• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शुरोजंग पाण्डे
२०७९ भदौ २५ शनिबार ०८:२२:००
सम्झना

घाम–पानीजस्तो ओली–नेपाल सम्बन्ध

२०७९ भदौ २५ शनिबार ०८:२२:००
शुरोजंग पाण्डे

दुई नेताको सम्बन्ध उतारचढावपूर्ण छ । कहिले महिनौँ बोल्दैनन्, कहिले सँगै केक काटेर ‘बर्थ डे’ मनाउँछन् । अहिले पानी बाराबारको अवस्थामा छन् ।

 

एमाले अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालको करिब पाँच दशक लामो राजनीतिक सम्बन्ध एक वर्षदेखि ‘डिभोर्स’मा छ । ९ भदौ २०७८ मा निर्वाचन आयोगमा नेकपा एस दर्ता भएपछि सुरु भएको डिभोर्सी सम्बन्धसँगै ओली–नेपाल पन्ध्र महिनादेखि औपचारिक संवादमा छैनन् । गत ३० वैशाखको स्थानीय निर्वाचनपछि सार्वजनिक मञ्चमा एकअर्काप्रति थोरै नरम बन्न थालेका ओली–नेपालबीच तत्काल पुनर्मिलनको आधार देखिएको छैन ।


नेकपा एसको १४ असारमा सम्पन्न पछिल्लो केन्द्रीय परिषद् बैठकले आमनिर्वाचनमा वाम गठबन्धनसँगको सहकार्यलाई पहिलो प्राथमिकता राखेर कुनै पनि वेला एमालेसँगको सम्भावित एकता र पुनर्मिलनको ढोका खुला राखेको थियो । तर, त्यसलाई सकारात्मक मानेर औपचारिक संवाद अगाडि बढाउनेभन्दा पनि नेकपा एसबाट व्यक्तिगत तहमा नेता–कार्यकर्ता भित्र्याउने नीतिलाई एमालेले प्राथमिकता राखेपछि ओली–नेपालबीचको डिभोर्सी सम्बन्ध पुनर्मिलनमा परिणत भइहाल्ने संकेत भने देखिएको छैन । 

विभाजनपछि दुई जम्काभेट
५ पुस, २०७७ मा संसद् विघटनपछि तत्कालीन नेकपा विभाजनसँगै एमालेभित्र चर्किएको अन्तरविरोधको समाधान खोजेर पार्टी विभाजन रोक्न ओली–नेपालबीच ९ वैशाख ०७८ मा मेरियट होटलमा अन्तिम औपचारिक भेटवार्ता भयो । तर, भेटवार्ता विभाजन रोक्ने अचुक अस्त्र बनेन । सर्र्वोच्च अदालतको फैसलाबाट २९ असार ०७८ मा शेरबहादुर देउवाको प्रधानमन्त्री नियुक्ति, दल विभाजनसम्बन्धी अध्यादेशसँगै ९ भदौ ०७८ मा पुग्दा एमाले विभाजित बन्यो । दुवै नेताबीच आपसी तिक्तता चुलियो, सार्वजनिक मञ्चमा दुवै तिक्त गालिगलोजमा उत्रिए । तर, पार्टी विभाजनको दश महिनापछि पानी बाराबारकै बीचमा ओली–नेपालबीच २४ चैत २०७८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जम्काभेट भयो । 


ओली सिमरा हुँदै वीरगन्जमा पार्टी कार्यक्रममा जाँदै थिए । नेपाल भैरहवा हुँदै कपिलवस्तुमा समाजवादीको पार्टी कार्यक्रममा जाँदै थिए । टर्मिनलस्थित भिआइपी कक्षमा ओली बसिरहेकै वेला नेपाल पुग्दा दुवैले एकअर्कालाई देखेर असहज महसुस गरेका थिए । आमुन्ने–सामुन्ने बनेका उनीहरूबीच हेराहेर भयो तर शिष्टाचारका लागि दुवैले नमस्कार गरेनन् । केही बेरको हेराहेरपछि नेपालले मौनता तोड्दै के छ खबर ? भनी ओलीलाई सोधेका थिए । जवाफमा ओलीले ठिकै छ भने । पन्ध्र मिनेट सँगै बस्दा उनीहरूबीच थप संवाद अघि बढेन । दुवै नजिकैको सोफामा करिब पन्ध्र मिनेट बसेका थिए । ओली पत्रिकातिर केन्द्रित भए, नेपाल टोलाए । केही बेरपछि दुवै आ–आफ्नो बाटो लागे ।उनीहरूको दोस्रो जम्काभेट २४ मंसिर २०७८ मा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन मञ्च भृकुटीमण्डपमा भयो । दुवै नेता आमुन्ने–सामुन्ने त भए तर बोलचाल गरेनन् ।

पुनर्मिलनका लागि आ–आफ्नै सर्त 


ओली–नेपाल दुवैले भविष्यमा आपसी पुनर्मिलनको सम्भावना स्विकारेका छन् । तर, दुवै नेता सम्बन्ध सुधार र एकताका लागि आफैँ अग्रसर भएर प्रस्ताव गर्ने पक्षमा देखिँदैनन् । एमाले र नेकपा एसका दोस्रो तहका नेताहरूले दुवै नेताबीच संवादको वातावरण बनाउन अनौपचारिक प्रयास गर्दै आए पनि सर्तसहितका सन्देश प्रवाह गर्नेबाहेक कुनै प्रगति नभएको उनीहरूको भनाइ छ । 


पछिल्लोपटक नेपाललाई भेटेर एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीसँगको पुनर्मिलन र एकताका विषयमा कुराकानी गरेका थिए । तर, नेपालले संवादका लागि ओली संसद् विघटनप्रति आत्मालोचना गर्न तयार हुनुपर्ने सर्त राखेको स्रोतको भनाइ छ । 


नेपालसँग निकट रहेका नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडा दुई नेताबीचको सम्बन्ध राजनीतिक भएकाले राजनीतिमा सुधार नभएसम्म पुनर्मिलनको सम्भावना नभए पनि कहिलेकाहीँ व्यक्तिगत कुराकानी र बोलीचालीका भाषा र सार्वजनिक सम्बोधनका नरमपनले ओली–नेपाललाई पुनर्मिलनको दिशामा डो¥याएमा अनर्थ नहुने बताउँछन् । 


‘उहाँहरूको सम्बन्ध राजनीतिक हो । राजनीतिमा सुधार भएपछि मात्र संवाद र पुनर्मिलन हुन सक्छ । त्यसका लागि तीन चिज आवश्यक छ’ खतिवडा भन्छन्, ‘पहिलो, पार्टीगत निर्णयका आधारमा एमालेले नेकपा एसलाई दलको मान्यता दिनुपर्छ । दोस्रो, अदालतको मुद्दा फिर्ता लिनुपर्छ । तेस्रो, संसद् विघटन प्रतिगमन भएको आरोप छ, यसबाट आफूलाई उहाँ(ओली)ले आत्मालोचना गर्ने ठाउँमा पुर्‍याउनुपर्छ, त्यसपछि राजनीतिलाई सहकार्य र एकतातिर पु¥याउँछ ।’ यद्यपि, ओलीले व्यवहार सुधार गरेमा दुवै नेताबीच सहकार्यको अध्याय सुरु हुन सक्ने उनको भनाइ छ । 

‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन’
यो उक्ति केपी–माधवको लामो सम्बन्धमा शतप्रतिशत लागू भएको छ । ०५४ पछि उतारचढावपूर्ण सम्बन्धमा जेलिएका यी दुई नेता नवौँ महाधिवेशनमाअध्यक्षको प्रतिस्पर्धामा उत्रिए । ५५ मतले ओलीले बाजी मारे । त्यसपछि दुई नेताबीच पार्टीभित्र द्वन्द्व चर्कियो । ०७८ भदौमा पार्टी नै विभाजन गरेर माधव छुट्टै बाटो हिँडेका छन्  ।


‘ओली कमरेडले धेरै गाली गर्नुभएको छ, आफ्नो व्यवहारलाई उहाँले नरम बनाउनुपर्छ । माथि भनिएका तीन कुरा राजनीतिक र अहिले तल भनिएका व्यक्तिगत कुरा हुन् । कहिलेकाहीँ व्यक्तिगत कुरा पनि प्रभावी हुन सक्छ, जसले वर्किड रिलेसन डेभलप गर्न सक्छ’ खतिवडा भन्छन्, ‘माधव नेपाल विद्रोह गरेर आएको, पार्टी सानो या ठूलो होस् म आत्मस्वाभिमानमा तल पर्न दिन्न भनेर हिँड्नुभएको हो । चुनावबाट आएको परिणामसँगै साइजमा एमाले ठूलो छ, नेकपा एस सानै देखियो, त्यसले गर्दा ठूलो पार्टीको अध्यक्षले पोजिटिभ्ली केही प्रस्ताव गर्नुभो भने माधव नेपालले पनि त्यसैगरी रेस्पोन्स गर्नुहुन्छ, त्यसपछि दुवैजनाले अब गल्ती नगरौँ भन्ने हुन सक्छ ।’ संवादको सुरुवात भने ठूलो पार्टीको प्रमुख नेताको हैसियतमा ओलीले गर्दा नै सकारात्मक सन्देश प्रवाह हुने उनको भनाइ छ । 


उता, सहकार्य र एकताका लागि ओलीका पनि आफ्नै सर्त छन् । पार्टी विभाजनको आधार खडा गरेको १९बुँदे आरोपपत्र पेस गरेर आफूलाई दुवै पदबाट हटाउन खोजेर संसद् विघटनको राजनीतिक कदम चाल्न बाध्य बनाएको, संसदीय दलको ह्विप उल्लंघन गरी विश्वासको मत नदिएर आफ्नै पार्टी नेतृत्वको सरकार ढालेको, शेरबहादुर देउवासँग मिलेर अध्यादेशमार्फत पार्टी फुटाएकोजस्ता विषयमा माधव नेपाल आत्मालोचना गर्न तयार भएमा सहकार्यको ढोका खुल्न सक्ने ओलीले निकटस्थहरूसँग बताउँदै आएका छन् । उनीनिकट नेताहरूले ओलीको सन्देश नेपाललाई सुनाइसकेका छन् । तर, नेपाल ती विषयमा आत्मालोचना गर्न तयार भइसकेका छैनन् ।  

 

साँढे पाँच दशकदेखिका राजनीतिक दाँवल 


केपी ओली २००८ फागुन ११ गते निम्नमध्यम वर्गीय परिवारमा तेह्रथुममा जन्मिए । उनीभन्दा एक वर्ष १२ दिन कान्छा माधव नेपालको जन्म रौतहटको गौरमा २००९ फागुन २३ मा भएको हो । मध्यमवर्गीय पण्डित परिवारमा जन्मिएका नेपालले प्रवेशिकासम्मको स्कुल शिक्षा सहज ढंगले स्थानीय जुद्धोदय हाइस्कुलबाट हासिल गरे । बाल्यकालमै आमा गुमाएका ओलीको परिवारचाहिँ झापा झर्‍यो । चारपानेस्थित रामनाथ दाहालको घरमा बसेर गरिबी र अभावसँग जुध्दै उनले प्रवेशिकासम्मको अध्ययन पूरा गरे । माक्र्सवादी चेतका दाहालसँगको संंगतबाट २०२३ सालमै माक्र्सवादी अध्ययन दलमा आबद्ध भई विद्यार्थी आन्दोलनमा होमिएका थिए केपी । 


२०२२ तिरैबाट माक्र्सवादी आन्दोलनमा झुकाव राख्ने नेपाल वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा आइकम अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिमा संगठित भए । स्थान फरक थियो । तर दुवै नेता एउटै समयतिर कम्युनिस्ट आन्दोलनमा होमिए । राजनीतिक गुरु रामनाथकै पहलकदमीमा ओलीले पूर्वी कोसी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला कमिटीबाट र नेपालले नेकपा पुष्पलाल समूहबाट २०२६ सालमा पार्टी सदस्यता लिए । नेपाल २०२८ मा नेकपा क्रान्तिकारी संगठन मोरङको सदस्य भए । २०३२ मा कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य हुँदै २०३२ मा दुई वर्ष राजकाज मुद्दामा कारावास जीवन व्यतित गरे । उनी २०३५ मा मालेको संस्थापक पोलिटब्युरो सदस्य बने । 


उता ओलीचाहिँ ०२८ सालमै वर्गशत्रु खत्तम आन्दोलन चलाएर ०३० साउनमा जेल परिसकेका थिए । भारतबाट फर्किने क्रममा वीरगन्जमा मुकुन्द न्यौपानेलाई भेटेर फर्किंदै गर्दा ओली र मोहनचन्द्र अधिकारी रौतहटबाट पक्राउ परे । 

 

विराटनगरमा पहिलो भेट 


२०२९ साल २१ फागुनमा इलामको सुखानीको जंगलमा रामनाथ दाहालसहित पाँचजना क्रान्तिकारीहरूको हत्या भएपछि झापामा कम्युनिस्ट आन्दोलन छिन्नभिन्न भयो । तत्कालीन सचिव ओली भूमिगत हुँदै विराटनगर आए । त्यतिवेला नेपाल मोरङ जिल्ला कमिटीमा आबद्ध भएर काम गरिरहेका थिए । उनी त्यहाँ नेपाल बैंकमा जागिरे पनि थिए । ‘उहाँहरूको पहिलो भेट विराटनगरमा भएको हो,’ दुवै नेतासँग त्यतिवेला भूमिगत काम गरेका एमाले नेता मुकुन्द न्यौपानेले भने, ‘मैले मोरङ जिल्ला कमिटी बनाएर केही साथीहरूलाई संगठित गरेँ, झापामा आन्दोलन छिन्नभिन्न भएपछि केपी राष्ट्रियस्तरमा आन्दोलन संगठित गर्ने उद्देश्यले मोहनचन्द्रलाई खोज्दै मोरङ आउनुभएको थियो, त्यसक्रममा दुवै नेताको भेट भयो ।’

केपी अडानमा स्पष्ट, माधव संगठक


ओली तीक्ष्ण क्षमताका तार्किक र आफ्ना कुरा स्पष्ट अडानसहित राख्ने वैचारिक नेताका रूपमा कहलिएका थिए । २०२९ मा त्यही क्षमताका कारण ओली आरके मैनालीपछि झापा जिल्ला कमिटीको दोस्रो सचिव बने । ‘संगठन निर्माणका सवालमा ओलीको तर्क–वितर्क आलोचनाबाट सबै प्रभावित थिए । त्यही कारण पनि सिपीले नै ओलीलाई सचिवमा अघि सारे, नरेश खरेललगायत सबैको समर्थनमा सचिव भए,’ आरके मैनाली सम्झिन्छन् । २०५४ सालमा पार्टी विभाजनताका ओलीले राखेको तर्क होस् या त्यसपछि तत्कालीन नेकपा माओवादी र राजतन्त्रलाई हेर्ने दृष्टिकोणदेखि नयाँ संविधान निर्माणका लागि नेतृत्वदायी भूमिका, नाकाबन्दीको सामना, पार्टीभित्र अन्तरविरोध चर्किंदा आफ्नै मान्यतामा अडिनेदेखि पछिल्लोपटक चुनावका लागि वाम गठबन्धन निर्माणसम्मका सवालमा मूलतः ओली आफ्नै अडानमा अडिने नेताका रूपमा परिचित छन् । 


३० सालमा जेल परेपछि ओलीले १४ वर्षसम्म कष्टसाध्य जेलजीवन व्यतित गरे । जेलभित्रै अध्ययनबाट आफूलाई धारिलो बनाए । नेपाल भने दुई वर्षमा जेलबाट छुटेपछि कोअर्डिनेसन केन्द्र र नेकपा मालेको संस्थापक बनेर संगठन निर्माणमा सक्रिय रहे । नेपाल सुरुदेखि नै पार्टीमा कुशल व्यवस्थापकका रूपमा चिनिए । वैचारिक द्वन्द्व हुँदा सकभर पार्टीलाई एकढिक्का बनाएर लैजाने पक्षमा नेपाल उभिन्थे ।

२०३७ सालसम्म नेपाल तत्कालीन माले महासचिव सिपी मैनालीसँग नजिक थिए । वैचारिक द्वन्द्व सुरु भएपछि सिपीसँग उनको दूरी बढ्यो । चौथो महाधिवेशनसँगै मालेभित्र वैचारिक बहस तीव्र बन्दै गयो । मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम अघि सारेर त्यसका पक्षमा पार्टीभित्र नेताहरूलाई ‘कन्भिन्स’ गर्ने प्रयास थाले । पाँचौँ महाधिवेशनसम्म पुग्दा झलनाथ खनाल सुधारिएको नौलो जनवादको पक्षमा उभिए । त्यसवेला नेपाल र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित भने खनालले अघि सारेका कतिपय कुरा पनि समेटेर अघि बढ्नुपर्ने, पार्टीलाई एक ढिक्का बनाउनुपर्ने ‘मध्यमार्गी’ धारमा उभिँदै एकताका निम्ति प्रयत्न गरे । तर, खनाल ‘कन्भिन्स’ नभएपछि अन्तिमतिर नेपाल पनि जबजकै पक्षमा उभिए । पार्टीभित्र मात्रै होइन, नेपालको समन्वयकारी र व्यवस्थापकीय क्षमताबारे नेपाली राजनीतिमा सधैँ चर्चा हुने गरे पनि पार्टी विभाजनपछि भने नेपालको त्यस्तो व्यक्तित्वमाथि एमालेपंक्तिले प्रश्न उठाउँदै आएको छ । संस्थापक नेताको हैसियतमा मात्र होइन, सन्तुलनकारी र समन्वयकारी नेताका रूपमा विभाजन रोक्न नसकेको नेपालमाथि आरोप छ ।

मदन भण्डारीपछि एमालेको राजनीति 


२०४६ सालको जनआन्दोलनको सफलतापछिको खुला परिवेशमा महासचिव मदन भण्डारी खुलामञ्चको सभाबाट सार्वजनिक भए । उनको पहिलो सार्वजनिक मन्तव्यले राजतन्त्रलाई खुला चुनौती दिएपछि उनको व्यक्तित्व राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चुलियो । ओली र नेपाल दुवैले भण्डारीलाई जनताको बहुदलीय जनवादको कार्यक्रम निर्माणमा सघाउ पुर्‍याए । भण्डारीको निधनपछि आपसी सहमतिमै दुवै नेताले एउटै सवारीमा यात्रा गरेनन् । 

 

नेपाल कोअर्डिनेसन केन्द्र र मालेको संस्थापक नेता थिए । तत्कालीन महासचिव सिपी मैनाली हुँदै तीन सदस्यीय पोलिटब्युरोमा उनी दोस्रो वरीयतामा थिए । जीवराज आश्रित त्यसपछिको वरीयतामा थिए । २०३९ मा सिपीलाई कारबाही गरिएपछि झलनाथ खनाल महासचिव बने । त्यसपछिको तीन सदस्यीय पोलिटब्युरोमा पनि नेपाल दोस्रो वरीयतामै रहे । खनाल हटेपछि चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव बने । पाँचौँसम्म तत्कालीन निवर्तमान महासचिव खनाल दोस्रो वरीयातामा भए पनि भूमिकामा नेपाल नै दोस्रो वरीयताकै नेताजस्ता थिए । 


२०४४ सालमा जेलबाट छुटेपछि ओली केन्द्रीय कमिटीमा मनोनीत भए । २०४९ सालको पाँचौँ महाधिवेशनका क्रममा जबज निर्माणमा सघाउ पुर्‍याएका ओली महाधिवेशनपछि स्थायी समितिमा चुनिए । जबज निर्माणमा महत्वपूर्ण भूमिकाका कारण छोटो समयमै ओलीले पार्टीभित्र नेपालकै हाराहारीमा आफ्नो ‘स्पेस’ निर्माण गरे । मदनको निधनपछि नेपाल महासचिव बने, पार्टीमा ओलीको पनि प्रभाव बढ्दै गयो । सिपी र झलनाथ जबजविरोधी धारमा उभिएका कारण ओली एमालेभित्र क्रमशः नेपालपछिको दोस्रो प्रभावशाली नेता बन्दै गए । 

नेपाल महासचिव बन्दा ओली बनेनन् सचिव 


चितवनको दासढुंगामा रहस्यमयी जिप दुर्घटनामा जननेता मदन भण्डारीको निधनपछि पार्टी महासचिव कसलाई बनाउनेबारे धेरै छलफलै हुन पाएन । संकटका वेला बसेको बैठकमा धेरैले नेपाललाई कार्यबाहक महासचिव बनाएर जानुपर्छ भन्ने मत राखे । नेपाललाई चाहिँ त्यो कुरा मन परेको थिएन । कुनामा बसेका केशव बडालले फ्याट्ट भनिहाले, किन कार्यबाहक बनाउने ? संकटका वेला फुलफ्लेज्ड महासचिव भनेर जानुपर्छ । त्यसपछि त्यही निर्णय भयो । 


नेपाललाई महासचिव बनाएपछि ओलीलाई सचिव बनाएर जानुपर्छ भन्ने मत पनि एमालेमा देखा नपरेको होइन । तर, त्यसलाई ओलीले नै महत्व नदिएको उनीनिकट नेताहरू सम्झना गर्छन् । नेपाललाई महासचिव बनाउनुपर्ने प्रस्ताव ओलीले पनि गरेका थिए त्यतिवेला । यसमा नेताहरूबीच मतभेद नै भएन ।२०५१ सालको मध्यावधि निर्वाचनमा एमाले पहिलो पार्टी बनेपछि तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन भयो । त्यो सरकारमा नेपाल दोस्रो वरीयतामा उपप्रधानमन्त्री, रक्षा तथा परराष्ट्रमन्त्री बने भने ओली तेस्रो वरीयताको गृहमन्त्री ।

माधवलाई केपीको निरन्तर साथ 


नौमहिने नेतृत्वको सरकारमा अध्यक्ष, महासचिवसहित प्रभावशाली नेताहरू सरकारमा सहभागी भएकाले विधानमै व्यवस्था नभएको उपमहासचिव पद खडा गरेर पार्टी सञ्चालनको जिम्मेवारी वामदेव गौतमलाई दिइयो । खासमा गौतम पनि सरकारमा सहभागी हुन इच्छुक थिए । हक्की स्वभावका गौतमले पार्टीलाई आफ्नै तरिकाले चलाउने प्रयास गर्दा सरकार र पार्टीबीचको समन्वय अभावले अन्तरविरोध चुलियो ।

 

नौमहिने सरकार ढलेपछि नेपाल पूर्ववत् महासचिवको जिम्मेवारीमा फर्किए भने ओलीकै जोडमा गौतमलाई हटाएर उपमहासचिव पद खारेज गरियो । त्यसबाट अपमानित महसुस गरेका गौतमले नेता झलनाथ खनाललाई अघि सारेर २०५३ फागुनमा तत्कालीन महासचिव माधव नेपाललाई हटाउन हस्ताक्षर अभियान सञ्चालन गरे । केन्द्रीय सदस्यको बहुमत संख्यासमेत पुगिसकेको त्यो संकटपूर्ण स्थितिमा ओलीचाहिँ नेपाललाई हटाउन नहुने पक्षमा दृढतापूर्वक उभिए ।

 

गौतम–खनालको योजना असफल भयो । दोस्रोपटक आफ्नै गुटका नेताहरूले नेपाललाई महासचिवबाट हटाएर झलनाथलाई बनाउन खोज्दा पनि ओली नेपालको पक्षमा उभिए । माघ १९, २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले निरंकुश शासन सुरु गरेपछि नेपाल तीन महिनासम्म घरमै नजरबन्दमा परे, पछि उनलाई ककनी हिरासतमा राखियो । ओलीलाई भने निवासमा तीन दिनको नजरबन्दपछि मुक्त गरियो । त्यतिवेला ओलीनिकट नेताहरू शंकर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाललगायत नेता नेपाललाई हटाएर खनाललाई महासचिव बनाउनुपर्ने प्रस्ताव लिएर ओली निवास पुगे । तर, ओलीले राजाले नेतृत्वलाई यसरी जेलमा राखेका वेला परिवर्तन गर्दा गलत सन्देश जाने र कार्यकर्ताको मनोबल गिर्ने ‘सुझबुझपूर्ण’ अडान राखे । 


त्यस्तै, २०६७ मा तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार हटिसकेपछि प्रधानमन्त्री बनाउन र सरकारलाई बचाउन अन्तिम घडीसम्म दृढतापूर्वक उभिएर ओलीले नेपाललाई साथ दिए । 

माधवले यसरी फर्काए केपीको गुन 


संकटमा निरन्तर साथ दिएका कारण २०५९ मा जनकपुरमा सम्पन्न सातौँ महाधिवेशनमै आफू अध्यक्ष बनेर ओलीलाई महासचिव बनाई नेतृत्वमा स्थापित गर्न चाहेको तर त्यो उनकै कारण सम्भव नभएको नेपालले निकटस्थहरूलाई बताउँदै आएका छन् । ईश्वर पोखरेल, प्रदीप नेपाल, अमृत बोहरा, भरतमोहन अधिकारी, झलनाथ खनाललगायत नेताहरूको समूह महाधिवेशनतिर प्रभावी बन्दा नेपालले त्यस्तो प्रस्ताव अगाडि लैजानै सकेनन्, न त उनले पहिलेका गुन तिर्न ओलीलाई प्रमुख नेताका रूपमा अगाडि सार्न सके ।

 

आठौँ महाधिवेशनमा पनि नेपाल अन्तिमसम्म आफैँ अध्यक्ष बन्ने तयारीमा लागे । नेपालको साथ नपाउँदा ओली बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा खनालसँग अध्यक्षमा पराजित भए । तर, सातौँ महाधिवेशनपछि ओली पार्टीको आन्तरिक काममा सक्रिय नभएर नेतृत्वलाई अप्ठ्यारोमा पार्ने गरी गुटबन्दीमै सक्रिय रहेकाले ओलीलाई समर्थन गर्न नसकिएको नेपालले बताउने गरेका छन् । 

अप्ठ्यारो पर्दा परामर्शका लागि दुवै नेता एक–अर्कालाई भेट्न वेलाबखत निवासमा ओहोर–दोहोर गरिरहन्छन्, यति मात्रै होइन, सँगै बसेर ‘बर्थ डे’समेत मनाउँछन् । दुई नेताको सम्बन्ध घाम–पानीजस्तो छ । यस्तै घामपानी सम्बन्धले दुई नेताबीच जुनसुकै वेला पुनर्मिलन हुने सम्भावना रहेको चर्चा गर्ने गरिन्छ । 


संकटमा धेरैपटक साथ दिएका ओलीलाई नेपालले एकपटक भने आफूपछि नेतृत्वमा स्थापित हुने गरी भूमिकामा ल्याए । ०५९ असोज १८ को शाही कदम र पछिल्लो १९ माघको निरंकुश कदमको विरोधमा ओली सडक आन्दोलनमा थिएनन् । तर, जनआन्दोलनको सफलतापछि बनेको तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पार्टीका तर्फबाट नेतृत्व गराएर पठाउन वैशाख १५, २०६३ मा स्थायी समिति बैठकमा अधिकांशको विरोधका बाबजुद ओलीलाई नेपालले साथ दिए । अन्ततः ओली उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा नियुक्त भए । 

एक–अर्काप्रति गुनासैगुनासा 


एमालेमा नेता भनेकै ओली र नेपाल नै हुन् र दुवै मिल्नेबित्तिक्कै पार्टीले ठुल्ठूला उपलब्धि हासिल गर्छ भन्ने दुवै पार्टीभित्र विशाल पंक्ति छ । नेतृत्व सम्हालेदेखि नै ओलीले पार्टीमा गुटबन्दी गरेर जहिल्यै किचलो निकालेकाले उनलाई चाहेर पनि नेतृत्वमा स्थापित गर्न नसकेको नेपालले आफूनिकटसँग गुनासो गर्ने गरेका छन् । सातौँ महाधिवेशनमा आफू अध्यक्ष बनेर ओलीलाई महासचिव बनाई अध्यक्षमा स्थापित गर्ने प्रयास पनि अन्ततः ओलीले गुटबन्दी गरेकै कारण असफल भएको नेपालले बताउने गरेका छन् । 


उता, ओली भने नेतृत्व सम्हालेदेखि नै आफूले संकटका वेला जहिले पनि साथ दिए पनि नेपालले जहिल्यै धोका मात्रै दिने गरेको गुनासो गर्ने गर्छन् । नेपालमा सधैँभरि पदलोलुपता बढी देखिएको आफूपछिको वैकल्पिक नेतृत्वको विकास नगरेको, जहिले पनि अरूलाई लडाएर आफू भूमिकामा जान खोज्ने प्रवृत्ति देखिएको भन्दै ओलीले आफूनिकटसँग बताउने गर्छन् । तत्कालीन नेकपाभित्र प्रचण्डलाई उकास्ने, षड्यन्त्र गर्नेजस्ता नेपालको गतिविधि पदलोलुप चरित्रकै उपज भएको ओलीको भनाइ छ । नेपालको पदलोलुप, संकीर्ण चिन्तनकै कारण पार्टी विभाजन भएको ओलीको निष्कर्ष छ । 

स्वभाव–शैलीमा ठूलो भिन्नता


केपी र माधवको स्वभाव र शैलीमा धेरै भिन्नता छ । ओली समयको कहिल्यै चिन्ता गर्दैनन्, समयसँग चल्ने भन्दा पनि समयलाई नै चलाउन खोज्ने उनको स्वभाव छ, जबकि नेपाल समयअनुसार आफूलाई चलाउने प्रयत्न गर्छन् । कुनै एउटा कार्यक्रममा कम्तीमा एक घन्टा ढिलो सहभागी हुने, एउटै व्यक्तिसँग घन्टौँ बिताउने ओलीको ‘बिन्दास’ शैली छ ।

बालबालिकासँग खेल्न थाल्दा समय बितेको ओली पत्तै पाउँदैनन् । ओली आफ्ना वैचारिक मान्यता र अडानमा अरूलाई सकेसम्म ‘कन्भिन्स’ गर्न सक्ने क्षमता राख्छन् । तर, नेपाल कुनै पनि कार्यक्रममा सकभर दुई–चार मिनेटअघि नै पुग्ने गर्छन् । राजनीतिक दौडधुप र भेटघाटमा सक्रिय हुन मनपराउने नेपाल एकै दिन दर्जनसम्मका कार्यक्रम र भेटघाट भ्याउँछन् । कार्यकर्ताको ख्याल गर्ने, कार्यकर्तासँग जोडिएका साना–साना अनौपचारिक कार्यक्रममा पुग्ने, फोन आफैँ ‘रिसिभ’ गर्ने अनुशासित दैनिकीमा चल्ने नेपालको शैली र स्वभाव छ । तर, ओली हाँसो ठट्टा, व्यंग्यवाणमा माहिर छन् । मन्तव्यमा व्यक्त गर्ने उनका नयाँ–नयाँ उपमा र बिम्बले नेपाली भाषाको व्याकरणको श्रीवृद्धि गरेको भन्नेहरूको कमी छैन । एमालेका थुप्रै नेता–कार्यकर्ताले ओलीको ‘बिन्दास शैली’बाट हैरानी व्यहोरेका छन् ।  

घाम–पानीजस्तो सम्बन्ध 


‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन’ यो उक्ति ओली–नेपालको लामो सम्बन्धमा शतप्रतिशत लागू भएको छ । २०५४ सालपछि उतारचढावपूर्ण सम्बन्धमा जेलिएका यी दुई नेता नवौँ महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धामा होमिए । ५५ मतान्तरमा ओलीले अध्यक्षमा बाजी मारे । ओलीको नेतृत्वपछि यी दुईबीच धेरैपटक सार्वजनिक रूपमा मात्रै होइन, बैठक र टेलिफोनमा समेत भनाभन भयो । दुवैले सयौँपटक कटु आलोचना पनि गरेका छन् । नवौँ महाधिवेशनपछि नै नेपाललाई वरीयतामा सम्मान दिनेदेखि पोलिटब्युरो गठन, कार्यविभाजनलगायत आन्तरिक विषयमा मात्रै होइन, संविधान निर्माणदेखि सरकार गठनसम्मका राष्ट्रिय मुद्दामा मिलेर सकारात्मक सन्देश पनि प्रवाह गरेका छन् । ऐतिहासिक १२बुँदे समझदारीमा नेपालले ओलीलाई छुटाएनन् मात्रै, साथमै लिएर मस्यौदाकार बनाए । 


अप्ठ्यारो पर्दा परामर्शका लागि दुवै नेता एक–अर्कालाई भेट्न वेलाबखत निवासमा ओहोर–दोहोर गरिरहन्छन्, यति मात्रै होइन, सँगै बसेर ‘बर्थ डे’समेत मनाउँछन् । दुई नेताको सम्बन्ध घाम–पानीजस्तो छ । यस्तै घामपानी सम्बन्धले दुई नेताबीच जुनसुकै वेला पुनर्मिलन हुने सम्भावना रहेको चर्चा गर्ने गरिन्छ ।