• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
पुकार पारदर्शी
२०७९ असोज ८ शनिबार ०८:३२:००
साहित्य

डाइनोसर

२०७९ असोज ८ शनिबार ०८:३२:००
पुकार पारदर्शी

चाहे नपत्याऊन् कसैले
हजारौँ वर्षअघि विज्ञानले 
धर्तीबाटै विलीन भइसकेको
घोषणा गरेको डाइनोसर 
आज हजारौँ वर्षपछि 
फेरि जिउँदो भएको छ ।

 

यो डाइनोसर
न शाहाकारी, न मांसाहारी, न त हो सर्वभक्षी

न छ यसको कुनै तिखो दारा
न सिङ, न पुच्छर, न पखेटा
न त ओकल्छ आगो
तर पनि त्यसले घोची बस्छ, टोकी बस्छ

 

मलाई थाहा छ
त्यो मैले सोचेजति शोषक होइन
त्यो मेरो जीवनको
कुलो भएर पस्छ र कान्ला भत्काउँछ
माउसुलीजस्तो भित्तामा चढ्छ र
खुसीको गुँड भत्काउँछ
मेरो ओठको मुस्कान टिप्छ र
सुखको छानो भत्काउँछ
त्यसले मेरो निधारबाट
चुहेको पसिनामा दागा धर्छ
मेरो खेतको धान
सलहले सखाप पारेको हेरेर रमाउँछ
त्यसले मेरो
मैले थाहा नपाउने गरी मुटु खान्छ

 

मलाई थाहा छ
त्यो मैले सोचेजति क्रूर छैन
तर त्यसले मेरो योजनामा
आफ्नो योजना हाबी गर्छ
मैले फेर्ने सासको हावामा क्लोरोफर्म पठाउँछ
सुविधाको झोलाभित्र असुविधाहरू पठाउँछ
मेरो सपनाको बस्तीमा डढेलो सल्काउँछ
मेरो आशाको पाइपमा ठेडी घुसार्छ
स्वाभिमानको घडेरी उठ्यो, भत्काइदिन्छ
जाँगरहरूमा
अल्छीको मल्टिकम्प्लेक्स भिटामिन हालेर
कक्टेल बनाउँछ

 

मलाई थाहा छ
त्यो मैले सोचेजति आतंककारी होइन
तर त्यसले मेरो घरभित्र
युद्ध गराउन कुनै जुक्ति निकाल्छ
मेरा असीमित इच्छाहरूमा पूर्णविराम लगाउन
आफ्नै रहरहरूको ग्यास च्याम्बरमा
छटपटाएको हेर्न रुचाउँछ
बन्दुकको नालजस्तो सोते देखेर डराउँछ
र हजारौँ–हजार ट्याक्सहरूको
बम विस्फोट गराउँछ

 

मलाई थाहा छ
त्यो मैले सोचेजति निरंकुश छैन
तर त्यसले मलाई मानचित्रको पिँजरामा थुन्छ
सिमाना नाघे त्यसले मेरो पासपोर्ट खोज्छ
त्यसले मेरो आकाश र घरमाथिको जून खोस्छ
त्यसको शासन क्षेत्रभित्र सधैँ
साङ्ली बोकिरहनुपर्छ स्वतन्त्रताको खल्तीमा

 

तर मलाई यो थाहा छ
परेवाले सधैँ
शान्तिको झन्डा नबोक्न पनि सक्छ ।

 

असिना प¥यो भन्दैमा उड्न छाड्दैनन् चराहरू
मुस्कुराउन छोड्दैनन् आँगन डिलका फूलहरू
पलाउन छोड्दैन स्कुलको बेन्चीमा चेतनाको टुसा
ब्युँताउन सक्छ चिहानबाट सपना

 

ओ विज्ञान ! 
हजारौँ वर्षअघि
तिमीले धर्तीबाटै विलीन भइसकेको
घोषणा गरेको डाइनोसर 
आज हजारौँ वर्षपछि 
फेरि जिउँदो भएको छ ।

 

यो धर्तीबाट
जिउँदै मान्छेलाई अवशेष बनाउने
जिउँदै मान्छेको अस्थिपञ्जर घोट्ने
मान्छे नमारीकन मान्छे खाइरहने 
यो डाइनोसरको पतन कहिले हुन्छ ?

– कालेबुङ