुसार पाषाणकालीन मंगोलियनहरू तिब्बत हुँदै नेपाल आउँदा काठमाडौंमा आइपुगेको देखा पर्छ । ‘हामी सबैभन्दा पुरानो बासिन्दा हौँ’ भन्ने तामाङहरूको धारणालाई यसबाट पुष्टि गर्ने आधार मिल्छ । उपत्यकामा बाहिरियाहरूको प्रवेश हुन थालेपछि तामाङहरू उपत्यकावरिपरिका भूभागतिर छरिएर रहन थाले (शर्मा, उहीः३८८–३९२) ।


यी लामाहरू तामाङ हुन् ?
तामाङहरूले आफ्नो थरगत पहिचानका रूपमा लामा पनि लेख्ने गरेका छन् । नेपाली इतिहास अध्ययनका क्रममा आफ्नो थरमा लामा लेख्ने पुराना भारदारका रूपमा दुईजना उच्च अधिकारी भेटिएका छन् । उनीहरू हुन्, पिउबर लामा र मणिराम लामा । वि.सं. १८४८ मा आफूले पठाएको दूतहरू काठमाडौंमा थुनिएपछि तिब्बतलाई साथ दिँदै चिनियाँ सेनापति तुङ्थ्वाङ १० हजार सेनाका साथ नेपालविरुद्ध आक्रमण गर्न अघि बढेका थिए । त्यसवेला कुतीतिरको बाटो हिउँका कारण बन्द भएकाले केरुङतिर लागेर वि.सं. १८४८ को फागुनको आधाआधीतिर कुकुरघाटमा त्रिशूली तरी चिनियाँ सेना नेपालको सीमाभित्र पसेको थियो । त्यसवेला केरुङ प्रदेशको रक्षाका लागि चार कम्पनी गोरखाली सैन्य लिएर सरदार शत्रुभञ्जन मल्ल र सुब्बा पिहुवर लामा तैनाथ रहेका थिए ।

 

कुकुरघाटको ठाना जिती पाङसिङटारमा रोक्न गएका गोरखाली सैनिकलाई हटाई सात दिनपछि चिनियाँ सैन्य केरुङको गढीनेर आइपुग्यो । सरदार मल्ल र सुब्बा लामाले दुई दिनसम्म त्यस गढीमा शत्रुलाई रोके । तर, ठूलो संख्यामा रहेका चिनियाँ तिब्बती सेनासँग पाँच सयको संख्यामा रहेका गोरखाली सेनाको केही लागेन । त्यसैले मल्ल र लामा केरुङ छाड्न बाध्य भए । पछि दामोदर पाँडेको नेतृत्वमा केन्द्रबाट त्यसतर्फ पठाइका थप सैन्यबलसँग मल्ल र लामा मिसिएका थिए (देवीप्रसाद भण्डारी, ‘पूर्णिमा’ पूर्णाङ्क ६३– चैत २०४१ः१४) । 

तामाङहरूले वि.सं. १९८९ देखि मात्रै आफूहरूको जातथरमा ‘तामाङ’ लेख्न पाउने स्वीकृति प्राप्त गरे भन्ने मान्यता स्थापित छ । यसका लागि तत्कालीन श्री ३ महाराज भीमशमशेरले एक इस्तिहार जारी गरिदिए । आफूहरूले ‘तामाङ’ लेख्न पाउनुपर्ने माग गर्ने अघिसरा सरदार जङ्गवीर हुन् । जङ्गवीरले भारतको आसामबाट नेपाल आई यस्तो माग गरेका थिए ।


यो युद्धको वेला अर्का मणिराम लामा पनि नेपाली सैन्यकातर्फबाट सक्रिय भएका देखिन्छन् । उनको सक्रियता हतियारधारी सैनिकका रूपमा नभई दोभाषेका रूपमा देखिन्छ । नेपाल सरकारको तर्फबाट काजी रणजित पाँडे, कपरदार भोटु पाँडे, सुवेदार रामदास पन्तका साथ शान्ति प्रस्ताव लिएर दोभाषेको रूपमा मणिराम लामा चिनियाँ सैन्यशिविरमा पुगेका थिए (बाबुराम आचार्य, ‘चीन तिब्बत र नेपाल’–२०५९ः६८)


केरुङ क्षेत्र रसुवाबाट नजिक पर्ने तथा चीन र तिब्बतसँग नेपालको युद्ध हुँदा यसै क्षेत्रमा युद्ध भएकाले त्यसवेलाका सुब्बा पिहुबर लामा र दोभाषे मणिराम लामा रसुवाकै तामाङ हुन सक्ने अनुमान गर्न सकिन्छ । यीमध्ये पिहुबर लामाको बाबु र बाजेको नाम भने उपलब्ध छ । वि.सं. १८५५ फागुन सुदी २ शुक्रबार तत्कालीन स्वामी महाराज रणबहादुर शाहले दरबारका भारदारलाई ताँवापत्रमा हस्ताक्षर गराएका थिए । त्यसवेला ९५ जना भारदारले हस्ताक्षर गर्दा पिहुबर लामा पनि एक थिए । यस ताँवापत्रमा पिहुबरका बाबुबाजेको नाम पनि खुलेको छ । उनको बाजे विराज लामा र बाबु जसकर्न लामा भएको देखिन्छ (चित्तरञ्जन नेपाली, ‘श्री ५ रणबहादुर शाह’–२०७५ः१०९) ।


यी दुईमध्ये सुब्बा पिहुबर लामाले गोरखा दरबार कुर्ने जिम्मा पनि पाएका थिए । गोरखा दरबारमा बत्ती बाल्ने व्यवस्था विषयको वि.सं. १८६० को एक पत्रमा ‘आगे गोरखा दर्बार कुर्‍हन्या पिहुबर लामाके गोर्खाका पौड्याल हान सुवारा १ कोस्या दर्बार्‍या सुवारा १ चंडेहान सुवारा १ रानिसुवारा १ जंमा सुवारा ४ को तोरिले रोजिन्ना साँझमा बाति बालनू. सेष जा बाकि रह्याको सो सर्कार दाषिल गनूृ’ भन्ने परेको छ (दिनेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ६३– चैत २०४१ः८–९) । यसबाट हेर्दा सुब्बा पिहुबर लामा नेपाल र चीनबीचको युद्धमा सहभागी भएको १२ वर्षपछि पनि दरबारकै सेवामा सेवारत भएको देखिन्छ ।


मासिने जात
नेपालका शासकले मासिने जात र नमासिने जातमा समुदायलाई विभक्त गर्दा तामाङहरूलाई मासिने जातमा पारिदिए । मासिने जाति भनेको मार्न, दासदासी बनाउन र बेच्न पाइने जाति हो । तामाङहरूलाई मासिने जातिका रूपमा राखिएको प्रमाणमध्ये एक हो, तत्कालीन राजा राजेन्द्रविक्रम शाहले वि.सं. १८९३ असार सुदी ७ बुधबार जारी गरेको रुक्का । सहोदर भाउजूलाई जानी–जानी करणी वा विवाह गरे कुन जातिलाई कस्तो सजाय दिने भन्ने विषयमा यो रुक्का जारी गरिएको थियो ।

 

रुक्कामा ‘...जंगला मुलुक हुनाले जातको तजबिज गर्नुपर्दा हाल किराँती लिंबु लाप्चा र जुम्लीहरूबाहिक राषी आजदेषि उप्रान्त जानी–जानी कसैले साक्षात भाउजू बिराउ नगर्नू भन्या थिति बन्धेज बाँधी बक्स्यौँ’ भन्ने उल्लेख गर्दै किराँती (राई ?), लिम्बू, लेप्चा र जुम्लाका बासिन्दालाई भाउजूसँग करणी गरे वा विवाह गरे कुनै सजाय नहुने स्पष्ट पारिएको छ । तर, उपाध्याय ब्राह्मण, क्षेत्रीलाई पनि यस्तो कार्य गरे जात पतित गरी मुडी देश निकाला गर्ने सजाय तोकिएको छ । खस, मगर, गुरुङ, घले र नेवारभित्रका दलितलाई यस्तो कार्य गरे लिंग काट्ने सजाय तोकिएको छ । यस्तै रुक्कामा ‘बलामी, माझी, दनुवार, सुनुवार, मुर्मी भोट्या, चेपाङ पहरिवरै कुम्हाल वरानुलाई जानी–जानी भाउजू बिराउ गर्‍यो भने मारी दिन...’ भन्ने परेको (महेश सी. रेग्मी (सम्पा.), ‘रेग्मी रिसर्च सेरिज’ वर्ष ३ अङ्क १–जनवरी १९७१ः१–२) । यसबाट हेर्दा मुर्मी भोट्या भनिएका तामाङहरूलाई भाउजूसँग करणी वा विवाह गरे मारिदिनू भन्ने परेको देखिन्छ । यसले पनि शासकहरूले तामाङहरूलाई मासिने जातिमा राखेको स्पष्ट पार्छ ।


भीमशमशेरको इस्तिहार
तामाङहरूले वि.सं. १९८९ देखि मात्रै आफूहरूको जातथरमा ‘तामाङ’ लेख्न पाउने स्वीकृति प्राप्त गरे भन्ने मान्यता स्थापित छ । यसका लागि तत्कालीन श्री ३ महाराज भीमशमशेरले एक इस्तिहार जारी गरिदिए । आफूहरूले ‘तामाङ’ लेख्न पाउनुपर्ने माग गर्ने अघिसरा सरदार जङ्गवीर हुन् । जङ्गवीरले भारतको आसामबाट नेपाल आई यस्तो माग गरेका थिए । उनको पुख्र्यौली थलो नेपालको संखुवासभा रहेको र उनी बाल्यकालमै आफ्ना बाबुको साथ लागेर भारततिर गएका र दार्जिलिङमा पढेका शिक्षित व्यक्ति थिए । उनले ब्रिटिस भारतीय सेनामा पनि काम गरेका थिए । उनी मोक्तान थरका तामाङ थिए । उनको मागपछि तत्कालीन श्री ३ महाराज भीमशमशेरले एक इस्तिहार जारी गरी तामाङ जातथर लेख्न पाउने घोषणा गरिदिए । इस्तिहारको व्यहोरा यस्तो छ :


...आगे नेपाल सरहदभर मुलुकका जङ्गी निजामती अड्डा गौँडा गोश्वारा भैभारदार रैतिदुनियाँ गैड्रके यथोचित उप्रान्त बाह्र तामाङ जातलाई लामाभोटे भन्ने चलन चलेकोमा अरू–अरू अनेक किसिमका जातथरकाहरू पनि लामा भोटे भनी बोलाइने र लेखिने हुनाले कुन भोटे के जात थरको हो केही छुट्टिने भएन हामी बाह्र तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाइने गराइबक्स्ये हुँदो हो भनी सो तामाङ जातका सरदार बहादुर जङ्वीर तामाङदेखि ओ.वी.ई.डी.एम.एल.सी. अगुवा भै जाहेर गरेको कुरा मुनासिबै लेखिएको हुँदा सो कुरा मन्जुर गरिबक्सी यो इस्तिहार जारी गरिबक्सेको छ । अबउप्रान्त हाम्रा नेपाल सरहद गोरखा राजभरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउने गर्नू जङ्गी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा र दुनियाँदारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नू इति संवत् १९८९ साल भाद्र ६ रोज १ शुभम् (रवीन्द्र तामाङ, ‘प्राचीन तामाङ जातिको ऐतिहासिक रूपरेखा’–२०५८ः२६) ।


जेठी पत्नीको मृत्युपछि पाँचौँ राणा प्रधानमन्त्री श्री ३ भीमशमशेरले २४ वर्षकी कान्छी दिलकुमारीलाई बडामहारानी पद प्रदान गरी सीता बडामहारानी नामकरण गरे । त्यसपछि टङ्गाल दरबारमा एउटा विशेष समारोह आयोजना गरी मुख्तियारदेखि तल्लो दर्जाका अफिसरसम्मलाई हाजिर गराई बडामहारानीलाई दाम राख्न लगाए । भीमशमशेरको सीता बडामहारानीप्रति निकै ठूलो प्रेम थियो भन्ने देखिन्छ । भीमशमशेरले सीता बडामहारानीपट्टिका दुई वर्षकी छोरी पीताम्बरी राज्यलक्ष्मी र अर्की चार वर्षकी नातिनी दिव्य राज्यलक्ष्मीसमेत दुई नाबालिका कन्याको विवाह तत्कालीन युवराज महेन्द्रसँग गर्न प्रस्ताव गरेका थिए । भीमशमशेरको चर्को दबाबमा परेका राजा त्रिभुवनले नाइँ भन्न नसकी स्वीकृतिका लागि लालमोहर पनि गरिसकेका थिए ।

भीमशमशेरको इस्तिहारपछि मात्र तामाङ थर प्रचलनमा आयो भन्ने मान्यता गलत सिद्ध हुन पुगेको छ

सन् १९३३ को मार्चमा विवाह सम्पन्न हुने निश्चित भएको थियो, तर सन् १९३२ को सेप्टेम्बरमै भीमशमशेरको निधन भएकाले पूर्वनिश्चित विवाह कागजमै सीमित हुन पुग्यो । सन् १९३२ सेप्टेम्बर १ (वि.सं. १९८९ भदौ १७ गते) भीमशमशेरको मृत्यु भयो । उनको मृत्युपछि महाराजको खोपीमा पसी दरबारका नातिनीबुहारीले महाराजको ढुकुटी खोली लुटपाट मच्चाए । भर्खरै विधवा बनेकी सीता बडामहारानीको कम्मरमा रहेको साँचोको झुप्पा खोसी यसरी लुटपाट मच्चाइयो । त्यतिखेर भीमशमशेरको शवको दुईतिर बाँडिएर दुई गुँडका छोराहरू नयाँ महाराजबाट शव उठाउने आदेशको प्रतीक्षा गरिरहेका थिए (प्रमोदशमशेर राणा, ‘राणाशासनको वृत्तान्त’ २०६५ः२३७–२४३) ।


सीता बडामहारानी सुरुमा सुसारेका रूपमा दरबार पसेकी थिइन् । उनी भोजपुर सिम्पानेकी ब्लोन थरकी तामाङ हुन् (डा. रमेश ढुङ्गेल, ‘हिमाल’ वर्ष १२ अङ्क १५–१६–३० मंसिर २०६९ः३५–३७) । सीता बडामहारानीका लागि काठमाडौंको नक्सालमा ‘सीता भवन’ बनाइएको थियो । यो भवनमा हाल बालमन्दिर रहेको छ । राणाशासनको इतिहासमा महाराजको निधनको समयमा दिवंगत महाराजको खोपीभित्रै पसेर भर्खरै विधवा भएकी रानीकै कम्मरबाट नातिनी बुहारीहरूबाट साँचोको झुप्पा खोसेर ढुकुटी फोडी बहुमूल्य वस्तु लुटपाट गरेको योबाहेक अरू इतिहास पाइँदैन । यसबाट एक सुसारे पदबाट दरबार प्रवेश गरी महाराजको नजरमा परी बडामहारानी पदसम्म पुग्न सफल एकजना तामाङ चेलीप्रतिको यो ठूलो अपमान थियो भन्न कुनै कठिनाइ छैन । 


हिजोसम्म मासिने जातको रूपमा रहेको समुदायबाट आएकी चेलीले दरबारमा बडामहारानी पद पाउँदा कथित उच्चजातीय अभिमान बोकेका राणा पुरुष तथा महिलालाई सुपाच्य हुने कुरा पक्कै पनि सजिलो थिएन । तामाङकी छोरीलाई राणाको दरबारमा बडामहारानी पदबाट मानसम्मान गर्नुपर्दा उनीहरू मुर्मुरिइरहेका थिए ।


तर महाराजको मन पगालेकी सीता बडामहारानीले आफ्ना माइती खलकलाई हिजो जसरी ‘मासिन्या मुर्मी भोट्या जाति’ भनी सम्बोधन नगरियोस् र उनीहरूलाई त्यसबाट मुक्ति दिइयोस् भनी दरबारभित्र पक्कै पनि भूमिका खेलेकी थिइन् भन्ने अनुमान गर्न सकिन्छ । यसो हुन सफलता प्राप्त भएकैले भीमशमशेरले ‘अबदेखि भोट्या होइन, तामाङ लेख्नू’ भनी स्वीकृतिका लागि इस्तिहार जारी गरे । तर, यस्तो इस्तिहार जारी गरिएको ११ दिनपछि नै भीमशमशेर परलोक भए ।
भीमशमशेरको इस्तिहारअघिनै तामाङ लेखिएको प्रमाणयद्यपि भीमशमशेरले यस्तो इस्तिहार जारी गर्नुअघिका केही ऐतिहासिक पत्रमा ‘तामाङ’ शब्द प्रयोग गरिएको पाइएको छ । भीमशमशेरले मुर्मी भोट्याको ठाउँमा अब तामाङ लेख्न पाउने अधिकार तामाङहरूलाई दिएको १७ वर्षअघि नै चन्द्रशमशेरले जारी गरेको एक सनदमा जात थरकै रूपमा तामाङ शब्द परेको छ । पहिलो विश्वयुद्ध सुरु भएको एक वर्षपछि वि.सं. १९७२ मा चन्द्रशमशेरले नेपालभरिका तालुकदारहरूका नाममा ब्रिटिस सेनामा रिक्रुट भर्ती गरी पठाउन एक सनद जारी गरे । 


चन्द्रशमशेरले रिक्रुटका लागि नेपाली लक्का जवानको शारीरिक बनावट, तन्दुरुस्ती र उमेर मात्र होइन, रिक्रुट छान्नका लागि जातथरै तोकिदिएका छन् । यसअनुसार रिक्रुट लिन सकिने जातथरमध्ये ठकुरी, घले, सुनुवार, मतवाली खस, क्षेत्री, मगर, रानाभाट, गुरुङ, लिम्बू, किराती राई, नगरकोटी, शेर्पा र तामाङ रहेका छन् । यो सनदको छायाप्रति अन्वेषक कमल मादेनबाट यो लेखकलाई प्राप्त भएको हो । हतियार बोक्ने पेसामा विदेश र स्वदेश दुवैमा वञ्चित पारिँदै आएका शासकहरूले विश्वयुद्धजस्तो योद्धाहरूको अपरिहार्य आवश्यकतामा भने तामाङ जवानका लागि पनि रिक्रुट भर्ती खुलाएको पुष्टि हुन्छ । 


यस्तै वि.सं. १८८५ को एक लालमोहरमा पनि तामाङ शब्द प्रयोग भएको पाइएको छ । पशुपतिनाथ मन्दिरभित्र प्रवेश गर्न पाउने र नपाउने जातका बारेमा जारी गरिएको लालमोहरमा ‘...देवालको ढोकासम्मः हिण्डुः जातका पानी चलने जातले र पाहाडका तामां भोटेलेः चढी दर्शन गर्न हुन्छ...’ भन्ने उल्लेख छ (डा. गोविन्द टण्डन, ‘पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन’ (दुई भाग) अभिलेख खण्ड २०५६ः४६३) ।


यस्तै रणबहादुर शाहको समयमा वि.सं. १८५० साउन सुदी ५ आइतबार जारी गरिएको एक लालमोहरमा पनि थरका रूपमा तामाङ परेको छ । दोलखाको भीमेश्वर मन्दिरका सम्बन्धमा जारी गरिएको लालमोहरमा ‘...गुठियार द्वाकलन्हुंको गुनेश्वर ढोक्छेको वंसनारायण क्वाट्छेको मोजन्त विहारछेको इन्द्रनारायण गाउँको मिन्हाया र षेतको मोहिनायेक जोगीराम तामाङको सन्तानमा २ कम्र्मध्याचोको सन्तानमा २ गाउको अमाली षेतको अघिल्लो अधिञाँ बाली सध्यार्नु...’ भन्ने परेको छ (धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ, ‘दोलखाको ऐतिहासिक रूपरेखा’–२०५९ः१२५–१२६) । यसबाट पनि त्यसवेला थरका रूपमा तामाङ शब्द फाट्टफुट्ट प्रयोग भएको थियो भन्ने प्रमाणित हुन्छ ।


तामाङहरूको प्राचीन इतिहास पुष्टि गर्ने आधारका रूपमा उपल्लो मुस्ताङमा पाइएको एक वंशावलीलाई पनि लिन सकिन्छ । हिमाली क्षेत्रको अध्ययनका लागि प्रकाशित एक जर्नलमा छापिएको एउटा वंशावलीमा ‘ता–माङ’ शब्द परेको छ । मुस्ताङ भेगका राजा से वाङ नोर्वु (सन् १६८८–सन् १७५५)को समयमा लेखिएको राजा ङारी गुङथङको वंशावलीमा राजा बुम दे गन (सन् १२५३–सन् १२८०)ले बनाएको ६ वटा गढीमध्ये से मोन ता–माङको आक्रमण रोक्न वा उनलाई दबाउन ती राजाले मुक्तिनाथमा स्रिन गढी र अर्का आक्रमणकारी मोन डोल्पोलाई दबाउन डोल्पोमा ओम मणि पद्मे हुँ गढी बनाए (आलेक्जेन्डर डब्ल्यू. म्याकडोनाल्ड, ‘कैलाश’ वर्ष १५ अङ्क ३–४–सन् १९८९ः१७०) ।


त्यसवेला तामाङहरूलाई जनाउन अधिकांश लिखतमा मुर्मी भोट्या शब्द प्रयोग गरिएको र व्यक्तिगत रूपमा तामाङ थर प्रयोग गर्न र मुर्मी भोट्याको सट्टा तामाङ नै प्रयोग गराउन तत्कालीन प्रधानमन्त्री भीमशमशेरसमक्ष सरदार जङ्गवीरले माग गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ । तर, भीमशमशेरको इस्तिहारपछि मात्र तामाङ थर प्रचलनमा आयो भन्ने मान्यताचाहिँ गलत सिद्ध हुन पुगेको छ ।