• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
प्रेम फ्याक
२०७९ भदौ २५ शनिबार ०६:३९:००
साहित्य

गाउँमा विकास आयो

२०७९ भदौ २५ शनिबार ०६:३९:००
प्रेम फ्याक

हेलो छोरा !
डोजरले पहरा फोर्‍यो
सिंगै पहाड भत्कायो
टोल–टोलमा बाटो पुर्‍यायो
अब गाउँमा गाडी आयो
भटभटे कुद्न थाले
बिजुलीबत्ती पनि आयो
झुम्रोको सलेदो हालेर बालेको
भोजपुरे मीतबाले देको तिम्रो टुकी
अब कहिले बल्दैन होला
किनकि गाउँमा विकास आयो ।

 

छोरा यसपालि त
सीमखेतको मुहान सुक्यो
राजकुलोको निसानी हरायो
खेतबारीमा गाडी कुद्यो
गाडी चढ्नेहरू सहर पसे
केही फर्के, धेरै फर्केनन्
सहरको रहर र
रहरको सहरले गाउँ रित्तियो
तिम्री आमा सोध्छिन्–
अब, कुलो सोर्ने कसले ?
खेत जोत्ने कसले ?
बाउँसे बन्ने खोइ ?
रोपार बन्ने खोइ ?

 

हेलो छोरा !
गाउँमा पैसा आयो
थरीथरी बैंक र आइएमई आए
तर, गएका मान्छेहरू फर्की आएनन्
गाउँमा मेलापात हरायो, परेली हरायो
तिम्री आमा भन्न थालिन्–
अब पैसा मात्र होइन
सहरबाटै केही बोरा चामल पनि
गाडीमा हालेर गाउँ पठाउनु ।

 

हेलो छोरा !
अहिले त गाउँको स्वादै हरायो
यहाँ चाउचाउ, चाउमिन र कोक भित्रिएपछि
जिब्रोले गुन्द्रुक, मकैभटमास
र मोही चिन्नै छाड्यो
अहिले त गाउँको सुन्दरता पनि फेरियो
रमितेडाँडामा
सिमेन्टीको भ्युटावर ठिंग उभियो
त्यहाँबाट कसले के पो हेर्ने होला ?
मलाई त्यो टावर चढेर केही हेर्नु छैन
मलाई चिन्ता छ
भालुखोप र साधने जंगल
कसरी व्यापारीका ‘माल’ भएर
सहरका मिलमा बेचिँदै छन् ?

 

तिम्री आमा सुनाउँछिन्–
गाउँका भाषा फेरिए
छिमेकीहरू ‘बोर्डिङ’ स्कुल खोज्न सहर पस्दै छन्
अंग्रेजीको मोहनीले
सरकारी स्कुल रित्तिँदै छन्
विदेशी भाषा पढ्न
युवाहरू गाडी चढेर सहर पस्दै छन्
अनि सहर हुँदै ‘विदेश’
को कसरी फर्किने हुन् टुंगो छैन
अस्ति, तेरो मीतभाइ कतारबाट
रातो बाकसमा फर्कियो
जुन गाडीले उसलाई गाउँ कटायो
त्यही गाडीले उसको लास गाउँ पु¥यायो ।

 

हेलो छोरा !
अब गाउँ, गाउँजस्तो छैन
गाडी चढेर म पनि सहर पसौँजस्तो लाग्छ
तर, तिम्री आमा सोध्छिन्–
सहरमा हाम्रो कथा सुनिदिने कसले ?
हाम्रो भाषा बुझिदिने कसले ?
हाम्रो ज्ञान चिनिदिने कसले ?
हाम्रो नाम सम्झिदिने कसले ?

 

त्यसैले, हेलो छोरा !
तिम्रो सहर तिमीसँगै राख
तिम्रो विकास तिमीसँगै राख ।