• वि.सं २०७९ असोज १३ बिहीबार
  • Thursday, 29 September, 2022
दीपा मेवाहाङ राई
२०७९ असोज १ शनिबार ०७:०५:००
सम्झना

 कोरियाको सडकमा एक दिन : परदेशीको आधा जिन्दगी त अलार्म सेट गर्दैमा बित्ने रहेछ

२०७९ असोज १ शनिबार ०७:०५:००
दीपा मेवाहाङ राई

‘आन्यङ्हासेयो, खेबोङ यक जाने ?’ मैले चालकलाई सोधेँ । 


‘जाने । बस्नुस् न,’ चालकले शान्त भावमा उत्तर दियो । 


मैले ट्याक्सीको पछाडिको ढोका खोलेँ र सिटमा बसेँ । 


चालकले पहिले मिटर सेट गर्‍यो । त्यसपछि ट्याक्सीको एक्सिलेटर बढायो । बिस्तारै ट्याक्सीले स्पिड लियो ।
ब्यागबाट एयरफोन झिकेँ र कानमा कोच्दै अभया सुब्बाको गीत सुन्न थालेँ । 


‘तपाईंको घर भियतनामको कुन गाउँमा हो ?’ मधुरो गीतसँगै चालकको चर्को प्रश्न तेर्सियो । फुल भोल्युम भएकाले चालकको स्वर नेपथ्यमा बजेको आवाजजस्तै सुनियो । 


‘हजुर !’ अप्रासांगिक प्रश्न सोधेको होलाजस्तो लागेर यतिमात्र भनेँ ।


‘भियतनामको कुन गाउँमा हो घर ?’ उसले पुनः दोहोर्‍यायो । हाम्रो संवाद कोरियन भाषामा हुँदै थियो । ‘म भियतनामको होइन । मेरो घर त नेपाल हो ।’ अब भने मैले मोबाइलको भोल्युम अलिकति कम गरेँ र चालकलाई उत्तर दिएँ ।


‘ए, ए ! नेपाल ! त्यसो भए एभरेस्ट चढेका छौ ?’ पुनः प्रश्न मैतिर तेर्सियो । 


‘अहँ, अहिलेसम्म चढेको छैन ।’ सगरमाथाको सग्लो तस्बिर मेरो आँखाअघि उभियो । उनीहरूका लागि नेपाल भन्नेबित्तिकै एभरेस्ट र नेपाली भन्नेबित्तिकै सगरमाथा आरोही भन्ने लाग्दोरहेछ । प्रायः कोरियनसँग कुराकानी हुँदा सगरमाथाको सन्दर्भ निकालिहाल्छन् । तिनीहरूलाई के थाहा, हामी नेपालीकै लागि पनि कहाँ सजिलो छ र सगरमाथा चढ्न ! कोरियाको सोयोयाङ र सरकसान चढेजस्तो सजिलो पनि त होइन । त्यसमाथि जिन्दगीकै सगरमाथा यति अग्लो भइदिएको छ कि त्यसलाई छिचोल्न कि परदेश लाग्नुपरेको छ, कि आत्मसमर्पण गर्नुपरेको छ ।म कल्पनाको घोडा चढेर एकपटकलाई नेपाल अवतरित भएँ । डाँडाकाँडा, पहाडपर्वत, चियाबारी सम्झँदै थिएँ । पुनः प्रश्न तेर्सियो । 


‘के–कति कामले हिँडेको ?’ 


‘साथीभाई भेट्न ।’


म आबद्ध संस्थाले आयोजना गरेको छलफलमा भाग लिन जाँदै थिएँ । अरू वेला बिहानको ७ बजे बज्ने अलार्म अघिल्लो साँझ नै अफ गरेकी थिएँ । 


‘परदेशीको आधा जिन्दगी त अलार्म सेट गर्दैमा बित्ने रहेछ ।’ अलार्म बन्द गर्ने बखत मेरो मस्तिष्कमा ठ्याक्कै यही कुरा आएको थियो । भोलिपल्ट ११ बजेको समय तय भएकाले बिहान अबेलासम्म निदाउने लोभले अलार्म बन्द गरेकी थिएँ । बिउँझिँदा १०ः३० पो भइसकेकोरहेछ । मोबाइल ओछ्यानको कुनामा फालेर हतारहतार बाथरुम छिरेँ । जम्माजम्मी १० मिनेटमा तयार भएर म बस स्टेसनतिर हुत्तिएकी थिएँ । 


‘कति भयो कोरिया आएको ?’ 


‘पाँच वर्ष ।’


‘कोरियन भाषा त राम्रो आउँदोरहेछ नि ?’


‘यसो दुखंसुखं बोल्न सक्छु ।’


ठीक यतिखेर मलाई म काम गर्ने कम्पनीले पहिलोपटक दिएको पार्टी सम्झना आयो । मसहित तीनजना दोस्रो लटको कामदारका रूपमा कोरिया आएका थियौँ । कोरिया आएको दोस्रो दिनमा कम्पनीले पार्टी आयोजना गरेको थियो । त्यस दिन साहुको कुरा धेरै सुनियो । हामीले जानीनजानी कोरियन भाषा बोल्यौँ । पछि पो दाइले भन्नुभयो, ‘तिमीले त कोरिया आएको दुई दिनमै साहुलाई ठाडो जवाफ दियौ ।’ हुन पनि कोरियन भाषा सिकेको लामो समयपछि मात्रै भिसा लागेकाले मैले कोरियन भाषा लगभग बिर्सिसकेकी थिएँ । प्रयोगमा नआएको भाषा याद रहने कुरा पनि भएन । 


बितेको पाँच वर्षमा भने कोरियन भाषामा दखल नभए पनि आदरभावसहित संवाद गर्न सक्ने भएकी छु । त्यसैले पनि चालक मसँग कुराकानी गर्नमा रुचि राखिरहेको थियो सायद । ‘अनि बिहे गरिसक्यौ ?’ अब ऊ मेरो निजी जीवनमै प्रवेश गर्ने सुरमा देखियो । प्रायः कोरियनसँगको भेटमा नछुट्ने प्रश्न पनि थियो यो ।


‘छैन ।’


‘कति वर्ष पुग्यौ ?’


‘....’


‘कति वर्षबाट बिहे गर्न तिमीहरूको देशको कानुनले अनुमति दिन्छ ?’


‘२० वर्ष ।’


‘बिहे गर्ने उमेर त भइसकेछ ।’ 


‘ढिला बिहे गर्नेहरू पनि छन् । म त्यसैमध्ये


एक पर्छु ।’ 


‘किन नगरेको त ?’


‘खोइ, नेपाली केटाले आँट्न सकेन । अब कोरियनसँग परिचय गर्नुपर्ला । हे हे...’ मैले पनि जिस्किने भावमा उत्तर दिएँ ।
‘त्यसोभए अहिले प्रेमी भेट्न हिँडेको ?’


‘होइन । आज त साथीहरू भेट्ने हो ।’ मैले अरुचिपूर्वक भनेँ । मलाई बिस्तारै झर्को लाग्न थालेको थियो ।


‘ए, ए ।’ मेरो झर्काइ बुझेर होला प्रश्नसोध्न छोड्यो । 


फराकिलो सडकमा चिल्ला मोटरगाडीहरू तँछाडमछाड गर्दै बत्तिइरहेका थिए । बीचबीचमा फेरिइरहने रातो, पहेँलो, हरियो बत्तीको चमकमा त्यो कुनै रेसको प्रतियोगिताझैँ लागिरहेको थियो । यस्तै, प्रश्नबाट दिक्दार भएर मैले नजिकैको मार्टमा किनमेल गर्न जानै छाडिदिएकी छु । सामान किन्न मार्टमा छिर्दा हिसाब गर्ने बखतमा साहुजीले, ‘यो सामान तिमीहरूको देशमा पाउँछ ?’ भनेर दिक्क लगाउँछ । एकपटक त सानो बकेट छानेर काउन्टरमा हिसाब गर्न दिँदा ‘यस्तो सामान त तिमीहरूको देशमा पाउँदैन होला है ?’ भन्यो । मलाई झनक्क रिस उठ्यो । नेपाल भन्नेबित्तिकै तन्नम देश नै त होइन नि ! पैसा तिरेर म चुपचाप त्यहाँबाट निस्केर हिडेँ । त्यस दिनदेखि त्यो मार्टमा पसेकी छैन ।

‘तपाईंको घर भियतनामको कुन गाउँमा हो ?’ चालकको चर्को प्रश्न तेर्सियो । ‘भियतनामको कुन गाउँमा हो घर ?’ उसले पुनः प्रश्न दोहोर्‍यायो । हाम्रो संवाद कोरियन भाषामा हुँदै थियो । ‘म भियतनामको होइन । मेरो घर नेपाल हो ।’ ‘ए, ए ! नेपाल ! त्यसो भए एभरेस्ट चढेका छौ ?’ पुनः प्रश्न मैतिर तेर्सियो । 


त्यसै पनि म खासै बोल्दिनँ । झन् नयाँ मान्छेसँग बोल्न मलाई असहज लाग्छ । साथीहरू मलाई घुसघुसे भन्छन् । यहीकारण, कतिले त घमन्डीसमेत भनेको थाहा पाएकी छु । तर, मलाई कुनै गुनासो छैन । साँचो भन्नुपर्दा मलाई भिडभाडले अत्यास लगाउँछ । भित्रभित्रै कताकता अतालिन्छु । 


‘बुबा कति वर्षको हुनुभयो ?’ केहीबेर मौन रहेपछि चालकले पुनः प्रश्न गर्‍यो । 


म अवाक् भएँ । स्मृतिको त्यान्द्रो छाडेर बुबाले यो संसारबाट बिदा लिनुभएको वर्षौँ भइसकेको छ । मैले बुबाको मृत्युबारे बताउँदा कोरियन चालक केहीबेर चुप भयो । 


‘त्यसोभए तिमी घरकी ठूली छोरी ?’ लामो सास तानेर उसले फेरि सोध्यो ।


‘हजुर ।’ म सडकतिर एकोहोरो हेर्दै बोलिरहेकी थिएँ ।


‘बाँचिरहनुभएको भए कति वर्षको हुनुहुन्थ्यो बुबा ?’ रातो बत्तीअघि ट्याक्सी रोक्दै उसले सोध्यो ।


‘यस्तै ५७÷५८ वर्षको सायद ।’ मैले हिसाब लाएँ । 


‘मभन्दा दुई वर्ष मात्र कान्छो हुनुहुँदोरहेछ । म अस्ति मार्चमा ६० वर्षको भएँ ।’


मैले मुन्टो मात्र हल्लाएँ ।


‘परिवारको जिम्मेवारी तिमीमाथि रहेछ । भाइबहिनी कति छन् ? के गर्छन् ? कि तिमी एक्ली छोरी हौ ?’ मेरो मुन्टो हल्लाइलाई अनुमोदन गर्दै उसले थप सोध्यो । 


‘भाइ दुईजना । छोरीचाहिँ म एक्ली ।’ मैले छोटो 


उत्तर फर्काएँ ।


‘कामचाहिँ कता गर्छौ नानी ?’ मेरो छोटो उत्तरमा पनि उसले प्रश्न गर्न छोडेन । अझ यसपटक त उसले मलाई नानी भनेर सम्बोन्धन गर्‍यो ।


‘मुजिनेदोङमा हो अजासी (अंकल)’ मैले पनि आफ्नो काम गर्ने ठाउँबारे उत्साहका साथ बताएँ ।


‘ए, ए, मेरो घर पनि त्यहीँ नजिकै हो ।’


सम्बोधनविना सुरु भएको हाम्रो संवाद अब अंकल र नानीसम्म आइपुगेको थियो । र, यो अचानकसँग भने भएको थिएन । बाटो काट्ने मेलोमेसोमा गरिएको सिलसिलेबार वार्तालापमा बिस्तारै विकास भएको थियो ।


‘ए हो र ! अनि अंकल तपाईंको घरमा चाहिँ को–को हुनुहुन्छ ?’ अब प्रश्न सोध्ने पालो मेरो । मलाई पनि उनको बारेमा जान्न मन लाग्यो ।


‘घरमा म र मेरी बूढी बस्छौँ ।’
‘अनि केटाकेटी छैनन् ?’ म पनि यसै
रोकिनेवाला थिइनँ ।


‘दुई छोराहरू छन् । बिहे गरिसके । अहिले उनीहरू आफ्नो परिवारका साथ अन्तै बस्छन् ।’ 


यसो भन्दा अजासीको स्वर अलिक मलिनो सुनियो । कोरियाको कानुनअनुसार केटाकेटी १८ वर्षको भएपछि अभिभावकसँग बस्दैनन् । तिनीहरू आत्मनिर्भरको बाटोमा हिँड्छन् र परिवार जोडेपछि अलग्गै घरमा बस्ने गर्छन् ।
‘तिमीहरूको देशमा पनि यस्तै नियम छ ?’ अजासीको जिज्ञासाले म फेरि एकपटक आफ्नो घरदेशतिर पुगेँ ।
‘होइन अजासी, हाम्रो देशमा त्यस्तो कानुन पनि बनेको छैन । बनिहाले पनि आफ्नो बाआमालाई बेवास्ता गरेर त्यसरी कसरी हिँड्न सकिन्छ र ?’ अजासीले टाउको मात्रै हल्लायो । 

धेरैपटक कोरियाको सडकपेटी, ट्रेन स्टेसनको सिँढीमा वृद्धाहरू सखरखण्ड, भटमासका कोसा, हरियो प्याजका पात बेच्न बसेको देखेकी थिएँ । कोरियाजस्तो सम्पन्न देशमा पनि यसरी वृद्धाहरू सडकपेटीमा श्रम बेचिरहेको देखेर मलाई उदेक लाग्थ्यो । 


‘अनि अंकल बुढेसकालमा आफ्नो छोराछोरीसँगै बसौँजस्तो लाग्दैन ?’ मैले अजासीलाई सोधिहालेँ । धेरैपटक कोरियाको सडकपेटी, ट्रेन स्टेसनको सिँढीमा वृद्धाहरू सखरखण्डको दाना, पात, भटमासका कोसा, हरियो प्याजका पातहरू बेच्न बसेको देखेकी थिएँ । कोरियाजस्तो सम्पन्न देशमा पनि यसरी वृद्धाहरू सडकपेटीमा श्रम बेचिरहेको देखेर मलाई उदेक लाग्थ्यो । यदि उनीहरूको छोराछोरीसँगै बस्ने गरेको भए आराम गर्ने उमेरमा त्यसरी बाटाघाटा, चौबाटोमा उभिनुपर्दैनथ्यो होला । 


‘हा...हा... लाग्दैन ।’ अजासीले हाँस्दै जवाफ दिए । 


‘जसरी अहिले हाम्रा सन्तान हामीसँग बस्दैनन् त्यसरी नै हामी पनि हाम्रा बाआमासँग बसेनौँ । यो क्रमबद्ध रूपमा एकपछि अर्कोमा लागू हुँदै जाने भएकाले सामान्य लाग्छ । छोराछोरीहरू चाडबाड र बिदामा भेट्न आउँछन् । फेरि यी वृद्धाहरू पैसा नभएकाले श्रम गरिरहेका पनि होइनन् । सरकारले भत्ता पनि रामै्र उपलब्ध गराउँछ । शरीरमा तागत हुन्जेल काम गर्नुपर्छ भन्ने सोच यहाँका मानिसहरूमा छ । यही मिहिनेतले त कोरियाको मुहार फेरिएको हो । नत्र त उत्तर कोरियाकै नियति हुन्थ्यो,’ अजासीले आफ्नो तर्फबाट थप स्पष्टीकरण दिए ।


‘ए, ए । यो त राम्रो कुरा हो ।’ म अजासीको प्रतिउत्तरले उज्यालिएँ । 


‘ल नानी तिम्रो गन्तव्य पनि आइपुग्यो । यही हो खेबोङ यक ।’ ट्याक्सी रोक्दै अजासीले भने । मेरो सामुन्ने यक थियो । त्यहाँबाट सिओल जाने ट्रेन पाइन्छ । ट्याक्सीबाट ओलर्नुअघि मैले मिटरमा उठेको बिल हेरेँ र ब्यागबाट बैंक कार्ड झिकेर अजासीतर्फ बढाएँ ।


‘पैसा पर्दैन । तिमीलाई मेरोतर्फबाट सर्भिस..’


‘होइन, लिनुहोस् न अजासी ।’ मलाई त्यसरी फ्री सर्भिस लिन असाध्यै अप्ठ्यारो लाग्यो ।


‘तिमीसँग कुरा गरेर राम्रो लाग्यो । आफ्नै छोरीजस्तो लाग्यो । बरु कुनै दिन संयोगवश मेरै ट्याक्सीमा चढ्यौ भने त्यो वेलाचाहिँ लिन्छु ।’ अजासीले भावुक स्वरमा भन्यो । यो छोटो समयमा अजासी र मबीच जुन भावनात्मक सम्बन्ध स्थापित भएको थियो त्यो भाषाको कारण भएको थियो । 


पछाडिबाट लगातार हर्न बज्न थाल्यो । गाडीको लर्को थियो । हाम्रो ट्याक्सीको कारण जाम हुन लागेको थियो । त्यसैले मैले थप कुरा गर्न सकिनँ र हतार–हतार निस्किएर साइड लागेँ ।ट्याक्सी आफ्नो बाटो लाग्यो । आँखाले भ्याउन्जेल ट्याक्सीलाई हेरिरहेँ । पछि मात्र पो याद भयो, हतारमा अजासीलाई धन्यवाद पनि भनिनछु । ट्रेन स्टेसनतिर जाँदै मनमनै भनेँ,‘ खाम्साहाम्निदा अजासी ।’