
मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ मन्दिर पोखराबाट १५८ किलोमिटरको दूरीमा पर्छ । मुक्तिनाथ हिन्दू धर्मावलम्बीहरूका लागि तीर्थस्थल थियो नै । अहिले बौद्ध मार्गीहरूका लागि पनि बुद्धको मूर्ति निर्माण गरिएको छ । दुवै धर्मको तीर्थस्थल मुक्तिनाथ बनेपछि अहिले सो क्षेत्रमा चहलपहल विगतको भन्दा बढेको छ ।
३,७१० मिटरको उचाइमा रहेको मुस्ताङलाई हिमालपारिको जिल्ला भनिन्छ । धार्मिक तथा पर्यटकीय क्षेत्र मुस्ताङको रमाइलो यात्रा पोखराबाट सुरु हुन्छ । करिब पाँचदेखि ६ घन्टाको बसयात्राबाट मुस्ताङ पुग्न सकिन्छ ।पोखराबाट ३५ किमि पिचरोड पार गरेपछि अफरोड सुरु हुन्छ । वरिपरि देखिने हरियाली डाँडा हेर्दै कालीगण्डकीको तिरैतिर यात्रा गर्दा प्रकृतिले मोहनी नै लगाउँछ । यात्राको थकान मेटाउँछ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको म्याग्दी सदरमुकाम बेनी बजारले पनि मोहित बनाउँछ ।
बेनी धौलागिरि क्षेत्रका चार जिल्लाको मुख्य व्यापारिक केन्द्रसमेत हो । मुस्ताङको मुख्य प्रवेशद्वार पनि हो बेनी बजार । बेनीबाट बिस्तारै उकालो लाग्दै गर्दा हावाको चिसो स्पर्श सुरु हुन्छ । कतै झरना हेर्दै, कतै पहाडका तरेलीहरू हेर्दै अगाडि जान सकिन्छ । अलि माथि म्याग्दीको तातोपानी कटेर मुस्ताङ पुग्नै लाग्दा कालीगण्डकीको किनारतिर स्याउको बगैँचा सुरु हुन्छ । मार्फा थकाली गाउँ कटेर जोमसोम पुगेपछि मुस्ताङको भव्य सुन्दरता देख्न सकिन्छ । मुस्ताङ ढुंगा र बालुवाको सानासाना पहाडजस्ता थुप्राले झनै मोहक देखिन्छ । चिसो हावा अनि नीलो आकाशले सुन्दरतामा झनै निखार थप्छ । साँझको हावाले मान्छेनै उडाउला कि जस्तो पनि हुन्छ ।
हिन्दू मान्यताअनुसार मुक्तिनाथ पुगेर दर्शन गरेपछि मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथ पुगेर कतिले मोक्ष पाए थाहा छैन । तर, यतिचाहिँ भन्न सकिन्छ, मुक्तिनाथसम्म पुगेर प्रकृतिको मनोरम दृश्यसँग रमाउनेहरूले जीवनभर यो यात्रा भुल्नेछैनन् ।