• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
  पवन बराइली
२०७९ असोज १ शनिबार ०८:५८:००
फिल्म

सिनेमा आत्मसन्तुष्टिका लागि मात्रै होइन

२०७९ असोज १ शनिबार ०८:५८:००
  पवन बराइली

पछिल्लो समय द्वन्द्व र प्रेमकथामा आधारित फिल्महरू धेरै बनिरहेका छन् । तपाईंले चाहिँ आफ्नै बाल्यकालीन भोगाइमा फिल्म बनाएँ भन्नुभयो, किन ?


हाम्रोमा हिरो–हिरोइनका रोमान्टिक ‘लभ अफेयर’लाई मात्रै सिनेमा भन्ने बुझाइ छ । लभ–अफेयरभन्दा बाहिर सिनेमा बने, त्यसलाई ‘डकुमेन्ट्री’ भनिदिन्छन् । यस्तो हुनुमा हामी मेकरको पनि कमजोरी छ । तर, सिनेमाको क्षितिज त्यति साँघुरो छैन । सिनेमा भनेको ‘स्टोरी टेलिङ’ हो । त्यसकारण सिनेमालाई रोमान्टिङ लभ स्टोरीभन्दा फरक आयामबाट देखाउने प्रयास गरेको हुँ । हामी सबैले बालापन भोगेर आएका छौँ । ‘ऐना झ्यालको पुतली’ आफ्नै भोगाइको कथाबाट बनाएको हुँ । 
त्यसो भए यो फिल्म आत्मसन्तुष्टिका लागि मात्रै बनाउनुभएको हो कि व्यावसायिक सफलताका लागि पनि ?


एउटा मेकरले सिनेमा आत्मसन्तुष्टिका लागि मात्रै बनाउँदैन । सिनेमा आत्मसन्तुष्टिका लागि मात्रै बनाउने हो भने आफैँले कोठाभित्र बसेर हेर्दा हुन्छ । सिनेमामार्फत आफूले भन्न खोजेको कुरालाई प्रभावकारी रूपमा भन्न सक्नुपर्छ । यही क्रममा व्यावसायिक पाटा जोडिन्छन् । त्यसले अर्काे सिनेमा बनाउने ऊर्जा मिलोस् । यस्तो अपेक्षा हुन्छ नै । आत्मसन्तुष्टि र व्यावसायिक दुवै पक्षलाई समेटेर जानुपर्छ भन्ने लाग्छ । 


समीक्षकहरूले नेपाली सिनेमालाई मूलधार र वैकल्पिक धार भनी दुई धारमा छुट्याएर हेरेको पाइन्छ । ‘ऐना झ्यालको पुतली’ कुन धारमा पर्छ जस्तो लाग्छ ?


सिनेमालाई दुई धारमा विभाजन गर्नु हुँदैन । यो गलत भाष्य हो । हामीले सिनेमामार्फत ‘आइडिया कम्युनिकेट’ गरिरहेका छौँ । मेकरले आफ्नो विचार र सोचलाई बाहिर ल्याउने हो । दिदीभाइले पढ्नका लागि गरेको संघर्षलाई अरू जनराबाट पनि भन्न सक्थेँ होला । मलाई यही जनरामा कथा भन्न मन लाग्यो । सिनेमाको जनरा फरक होला, तर सिनेमाको धार फरक हुँदैन । मूलधार भनेको एउटा निश्चित समयको लागि बनाइएको भाष्य हो । अहिले बनेको ‘चिसो मान्छे’, ‘पानी फोटो’, ‘दोख’, ‘राधा,’ ‘प्रकाश’, ‘ऐना झ्यालको पुतली’लाई मूलधारको मान्ने कि नमान्ने ? पाँच–६ वर्षअघि यस्ता सिनेमालाई मूलधारभन्दा बाहिरको सिनेमा भनिन्थ्यो । तर, अहिले अलग धारको भनिएको फिल्म एक हप्तामै दुईवटा रिलिज भइरहेको छ । अहिले यही नै मूलधार हो ।


मौलिक नेपाली सिनेमा कसरी बनाउने भन्ने पनि बहस चलिरहेको छ । तपाईंले बनाउनुभएको यो फिल्म कत्तिको मौलिक छ जस्तो लाग्छ ?
मौलिक सिनेमा भनेर सबैलाई एउटै बास्केटमा राखेर व्याख्या गर्न मिल्दैन । त्यो सम्भव छैन । नेपाली समाजमा विविधता छ । हिमाल, पहाड र तराईमा बस्ने विभिन्न समुदायभित्र भाषिक–सांस्कृतिक विविधता छ । हरेक समुदायको आ–आफ्नै मौलिक संस्कृति छ । म ब्राह्मण र क्षेत्रीको मिक्स कल्चरमा हुर्किएँ । मैले त्यो समाज भोगेँ । मेरो सिनेमामा ब्राह्मण–क्षेत्री समुदायको कथा बढी आउन सक्छ । शेर्पा, गुरुङ, मगरलगायत सबैका आ–आफ्नै भोगाइ र अनुभव हुन्छन् । मेकरले आफूले भोगेको समाज, र देखेको समाजलाई इमानदार भएर भन्ने हो । त्यही मौलिक सिनेमा बन्छ जस्तो लाग्छ । तर, सिनेमा भनेको धुमधडका मात्रै हो भनेर बुझ्ने धेरै


मेकर छौँ । धुमधडका मात्रै सिनेमा होइन । सिनेमा भनेको एकेडेमिक ठाउँ हो । सिनेमाले साहित्यलाई रेस्पेक्ट गर्नुपर्छ । स्तरीय सिनेमा बनाउन ठूलो लगानी चाहिन्छ भन्छन् नि ! 


सिनेमालाई उत्पादन मान्ने हो भने त्यसलाई बिक्रीयोग्य पनि बनाउनुपर्छ । त्यसको मुख्य जिम्मेवारी निर्माताको हुन्छ । निर्देशकको जत्तिकै उत्तरदायित्व निर्माताको पनि हुनुपर्छ । विदेशमा निर्देशकभन्दा निर्माताको ‘भ्यालु’ धेरै हुन्छ । तर, हाम्रोमा पैसा लगानी गर्ने मान्छे ‘डन’जस्ता बन्छन् । त्यसपछि सबै काम निर्देशकले गर्नुपर्छ । निर्देशकले क्रियटिभ काम गर्न पाउँदैन । लगानीकर्ताको बुझाइमा सिनेमामा हिरो हुनुपर्छ, फाइट हुनुपर्छ भन्ने छ । यो मानसिकताले निर्माताहरू ग्रसित छन् । उनीहरू गीत र फाइट नभएको पनि कहीँ सिनेमा हुन्छ र ? भनेर सोध्छन् । त्यसपछि निर्माताहरू फर्मुलावाला फिल्ममा लगानी गर्न सुरक्षित ठान्छन् । पैसा नउठे पनि हिरो–हिरोइनसँग फोटो खिचेर सामाजिक सञ्जालमा हाल्न पाइन्छ, त्यो लोभले पनि लगानी गरेका हुन्छन् । कथावस्तु सिनेमाको प्राथमिकतामा राख्नुपर्छ ।


नेपाली सिनेमा अन्तर्राष्ट्रिय बजारमा पुग्ने क्रम बढ्ने सम्भावना कस्तो देख्नुहुन्छ ?
अहिले नेपाली फिल्महरू अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा पुग्ने क्रम बढिरहेको छ । यसलाई निरन्तरता दिन सिनेमाका संघसंस्थाहरूको साथ पाए झनै राम्रो हुन्थ्यो । तर, अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी जनाउनु मात्रै पनि उपलब्धि मान्नु हुँदैन । फिल्ममेकिङ यात्रालाई विदेशी बजारले थप सहयोग पुर्‍याउँछ नै । 


राज्यसँग कस्तो अपेक्षा गर्न सकिन्छ ?
राज्यसँग अपेक्षा गर्नेबाहेक अरू केही गर्न सकिँदैन ।