• वि.सं २०८२ असार ९ आइतबार
  • Sunday, 22 June, 2025
दृष्टान्त विडारी
२०७९ भदौ ११ शनिबार ०८:४८:००
पर्यावरण

फूलै फूलको डाँडा फुलचोकी

२०७९ भदौ ११ शनिबार ०८:४८:००
दृष्टान्त विडारी

समुद्री सतहबाट १४०० मिटरको उचाइमा छ काठमाडौं उपत्यका । काठमाडाैंलाई उपत्यका बनाउन दक्षिण–पूर्वी दिशाबाट फुलचोकी डाँडाले मद्दत गरेको छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा हो । सगरमाथा, गौरीशंकर, लाङटाङ, गणेश, अन्नपूर्णलगायत अन्य कैयौँ पर्वत शृंखलालाई नियाल्दै यस डाँडाको टुप्पोमा अवस्थित छ फुलचोकी माताको मन्दिर ।


भौगोलिक हिसाबले हेर्दा यो महाभारत पर्वत शृंखलाअन्तर्गत पर्छ । फूल फुलेको डाँडा भन्ने अर्थ लाग्ने फुलचोकी डाँडाले करिब ५३० प्रजातिका बोटबिरुवालाई संरक्षण गरेको छ । लालीगुराँस, ओखर, सल्ला, चिलाउने, डाले कटुसजस्ता रूखहरूले ढाकेको यो पहाड पनि बनमाराको प्रकोपबाट बच्न सकेको छैन । कैयौँ थुम्को, मैदान र चट्टान मिलेर बसेको यो पहाडमा चितुवा, रतुवा मृग, मलसाँप्रो, लोखर्के, निरबिरालो, खरायोजस्ता जनावर पाइन्छन् ।


वर्षभरि पानी प्रदान गर्न सक्ने मुहान भने फुलचोकीसँग छैन । वार्षिक करिब १९९२ मिलिमिटर पानीले नै यहाँको जैविक विविधतालाई धानेको छ । छिनछिनमै हुस्सु लाग्ने र छिनछिनमै सफा हुने मौसम नै फुलचोकीको चिनारी हो । जाडोयाममा भने धेरै मानिसको हिउँ खेल्ने इच्छा फुलचोकीले पूरा गर्ने गर्छ । ‘सबट्रोपिकल’ र ‘टेम्प्रेट’ पाइने यस जंगललाई नेपाल सरकारले गोदावरी फुलचोकी वन संरक्षण क्षेत्र घोषणा गरेको छ । ललितपुर र काभे्रपलाञ्चोक जिल्लामा पर्ने ५०.९१ किलो मिटर स्क्वायरभन्दा बढी क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरिएको छ । यस विषयमा सामुदायिक वनका सरोकारवालाले भने आपत्ति जनाएको छ ।


मेटास्यान्डस्टोन, फाइलाइट, स्लेट, चुनढुंगा र डोलोमाइटजस्ता चट्टानले बनेको यो पहाडमा आइरन धातुको खनिज पदार्थ अधिक मात्रामा पाइन्छ । भूकम्पको परकम्पन मापनका लागि राखिने ‘सेस्मी स्टेसन’ पनि सन् १९९१ मा यहाँ जडान गरिएको थियो । नेपालमा भूकम्पको परकम्पन नापिने यो पहिलो स्टेसन हो । 


‘वर्डलाइफ इन्टरनेसनल’को मापदण्ड पूरा गरी फुलचोकीको जंगल ‘इम्पोटेन्ड वर्ड लाइफ एन्ड बायोडाइभर्सिटी एरिया’मा पर्न सफल भएको छ । रैथाने र प्रवासी गरी यहाँ ३५९ भन्दा बढी प्रजातिका चराचुरुंगीको अभिलेख गरिएको छ भने कैयौँ प्रवासी चराले यो क्षेत्रलाई बसाइँसराइको बाटोको रूपमा समेत प्रयोग गर्ने गर्छन् । तोरीगाँडा, बुंगे चरा, फुलबट्टा, फिस्टे, अर्जुनक, कालिजजस्ता चराहरू यहाँ सजिलैसँग देखिन्छन् भने रक्तसिर, वनचाहर, मुनालजस्ता विरलै देखिने प्रजातिका चराचुरुंगी पनि यहाँ पाइन्छ । खतराको सूचीमा रहेका तीस प्रजातिका चराहरूसँगसँगै नेपालमा मात्र पाइने चरा काँडेभ्याकुरको पनि बसोवास क्षेत्र हो फुलचोकी ।


हुन त विगतदेखि नै पर्यावरणको संरक्षण गर्न खोज्ने मान्छेलाई विकासविरोधी भन्ने परिपाटी बनेको छ । हाल सातदोबाटोदेखि गोदावरी हुँदै फुलचोकीसम्मको सडक खण्डको निर्माण कार्य हुँदै छ । २७०० मिटरको उचाइमा रहेको घना जंगल जहाँ एउटा आर्मी क्याम्पबाहेक अरू मानव बस्ती छैन, जुन एउटा प्रख्यात हाइकिङ रुट पनि हो । पहाड फुटाएर बाटो चौडा गर्दैगर्दा भूस्खलन र पहिरोको खतरा त छँदै छ साथसाथै बाटो कालोपत्रे या ढलान गरेपछि त्यो जमिनबाट पानी सोस्ने क्षमता घट्छ र त्यसले गर्दा तल्लो भूभागमा पानीको मुहान सुक्ने खतरा बढ्छ । जमिनको पानी सोस्ने क्षमतामा आउने ह्रासले पानीको मुहानसँगसँगै त्यहाँको जैविक विविधतालाई उत्तिकै नकारात्मक असर पार्छ ।