• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अभय श्रेष्ठ
२०७९ असोज १ शनिबार ०६:५२:००
फिल्म

ऐनाझ्यालमा ठोक्किएर मर्ने पुतली

२०७९ असोज १ शनिबार ०६:५२:००
अभय श्रेष्ठ

सुजित बिडारीको फिल्म ‘ऐना झ्यालको पुतली’ले ग्रामीण परिवेश र गरिबीमा हुर्केका हरेक व्यक्तिलाई आफ्नै निकट बाल्यकालसँग एकपल्ट फेरि साक्षात्कार गराउँछ । दृश्यभाषा कति हार्दिक छ भने त्यसका पात्रहरूमा दर्शकले आफँैलाई पाउँछन् । यस दृष्टिले यो फिल्म क्यामेराले लेखेको सुन्दर कविता हो भन्दा फरक पर्दैन ।


रेडियोबाट प्रसार हुने समाचारमार्फत यो कथा पचास दशकको अन्त्य र साठी दशकको सुरुवातको हो भन्ने सजिलै अनुमान गर्न सकिन्छ । निर्देशक बिडारी स्वयंले यसमा उनकै बाल्यकाल र आफ्नै परिवारका कथा भएको स्विकारेका छन् । फिल्मको सबैभन्दा ठूलो शक्ति भनेकै गरिबीले गाँजेकी प्रतिभाशाली छात्रा विद्या अधिकारी र उसको चञ्चल स्वभावको भाइ वसन्तमार्फत नेपाली समाजको आर्थिक स्थिति, पहाडी क्षेत्रका विद्यार्थीको जीवनशैली र बाल मनोविज्ञानको कथा भन्नु हो । निर्देशक त्यसलाई आम नेपाली जनजीवनको कथा बनाउन सफल छन् ।


पात्र र समानुभूति
मैले आफ्नै लामो कथा ‘अ.त.को सत्याग्रह’मा पञ्चायतकालीन अन्तिम समयको स्कुल जीवनको कथा लेखेको छु । ‘अ.त.’ (अराष्ट्रिय तत्व) भन्ने केही थाहा नपाएका, गान्धी र सुकरातको जीवनबाट प्रभावित असल पात्रहरू ‘अ.त.’को आरोपमा अनेक विपत्ति झेल्न बाध्य हुन्छन् । फिल्मले भने कतै पनि राजनीतिसँग सम्बन्ध राख्दैन । हाम्रो बाल्यकालमा वर्षको तीन महिनाभन्दा बढी चंगा उडाउने, चंगा लडाउन अर्को गाउँ जाने र चेट भएको चंगा छोप्न गरिने संघर्षका अनेक कथा थिए ।

 

चंगा छोप्ने बालबालिकाले पसाएको धानखेत धुस्नो पार्ने, लडन्त–भिडन्त हुने, खेतधनीले बालकहरूलाई सजाय दिनेजस्ता अनेक प्रसंग हुन्थे । सुजितको फिल्ममा चंगाको प्रसंग कतै आउँदैन । मनोरञ्जनको अन्य माध्यम खासै नहुने युगमा संखुवासभाजस्तो पहाडी जीवनमा चंगा उडाउने चलन थिएन होला ? सुजित यसलाई विशुद्ध बालफिल्म बनाउन प्रेरित भएझैँ लाग्छ । यसमा बालबालिकाले बालसाहित्यमा जस्तै अत्यन्त नियन्त्रित र ‘सभ्य’ भाषा मात्र बोल्छन् । जीवनको यथार्थ त्यस्तो मात्र हुन्छ र ? बालबालिका र किशोरहरूमा प्रेमको भावनै नआउने हो र ? सुजितले त्यसलाई पनि लगभग नियन्त्रित नै राखेका छन् । खासमा प्रेमको भावनाले सबैभन्दा बढी लखेट्ने उमेर नै त्यही हो । प्रेमपत्रको आदानप्रदान त त्यसै उमेरमा बढी हुन्छन् ।


मिलनजस्ता हुल्याहा र मिचाहा पात्र हरेकजसो समाजमा हुन्छन् । तिनीहरूसँग समाजका असल पात्रहरूको संघर्ष र द्वन्द्व सदैव चलिरहन्छ । पञ्चायतकालको अन्त्यतिर भक्तपुरको दधिकोट, तर्खगालस्थित बालचेतन प्राविमा पढ्दा स्कुल छुटेपछि हामीबीच यस्तो सामूहिक लडाइँ खुबै चल्थ्यो । फिल्ममा मिलनको समूहले जस्तो एकोहोरो पेलेको पेल्यै कसैले गर्न सक्दैनथ्यो । जसको शक्ति पुग्यो, त्यसले अर्को समूहलाई ठटाउने र खेद्ने प्रवृत्ति खुबै हुन्थ्यो । एकले अर्काको बाबुको नाम काढ्ने र ‘राष्ट्रिय’ भाषा बोलेर अर्कालाई बदनाम गर्ने चलन त सामान्य हुन्थ्यो ।

 

स्कुलमा सँगै तिलौरा र पुस्टकारी किनेको साथी पनि स्कुल छुटेपछि टोल–टोलको समूहबीच आपसमा ढुंगा हानाहान गर्थेे । सुजितका पात्रहरू भने लगभग संघर्ष तत्व नभएझैँ शान्त प्रकृतिका देखिन्छन् । ती गुलेलीसम्म त हान्छन्, तर गुच्चा वा खोपी खेल्दैनन्, टालोको भकुन्डो खेल्दैनन् । केटा र केटी नै सरोवर भएर कपर्दी खेल्दैनन्, पौडी खेल्न मुहान पुग्दैनन् । यस्तो लाग्छ, खोलामा पौडी खेल्ने काम हुल्याहा केटाहरूको मात्र हो, जबकि ग्रामीण क्षेत्रमा धेरैजसो केटीहरूसमेत पौडी खेल्नमा पारंगत हुन्छन् । हाम्रो जमानामा यी कुरा सामान्य थिए । 


हाम्रो जमानामा विद्यार्थीलाई दूधपिठो खाजा खुवाउने चलन थियो । त्यसमा पियन र हेडमास्टरले गर्ने भ्रष्टारका बेग्लै कथा थिए । महिनाको दुई रुपैयाँ तिर्न नसक्ने विद्यार्थीलाई शिक्षकहरू दूधपिठो खाने वेला रुवाउँदै निकाल्थे । स्कुलमा विद्यार्थी भोजे सुकुलमा बसेर पढ्थे । एकजना क्रूर शिक्षक थिए, जो खुट्टा पसारेर बस्ने विद्यार्थीलाई छालाको बुट लगाएको खुट्टाले निर्ममतापूर्वक लात बजार्थे । प्रतिक्रियामा स्कुल छुटेपछि हामी उनलाई घरेलु घरको छेको लागी ढुंगाले हानेर बदला लिन्थ्यौँ । यसको अर्थ हो, सुषुप्त अवस्थामै किन नहोस्, हरेक व्यक्तिमा संघर्ष तत्व हुन्छ ।


प्रेम र संघर्ष
फिल्ममा दिदी र भाइबीच प्रेम र संघर्षको कथालाई निर्देशकले अत्यन्त मिहिन तरिकाले बुनेका छन् । ती एकले अर्कालाई सताउँछन्, हैरान पार्छन् र उत्तिकै माया पनि गर्छन् । होनाहार कवि विद्याको माध्यमबाट उनले नयाँ कविको मनोविज्ञानलाई दुरुस्तै उतारेका छन् । हरेक कविलाई नछापिएको आफ्नो कविता उत्कृष्ट र छापिएका अरू सबैका कविता रद्दी लाग्छन् । ‘मुना’ बालपत्रिकामा आफ्नो कविता नछापिएको पाउँदा विद्या भन्छे, ‘त्यहाँ छापिएका गुहु कविताभन्दा मेरो कविता कति–कति राम्रो थियो !’

विद्याको भूमिकामा कञ्चन चिमोरिया, वसन्तको भूमिकामा दिनेश खत्री, बांगेको भूमिकामा उत्तम श्रेष्ठ र मिलनको भूमिकामा क्षितिज लिम्बूले त्यसस्तरको जीवन्त अभिनय गरेका छन्, जुन व्यावसायिक कलाकारबाट अपेक्षा गर्न सकिँदैन


झगडा गरेर घुर्की देखाउँदै घर छाडेर हिँड्ने वसन्त र राति उसलाई खोज्दै हिँड्ने दिदीको प्रसंगले धेरैको हृदय छुन्छ । रातदिन बाउको कुटाइ खाँदा हैरान भएर काठमाडौंमा गलैँचा बुन्न जाने बांगेको कथा, बांगे र वसन्तको प्रेम र घृणाको सम्बन्धलाई पनि निर्देशकले सुन्दर तरिकाले खिपेका छन् । राति नै घर छाडेर जंगलमा डरले काम्दै बसेको वसन्तलाई दिदी भन्छे, ‘बा सधैँ रक्सी खाएर हिँड्छन् । तँ पनि हिँडिस् भने कसले घर हेर्छ ?’ अर्को प्रसंगमा भागेर काठमाडौं जान प्रेरित गरिरहने बांगेसँग वसन्त भन्छ, ‘हाम्रो बा सधैँ रक्सी मात्र खाएर बस्छन् । म पनि हिँडे पनि घरमा को हुन्छ भन् त ?’ यी दुवै प्रसंगले पितृसत्ताले बालककालमै पुरुषमाथि लाद्ने जिम्मेवारीबोधको मनोविज्ञानलाई राम्ररी प्रकट गर्छन् । परीक्षामा प्रथम हुने नवराज भट्टराईले विद्यालाई कविता प्रतियोगितामा भाग लिन आह्वान गर्दै लेखेको चिठी र त्यसले विद्यामा पारेको मनोविज्ञानलाई उज्यालो रंगमा फूलहरू फक्रेको दृश्यमार्फत निर्देशकले अर्थपूर्ण तरिकाले प्रकट गरेका छन् ।

 

प्रतियोगितामा बुझाउन भनी दिदीले दिएको कविता उत्ताउलो भाइ वसन्त बाँसझ्याङमा फालेर हिँडिदिन्छ । पैसाको अभावमा हर्नामाढी गएर पढ्न नपाएकी दिदीको कविताप्रति असीम मोह देखेपछि उसमा उत्साह भर्न भाइले नै भूमिका खेल्छ । ‘मुना’ बालपत्रिकामा कविता छपाउन, कविता छापिएको पत्रिका दिदीलाई देखाउन उसले गरेको संघर्षले दर्शकलाई भित्रैसम्म हल्लाउँछ । ‘मुना’मा छापिएको दिदीको कविता रेडियोले वाचन गरेको सुनाउन पाउँदा भाइको मुहारमा फैलिएको आभा उत्तिकै आकर्षक लाग्छ । भाइ वसन्त जब शत्रुहरूसँग लडेर, कुटाइ खाएर पनि दिदीको कविता छापिएको ‘मुना’ लिएर आउँछ, त्यति नै खेर बजार गएर माथिल्लो कक्षा पढ्ने र कविता लेख्ने दिदीको सपनामाथि आगो लागिसकेको हुन्छ । अर्थात्, त्यसै दिन कलिलो उमेरमै उसको बिहे हुन्छ ।


नवयथार्थवादी शैली
निर्देशक सुजितले आफू इटालियन फिल्मको नवयथार्थवादी शैलीबाट प्रभावित भएको बताएका छन् । नयाँ घटनाबाट सिर्जित नयाँ यथार्थलाई जस्ताको तस्तै चित्रण गरी इटलीका निर्देशकहरूले सिनेमामा नवयथार्थवादी आन्दोलन सुरु गरेका थिए । दोस्रो विश्वयुद्ध र मुसोलिनीको शासनपछि इटलीमा जर्जर जनजीवन, आर्थिक दूरावस्था र तिनको दुःख, दर्दमा केन्द्रित भएर बन्ने यस्ता फिल्ममा निर्देशकहरू कृत्रिम सेट प्रयोग नगरी कथाको खास घटनास्थललाई नै रोज्थे ।

व्यावसायिक कलाकारभन्दा कथालाई सुहाउँदा स्थानीय सर्वसाधारणलाई नै अभिनय गर्न लगाउँथे । सुजितको फिल्ममा पनि आमाको भूमिका खेल्ने सिरु विष्ट र आमाको पिताको भूमिका खेल्ने कलाकारबाहेक सबै घटनास्थलकै बालबालिकालाई कलाकारका रूपमा प्रस्तुत गरिएको छ । यो सानो चुनौती होइन । त्यसका लागि कास्टिङ निर्देशक केदार श्रेष्ठ र आकाश मगरको मिहिनेतको प्रशंसा जति गरे पनि कम हुन्छ । विद्याको भूमिकामा कञ्चन चिमोरिया, वसन्तको भूमिकामा दिनेश खत्री, बांगेको भूमिकामा उत्तम श्रेष्ठ र मिलनको भूमिकामा क्षितिज लिम्बूले त्यस स्तरको जीवन्त अभिनय गरेका छन्, जुन व्यावसायिक कलाकारबाट अपेक्षा गर्न सकिँदैन ।


आत्महन्ता पुतली    
फिल्मको प्रस्तावना गीतमा पुतलीले मुक्ति खोजिरहेको आवाज गुन्जिन्छ । सुरुवातमै दिदीभाइले प्लास्टिकको बोतलबाट पुतलीलाई आकाशमा उडाएको दृश्य देखाइन्छ । तर, यी दुवै कुरासँग कथाको मूल भावना जोडिँदैन । छोरी मान्छेलाई मुक्ति खोजिरहेको पुतलीका रूपमा चित्रण गर्नु नै गलत छ । पुतलीहरू मुक्ति खोज्दैनन्, बत्तीको मोहमा फसेर आत्महत्या गर्छन् । शीर्षक सुनेरै आँखाअगाडि चित्रहरू घुम्न थाल्छन् । पुतलीहरू सामान्यतया साँझबत्ती बलेपछि आउँछन् । बत्तीको सौन्दर्यमा ती कति मोहित हुन्छन् भने त्यसमै होमिएर तिनले ज्यान फाल्छन् ।

 

बत्ती निभेपछि जो–जो बाँकी बच्छन्, ती बाहिर जान त खोज्छन् तर खुलेको झ्यालबाट बाहिर निस्कनुभन्दा ऐनाको झ्यालमा ठोक्किएरै मर्छन् ।भर्खरै बितेका फ्रान्सेली न्यु वेभ सिनेमाका पिता जँ ल्युक गोदा भन्छन्, ‘कथा तपाईं कहाँबाट लिनुहुन्छ भन्ने महत्वपूर्ण होइन, त्यसलाई कता पुर्‍याउनुहुन्छ भन्ने धेरै महत्वपूर्ण कुरा हो ।’ निर्देशक बिडारी कथालाई कतै पुर्‍याउने जोखिम मोल्दैनन् । उनी कला–साहित्यले विचार दिने होइन, समस्या देखाउने हो भन्ने धारणाले कतिसम्म प्रेरित छन् भने यो यथार्थवादी होइन, गुरुप्रसाद मैनालीको ब्राह्मण आदर्श बोक्ने ‘प्रायश्चित’ कथाजस्तै यथास्थितिवादी फिल्म बन्न पुगेको छ ।

 

माध्यमिक कक्षा पढ्न हर्नामाढी जाने इच्छा पूरा गर्न दोस्रो भएर पनि आफू परीक्षामा प्रथम भएको कथा बनाइरहन सक्ने विद्या अधिकारी आमाको पैसा चोरी भएपछि पढ्न जान पाउँदिन । उसकी आमाले अर्को वर्ष पढ्न पठाउने वाचा गर्छिन् । तर, यसैबीच अकस्मात् उसको बिहे हुन्छ । रजश्वला भइसकेपछि छोरीमान्छेले लोग्नेको घर जाने र सन्तान जन्माएर वंश धान्ने काम गर्नुपर्छ भन्ने सामाजिक मनोविज्ञानको सिकार हुन्छे । 


तामाङकी छोरी सानदार कोठा लिएर बजारमा पढ्न बस्ने र ब्राह्मणकी छोरी पैसाको अभावमा पढ्नबाट वञ्चित हुने अपवादको कथालाई सामान्यीकरण गर्ने गल्ती त भएकै छ । त्यसभन्दा बढी विद्रोही स्वभावकी विद्या आफूमाथि यति अत्याचार हुन लाग्दा किन भाग्दिन वा भाग्ने कोसिस गर्दिन ? परिवर्तनको सामान्य चेतसमेत उसमा किन देखिँदैन ? भाग्ने कोसिस गर्दा समातिएर जबर्जस्ती बिहे गरी पठाइएको भए मात्र पनि फिल्म परिपक्व हुन सक्थ्यो । यसले ‘छोरीको जन्म, हारेको कर्म’ भन्ने भाष्यलाई नै स्थापित गरेको छ । खासमा कलाले उन्नत तरिकाले भन्नु मात्र पर्याप्त हुँदैन, उन्नत कुरा भन्नु पनि उत्तिकै जरुरी हुन्छ । खराब कुरालाई उन्नत तरिकाले भन्नु झन् खतरनाक हुन्छ । सारा कलाकार र बुद्धिजीवीहरूबाट थामिनसक्नु धाप पाइरहेका निर्देशकको ध्यान यतातिर कहिले पुग्छ ?