• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कमलराज भट्ट
२०७९ भदौ १८ शनिबार ०६:४५:००
सम्झना

‘कैदी’ सांसदको रोचक कथा

२०७९ भदौ १८ शनिबार ०६:४५:००
कमलराज भट्ट

०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट रेशमलाल चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित भए । उनको फराकिलो जितमा केही ठूला दलकै उम्मेदवारको जमानत जफत भयो । रेशम ७ भदौ २०७२ मा सातजना सुरक्षाकर्मी र एक बालक ज्यान जाने गरी भएको हिंसात्मक घटनासँग जोडिएर चर्चामा आएका पात्र हुन् । सञ्चारकर्मी, कलाकार, गायक, खेलाडी र थारू–अगुवा रेशमको परिचय उक्त घटनाबाट मुख्य अभियुक्तका रूपमा फेरिएपछि भूमिगत भए । दुई वर्षपछि भएको संघीय चुनावमा कैलाली १ बाट सर्वाधिक मतका साथ जितेपछि उनले १४ फागुन ०७४ मा जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरे । उनलाई ३ वैशाख ०७५ मा राजधानीको डिल्लीबजार सदरखोरमा ल्याइयो । 


मंसिरमा सम्पन्न निर्वाचनको एक वर्ष रेशमले थुनामै बिताए । निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र संसद् सचिवालयमा बुझाएपछि २२ मंसिर ०७५ मा शपथको दिन जुर्‍यो । तर, सिंहदरबारमा सांसदको लोगो लगाएका रेशम रिहा हुन पाएनन् । शपथको तीन महिनापछि जिल्ला अदालत कैलालीले २२ फागुनमा जन्मकैदको फैसला गर्‍यो । एक वर्षपछि रेशम पुनरावेदनमा गए, तर उच्च अदालत दिपायलले पनि जिल्लाकै फैसला सदर गर्‍यो । मुद्दा पुनरावेदनका लागि सर्वाेच्चमा आएर हालसम्म विचाराधीन छ ।


जसरी अदालतमा मुद्दाहरू सर्दै गयो, त्यसैगरी रेशम लोगो बोकेर सदरखोरभित्र दिन बिताउँदै गए । यसबीच रेशमलाई छोड्ने प्रचार वेला–वेला नआएका होइनन् । तर, रिहा हुने आशमा कारागारको चार दिवारमा सीमित रेशमकोे कार्यकाल संसद्मा पाइला टेक्न नपाइसकिएको छ ।  


टीकापुर घटनामा मुख्य अभियुक्त करार गरिएपछि रेशम भारत पसे । उनले लेखेको पुस्तक ‘बँधुवा कमैया’मा कैलालीको सीमावर्ती भारतीय गाउँ बेलापरसुवाको थारू समुदायको घरमा बसेर चुनाव जितेको उल्लेख गरेका छन् । वारेसमार्फत उम्मेदवारी दिएका थिए । आफू उठेको चुनावलाई थारूहरूले अस्तित्वको लडाइँ बनाएको र आफूले भिडियो सन्देशमार्फत प्रचारमा सहयोग गरेको पुस्तकमा उल्लेख गरेका छन् । ‘जागो जागो थारू गोचाली हम्र हुइटी सक्कु नेपाली’ त्यतिवेला प्रयोग गरिएको लोकप्रिय गीत थियो । स्थानीयका अनुसार गीत र भिडियोसहित सामग्री हेरेर थारूहरू रोएर आँसु झार्थे । अन्ततः थारूहरू जागेर रेशमलाई पाँच वर्षका लागि संसद् पठाए । एमालेसहित ठूला दलको जमानत जफत भयो । 

 

शपथ लिँदाको अनुभूति 
तत्कालीन सभामुख कृष्णबहादुर महराले निर्वाचित भएको एक वर्षपछि २२ मंसिर ०७५ मा रेशम चौधरीलाई कृषि सहकारी समितिको हलमा शपथग्रहण गराएका थिए । शपथ लिँदा उनको मुद्दाको टुंगो लागिसकेको थिएन । शपथको खबर पाएपछि रेशमले आफू छुट्ने र संसद् टेक्न पाउने ठानेका थिए । तर, त्यसो भएन । शपथग्रहण र लोगो लगाइसकेर सञ्चारकर्मीलाई प्रतिक्रिया दिइसकेपछि जब प्रहरी लिन आयो, उनी छाँगाबाट खसेजस्तै भए । जनप्रतिनिधिको लोगो बोकेर कारागार फर्किए । त्यो रात आफू पीडाले सुत्न नसकेको अनुभूति उनले सुनाउने गरेका छन् । 

शीर्ष नेताहरू कैलाली पुगेर रेशम चौधरी निर्दोष छन् भनिरहे, तर सत्तामा पुगेपछिछोड्न सकिँदैन भन्दै द्वैध चरित्र देखाइरहे

 

जेलजीवन र दैनिकी
बिहान व्यायाम गर्ने, दिनभरि कार्यकर्ता भेटिरहने र बेलुकी टेबलटेनिस खेल्ने उनको दिनचर्या हो । जेलका अन्य कैदीसँग घुलमिल नहुने, पढ्ने र लेख्नेमा उनी केन्द्रित हुन्छन् । उनले दिनमा औसतमा २० जना भेट्छन् । जसमा दलका शीर्ष नेता, सांसद, मन्त्री, कार्यकर्ता, कानुन व्यवसायी, सञ्चारकर्मी र सर्वसाधारणसम्म छन् । शीर्ष नेतामा केपी ओली र शेरबहादुर देउवाबाहेक आएको उनी सम्झिन्छन् । चुनाव घोषणापछि यो संख्या बढेको कारागारका सुरक्षाकर्मी बताउँछन् । उनलाई भेटेका शुभेच्छुकहरूका अनुसार रेशमले सांसद भएर जेलको चारवर्षे बसाइ झुर भएको बताउने गरेका छन् । आफू जेलमै भएर सांसद विकास कोषलगायत आउने विकासे योजना अन्यत्र गएको र टीकापुरको विकासमा समस्या भएको कुराले उनलाई झन् पिरोल्ने गरेको छ । 


उनले कारागारमै बसेर नौवटा पुस्तक लेखेका छन् । हालसम्म उनले १७ वटा पुस्तक लेखिसकेका छन् । पुस्तक बेचेरै रेशमले घरखर्च र कारागारमा आउने आगन्तुकलाई चिया खुवाउने स्रोतको जोहो गरिरहेका छन् । उनले कारागारमा बसेर ‘बाबु तिम्रो छोरा झ्यालखानामा छ’लगायत ७० भन्दा बढी गीत र कविता लेखेका छन् । उनका गीतमा सामाजिक अनुभवमा आधारित पीडा र न्याय खोजेको अनुभूति पाइन्छ । 


राजनीतिक नेतृत्वबाटै धोका 
टीकापुरका जनताबाट थारू समुदायको मुक्ति, न्याय र समृद्धिको म्यान्डेड बोकेर आएका रेशम आफैँ मुद्दा बन्न पुगे । उनी निर्वाचित भएपछि जिल्ला अदालतबाट दोषी करार गरियो । उनको रिहाइ र मुद्दा फिर्ता राजपाको म्यान्डेड बन्यो । पुनरावलोकनका लागि मुद्दा सर्वाेच्च अदालत पुग्यो । तर, राज्य सञ्चालन गरिरहेका शीर्ष दल र नेतृत्वले उनलाई राजनीतिक दाउपेचका रूपमा प्रयोग गर्‍यो । शीर्ष नेताहरू कैलाली पुगेर रेशम निर्दोष छन् भनिरहे, तर सत्तामा पुगेपछि छोड्न सकिँदैन भन्दै द्वैध चरित्र देखाइरहे । पछि मधेसकेन्द्रित दलले पनि उनको रिहाइ मुद्दालाई सत्तामा जाने बार्गेनिङका रूपमा उपयोग गरे । कारागारमा आफूलाई भेट्न आउने शुभेच्छुकलाई रेशमले मधेसकेन्द्रित दलले आफ्नो लागि केही नगरेको गुनासो सुनाउने गरेका छन् । 


चारवर्षे कारागारको बसाइमा रेशमको निष्कर्ष आफ्नो रिहाइका लागि ठोस पहल नभएको भन्ने छ । उनले लेखेका किताबमा प्रमुख दलहरूले आफ्नो रिहाइ नचाहेको उल्लेख गरेका छन् । रिहाइको सर्तसहित दलहरूले आफ्नो पार्टीमा प्रवेश गराउन प्रयत्न गरेको तर नमानेपछि ठूला दलबाटै अवरोध भएको उनको भोगाइ छ । 

 

अनि आफ्नै बाटो रोजे 
रेशम निर्वाचित भएको राजपा १० वैशाख ०७७ मा समाजवादी पार्टीसँग एकता भएर जनता समाजवादी पार्टी (जसपा) बन्यो । तर, राजनीतिक घटनाक्रमले एकताको १६ महिनापछि जसपा ९ भदौ ०७८ मा विभाजित हुन पुग्यो । विभाजन हुँदा सनाखतका लागि सांसदको हस्ताक्षर संकलनका क्रममा रेशमलाई पनि निर्वाचन आयोग लगियो । तर, उनी कतैतिर खुलेनन् । ‘दल विभाजनका लागि म किन प्रयोग हुने भनेर कतैतिर लागिनँ । एकता हुँदा पो जुट्ने हो, फुटाउन किन जुट्ने ?,’ रेशम भन्छन् । विभाजनमा साथ नदिएका रेशमले आफ्नै दल बनाउने निष्कर्ष निकाले । १९ पुस ०७८ मा श्रीमती रञ्जिता श्रेष्ठको नाममा नागरिक उन्मुक्ति पार्टी स्थापना गरे । 

रेशमको जेल बसाइको एउटा रोचक किस्सा छ । त्यो हो, जसले उनलाई शपथ खुवाएका थिए, उनै व्यक्ति त्यही जेलमा आइपुगे । समाचारको हेडलाइन बन्यो, ‘शपथ खाने र खुवाउने एकै जेलमा ।’ तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको मुद्दामा १८ कात्तिक ०७६ मा पुर्पक्षका लागि थुनामा बस्न डिल्लीबजार कारागार चलान भएका थिए, जहाँ रेशम पहिल्यैदेखि थिए ।


थारू, मधेसी, मुस्लिम, जनजाति पिछडिएका विपन्न वर्गको मुक्ति र न्यायका लागि राजनीतिमा आएको रेशम बताउँछन् । न्यायको लडाइँमा जनताले आफूलाई विश्वास गरेको र अहिले विश्वास बढेर दलको रूप लिएको उनी बताउँछन् । श्रीमती रञ्जिताको नेतृत्वमा खोलिएको दलले ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ठूला दललाई उनीहरूकै गढमा धुलो चटाउँदै अविश्वसनीय नतिजा ल्यायो । रेशम जितेको क्षेत्र कैलाली १ का टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भयो । 


रेशमको चुनाव जित्ने हतियार हो, सामाजिक सञ्जाल । त्यही सञ्जालले विगतमा टीकापुर घटना हुँदा भ्रम फैलिएर आफू परिबन्दमा परेको र अहिले चुनावी प्रचारमा सहयोगी बनेको रेशमले ‘बँधुवा कमैया’ पुस्तकमा लेखेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि गीत र म्युजिक भिडियोको प्रयोग गरिएको थियो । गीतका शब्दहरू रेशमले जेलमा बसेर आफैँ कोर्छन् । ती शब्दहरू बाहिर पठाएर रेकर्ड गराउने र छायांकनसमेत गरी गाउँ–गाउँमा देखाइने गरिन्छ । जनतामा दलले बोकेको न्यायको एजेन्डा स्थापित गर्ने काम गीतले गरेको रेशमको अनुभूति छ । 

राष्ट्रिय दल बन्ने अठोट
स्थानीय तह निर्वाचनमा उत्कृष्ट नतिजा ल्याएको रेशमको दल नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय दल बन्ने अठोट लिएको छ । कारागारमा आफूलाई भेट्न आउने शुभेच्छुक तथा कार्यकर्तासँग उनले नवलपरासीभन्दा पश्चिमतिरका सबै जिल्लामा अवस्था हेरेर चुनाव लड्ने रणनीति सुनाउँछन् । समानुपातिकतर्फ १० लाख भोट कट्ने हिसाब रेशमको छ । रेशमको हिसाबअनुसार कैलालीको एक नम्बरसहित तीन क्षेत्रमा चुनाव लड्ने र जित्न सकिने आँकलन छ । आफू जितेको क्षेत्रमा रेशमले श्रीमतीलाई उठाउने तयारी गरेका छन् । त्यसैगरी कञ्चनपुरको १ र २ नम्बर क्षेत्रमा चुनाव लड्ने तयारी छ । त्यस्तै बर्दिया क्लिन स्विप गर्ने, बाँके, दाङ र नवलपरासीसम्म नौ सिटमा लड्ने योजना छ । 


०७४ मा कैलाली १ बाट भारी मतले निर्वाचित रेशम फेरि चुनाव लड्ने तयारीमा छन् । तर, तगारो बनेको छ कानुन । कानुनले उनलाई उम्मेदवारी दिने अनुमति दिँदैन । उनले भने आफ्नो मुद्दा विचाराधीन रहेकाले उम्मेदवारी दिन पाउने जिकिर गर्दै आएका छन् । बर्दियाबाट चुनाव लड्ने बताउँछन् उनी । आफ्नो दलका पदाधिकारीलाई रेशमले उम्मेदवारीमा कुनै कानुनी अड्चन नआउने जिकिर गर्ने गरेका छन् । तर, दुई अदालतबाट दोषी ठहरिएकाले अहिलेकै स्थितिमा उम्मेदवार बन्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले दिँदैन । ऐनमा सजाय पाएको व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था छ । 


कृष्णबहादुर महरासँग जेल सहकार्य 
रेशमको जेल बसाइको एउटा रोचक किस्सा छ । त्यो हो, जसले उनलाई शपथ खुवाएका थिए, उनै व्यक्ति त्यही जेलमा आइपुगे । समाचारको हेडलाइन बन्यो शपथ खाने र खुवाउने एकै जेलमा । तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको मुद्दामा १८ कात्तिक ०७६ मा पुर्पक्षका लागि थुनामा बस्न डिल्लीबजार कारागार चलान भएका थिए । उनी करिब चार महिना त्यहाँ बसे । संयोग कस्तो भने रेशमलाई सांसदको शपथ गराएको एक वर्ष नपुग्दै महरा अभियुक्तका रूपमा कारागार पुगेका थिए । महरासँगको संवाद चौधरीले ‘बँधुवा कमैया’ पुस्तकमा लेखेका छन् :


रेशमले जेलभित्र लगाएको सांसदको लोगोमा महराले टिप्पणी गर्दै भने, ‘यो मैले लगाइदिएको लोगो हो नि ! के गर्ने शपथ खाने र खुवाउने एकै ठाउँ छौँ ।’रेशमले अर्काे प्रश्न गरे, ‘शपथ खुवाएपछि मलाई किन जेलमा ल्याएको होला ?’ जवाफमा महराले भने, ‘तपाईंलाई शपथ खुवाउने बिहान बालुवाटारबाट प्रचण्ड र प्रधानमन्त्री केपी ओलीले एउटै मोबाइलबाट मलाई फोन गरेका थिए । प्रधानमन्त्रीले रेशमजीलाई जेलमा गएर शपथ खुवाइदिनुस् भन्नुभयो । तर मैले मानिनँ । मैले उहाँलाई सिंहदरबार ल्याएपछि मात्रै शपथ खुवाउँछु भनेँ ।

 

एकछिनपछि फेरि प्रचण्डले फोन गरेर उहाँलाई सिंहदरबार ल्याउने बन्दोबस्त गरिँदै छ भने । त्यसो भए ठिक छ भन्दै मैले शपथ खुवाउँछु भन्ने सहमति दिएँ । मैले उत्साहित हुँदै प्रचण्ड र ओली दुवैलाई सोधेको थिएँ– रेशमजी कहिले छुट्नुहुन्छ त ? दुवैले एक–दुई दिनमै छुट्ने कुरा मसँग गरेका थिए, तर पछि उल्टो भयो र तपाईंलाई यहाँ ल्याइयो । मधेसवादी दलको पनि पावर पुगेन कि ? सभामुखले सांसदलाई शपथ खुवाइसकेपछि हामी कारागार लान दिन्नौँ भनेर राजपाले आवाज उठाउनुपर्दैन ? पछि तपाईंलाई  जेल ल्याएको खबर सुनेपछि मलाई पनि दुःख लाग्यो । मैले त सरकारलाई लाल आयोगको प्रतिवेदन सार्वजनिक गर भनेर रुलिङ गरेकै हुँ नि ! मैले भनेको सरकारले सुन्दैन भन्ने कुरा तपाईंहरूले यसैबाट बुझ्नुपर्छ । मलाई दोष दिनु भएन ।’

शपथको खबर पाएपछि रेशमले आफू छुट्ने र संसद् टेक्न पाउने ठानेका थिए । तर, त्यसो भएन । शपथग्रहण र लोगो लगाइसकेर सञ्चारकर्मीलाई प्रतिक्रिया दिइसकेपछि जब प्रहरी लिन आयो, उनी छाँगाबाट खसेजस्तै भए । जनप्रतिनिधिको लोगो बोकेर कारागार फर्किए ।
 


महराको भनाइ उद्धृत गर्दै पुस्तकमा रेशमले लेखका छन् : ‘जातीय पहिचानसहितको संघीयताको मुद्दा त माओवादीले उठाएको हो नि ! हामीले उठाएको हो । मेरो निर्वाचन क्षेत्र दाङ पनि थारू एरिया हो । दाङका थारू साथीहरूले मलाई पनि पटक–पटक तपाईंका बारेमा सोधिरहनुहुन्छ, के गर्ने ? अहिले हामी पनि पार्टी एकीकरण गरेर नेकपा बनेका छौँ । दुईतिहाइको सरकार हामीसँगै छ । राष्ट्रपति प्रधानमन्त्री हाम्रै पार्टीका छन् । यस्तो वेलामा टीकापुर घटनालाई राजनीतीकरण गरेर तपाईंहरूको रिहाइ गर्न सकिएन भने पार्टी देश सबैलाई घाटा हुन्छ । नआत्तिनुस् माननीयजी, ढिलो–छिटो समस्याको समाधान हुन्छ ।’ 


रेशमले फेरि सोधे, ‘जनताबाट निर्वाचित एक सांसदलाई जेलभित्र ल्याउने–नल्याउने त सभामुखको काम, कर्तव्य, अधिकारभित्र पर्छ नि !’ महराले भने, ‘होइन, मेरो काम शपथ खुवाउनु मात्रै हो, तपाईंलाई यहाँ ल्याउने, नल्याउने सरकारको निर्णय हो । सरकारले यस्तो नगर्नुपथ्र्याे । रेशमजी, राज्य भनेको महरा, ओली वा प्रचण्ड मात्रै होइन, राज्य भनेको त प्रहरी प्रशासन, मिडिया, विपक्षी दल, पत्रकार, सेना, अन्तर्राष्ट्रिय शक्तिसमेतको संयोजन हो । यहाँ राज्य चलाउने एउटाले सोचेर मात्रै केही हुँदैन । कहाँनेर कुन शक्तिले खेलिरहेको हुन्छ, त्यो बुझ्न बडो कठिन छ । अहिले तपाईंको बारेमा बिस्तारै सबैले बुझ्दै गइरहेका छन्, सहज होला नआत्तिनुस् ।’ पुस्तकमा लेखिएअनुसार महराले टीकापुर घटना राजनीतिक विद्रोह भएको, यसमा माओवादीको पनि कमजोरी रहेको भन्दै रेशमलाई निर्दाेष रहेको भनेका थिए ।

 

आफ्नो समुदायको माग लिएर आन्दोलन गर्ने अगुवा संसारमा कहीँ पनि दोषी नहुने महराको भनाइ थियो । समय परस्थितिले केही दिन परिबन्दमा परे पनि राजनीतिक अगुवालाई सजाय दिन नमिल्ने उनले जिकिर गरेका थिए । 
यसका अलावा जेलमा रेशमको पूर्वसांसद डिबी कार्की र पूर्वआइजिपी रमेशचन्द ठकुरीसँग पनि सहकार्य रह्यो ।