
गोल, समाज र संस्कृतिसापेक्ष आमालाई गरिने सम्बोधन अनेक हुन सक्छन् वा उस्तै हुन सक्छन् । आमा, मा, मामा, मामु, मम, ममी, माई आदि । जुन नामले सम्बोधन हुने भए पनि आमा र सन्तानबीचको सम्बन्ध, मातृवाशल्य र स्नेह उस्तै हुन्छ । यस अर्थमा संसारभरका आमाहरू उस्तै हुन् । एकै हुन् । मातृवाशल्य धेरै मात्रामा प्राकृतिक हो । तर, सन्तानले आमालाई गर्ने स्नेह, श्रद्धा, सम्मान र हेरचाह भने धेरै मात्रामा सांस्कृतिक कुरा हो ।
धेरैलाई सामान्य लाग्न सक्छ तर केहीलाई अनौठो पनि, किन संसारभर बिल्कुलै फरक भूगोलका र सांस्कृतिक रूपले अलग समूहमा सन्तानले आमालाई उस्तै–उस्तै शब्दले बोलाउँछन् ? इथ्नोलगका अनुसार आज पनि संसारमा ७ हजार १११ प्रकारका भाषा बोलिन्छन् । तर, कसरी केही शब्दको अर्थ सबैजसो भाषामा उही हुन पुग्छ ? संसारको प्रमुख दश भाषामा आमालाई गरिने सम्बोधन मामा वा मा नै हुन्छ ।
आमालाई बुझाउने शब्दले यस्तो सार्वलौकिक अर्थ कसरी ग्रहण ग-यो होला ? अर्थात् विश्वका अधिकांशका लागि मा वा मामाभन्दा आमाको नै अर्थ किन लाग्छ ? केही अरू भाषामा हेर्ने हो भने पनि आमाका लागि गरिने सम्बोधन एकै अक्षर म वा माको वरिपरि नै घुमिरहेको हुन्छ । सायद यो भाषा विज्ञानका लागि सर्वाधिक रुचिकर विषयमध्ये एक हो । मानवशास्त्रीय भाषाविज्ञानका विद्यार्थीका लागि त यो रुचिको विषय हुँदै हो ।
भाषाशास्त्रीका अनुसार बच्चाले सिक्ने पहिलो सवांदी स्वर वा व्यञ्जन ध्वनि म, प र ब हुन् । अर्थात् मा, पा र बा । उसले जब पहिलोपटक मा वा मामा उच्चारण ग-यो भन्ठानियो कि उसले उसको सबभन्दा निकटको व्यक्ति, आमालाई त्यो सम्बोधन ग¥यो । जतिवेला कुनै बच्चाले पहिलोपटक मा शब्द उच्चारण गर्छ, त्यसवेला उसलाई उसको आमासँगको सम्बन्ध के हो समेत थाहा भइसकेको हुँदैन । उसको मा सम्बोधन त उसको भोकको अभिव्यक्ति हो । जब भोक लाग्छ, उसले आवाज निकाल्छ मा वा मामा ।
पोलेनेसियादेखि नेपालसम्म, काजगिस्तानदेखि मेक्सिकोसम्म किन आमाका लागि उस्तै वा समान शब्द प्रयोग हुन्छन् ? नेपालमा पछिल्लो जनगणनाले १२३ बोलीचालीका भाषाभाषी गणना गरेको छ । नेपालभित्रै बोलिने ती भाषाभाषीमध्ये अधिकांश भाषामा आमालाई गरिने सम्बोधन उस्तै–उस्तै हुन्छन् ः मा, आमा, माई, मै आदि । तर, किन यस्तो हुन्छ त ? होस् ! यसको विस्तारित विश्लेषण भाषाशास्त्रीहरूले नै गरून् ।
तर जुन शब्दले बच्चाले आमालाई सम्बोधन गरे पनि त्यो शब्दको अर्थ आमा हो भन्ने त उसले पछि मात्र बुझ्छ । अर्थात् बच्चाले पहिलो शब्द जुन प्राकृतिक रूपले सिक्यो, त्यसको अर्थ आमा हो भन्ने सांस्कृतिक ज्ञान त धेरै पछि मात्र सिक्छन् बच्चाहरूले । शब्दको अर्थ त पछि समाजले सिकाउँछ उसलाई । शब्दको अर्थ सिक्ने कुरा सांस्कृतिक कुरा हो । त्यो परिभाषित गर्ने कुरा हो । सम्बोधन सिकाइको आधारबाट बन्ने हो ।
सम्बोधन र सम्बन्ध
सन्तानले आफ्ना आमालाई अनेक संज्ञाले सम्बोधन गर्छन् । आमा, मा, मामु, मम, ममी आदि । हो माता–पिता पुरानो सम्बोधन सुनिन्छ, किन कि यो आम प्रचलनमा बोलचालको भाषामा छैन आजकाल । लेख्य भाषाको रूपमा भने अहिले पनि प्रचलित नै छ । तपाईं यसलाई फेसन भन्न पनि सक्नुहुन्छ कि आजकालका सन्तानले स्मार्ट भाषाको खोजी गर्छन्, सम्बोधनमा । कसैलाई लाग्न सक्छ माता वा आमा भन्नुको साटो मम वा मामु भन्नु संस्कृति बिग्रनु हो । सांस्कृतिक रूपमा भ्रष्ट हुनु हो ।
चासो त शब्दले परिभाषित गर्ने अर्थमा हुनुपर्ने होइन र ! अमेरिकीहरूले मदरलाई संक्षिप्त रूपमा मम भन्नेहरूलाई पनि त्यस्तै आरोप लाउँथे रे ! मलाई लाग्छ, जुन नामले सम्बोधन गरे पनि न त सन्तान र आमाको सम्बन्धमा त्यसले केही असर गर्छ, न त आमाको स्नेहमा या सन्तानको सम्मानमा । स्नेह र सम्मान त सांस्कृतिक कुरा हुन्, भाषाको गतिशीलतासँगै सम्बोधन फरक पर्न सक्छ तर सम्बन्ध हैन ।
हो, कसैलाई पुरानोप्रति मोह हुन्छ । विगतप्रति अगाध प्रेम हुन सक्छ । तर, ममी, मामु भन्नेले संस्कृति र परम्परा बिर्से भनेर चिन्ता गर्नु फजुलको चिन्तासिवाय केही होइन । संसारसँग एकाकार हुन खोजिरहेको पुस्ता परम्पराको माखेसाङ्लोमा अल्झिएर त अवश्य नै बस्दैन । त्यसको प्रभाव सम्बन्धहरूमा पर्न सक्छन्, त्यो बेग्लै बहसको विषय भयो ।
मैले मेरै वरिपरि उन्नत आधुनिक सोच भएका घरमा पनि छोराछोरीले आमा, बा नै भनिरहेको पनि सुनेको छु र परम्परागत मात्र होइन, पुरातन विचारले शासित परिवारका सन्तानले ममी, ड्याडी भनेको पनि सुनेको छु । अर्थको सन्दर्भ हुन्छ र त्यसैअनुरूप अर्थ ग्रहण गर्ने हुन् । तैपनि आमालाई गरिने सम्बोधनका आधारमा कोही आधुनिक सोच र कोही पुरातन सोचका भनिहाल्न सकिन्न ।
संस्कृति निरन्तर परिवर्तन भइरहन्छ भन्ने सामान्य मानवशास्त्रीय ज्ञान नहुँदा र मान्छेमा हुने विगतप्रतिको अति मोहका कारण कैयौँ मान्छेलाई परिवर्तन स्वीकार गर्न सहज हुँदैन । लाउने, खानेजस्ता सामान्य चालचलनको कुरादेखि बोल्ने भाषामा समेत आलोचना गरिरहेका हुन्छन् । कतिपय वेला लाग्छ, यो सब कुण्ठाको अभिव्यक्ति पनि हो ।
यदि आमाले संरक्षण नगर्नेे हो भने सन्तान सन्तान रहँदैनन् । जुनसुकै समुदाय र संस्कृतिका भए पनि यदि आमाले नसिकाउने हो भने व्यक्ति अहिलेभन्दा धेरै गुणा कमसल हुने थियो ।
आमा र स्नेह
आमा, माता, मामु जे शब्दले पुकारे पनि आमाको स्नेह त्यही नै रहन्छ । काठमाडौंकोे नेवारी बस्तीमा जन्मिएका मेरा एक पर्वते मित्र आमालाई मा भन्थे । भाषा सिक्ने कुरा हो । आजकल सिक्ने अनेक माध्यम छन् । भाषामा आउने परिवर्तन सांस्कृतिक परिवर्तको द्योतक हो, तर एउटा पोयो समातेर मात्र सिंगो परिवर्तन वा रूपान्तरण कसरी भइरहेको छ भन्नु आंशिक सत्य हो । आमालाई गरिने स्नेह र सम्मान सांस्कृतिक कुरा हो, त्यो केवल कुन शब्दले सम्बोधन गरिन्छ भन्नेले मात्र फरक पार्दैन ।
तर, एउटा महत्वपूर्ण कुरा के हो भने स्नेह र सम्बन्ध सामाजिक विकासको तह, आर्थिक विकास र त्यसले सामाजिक संस्थाहरूमा पार्ने प्रभाव र राज्यको चरित्रसँग समेत सम्बन्धित छ । एउटा गृहिणी र अर्थोपार्जन एवं पेसागत उन्नयनमा तल्लीन आमाले आफ्ना सन्तानको हेरचाहमा दिने समय उत्ति नै नहुन सक्छ । त्यहाँ आमा र सन्तानबीचको सम्बन्धको तह वा गहनता निश्चित रूपमा नै फरक परेको हुन सक्छ । त्यसैले पनि भनिएको हो सम्बन्ध सांस्कृतिक रूपले परिभाषित गरिने कुरा हो, संस्कृति समाजबाट व्यक्तिले ग्रहण गर्ने कुरा हो ।
वैयक्तिकतालाई उच्च प्राथमिकतामा राख्ने समाज र पारिवारिक तथा सामुदायिक सर्वोच्चतामा विश्वास गर्ने समाजमा हुर्केका व्यक्तिहरूमा आमासँगकै सम्बन्धलाई परिभाषित गर्ने मानक फरक–फरक हुन सक्छन् । हुर्केपछि बाबुआमाबाट अलग बस्नु सामथ्र्य ठानिने पश्चिमा समाज र बाबुआमासँगै सधैँ बसिरहनु सभ्य ठानिने हाम्रोजस्तो समाजमा आमा र सन्तानका सम्बन्धलाई फरक–फरक ढंगमा परिभाषित गरिनु स्वाभाविक हो । त्यस्तै राज्यको सामाजिक सुरक्षा नीतिले पनि पारिवारजस्ता सामाजिक संस्थाको अर्थ र महत्वलाई फरक हिसाबले परिभाषित गर्न बाध्य बनाउँछ । धाईआमाको स्याहारसुुसार र मन्टेस्वरी स्कुलले गर्ने सामाजिकीकरण र खुद आमाले स्याहारसुसार गरेर गरिने सामाजिकीकरणको तह के भिन्न नहोला र ?
कृषिमा आधारित जीविकोपार्जन र संयुक्त परिवारबाट सहरी जीवनशैलीमा र एकल परिवारमा आउँदा आमाले सन्तानको हेरविचार गर्ने कुरामा फरक पर्ने नै भयो । यसको असर पछि सम्बन्धमा पर्न सक्छ । आमा पहिलो पाठशाला । तसर्थ सन्तानको सामाजिकीकरणमा आमाको भूमिका कस्तो रहन्छ भन्ने कुराले सम्बन्ध र कस्तो व्यक्तित्व निर्माण हुन्छ भन्ने फरक पर्ने नै भयो ।
जर्ज वासिंटनको एउटा भनाइ धेरै ठाउँमा उद्धृत गरिन्छ । उनी भन्ने गर्थे रे, ‘मेरी आमा मैले आजसम्म देखेकोमध्ये संसारकै सबैभन्दा सुन्दर महिला हुन् । म जे छु, त्यसको सबै श्रेय मेरी आमालाई जान्छ । मेरा सफलताका कारक बनेका सबै नैतिक, बौद्धिक र भौतिक शिक्षा मैले मेरी आमाबाट पाएको हुँ ।’यो सबैका लागि अहिले पनि साँचो हो । मेरा लागि पनि उत्तिकै साँचो हो । पहिला जति साँचो हो, त्यो त्यति नै साँचो अहिले नहोला । तर, यसको सत्यतामा प्रश्न भने गर्न सकिँदैन । आज म जे छु, त्यो मेरी आमाको कारण छु । सबै सन्तानलाई सामान्यतया यस्तो लाग्छ । तसर्थ ऊ आमाको स्नेहप्रति नतमस्तक बन्छ । उसले कुन नामले आमालाई सम्बोधन गर्छ, त्यो गौण कुरा हो, स्नेह शाश्वत ।
स्नेह र सम्बन्ध सामाजिक विकासको तह, आर्थिक विकास र त्यसले सामाजिक संस्थाहरूमा पार्ने प्रभाव र राज्यको चरित्रसँग समेत सम्बन्धित छ ।
अंश र वंश
हाम्रो आफ्नै सन्दर्भ उपयोगी हुन सक्छ, यो बहस अगाडि बढाउन । जब कुनै पनि व्यक्ति निर्माणमा आमाको अहं भूमिका रहन्छ भने उक्त व्यक्तिले आमाको पहिचानबाट आफ्नो पहिचान निर्माण गर्ने अवसर किन नपाउने ? आमाको नामबाट नागरिकता किन बहसको विषय हुनुपर्ने हो यो जसरी भइरहेको छ ।
कुरा खास अंशको हो, जसले वंश परम्परा निर्धारण ग-यो । यो विषयमा कुनै वेला विस्तारमा छलफल गरौँला ।
यहाँ भन्न खोजिएको के हो भने यदि पैतृक सम्पत्ति आफ्ना सन्तानका सामाजिक, कानुनी अधिकारजस्तो नहुँदो हो त कसको पहिचानसहितको नागरिक बन्ने भन्ने कुरा सायद त्यति महत्वपूर्ण ठानिन्नथ्यो कि ! यो पनि थप छलफलको विषय । अर्थात्, सन्तानमा सम्पत्ति पुस्तान्तरण हुने कुराले सन्तानको आमाबाबुसँगको सम्बन्धलाई पनि प्रभावित गरेकै हुन्छ । महिला र पुरुषको सम्पत्तिमा बराबर हक हुनु, सम्पत्तिमा हक नहुनु, वा एकलौटी हक हुनुले सन्तानको आमासँगको सम्बन्ध प्रभावित गर्छ । महिलाको नाममा अंशको अधिकार स्थापित भएको दिन उनको वंशको अधिकार धेरै फरक पर्नेछ । सम्पूर्ण सत्य त्यो मात्र होइन, यद्यपि ।
हेर्दा सामान्य लागे पनि यदि सन्तानले आमाको नामबाट नागरिकता पाउने हो भने यसले सन्तानको आमाप्रतिकोे सम्बन्ध, स्नेह र दायित्वलाई अहिलेभन्दा प्रगाढ बनाउन पनि सक्छ । यसर्थ निजी सम्पत्तिको पुस्तान्तरण हुँदा आमाको स्नेहमा खासै फरक नपर्ला । तर, आमाको सुखभोगमा भने असर गर्छ नै ।
सम्बन्ध र स्नेह
आमाहरू सन्तानसँग जति इमानदार हुन्छन्, त्यति नै इमानदार सन्तानहरू आमाप्रति हुँदैनन् । यो सामान्य मानवीय व्यवहारको कुरा हो । आमाको ममता कायम रहँदा–रहँदै पनि सन्तानलाई सम्बन्धबाट टाढा लगिरहेकै हुन्छ । त्यसैले फेरि पनि भनौँ कि आमाको स्नेह स्वतन्त्र वा अप्रभावित हुन्छ, तर आमाले पाउने सम्मान र स्नेह भने अनेक कुराबाट प्रभावित हुन्छ, निर्धारण हुन्छन् । आमाको कोखबाट जन्मिएकै आधारमा वा रगतको नाताका कारणले मात्र सामाजिक सम्बन्ध र सम्मानको स्वरूप निर्धारण गर्दैन । सिंगो समाजमा आइरहेको परिवर्तनको शृंखलाको परिणाम हो, आमासँग सन्तानको परिवर्तित सम्बन्ध । सामान्य यस अर्थमा पनि हो कि यो जन्मजात हुने गुण होइन कि बरु समाजबाट सिक्ने हो, समाजअनुरूप सिक्छ ।
हाम्रो सन्दर्भमा सम्बन्ध बदलिएका छन्, तर सामान्य अवस्थामा आमाको स्नेह यथावत् नै छ । हाम्रो जिन्दगीको सुखदुःखलाई परिभाषित गर्ने पहिलो मान्छे नै आमा हो । यदि आमाले संरक्षण नगर्नेे हो भने सन्तान सन्तान रहँदैनन् । जुनसुकै समुदाय र संस्कृतिका भए पनि यदि आमाले नसिकाउने हो भने व्यक्ति अहिलेभन्दा धेरै गुणा कमसल हुने थियो ।
आमाका सन्दर्भमा सम्बोधन गौण कुरा हो, सम्बन्ध प्रधान । आमाको सन्तानप्रतिको सम्बन्ध उनको स्नेहमा प्रत्यक्षीकरण हुने हो भने सन्तानको आमाप्रतिको सम्मान र दायित्वमा । आमालाई जुन संज्ञाले सम्बोधन गरे पनि सन्तानको आमाप्रतिको न श्रद्धा न सम्मान कम गर्छ । तर, सामाजिक जीवनमा आएको फेरबदल, सामाजिक संस्थाहरूको विघटन आदिका कारण भने सन्तानको आमाप्रतिको दायित्व, सम्मान र सम्बन्धहरूलाई प्रभावित पार्न सक्छ ।