• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दिनेश पन्त
२०७९ भदौ २५ शनिबार ०६:०८:००
फिल्म

‘प्रकाश’ फगत एक प्रोपगान्डा

२०७९ भदौ २५ शनिबार ०६:०८:००
दिनेश पन्त

‘थिएटर अफ इलुजन’लाई माथ दिने ध्वनि–चलचित्रले दर्शकलाई कल्पना अथवा चिन्तन गर्ने ठाउँ नै दिँदैन । दर्शक चलचित्रको संरचनालाई लिएर प्रतिक्रियाहीन हुन्छ, ऊ चलचित्रको सूक्ष्म विवरणबाट विचलित भए पनि कथावस्तुलाई भने पछ्याइरहन्छ । तसर्थ एक चलचित्रले आफ्ना पीडित (दर्शक)लाई चलचित्रलाई यथार्थ मान्न बाध्य बनाउँछ । यो अनुच्छेद जर्मन दार्शनिकद्वय थियोडर एडोर्नो र म्याक्स होर्खाइमरको चर्चित निबन्ध ‘द कल्चर इन्डस्ट्री :

 

 इनलाइटेनमेन्ट एज मास डिसेप्सन’बाट लिइएको हो, जुन आजभन्दा करिब ७८ वर्षपहिले लेखकद्वयले पँुजीवादी युगमा कसरी संस्कृति उद्योगको माल (कमोडिटी)ले मानिसलाई सम्मोहित पार्छ भनेर लेखेका थिए । यो विचारमा असहमति जनाउने ठाउँ छन्, किनभने संस्कृतिको औद्योगिक उत्पादन हुने युगमा पनि केही संस्कृतिले कमजोरको आवाज एवं प्रतिरोध बोकेकै हुन्छ र त्यहाँ दर्शकको विवेक कैद हुँदैन र स्वायत्तता कुण्ठित हुँदैन । तर, नेपाली चलचित्रले यी दुई दार्शनिकद्वयलाई मूलतः सही साबित गरिरहेका हुन्छन् । केही साताअघि प्रदर्शनमा आएको ‘प्रकाश’ नामक चलचित्रले अन्यथा पुष्टि गर्दैन ।


 गज्जबको, मनमस्तिष्क नै हल्लाउने र यथार्थपूर्ण भनेर केही सातायता चलचित्र ‘प्रकाश’को प्रशंसामा लेख, टिप्पणी, भनाइ छ्यापछ्याप्ती आइरहेका छन् । एक सज्जनले त ‘प्रकाश’ फिल्म रेटिङभन्दा धेरै माथि छ भन्ने टिप्पणीसमेत गरे अर्थात् ‘प्रकाश’ले सय पूर्णांकमा मानिलिऊँ एक सय ५० अंक ल्यायो । पूर्णांकभन्दा धेरै अंक ल्याएको भनिएपछि चलचित्र हेर्न मैले पनि छुटाइनँ । हेरिसकेपछि सिनेमामा प्रवाह गरिएको फगत प्रोपगान्डाले मलाई बेचैन बनायो । 


प्रोपगान्डालाई विश्वसनीय बनाउन कलाको के–कति प्रयोग भयो र कतिको अब्बल छ, त्यसको मूल्यांकनका लागि सिनेमा प्रावधिक वा सिनेमा अध्ययन गरेका पारखीकै जिम्मा भयो । म सिनेमाको राजनीतिमा केन्द्रित हुन चाहन्छु । हरेक सिनेमाले समाजमा राजनीतिक अर्थ दिन्छ । अर्को भाषामा भन्ने हो भने सिनेमा एक राजनीतिक अभिव्यक्ति हो । सामान्य मानिसले आफ्नो अतिरिक्त समयमा सिनेमा हेरेर आनन्द लिने गर्छन् । तर, यो आनन्द लिँदै गर्दा दर्शकको कुनै न कुनै सामाजिक–राजनीतिक भाष्यसँग साक्षात्कार हुन पुग्छ ।

 

सिनेमामा देखाइने दृश्य र संवाद राजनीतिक भाष्य जोड्ने सेतु बन्न पुग्छ । यी दृश्य र संवादले राजनीतिक नारा वा सिद्धान्त फलाकेकै हुन्छ भन्ने पनि हुँदैन । मिहिन ढंगले बोलिएको सामान्य लाग्ने संवादले समेत राजनीतिक सन्देश प्रवाह गर्ने काम गर्छ । राजनीतिक सन्देश दिइनु गलत होइन र सिनेमामा नचाहेर पनि कुनै न कुनै किसिमको राजनीतिक सन्देश प्रवाह हुने नै गर्छ । अराजनीतिक भनेर दाबी गरिने सामग्रीसमेत आफैँमा राजनीतिक हुने गर्छ । अन्य सिनेमा झैँ ‘प्रकाश’ पनि एक राजनीतिक भाष्य भएको सिनेमा हो । ‘प्रकाश’मा देखिने–सुनिने प्रतीक एवं संवादले पनि एक किसिमको राजनीति गरेको छ । 


सिनेमामा ‘वर्ग’कै आधारमा हुने समस्याले नै कर्णालीजस्तो विकट क्षेत्र पछाडि परेको भन्ने दलिल पेस गरेको देखिन्छ । वर्गको बुझाइ भने निकै संकीर्ण रूपमा प्रस्तुत गरिएको छ । अर्थात् वर्ग भनेकै आर्थिक हैसियत हो र वर्गलाई जातलगायत पहिचानजनित उत्पीडनबाट पूर्ण रूपमा पृथक् देखाइएको छ । त्यति मात्र नभई ‘वर्ग’ नै प्रधान हो भनेर देखाउन पहिचानजनित उत्पीडनलाई मामुली मामिला हो भनेर देखाइएको छ । सिनेमाभरि ‘वर्ग’को प्रधानता जबर्जस्ती पुष्टि गर्न अवास्तविक एवं अस्वाभाविक कथानक र संवादको सिर्जना गरिएको छ ।


सिनेमाको प्रमुख पात्र प्रकाश रोकाया, जो एक क्षेत्री र जनयुद्धका सहिदका सन्तान हुन्, उसलाई हलियाको रूपमा प्रस्तुत गरिएको छ । हलियाबारे सामान्य जानकारी राख्ने जोकोहीलाई पनि यो चरित्र मनगढन्ते लाग्नेछ । मेरो हुर्काइ सुदूरपश्चिमको पहाडी जिल्लामा भएको थियो, त्यहाँ हलिया भन्ने शब्दको उच्चारण हुँदा पहिलो छवि दलित समुदायको व्यक्तिकै आउँथ्यो, क्षेत्री–बाहुन हलिया हुनु कल्पनाभन्दा बाहिरको कुरा थियो ।

 

आफ्नो समाज–संस्कृतिलाई मानक बनाएर पृथक् समाज–संस्कृतिलाई मूल्यांकन गर्दा हुने दृष्टिदोष नहोस् भनेर मैले कर्णाली अञ्चलकै एकजना दलित अभियन्तासँग प्रश्न गर्दा उनले यसलाई ठाडै इन्कार गरेका थिए । प्रकाशकी आमा सीता अस्वाभाविक ढंगले आरनमा काम गर्दै गरेको दलित शिल्पकारलाई आदरार्थी सम्मानका साथ ऋण माग्छिन् र मागेजति ऋण दिन नसक्ने व्यहोराको जवाफ आउछ । ती दलित पात्रले हली क्षेत्रीप्रति टिठ व्यक्त गर्दै कुटुम्ब (जात) मिल्ने भए मेरी छोरी राधा (जो प्रकाशकी प्रेमिका हुन्) तपाईंको छोरोसँग विवाह गराइदिन्थेसमेत भन्छन् । अन्त्यमा सीता अभिवादन गर्दै त्यहाँबाट निस्किन्छिन् । स्मरण रहोस्, यो दृश्य त्यही क्षेत्रमा खिचिएको छ, जहाँ अझै पनि दलितलाई कुकुर, सिँगानेजस्ता अमानवीकृत सम्बोधनबाट बोलाइन्छ, प्रेम विवाह गर्न खोज्दा दलित बेहुला र जन्तीको हत्या गरी खोलामा बगाइन्छ ।

सिनेमामा ‘वर्ग’कै आधारमा हुने समस्याले नै कर्णालीजस्तो विकट क्षेत्र पछाडि परेको भन्ने दलिल पेस गरिएको देखिन्छ । वर्गको बुझाइ भने निकै संकीर्ण रूपमा प्रस्तुत गरिएको छ । अर्थात् वर्ग भनेकै आर्थिक हैसियत हो र वर्गलाई जातलगायत पहिचानजनित उत्पीडनबाट पूर्ण रूपमा पृथक् देखाइएको छ ।


सिनेमाभरि प्रकाश र प्रकाशकी आमा सीताले दलित समुदायसँग मात्रै संवाद गरेको देखाइएको छ । हली बनाइएको गैरदलित एवं दलितबीचको संवादले थोरबहुत भिन्नता पक्कै देखाएको छ । तर, यी भिन्नताको प्रस्ट नियत दलित र गैरदलितबीच आभासी भिन्नता मात्रै हो, वास्तवमा दुवै मोटामोटी रूपमा गरिब नै छन् भनेर देखाउने प्रयत्न गरिएको छ ।

 

कार्लमाक्र्सको भाषामा भन्ने हो भने दलित र गैरदलितबीचको सम्बन्धलाई ‘क्लास इन इटसेल्फ’ अर्थात् उत्पादनको साधनसँग समान रूपले जोडिएका शोषित वर्गका मानिस तर वर्गीय ऐक्यबद्धता निर्माण नभएको समुदाय भनेर देखाउन खोजिएको छ । यही माक्र्सवादी भाष्यको झल्को दिने गरी प्रकाशसँग छुट्टिँदा, जनयुद्धकालमा ‘वर्गीय मुक्ति’ पोतिएको पर्खालमा टाँसिएर राधा प्रेमवियोगको आँसु झारिरहेकी छिन् ।

 

स्मरण रहोस्, जनयुद्धकालमा दलित मुक्तिका नाराले पनि देशका भित्ता पोतिएका थिए र कैयौँ मानिस जातजातिलगायत पहिचानजनित उत्पीडनबाट मुक्ति पाइयोस् भनेर जनयुद्धमा सहभागी भएका थिए । कर्णालीकै कुरा गर्ने हो भने सबैभन्दा बढी दलित त्यही क्षेत्रमा छन् र जनयुद्धमा सहभागी हुनुको मूल कारण दलित मुक्तिको आकांक्षा नै थियो । यसरी सिनेमाले जातलाई कार्पेटमुनि राख्ने चेष्टा गरेर तथाकथित ‘वर्ग’ प्रधानतालाई सुषुप्त ढंगले स्थापित गरेको छ ।


सिनेमामा सषुप्त ढंगले ‘वर्ग’ प्रधानता पुष्टि भइरहँदा सकारात्मक विभेदको उपायको रूपमा रहेको आरक्षणलाई स्पष्ट रूपमा प्रहार भइरहेको थियो । जात–आधारित समस्यालाई अवमूल्यन गरेर वास्तवमा फिल्म सर्जकले आधुनिक ब्राह्मणवादको प्रदर्शन गर्दै थिए । अर्थात् जात भनेको एउटा छुवाछुतको समस्या हो, त्यो धन कमाएपछि हल हुन्छ र जातजातिका आधारमा दिइने आरक्षणको कुनै अर्थ छैन । सिनेमामा सुरुदेखि अन्त्यसम्ममा आरक्षण त प्रकाश (जातविहीन) गरिबले पाउनुपर्ने हो भनेर स्थापित गरिन्छ ।

 

आरक्षण भनेको गरिबी निवारण परियोजना हो भन्ने आमबुझाइलाई मलजल गर्न कुनै कसर बाँकी राखिँदैन । आरक्षण उत्पीडितभित्रकै धनी ‘वर्ग’का अवसर पाएका व्यक्ति, नेपालको सर्वोच्च अदालतको भाषामा भन्ने हो भने ‘तरमारा’ले ओगटिरहेका छन् भन्ने भाष्य नै देखाइएको छ, अर्थात् जातविहीन दुखिया प्रकाशको हकदारी जनजाति सुन साहुको क्यारेम बोर्ड खेलिरहेको छोरोले खोसेको हो भन्ने पारिएको छ । जात वा अन्य पहिचानजनित उत्पीडन केही पनि होइन भनेर देखाउने अथक प्रयासपछि आरक्षणको उद्देश्य समावेशिता हो भनेर देखाउनुको कुनै अर्थ रहँदैन । किनभने समावेशिता तब कायम हुन्छ, जब प्रतिनिधित्वबाट वञ्चित पहिचानको न्यायपूर्ण सहभागिता हुन्छ र यहाँ त तथाकथित ‘वर्ग’लाई जबर्जस्ती पुष्टि गर्ने नाममा पहिचान नै मेटाइने काम गरिएको छ । त्यस अर्थमा ‘वर्ग’को मूढपेलाइमा समावेशिताको अपेक्षा राख्नुको कुनै अर्थ नै रहेन ।

सिनेमाले जातलाई कार्पेटमुनि राख्ने चेष्टा गरेर कथित ‘वर्ग’ प्रधानतालाई सुषुप्त ढंगले स्थापित गरेको छ


अब लागौँ व्यावहारिक राजनीतिक पाटोमा । निश्चय नै क्रान्तिकारिताको भ्रष्टीकरणलाई कलाका माध्यमबाट आलोचना गरिनैपर्छ र ऐना देखाइनैपर्छ । प्रकाश सिनेमा यो अर्थमा थोरबहुत सफल भएको छ । सिनेमामा, रजगज गुम्ने भएपछि त्यसलाई जोगाउन गाउँका सामन्त इन्द्रप्रसाद एकाएक माओवादी बन्छन् । आफ्नो तथाकथित हली र सहिदका छोरा प्रकाशलाई शिक्षकमा जागिर दिलाइदिने भनेर सहिद बुबाको नाममा आएको रकम लुट्छन् । तर, यी दृश्य देखाइँदा सिनेमामा प्रस्ट रूपमा माओवादीलाई आक्रमण गरिएको छ र अन्यलाई जिम्मेवारीमुक्त बनाइएको छ ।

 

निःसन्देह माओवादीले हजारौँ सहिद, घाइते योद्धा, किसान, मजदुर, जातजाति, महिला, मधेसीलगायत शोषित, उत्पीडित र सीमान्तकृतलाई सिनेमाको ठालु पात्र इन्द्रप्रसादले भनेझैँ ‘गुहु पुछेको ढुंगो’ जसरी प्रयोग गरेको छ भनेर भन्ने कैयौँ ठाउँ छन् । तर, प्रश्न के उठ्छ भने सिनेमाले पैरवी गर्न खोजेको ‘वर्गीय’ शोषणमा परेकाको जिम्मेवारी माओवादीको मात्रै हो ? के संविधानले नै स्विकारेको ‘नेपाली जनताले गरेको ‘सशस्त्र संघर्ष’का सहिद एवं बेपत्ताका परिवार, घाइते एवं अपांग र कैयौँ योद्धाको जिम्मेवारी गैरमाओवादीको होइन ? हो भने निसानामा माओवादी मात्रै किन ? यो प्रश्नको उत्तर त्यतिवेला आउँथ्यो, जब माओवादीलाई जवाफदेही बनाइन्थ्यो न कि खेदिन्थ्यो । पहिलो संविधानसभा चुनावताका माओवादीको एक छत्र वर्चस्व थियो भन्न सकिएला, तर २०७२ संविधानले निर्दिष्ट गरेको गाउँपालिकाको चुनाव हुने वेलामा माओवादीको प्रतिस्पर्धी नै नदेखाइनुले अन्यथा अर्थ सुझाउँदैन । 


अब सबैभन्दा बढी चर्चा गरिएको सिनेमाको क्लाइमेक्समा जाऊँ । शिक्षकको जागिरमा असफलता हात लागेको दुखिया प्रकाशकी रोगी आमा उपचार नपाई बित्छिन् । विक्षिप्त भई आमाको दिवंगत शरीरलाई सेलाउन जाँदै गर्दा विजय ¥याली निकालिरहेका गाउँपालिका अध्यक्षमा विजेता ठग इन्द्रप्रसादलाई प्रकाशले जुत्ताले हिर्काउँछन् । हलमा धेरैले यो दृश्यलाई स्वाद मानेर हेरेका छन् र जुत्ता हानिसकेपछि प्रकाशको सम्भावित रामधुलाइको दृश्य सिनेमाको श्रव्यदृश्य पाटो सकिन्छ ।

 

यो दृश्यले धेरैलाई प्रकाशका दुःखका लागि निर्वाचित भ्रष्ट माओवादीलाई जिम्मेवार बनाइदिन्छ । सिनेमा यतिमै रोक्न सकिन्थ्यो, तर सिनेमामा आरक्षण एवं स्वैरकल्पनामा सिर्जना गरिएको ‘वर्गीय’ विभेदलाई अन्तिम बल दिएर पुष्टि जो गर्नु थियो । नतिजा, ‘राज्यका नजरमा हरेक जात–जाति तथा भूगोलका जनता समान हुनुपर्छ र राज्यबाट नागरिकले प्राप्त गर्ने अवसरमा सबै नागरिकलाई समान अधिकार र न्यायपूर्ण वितरण हुनुपर्छ, राज्य विभेदकारी हुनुहुँदैन । नेपालमा जारी सयौँ वर्षदेखिको वर्गीय विभेदको अन्त्य होस् भन्दै उपदेश अर्थात् एपिलोग लेखियो । दर्शकले यति देख्दा आरक्षण एवं वर्गको कस्तो बुझाइ बनाउलान्, त्यसबारे टिप्पणी गर्न पनि आवश्यक देखिँदैन ।


जाँदाजाँदै फिल्म सर्जकलाई केही थान प्रश्न भने राख्छु– पहिलो, प्रकाशजस्ता माथिल्लो जातका तर शोषणको चंगुलबाट टाउको उठाउन नसकेका कैयौँ यथार्थलाई जात वा अन्य पहिचानजनित उत्पीडनलाई अस्वीकार गरेर मात्रै उजागर गर्न सकिने हो ? दोस्रो, एपिलोगमा लेखिएको नेपालमा ‘वर्गीय’ विभेद सयौँ वर्षको हो भन्ने ज्ञान कुन स्रोतबाट बाँडिएको हो ? तेस्रो, प्राज्ञिक रूपमै जात–आधारित उत्पीडन दुई हजार वर्षभन्दा पुरानो हो भन्ने तथ्यलाई किन बेवास्ता गरियो ?