• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
टोपलाल अर्याल
२०७९ असोज १५ शनिबार ०८:४५:००
समाज

अम्बा बेचेर दसैँ खर्च

२०७९ असोज १५ शनिबार ०८:४५:००
टोपलाल अर्याल

इस्मा गाउँपालिका– ५ गुल्मीकी २९ वर्षीया माया कुमाल दसैँ खर्च जोहो गर्न डोकोमा अम्बा र निउरो बोकेर तम्घास बजार धाइरहेकी छिन् । गाउँमा उनको एक माना फल्नेसमेत जमिन छैन । मनकारीले बनाइदिएको ओतमा उनी बस्छिन् ।मायालाई दसैँमा मीठोचोखो जोहो गर्नेभन्दा पनि एक छाक खानकै लागि बढी पिरलो छ ।

 

उनले एक दशकअघिदेखि अम्बा, निउरो र सालका पात जम्मा गरेर बजारमा बेच्दै आएकी छिन् । मायाले ६ महिनाको बच्चा काखमा बोकी डोकोभरि अम्बा र निउरो बोकेर व्यापार गरिरहेको देख्न सकिन्छ । त्यही डोकेव्यापारको भरमा उनले ६ जनाको परिवार चलाउँदै आएकी छिन् । ‘घरनजिकै निउरो पाइँदैन । तीन घन्टा हिँडेर अर्जे र छाप पुग्नुपर्छ, उनी भन्छिन्,‘म एक्लै जाने होइन । हामी समूह बनाएर बिहान चार बजे नै निउरो टिप्न जान्छौँ ।’ 


माया दिनभर जंगल डुलेर एक डोको अर्थात् २५ मुठा निउरो जम्मा गर्छिन् । त्यही दिन बजार पुग्न सम्भव हुँदैन । अर्को दिन चार घन्टा हिँडेर तम्घास बजार पुग्छिन् । कतिपय गाडीमा चढेर पनि बजार पुग्छन् । ४० देखि ४५ रुपैयाँमा एक मुठा निउरो बेच्छिन् । मायाका अनुसार गाडीमा गए भाडा कटाएर दिनको सात–आठ सय मात्रै कमाइ हुन्छ । माया दुई दिन मिहिनेत गरेर पाँच दिन खान पुग्ने खानेकुरा बोकेर घर फर्किन्छिन् । 

 

बजारमा बार्गेनिङ
इस्मा गाउँपालिका– ५ रातामाटाकी ४५ वर्षीया भीमकला कुमालले पनि अम्बा र सालको पात बेच्न थालेको दुई दशक भयो । उनी पनि डोकोमा अम्बा बोकेर चार घन्टाको बाटो तम्घास बजार पुग्छिन् । १० रुपैयाँको चारवटा अम्बा बेच्छिन् । एक मुठा सालको पातलाई ५० देखि ६० रुपैयाँमा बेच्छिन् । यसरी नै उनी दिनको १२–१३ सय कमाउँछिन् । त्यही पैसाबाट उनको घर चलेको छ । 


तर, भीमकलालाई बजारमा बार्गेनिङ भएको मन पर्दैन । ‘घन्टाैँ गाउँ र जंगल चहारेर बजार पु¥याएको अम्बा, निउरो र पातमा बजारका साहुहरूले बार्गेनिङ गर्दा चित्त दुख्छ,‘उनको गुनासो छ, ‘साततले महलमा बस्ने बजारियाहरू धन र मन दुवैमा कन्जुस छन् ।’ श्रीमान्ले अर्को बिहे गरेपछि भीमकलाले तीन छोरासहितको परिवार एक्लै सम्हालिरहेकी छिन् । उनको अन्य आर्थिक उपार्जन गर्ने ठाउँ छैन । मेलापातसँगै मौसमी व्यापारबाट उनले परिवार धानेकी छिन् । 


इस्मा गाउँपालिका– ३ का लीलबहादुर कुमाल पनि श्रीमतीसहित अम्बा र निउरो बेच्न तम्घास बजार धाइरहन्छन् । दसैँ नजिकिँदै गएपछि गाउँमा खेतबारीको काम खासै हुँदैन । सोही मौकामा लेकमा गएर निउरो र बेँसीमा अम्बा तथा सालका पात टिपेपछि बजार कुद्छन् । श्रीमान्–श्रीमतीले बोकेका दुई भारी नै बिक्री गरेर करिब १५्र सयदेखि दुई हजारसम्म कमाउँछन् । ‘यही बेचेर दसैँका लागि सामान किन्छौँ,’ लीलबहादुर सुनाउँछन् । 


इस्मा गाउँपालिका– ६ का १५ वर्षीय किसान कुमाल विद्यालयमा दसैँ बिदा भएपछि दैनिक मदन भण्डारी राजमार्गमा अम्बा बेच्न बस्छन् । उनी बुल्म प्राविमा कक्षा पाँचमा पढ्छन् । गाउँघरमा अम्बा भएकाले खरिद गर्नुपर्दैन । त्यही अम्बा टिपेर उनी राजमार्गमा पुग्छन् र एक थैलो अम्बा ५० रुपैयाँमा बेच्छन् । दिनभरमा तीन–चार सयको अम्बा बिक्री हुने उनले सुनाए । दसैँ अवधिभर एकजनाले करिब पाँच हजारको अम्बा बिक्री गर्ने गरेको उनको अनुभव छ । उनले चार वर्षदेखि दसैँका वेला अम्बा बेच्दै आएका छन् । बुल्म गाउँका कतिपय बालबालिका समेत दसैँ खर्चका लागि अम्बा बिक्री गर्न राजमार्गमा पुग्छन् । सोही गाउँकी १२ वर्षीया होमा कुमाल भन्छिन्,‘अम्बा बेचेको पैसाले कापी–कलम पनि किन्छौँ ।’ 

 

संकटमा पेसा 
गुल्मीमा सबैभन्दा धेरै कुमाल समुदाय इस्मा गाउँपालिकामा बस्छन् । उनीहरूको पुख्र्यौली पेसा माटाका भाँडा बनाउने भए पनि अधिकांश परिवार पुरानो पेसाबाट विस्थापित भएका छन् । ६५ वर्षीय रुद्रबहादुर कुमाल माटाका हाँडी, घैँटा र पैनीलगायतका सामान बिक्री गर्न गुल्मीसहित अर्घाखाँची र प्युठानसम्म पुग्थे । त्यसवेला सामग्रीअनुसारका खाद्यान्य दिने बढी हुन्थे । माटाका सामान बेचेर १५ दिनपछि घर फर्किएको अनुभव रुद्रबहादुरसँग छ । तर, अहिले उनले माटाको काम गर्दैनन् । पछिल्लो पुस्ता कसैले पनि त्यो काम नगरेकोमा उनको गुनासो छ । 


सोही गाउँका ८८ वर्षीय दलबहादुर कुमालसँग पनि अन्नका लागि माटाका भाँडा बोकेर गाउँ–गाउँ घुमेको सम्झना प्रशस्तै छ । एक दशकदेखि गाउँमै माटाका भाँडा बनाउने ‘सेरामिक्स’ सञ्चालनमा छ । तर, त्यो उपयोग गर्ने युवाहरू गाउँमा छैनन् । स्थानीय उजेला कुमालको दम्पतीले मात्रै पेसालाई निरन्तरता दिइरहेका छन् । उजेलाले खुत्रुके, दिया, फूलदानी, धुपौरा, आरी, हाँडी र मटुला बताउँछिन् भने श्रीमान् आलेबहादुर कुमालले हाँडी, घैँटालगायतका ठुला सामग्री बनाउँछन् । घरमै आएर सामग्री लैजाने भएकाले बजारको कुनै समस्या नभएको उजेलाको भनाइ छ । उनी भन्छिन्, ‘दसैँको सिजन सुरु भएपछि मात्रै १५–२० हजारको सामान बेच्यौँ ।’