• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
तिज मनाउँदै नेपालीभाषी महिला
मुना कुँवर
२०७९ भदौ २५ शनिबार ०६:४८:००
सम्झना

थाइल्यान्डका नेपालीभाषी भन्छन् - ‘नेपाल हेरेर मर्न पाइयोस्’

थाइल्यान्डमा लगभग ९० वर्षअघिदेखि ८० हजार नेपालीभाषी बसोवास गर्दै आएका छन्

२०७९ भदौ २५ शनिबार ०६:४८:००
मुना कुँवर

 

‘नेपाल छोडेर म्यानमार हुँदै थाइल्यान्ड आइपुग्दा तपाईंको पुस्तांँ बितिसक्यो । तर, अझै तपाईं आफू नेपाली हो जस्तो लाग्छ ?,’ मैले प्याच्च सोधिहालेँ ।‘कस्तो प्रश्न गर्नुभएको ? आँसु नै आयो !,’ मेरो प्रश्न खस्न नपाउँदै संगीताले भनिन् । नभन्दै उनको आँखा रसायो । मलाई आफ्नो प्रश्नप्रति ग्लानि भयो । उनको नेपालप्रतिको स्नेह देखेर म आफूलाई लज्जाबोध भयो । कहिलेकाहीँ हामी आफूलाई नेपाली भएकोमा धिक्कार्छौँ । तर, थाइल्यान्डमा बस्दै आएका नेपालीभाषी भने आफूलाई नेपाली हौँ भनेर चिनाउनुमा गर्व गर्छन् ।


गत सेप्टेम्बर २६, २७ र २८ सम्म थाइल्यान्डमा गैरआवासीय नेपाली संघ थाइल्यान्डले आयोजना गरेको नवौँ एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुने अवसर जुटेको थियो । हामी २५ सेटेम्बरमा थाइल्यान्ड पुगेका थियौँ । सम्मेलनको मुख्य अतिथिका रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर उपस्थिति थिए । संघले सम्मेलनको पहिलो दिन थाइल्यान्डमा रहेको हिन्दू मन्दिरको दर्शनको कार्यक्रम राखेको रहेछ । सम्मेलनमा म पत्रकारको रूपमा सहभागी भएकी थिएँ । कार्यक्रमको तालिकाअनुसार २६ तारिख बिहान हामी थाइल्यान्डस्थित हिन्दू मन्दिरमा पुग्यौँ । 

दोस्रो विश्वयुद्घपछि धेरै देश स्वतन्त्र भए । आ–आफ्ना देशका नाका बन्द गरे । थाइल्यान्डमा प्रवेश गरेका नेपालीहरू उतै बसे, नेपाल फर्किएनन् । स्थायी रूपमा उतै बस्ने योजना नबनाए पनि उनीहरू परिस्थितवश नेपाल फर्किएनन् । उनीहरू देशविहीन र नागरिकताविहीन हुन पुगे ।


मन्दिरमा पुग्नेबित्तिकै सबैलाई स्वागत गरियो । मन्दिरमा सबै देवी–देवताका मूर्ति बनाइएको थियो । पूजाका लागि सामग्रीको व्यवस्था पनि गरिएको थियो । पूजा गरेपछि पण्डितले प्रसादसमेत दिए । पण्डितले पाठ पनि पढे । थाइल्यान्डमा बसोबास गर्दै आएका नेपाली भाषीले सो मन्दिर निर्माण गरेका रहेछन् । मन्त्री कुँवरसँगै सबै अतिथिलाई भव्य स्वागत गरे । मन्दिरभित्र प्रवेश गरेपछि आफू नेपालमा नै रहेको भान भयो । महिलाहरू सबै नेपाली पोसाकमा नै थिए । उनीहरू राम्रैसँग नेपाली पनि बोल्थे । उनीहरूको आत्मीयताप्रति म नतमस्तक भएँ ।


संगीता कार्कीको जन्म म्यानमारमा भएको हो । थाइल्यान्डमा रहँदै आएका कुमार कार्कीसँग उनको विवाह भयो । अहिले उनी लामो समयदेखि थाइल्यान्डमा नै बस्दै आएकी छिन् । तर, उनले अझै पनि नेपाली भाषा, संस्कृति, परम्परा निरन्तर मानिरहेकी छिन् । थाइल्यान्डमा बस्ने संगीता मात्रै होइन, अन्य नेपालीभाषीले नेपाललाई उत्तिकै स्नेह गर्छन् ।


नेपाली भाषा र संस्कृति जोगाउँदै
थाइल्यान्डमा बसोवास गर्ने नेपालीहरू मिलेर थाई नेपाली संघ स्थापना गरेका छन् । सन् २०१० मा यसको स्थापना भएको हो । बैंककको विभिन्न स्थानमा संघको १० वटा शाखा खोलिएका छन् । जसमा नेपालीभाषी जोडिएका छन् । थाइल्यान्डको विभिन्न स्थानमा छरिएर रहेका नेपालीभाषीलाई संघले एकीकृत हुन सहयोग गरिरहेको छ । 


संघले नेपालीभाषीको विषयमा बोल्ने गर्छ । त्यस्तै, संघले पछिल्लो पुस्ताले नेपालीभाषा नबिर्सिऊन् भनेर नेपाली भाषा कक्षा सञ्चालन पनि गर्छ । थाइल्यान्डमा दुई महिना समर बिदा हुन्छ । सो अवधिमा नयाँ पुस्तालाई नेपाली भाषाको कक्षा दिइन्छ । त्यसबाहेक अनुकूल समय मिलाएर बिहान–बेलुका नयाँ पुस्तालाई नेपाली भाषा सिकाइन्छ । 

गत वर्ष तिहार मनाउँदै नेपालीभाषी

थाइल्यान्डमा बस्ने सबै नेपालीभाषीले नेपालको हरेक चाडपर्व मनाउँछन् । दसैँ, तिहार, तिज, देवाली मनाउँछन् । नेपाली समाजले पनि प्रत्येक वर्ष चाडपर्वलाई लक्षित गरी विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ । संगीता भन्छिन्, ‘मलाई चाडपर्वमध्ये तिज सबैभन्दा धेरै मनपर्छ । तिजमा संघमा आबद्ध पुरुषहरूले सबै दिदी–बहिनीलाई बोलाएर मीठामीठा परिकार बनाएर खुवाउने चलन छ । दिनभरि नाचगान हुन्छ ।’ कार्यक्रम अझ रमाइलो बनाउन वादविवाद कार्यक्रम पनि सञ्चालन गरिने उनले बताइन् । ‘गत वर्ष दाजुहरूले माइत रमाइलो कि घर ? भन्ने विषयमा वादविवाद राख्नुभएको थियो । हामीले पक्ष र विपक्षको विषयमा बोलेका थियौँ,’ उनले हाँस्दै भनिन् । तिजमा सबै महिला सारी, चोलो, पोते, टीकामा सजिएर नाचगान गर्ने रहेछन् । 

थाइल्यान्डका विभिन्न सहरहरू जस्तै बैंकक, फुकेट, चियाङमाई, होहिन, पटाया, मेसट, मेसाई, कसोमोई, क्राबी, र खौलाख आदि सहरमा नेपालीहरू बस्दै आएका छन् । उनीहरूको बाहुल्य रहेको स्थानमा प्रार्थना र भेटघाट गर्ने थलोका रूपमा मन्दिर छन् ।


२०५० साल वैशाख पूर्णिमाका दिन संघले बैंककमा श्री त्रिनाथ देवालयको स्थापना गरेको थियो । मन्दिरमा धार्मिक चाडपर्व, व्रत पूजापाठ, यज्ञ–अनुष्ठान, व्रतबन्ध, विवाह, योग, ध्यान साधना, सत्संग, प्रवचन, सप्ताहपुराणजस्ता संस्कार र संस्कृतिहरू आयोजना गरिन्छ । साथै दैनिक पाठपूजा, स्त्रोतपाठ, रुद्रीपाठ, साँझ–बिहान आरती तथा साप्ताहिक मासिक सत्संग र वार्षिक रूपमा परी आउने ठूलासाना चाडपर्व पनि मनाइन्छ । नवरात्रि, दसैँ, तिहार, जन्माष्टमी, शिवरात्रि, रामनवमीजस्ता ठुल्ठूला पर्वहरू मन्दिरमा मनाइन्छ । मन्दिर नै भाषा, साहित्य, धर्मसंस्कार, संस्कृति र मूल्य–मान्यताको प्रचार–प्रसार र संरक्षण गर्ने थलो बनेको छ । 


थाइल्यान्डका विभिन्न सहरहरू जस्तै बैंकक, फुकेट, चियाङमाई, होहिन, पटाया, मेसट, मेसाई, कसोमोई, क्राबी, र खौलाख आदि सहरमा नेपालीहरू बस्दै आएका छन् । नेपालीहरूको बाहुल्य रहेको स्थानमा प्रार्थना र भेटघाट गर्ने थलोका रूपमा मन्दिर रहेका छन् । भक्तजन, दर्शनार्थी, पर्व सम्पादन, दानपेटिका, धर्मदान, विवाह र व्रतबन्ध आदि दानस्वरूप प्राप्त आयबाट मन्दिर सञ्चालन हुन्छ । मन्दिरको मासिक खर्च १८ देखि २० हजारसम्म छ । प्रत्येक दुई वर्षमा सनातन धर्ममा आस्थावान् र परिपक्व व्यक्तिलाई मन्दिरको अध्यक्ष पदमा निर्वाचन गरिने व्यवस्था छ ।


हामी गोर्खाली 
सम्मेलनमा नेपाल थाई संघले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । सम्मेलनको उद्घाटन र समापन समारोहमा संघका नयाँ पुस्ताहरूले आफ्ना कला प्रदर्शन गरेका थिए । नेपालका विभिन्न जातजातिका पोसाक लगाएर कला देखाएका थिए । नयाँ पुस्ताले नेपाली भाषा उतिसारो प्रस्ट बोल्न नसक्ने रहेछ । तर, पनि उनीहरू बोल्छन् । सम्मेलनमा नेपाली पोसाक लगाएर आएका एक युवकलाई मैले सोधेँ,‘नेपाली बोल्न आउछ ?’ 


‘आउँछ, सिक्दै छु’, उनले भने ।अनि फेरि मैले सोधेँ,‘तिम्रो विद्यालय र साथीसँग थाई नै बोल्छौ होला, नेपाली बोल्न किन सिक्नुप¥यो त ?’‘हामी गोर्खाली नेपाली हौँ नि त’, उनले अकमकाउँदैजवाफ दिए ।उनको नाम रहेछ सुरज घिमिरे । अहिले उनी ११ कक्षामा पढ्दै छन् । उनको विद्यालयमा थाई भाषा प्रयोग भए पनि उनी आफ्नो परिवार र नेपालीभाषीसँग नेपाली भाषा नै बोल्ने कोसिस गर्छन् । उनलाई नेपालको सबै चार्डपर्वका बारेमा थाहा छ ।

हामी नेपालसँग जोडिन चाहन्छौँ । हाम्रो जरा नेपाल नै हो । हाम्रो मुटु नेपालसँग जोडिएको छ । नेपाल सरकारले पनि हामीलाई कुनै न कुनै माध्यमबाट कानुनी रूपमा नेपालसँग जोडिन पाउने अधिकार दिएहुन्थ्यो । हामी पनि नेपालमा लगानी गर्न चाहन्छौँ । जीवनमा एउटै इच्छा छ, नेपाल हेरेर मर्न पाइयोस् । मेरो परिवारसहित नेपाल पुग्ने ठूलो इच्छा छ ।

 
विनोद लामिछाने
उपाध्यक्ष, नेपाली थाई संघ


सोनम कार्की पनि थाइल्यान्डमै जन्मिइन् । उनले नेपालको नाम मात्रै सुनेकी छिन् । तर, उनलाई नेपालको भाषा र संस्कृतिबारे जानकारी छ । ‘तिमी के कार्की हो ?’ मैले सोनमलाई सोधेँ । 


‘हामी सुत्तर कार्की हो’, उनले भनिन् । ‘तिमीलाई नेपालको बारेमा के थाहा छ ?’ मैले सोधेँ । ‘नेपाल हाम्रो पुर्खाको घर हो । हामी नेपाली हौँ, हामी दसैँ, तिहार मनाउँछौँ । भैलो पनि खेल्छौँ,’ उनले हाँस्दै भनिन् ।अहिलेका पुस्ताले एकले नजानेको कुरा अर्काले सिकाउँछन् । विद्यालय र कार्यालयमा उनीहरू थाई भाषा नै प्रयोग गर्छन् । घरमा थाई र नेपाली दुवै बोल्छन् ।

 

हरि निरौला सम्झन्छन्, ‘हाम्रो पुस्ता ताप्लेजुङबाट थाइल्यान्ड आएको हो रे । हजुरबुबाहरू त उतै हुनुहुथ्यो । अहिले बित्नुभयो । हजुरबुबा हुँदा हामी एकपटक गाउँ गएका थियौँ । ताप्लेजुङ पुग्दा रात परिसकेको थियो । गाडी रोकेर सडकमै सुत्यौँ । कसैको डरत्रास भएन । मनमा लाग्यो, यो त आफ्नै घर हो नि ।’मिलान सम्मेलन सकिएपछि हामी भोलिपल्ट होटेल चेकआउट गरी पटाया जाने सुरमा थियौँ । म लबीमा थिएँ । एकजना नेपाली अनुहारकै पुरुष आफ्नो लगेज लिएर आइपुगे । चिनजान नभकाले म बोलिनँ । तर, उनले सोधे, ‘तपाईंहरू नेपालबाट आउनुभएको रहेछ है ।’

‘हो, अनि हजुर ?,’ मैले भने ।
‘म हरि निरौला, फुकेटबाट सम्मेलनका लागि आएको हुँ ।’
‘नेपाल हजुरको घर कहाँ हो ?,’ मैले सोधिहालेँ । 
‘होइन, म थाइल्यान्डमा बस्छु । हामी परिवार नै यहीँ बस्छौँ ।’ 
उनी नेपाली मुलुकका रहेछन् । जाँदाजाँदै उनीसँग सम्पर्क नम्बर साटासाट भयो । उनी होटेलबाट आउटडोरतिर लागे । ढोका खोल्दै गर्दा उनले फेरि भने,‘तपाईंहरुलाई यहाँ हुँदा केही समस्या भयो भने एकपटक फोन मात्रै गर्नु है । अप्ठ्यारो मान्नुपर्दैन । हजुरहरू हाम्रै चेली हुनुहुन्छ । केही भयो भने हामी छौँ है ।’

हुन्छ भन्दै मैले हात हल्लाएँ । ८० हजार नेपालीभाषी थाइल्यान्डमा लगभग ९० वर्षअघिदेखि ८० हजार नेपालीभाषी बसोवास गर्दै आएका छन् । दोस्रो विश्वयुद्घताका भारत, म्यानमार हुँदै थाइल्यान्डको सीमावर्ती क्षेत्रमा पर्ने कन्चनावुरी जिल्ला, थम्फापोङ सहरको पिलोक भन्ने गाउँमा सिसा, फलामखानीमा काम गर्ने सिलसिलामा नेपालीहरू त्यहाँ पुगेको देखिन्छ । थाइल्यान्ड र म्यानमारको सीमावर्ती क्षेत्रमा पर्ने धातु खानी रहेको गाउँको नाम हो पिलोक । यहीँ पिलोकबाट नेपालीहरू थाइल्यान्डका विभिन्न सहरमा प्रवेश गरेको पाइन्छ ।


थाइल्यान्ड र जापानबीचको युद्घपूर्व र युद्घपछि पनि ओहोर–दोहोर चलेको नाका हो पिलोक । यही गाउँ थाइल्यान्डमा नेपालीहरू प्रवेश गर्ने प्रवेश बिन्दुको रूपमा चिनिन्छ । दोस्रो विश्वयुद्घपछि धेरै देश स्वतन्त्र भए । आ–आफ्ना देशका नाकाहरू बन्द गरे । थाइल्यान्डमा प्रवेश गरेका नेपालीहरू उतै बसे, नेपाल फर्किएनन् । स्थायी रूपमा उतै बस्ने योजना नबनाए पनि उनीहरू परिस्थितवश नेपाल फर्किएनन् । उनीहरू देशविहीन र नागरिकताविहीन हुनपुगे ।


तत्कालीन राजा वीरेन्द्र एकपटक भ्रमणका क्रममा थाइल्यान्ड पुगेका थिए । त्यसवेला नेपालीलाई पहिचान प्रदान गर्न थाइल्यान्डका राजालाई उनले अनुरोध गरे । सन् १९८७ मा नेपालीहरूले शरणार्थीका रूपमा अस्थायी ग्रिन कार्ड प्राप्त गरे । १५ वर्षपछि सन् २००१ मा उनीहरूले स्थायी रूपमै थाई नागरिकको प्रमाणपत्र पाए ।