• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
कृष्ण विश्वकर्मा
२०७९ असोज १ शनिबार ०७:५५:००
सम्झना

सुन्दर देखिँदोरहेनछ समुद्रपारिबाट सगरमाथा

२०७९ असोज १ शनिबार ०७:५५:००
कृष्ण विश्वकर्मा

आमबुझाइमा प्रवास पैसा टिप्न पाइने द्रव्यवृक्ष हो । मानौँ कि यहाँ द्रव्यवृक्षबाट पैसा टिपेर बोरा भर्ने सहज सुविधा छ । दिनहुँ हजारौँ युवा विमान चढेर प्रवासमा पुग्छन् । यो भिड हेर्दा प्रवासमा पैसा फल्ने बोट नै छ जस्तो महसुस हुन्छ नै ।आज पनि प्रवास पलायन रहर होइन, बाध्यता हो भन्ने भाष्यले नेपाली समाजलाई गहिरो गरी प्रभाव पारेकै छ । प्रवास पलायनलाई ‘नियति’सँग जोडेर भाग्यवादको पक्षपोषण गर्दै यसलाई संस्थागत गर्ने ठूलै भिड आज पनि ज्युँकात्युँ देखिन्छ । खासमा प्रवासमा आइपुग्नु बाध्यता, नियति वा प्रारब्धसँग नभएर यो राज्यसत्ताद्वारा सिर्जित समस्या हो ।


प्रवास पलायनको जरा खोतल्दै जाँदा मुगलकालीन समयसम्म पुग्नुपर्ने देखिन्छ । तथापि अध्येता झलक सुवेदीको पुस्तक ‘बृटिस साम्राज्यका नेपाली मोहरा’मा सुगौली सन्धिलगत्तै बनेको बेलायती सेनाको सिरमुर बटालियनमा पहिलोपटक गोर्खालीहरू भर्ती भएर संस्थागत रूपमा प्रवास पलायन यात्रा सुरु गराइएको हो । नालापानीको युद्धमा पराजित भएर फर्किएको १८ वर्षपछि बलभद्र कुँवर पन्जाबका महाराज रणजित सिंहको सेनामा भर्ती हुन लाहोर जानु यसको गतिलो प्रमाण हो । नेपाली समाजमा आज पनि आकर्षणको केन्द्र रहँदै आएको लाहुरे संस्कृतिको अनेकौँ सूत्रधारमध्ये सम्भवतः यिनी नै प्रथम सूत्रधार थिए ।


हिम शृंखलाहरू दूरबाट हेर्दा जति मनमोहक र सुन्दर देखिन्छन्, तर यसैको सियाँलमा चलमलाउने कष्टसाध्य जीवन हेर्दा भयानक लाग्छ । सुन्दर वस्तु त जताबाट र जहाँबाट हेर्दा पनि उस्तै सुन्दर लाग्नुपर्ने हो । सुन्दरताको परिभाषाभित्र पनि कतिबिघ्न झेल रहेछ भन्ने तथ्य भोग्नेहरूले सहजै महसुस गर्न सक्छन् । सात समुद्रपारिबाट कल्पिएर हेर्दा सगरमाथा एकरति मनमोहक नदेखिँदो रहेछ । 

उज्यालो देख्नेबित्तिकै पुतलीहरू झ्याम्मिहाल्छन् । किनकि अँध्यारो कुनै पनि जीवका लागि प्रिय हुँदैन । जिजीविषाको खोजीमा आफ्नै माटो छोडेर प्रवास हिँडेका श्रमजीवीहरूका विवशता पनि उज्यालो देख्नेबित्तिकै झ्याम्मिने पुतलीहरूको भन्दा कम छैन । गरिबी र बेरोजगारीले थिलोथिलो बनेको युवाहरूलाई राज्यले पासपोर्ट बनाइदिन्छ र ती युवाहरू टुकीको उज्यालोमा पुतली झ्याम्मिएजस्तै प्रवासमा जान बाध्य हुन्छन् ।


प्रवासका दुःखहरू बगिजाने नाइल नदीभन्दा लामा छन् । समुद्रभन्दा गहिरा छन् । दुःखको उचाइ नाप्ने कुनै यन्त्र हुँदो हो त केटु र सगरमाथासमेत होचा हुने थिए । प्रवासी दुःखहरू पुस्तान्तरण हुँदै–हुँदै झन् जवान पो हुँदै गएका छन् । दुःखका महासागरमा कोही पौडेर तैरिन्छन् । कोही पौडिँदा–पौडिँदै डुबिजान्छन् र रातो बाकसमा फर्किन्छन् । कोही आफ्नो थातथलो नै भुलेर यतै हराउँछन् । यो पंक्तिकार पनि दुःखको महासागरमा पौडिने माथिकामध्ये कुनै एकमा पर्छ । दुःखको मित्र दुःख नै हुने रैछ, दुःखको शत्रु सुख । दुःखका शत्रुविरुद्ध छेड्नुपर्ने संघर्षबारे कुनै दिन लेखौँला । आजचाहिँ केही प्रतिनिधि दुःखहरू बाँच्दै आएका प्रवासी युवाबारे लेख्दै छु । उसो त म कुनै लेखक होइन, कथाकार पनि होइन । भोगाइ र अनुभूतिहरू लेख्न लेखक वा कथाकार नै हुनुपर्छ भन्ने पनि लाग्दैन । 


०००
कुरा एक हप्ताअघिको हो । मैले काम गर्ने आठतले अस्पतालको सबै तलाका सिसाका झ्याल सफा गर्न मेनेजरले एउटा कम्पनीलाई बोलाएको रहेछ । अपराह्नको चार बजेतिर तीनजना नेपाली भाइ आए । उनीहरूले आउनासाथ ‘यहाँ दुई–चारवटा ग्लास क्लिन गर्नु छ, कता रहेछ दाइ ?’ भने । मैले पूरै बिल्डिङ वाल क्लिन गर्नुपर्ने हो भनेँ । खासमा ती भाइहरूको त्यो दिन छुट्टीको दिन रहेछ । छुट्टीकै दिन भए पनि एक दुई–घन्टा काम गरौँ न भनेर आएका रहेछन् ।

घरमा दुःख उस्तै छ । कहिलेकाहीँ त लाग्छ,यतै काम गर्दागर्दैै फर्किंदा त सेतै फुलिसक्छु होला ।

 

उनीहरूको सुपरभाइजरले झुटो बोलेका रहेछन् । भोलि बिहानबाट काम सुरु गर्छौं भनेर उनीहरू बिदा भए । भोलिपल्ट सुबिन तामाङ, देवेन्द्र गुरुङ, अनिल गुरुङ र जनम तामाङ आए । उनीहरू २३ देखि २५ वर्षसम्मका थिए । सोह्रवर्षे लामो युएई बसाइँमा मैले ‘हाई राइज्ड ग्लास एन्ड वाल क्लिनिङ’ नजिकैबाट बिरलै देखेको छु । म आफ्नै काममा व्यस्त भएँ । भाइहरू माथिल्लो तलातिर गए । 


एक घन्टापछि बाहिर गएर हेर्दा त देवेन्द्र, अनिल र जनम भाइहरू एउटा मसिनो डोरीमा तुर्लुंग झुन्डिएर बायाँपट्टिको वालको आधा भाग सफा गरिसकेका रहेछन् । बिहान नौ बजेको थियो । नौ बजे नै यहाँको आद्र्रता यति धेरै बाफिलो र रापिलो हुन्छ कि श्वास लिनसमेत गाह्रो हुन्छ । नौ बजे नै यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेट पुग्छ । खाडीमा अगस्ट महिनामा गर्मी चरम उत्कर्षमा पुग्छ ।

 

५० डिग्री सेन्टिग्रेट तापक्रम हुनु यो महिनाको न्यूनतम विशेषता नै हो । यो महिनामा युएईमा कुनै पनि प्रजातिका चराहरू आकाशमा उडेको देखिँदैन । जुन, जुलाई र अगस्टमा चराहरू आकाशमा उड्नु भनेको सीधै मृत्युलाई आह्वान गर्नु हो । गल्ली–गल्लीमा बग्रेल्ती पाइने बिरालोहरू पनि यी महिनाहरूमा वासरुमको चिसो खोज्दै मरणासन्न हुने गरी लडिरहेका भेटिन्छन् । अत्यधिक गर्मी हुनाले यहाँको सरकारले यी तीन महिना दिनको बाह्र बजेदेखि तीन बजेसम्म बाहिर काम गर्न निषेध गर्छ । 


अलिक फुर्सदिलो भएपछि भाइहरूको काम हेर्न बाहिर गएँ । तीन भाइहरू देवेन्द्र, अनिल र जनम एकसरो डोरीमा तुर्लुंग झुन्डिएर काम गरिरहेकै थिए । तल्लो भागमा झुन्ड्याइएको दश लिटर साबुनपानी बोक्ने बकेटमा छिटछिटो एप्लिकेटर(हाते पोचा) डुबाउँदै एकखेप भित्तामा साबुनपानी दल्दै थिए । अर्को खेप वाइपर (धुलोमिश्रित साबुन पानी सफा गर्ने हाते साधन) उही गतिमा चलाउँदै थिए । तीनैजनाको कामको रफ्तार कुनै स्वचालित मसिनको जस्तो देखिन्थ्यो । तीन थान सजिब युवाहरू एकसरो डोरीको सहारामा सिसा पुछिरहेका थिए । यी कलकलाउँदा युवाहरूको शरीर शिरदेखि पाउसम्म पसिनाले लछप्पै झिजेको थियो । एक भाइ सुबिन तामाङ तल बसेर बडो प्यारले डोरीमा झुन्डिएर काम गरिरहेका भाइहरूलाई सुझाउँदै थिए । उनी टिम लिडर रहेछन् । ‘त्यो कुनामा एप्लिकेटर लगाऊ । त्यो सिसामा वाइपर अलि राम्रो लगाऊ । प्यास लागेको भए तल आऊ’ आदि इत्यादि भन्दै थिए ।


उनले लगाएको पोसाक पनि माथि काम गरिरहेका भाइहरूको जस्तो रुझेको थियो । उनी बारबार तुम्लेटको पानी तीनपानेझैँ चुबुरचुबुर पिउँथे । बिल्डिङको तर्फबाट उनीहरूको सेफ्टी निरीक्षण गर्ने, आवश्यक परे सुझाउने जिम्मा मेरो पनि थियो । त्यसैले पनि म भाइहरूसँगै केही समय बाहिरै रहेँ । त्यतिन्जेल पसिनाले मेरो पनि शरीर पूरै भिजेको थियो । कुनै पनि श्रम सानो र ठूलो भन्ने हुँदैन । श्रमलाई सानो र ठूलोको रूपमा वर्गीकृत गर्ने अवधारणा त सामन्ती एवं पुँजीवादी संस्कृतिले विकसित गरेको विभेदकारी अवधारणा हो । श्रमिकहरूको श्रमले नै यो संसारका सुविधा सम्पन्न महल बनेका हुन् । संसारको निर्माता श्रमिकहरू नै हुन् । ग्रेटवाल, ट्विनटावर, हाउडाब्रिज, खलिफा टावरदेखि संसारकै बडेबडे इमारतहरू सबै श्रमिकहरूको खुन–पसिनाद्वारा सिञ्चित सिर्जनाहरू हुन् । 

भाइ काम त निकै अप्ठ्यारो छ, तलबचाहिँ कति आउँछ ?’ सोधेँ । ‘खाइलाई, टुपी हल्लाई छ हाउ दाइ । आउँछ दुई हजार–पच्चीस सयजति । काम यस्तो छ । डाइट पेल्नै पर्‍यो । महँगी उस्तै छ । आँत हरहर हुन्छ । खानै पर्‍यो । कामअनुसारको दाम छैन, हाउ दाइ !


भाइहरू यन्त्रवत् रूपमा झुन्डिएर काम गर्दै थिए । तल सुबिन भाइ निकै चिन्तित देखिन्थे । कहिले माथि हेर्थे । कहिले बाटोतिर नजर डुलाउँथे । कहिले पसिना पुस्थे ।‘भाइ निकै चिन्तित देखिनुहुन्छ त ? केही समस्या भए भन्नु है ! म सकेको सहयोग गर्छु,’ मैले सुबिन भाइलाई भनेँ । 


‘ठीकै छ दाइ । यत्रो बिल्डिङको चारै सुर माथिदेखि तलसम्म छिटो सक्नु छ । काम गर्ने मान्छे थोरै छन् । कम्पनीले थप मान्छे पठाउँछु त भनेको छ तर कतिखेर पो पठाउने हो !’ उनले भने । तुम्लेटको बिर्को खोल्दै उनले भने, ‘खाडीको धूप कस्तो ज्यानमारा पो छ है दाइ ?’ निधारको पसिना तर्काउँदै मैले सहमति जनाएँ, ‘हो भाइ ! यहाँको धूप शरीरले थेग्नै नसक्ने खालको छ ।’ ‘भाइ काम त निकै अप्ठ्यारो छ, तलबचाहिँ कति आउँछ ?’ फेरि सोधेँ ।

दायाँबाट क्रमशः देवेन्द्र गुरुङ, अनिल गुरुङ, जनम तामाङ र सुविन तामाङ


‘खाइलाई, टुपी हल्लाई छ हाउ दाइ । आउँछ दुई हजार पच्चीस सयजति । काम यस्तो छ । डाइट पेल्नैपर्‍यो । महँगी उस्तै छ । आँत हरहर हुन्छ । खानै पर्‍यो । कामअनुसारको दाम छैन हाउ दाइ !,’ पानीको बोतलमा बिर्को लगाउँदै उनले भने । 


‘खानचाहिँ मज्जाले खानुपर्छ । पानी पनि प्रशस्तै पिउनुपर्छ भाइ,’ मैले भनेँ । गर्मीले आफ्नो प्रचण्ड आवृत्ति घना बनाउँदै लगेको थियो । झुन्डिएर यन्त्रवत् काम गरिरहेका तीन भाइहरू भुइँतलाको वालसम्म आइपुग्नै लागेका थिए । उनीहरूको प्रतीक्षा गर्दै सुबिन र म अझै केही क्षण कुरा गरिरह्यौँ ।


ललितपुर घर भएका सुबिन ११ जना परिवारका कान्छा सन्तान रहेछन् । उनी सन् २०१४ मा युएई आएका रहेछन् । आठ कक्षा पढ्दापढ्दै पारिवारिक जिम्मेवारीले प्रवास हिँडेका सुबिनलाई आफू आउँदा लागेको ऋण तिर्न १४ महिना लागेछ । घरभित्रको काममा भनेर आएका उनी घरबाहिरको काममा परेछन् । 


‘के गर्नु दाइ, दुखियालाई जसले पनि ठग्ने नै रहेछ,’ कुरा गर्दागर्दै एक छिन् उनी भावुक भए । उनले कहिलेकाहीँ दिनको सोह्र घन्टासम्म यस्तै जोखिमपूर्ण काम गर्दा रहेछन् । सधैँ डोरीको सहारामा झुन्डिँदा–झुन्डिँदा डोरीको चापले कम्मर र छातीको भाग जोत्ने गोरुको काँधजस्तो भएको छ दाइ भन्दा मेरा आँखा रसाए । हुनेखानेहरू सरकारी जागिर खान उमेर घटाउँछन् । गरिखानेहरू चाँडै कमाइ गर्न उमेर बढाउँछन् । सुबिन पनि उमेर बढाएर खाडी आएका रहेछन् । ‘जम्मा १७ वर्षको थिएँ । उमेर बढाएर पासपोर्ट बनाएँ अनि यता आको दाइ,’ सुबिनले सुनाए । 


‘घरमा दुःख उस्तै छ । देशको स्थिति पनि त्यस्तै छ । कहिलेकाहीँ त लाग्छ, यतै काम गर्दागर्दैै फर्किंदा त सेतै फुलिसक्छु होला । लौरी टेक्दै पो फर्किन्छु होला कि जस्तो लाग्छ दाइ,’ सुरुमा कुरा गर्न लजाउने सुबिनले पछि यसरी आफ्नो कथा सुनाउन थाले । म मूर्तिजस्तै भएर उनको कुरा सुनिरहेँ ।


लम्जुङका देवेन्द्र गुरुङको कथा पनि उस्तै थियो । २३ वर्षका देवेन्द्र युएई आएको नौ महिना हुँदै रहेछ । उनको तलब जम्माजम्मी अठार सय आउँदो रहेछ । आएको ऋण भर्खरै तिरिसकेछन् । चार–पाँच वर्ष बसेर घरको अवस्था सुधार्ने उनको योजना रहेछ । 


‘सुरुसुरुमा त डोरीमा झुन्डिएर काम गर्दा यतै मरिपो जान्छु कि जस्तो लाग्थ्यो, अहिले त बानी प¥यो दाइ,’ उनले सुनाए । उनलाई डोरीबाट तल भुइँमा झर्नेबित्तिकै फेरि रुफटप पुग्नै हतार हुन्थ्यो । अनिल पनि देवेन्द्रजस्तै नौ महिनैदेखि यस्तै जोखिमपूर्ण काममा रहेछन् । २६ वर्षका अनिलको घरचाहिँ धादिङ रहेछ । उनको कथा पनि देवेन्द्रको जस्तै रहेछ । ‘के गर्ने दाइ बाध्यता छ । सबै साथीहरू यस्तै काम नडराई गरेको देखेर हिम्मत आयो । अहिले त डर लाग्दैन ।’ जाडोमा त राम्रै हुने तर गर्मीमा चाहिँ निकै गाह्रो हुने उनले सुनाए । ‘दिनभरिको टन्टलापुर घामले साँझ टाउको नै दुख्छ,’ उनले भने । उनी पनि देवेन्द्रजस्तै भुइँमा ओर्लन नपाउँदै रुफटप पुग्न हतारिन्थे । 


औसतभन्दा अलि पातला देखिने जनम तामाङ अन्तर्मुखी स्वभावका रहेछन् । मोरङ घर भएका उनले आर्थिक विपन्नताकै कारण दश कक्षाभन्दा बढी पढ्न सकेन छन् । जनम पनि युएई आएको नौ महिना भएछ । भाइहरूमध्ये उनी मात्रै विवाहित रहेछन् । एक छोराका बाबु बनिसकेका जनम उमेरले पच्चीसौँ वसन्त पार गरिसके पनि सानो कदका कारण टिनएजर जस्तै देखिन्छन् । उनी निकै कम बोल्दा रहेछन् । अरू साथीहरू हाँस्दासमेत उनी हाँसेको देखिँदैनथ्यो । कामको दोस्रो दिन जनम थाकेर हस्पिटलको छायामा थकाइ मारिरहेका रहेछन् । उनको नजिक गएँ । उनको काखमा एउटा बिरालोको सानो दुधालु बच्चा पनि देखेँ । 


‘कति सानो बिरालो ! कहाँबाट आयो ?’ 


बिरालोको टाउको मुसार्दै जनमले भने, ‘खै दाइ यही कुनामा बसिरहेको रैछ । म बसेको देख्नेबित्तिकै म्याउँम्याउँ गर्दै मैंतिर पो आयो । माया लाग्यो ।’ 


‘यसको आमाचाहिँ कता गइछे त ?’ 


‘खै, मैले पनि देखिनँ । बिचरा ! कस्तो भोकाएको रैछ ।’ 


जनमले मलाई हेरेर कुरा गरेनन् । भोकले सुसुपाल शिशु बिरालोको ठाउकोमा अगाध प्रेमपूर्ण स्पर्श गरिरह्यो । शिशु बिरालोको पेटबाट निस्किएको भोकग्रस्त तिखो म्याउँम्याउँले उनलाई निकै असमञ्जस बनाइरहेकोजस्तो देखिन्थ्यो । उनी स्वयं एक दुधालु बच्चाका बाबु थिए । उनी यतिखेर आफ्नै छोरोको यादमा व्याकुल बनेको प्रतीत हुन्थ्यो । कास ! उनको साथमा एक सिसी दूध हुँदो हो त कति प्रेमले त्यो शिशु बिरालोलाई काखमै राखेर पिलाउँदा हुन् ! उनमा अपार वात्सल्य प्रेम छचल्किरहेको प्रस्ट देखियो । 


‘जनम भाइ, यसको पिर नलिनू । अहिले यसको आमा आउँछे । आएन भने दूधको जोरजाम गरौँला नि !’ मैले भनेँ ।
‘यसले दूध पायो भने एकै घुट्कोमा एक सिसी सक्छ होला ! यसको आमा कता होला ?’ जनमले भने ।‘चिसो खोज्दैखोज्दै जाँदा आमाले राखेको ठाउँबाट बाटो बिराएर यता आइपुगेको होला भाइ । यसको आमा यसलाई खोज्दै आउली पक्कै !’ मैले भनेँ । 


बिल्डिङमा झुन्डिएर काम गरिरहेका देवेन्द्र र अनिल पनि तल आइपुगे । सुबिन पनि तल आए । उनले सबैलाई भने, ‘ल है साथी हो ! आज जसरी नि काम सक्नुपर्छ काम,’ उनीहरू एकपछि थकाइ मारेर फेरि रुफटपतिर लागे । केही सालअघि सामाजिक सञ्जालमा दुई तस्बिरहरू निकै भाइरल भए । एउटा मातृभूमि छोड्नुअघि माटोलाई ढोग्दै गरेको युवाको तस्बिर, अर्को खाडी जाँदै गरेको छोरालाई विमानस्थलभित्र एकोहोरो हेरिरहेको एक वृद्ध मधेसी बाबुको तस्बिर । तस्बिरले धेरैलाई रुवाएको थियो । दुई साताअघि मात्रै फेरि एक युवा खाली खुट्टै खाडी उडेको कारुणिक दृश्यले सबैलाई द्रवीभूत बनायो । दिनहुँ दुई हजारको संख्यामा युवाहरूले देश छाडिरहेका छन् । आज असी लाख युवाहरूले पयारा भूमिमा पसिना र आँसु बगाइरहेका छन् । सम्झिल्याउँदा मन कोक्किरहन्छ । 


हामी परदेसिनेका रगत, पसिनाबाट बर्सेनि सरकारले अर्बौंको रेमिट्यान्स भित्र्याउँछ, बदलामा केवल सशुल्क पासपोर्ट बनाइदिन्छ । यही रेमिट्यान्समा जाल थाप्न पछिल्ला दुई–तीन दशकमा बैंक र फाइनान्स कम्पनीहरू स्वदेशका गल्ली–गल्लीमा खुलेका छन्, मुख बाइरहेका छन् । दलाल र मानव तस्करको धन्दा स्वदेशका गल्लीदेखि विदेशकै गल्लीसम्म मौलाएको छ । 


सामन्ती शासक देशभित्रै जनतालाई दास बनाएर खुलमखुला किनबेच गर्थे । समय फेरियो । कानुन फेरियो । नवसामन्तहरू जन्मिए । उनीहरूले लोकतान्त्रिक शासनको आवरणमा जनतालाई केवल हरियो पासपोर्ट थमाएर श्रमदासका रूपमा संसारैभरि निर्यात गरिरहेछन् । हामी श्रमजीवीहरू पेटको जलन साम्य पार्न श्रमदास हुन विवश छौँ । 
प्रवास, निलो समुद्रमा बिनाहलचल शान्त बसेको गोहीजस्तै लाग्छ । यो गोहीले तत्क्षण सिकार गर्दैन । यो गोहीलाई दृश्य रूपमा मान्छेको मासु खान वर्जित छ । तर, यो गोही मान्छेको खुन र पसिना पिउन सर्वाधिक रुचाउँछ । यसको स्थूल शरीर दहमा बस्ने गोहीको जस्तो हुँदैन । यो निराकार रूपमा सर्वव्यापी छ । बाटोमा झाडु लगाइरहेको श्रमिकको छायासँगै एकाकार भएर पसिना चुसिरहेको हुन सक्छ । मर्सिजिड गाडीमा बसेर श्रमिकहरूलाई तिखो नजरले हेर्ने मालिकको आँखामा हुन सक्छ । दलालहरूको मिठा–मिठा आश्वासनमा छिपेको हुन सक्छ ।


यो गोहीलाई मान्छेको बल, बुद्धि, सिर्जनशीलता, पाखुरी सबैभन्दा बढी मनपर्छ । मान्छेलाई प्रलोभनमा पारेर फसाउन सिपालु छ यो । यसरी नै दीर्घजीवन जिउन सफल छ । श्रमिकहरू फगत यही गोहीका आहारा बनिरहेका छन् । कोही अप्रिय समाचार बनेर फर्किन्छन्, बहुसंख्यकहरू बुढो हाड र छालाको अस्थिपञ्जर मात्रै लिएर गाउँ फर्किन्छन् । निलो समुद्रको शान्त गोहीले पूरै खुन, पसिना जोस, जाँगर र सिर्जनशीलता चुस्नुपूर्व नै खोल्नु छ सचेत आँखा । खोलाउनु छ यतैबाट ऐंठनग्रस्त कैयौँ आँखाहरू र सामेल हुनु छ, व्यवस्था परिवर्तनको महायात्रामा । 


(भरतपुर–११, चितवनका लेखक संयुक्त अरब इमिरेट्सस्थित  आबुधाबीमा डेढ दशकदेखि कार्यरत छन् ।)