यतिवेला गाउँदेखि सहरसम्म दसैँको उमंग छाएको छ । कामविशेषले घरबाहिर रहेकाहरू घर फर्कन थालेका छन् । तर, छिमेकी टोलबस्तीमा दसैँको रौनकता छाउँदा धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँको रानाथारू बस्तीलाई भने दसैँको उमंगले हुँदैन । रानाथारू समुदायले न दसैँको जमरा राख्छन्, न टीका नै लगाउँछन् । कुनै अप्रिय घटना भएर यो समुदायलाई दसैँले नछोएको भने होइन, उनीहरूले दसैँ नमान्नुको कारण बेग्लै छ । सुन्दा अनौठो लाग्न सक्छ, हिन्दू धर्मावलम्बी भएर पनि आदिवासी रानाथारू समुदायले दसैँ मनाउँदैनन् ।
तिहार, होली, कृष्ण जन्माष्टमी, तिजजस्ता धार्मिक पर्व धुमधामसँग मनाउने रानाथारू समुदायमा दसैँ मनाउने परम्परा छैन । ‘हामीले न जमरा राख्छौँ, न दसैँ मान्छौँ । हाम्रो समुदायमा दसैँ मनाउने परम्परा नै छैन,’ कैलाली गाउँको रानाथारू बस्तीका भल्मन्सा मोली राना भन्छन्, ‘छरछिमेकमा अरू समुदाय दसैँको उमंगमा हुँदा हामी आफ्नै कामधन्दामा व्यस्त हुन्छौँ ।’
धनगढी उपमहानगरपालिका–१७, उर्माको रानाथारू गाउँमा पनि दसैँको कुनै उल्लास देखिँदैन । छिमेकमै थारू समुदायका व्यक्ति उल्लासपूर्वक दसैँ मनाउने तयारीमा छन् । रोजगारी, अध्ययन आदि विभिन्न सिलसिलामा घरबाहिर रहेका अधिकांश घर फर्किसकेका छन् । रानाथारू समुदायका स्थानीय भने आफ्नो नियमित काम व्यस्त छन् । उर्मा गाउँका अगुवा रामसमझ राना सामाजिक प्रभावले आफ्नो समुदायका कतिपय व्यक्तिले दसैँप्रति चासो दिने र दसैँका अवसरमा हुने मेला–महोत्सवमा सहभागी हुन थाले पनि जमरा राखेर दसैँ मनाउने सुरुवात भने नभएको बताउँछन् ।
परापूर्व कालमा घटस्थापनाकै दिन रानाथारू समुदायको अगुवाको घरमा मानिसको मृत्यु भएपछि त्यस दिनदेखि दसैँ मनाउन छोडिएको किंवदन्ती रहेको रानाथारू समुदायका अगुवा धनबहादुर राना बताउँछन् । ‘परापूर्व कालमा भएको त्यही घटनालाई मनमा राखेर त्यस दिनदेखि दसैँ मनाउन छोडिएको जनविश्वास छ,’ उनी भन्छन् । तराईका अन्य थारू समुदायमा छोरा र छोरीको विवाह एकै दिन गर्ने चलन छ । तर, रानाथारूमा भने एउटै घरका छोरा र छोरीको विवाह एकै दिन गर्ने चलन छैन । जनविश्वासअनुसार परापूर्व कालमै रानाथारूको एक परिवारमा छोरा र छोरीको विवाह एकै दिन भएको थियो । छोरी अन्माएर बुहारी भिœयाएको केहीबेरमै छोराको मृत्यु भयो, त्यही दिनदेखि छोरा र छोरीको विवाह एकै दिन गर्न नहुने चलन बसेको जनविश्वास रानाथारू समुदायमा छ ।
दसैँको वेला यो समुदाय आफ्नो कुलदेवताको पूजाआजामा व्यस्त रहन्छन् । असोज आँैसीको तेस्रो दिन रानाथारू समुदायको देउता ‘भुइँया माता’को पूजा सुरु हुन्छ । रानाथारू समुदायले गाउँको दक्षिणतिर वनजंगल, नदीकिनारको छेउछाउमा पूजा गर्ने स्थान बनाएका हुन्छन्, जहाँ माटोले बनाइएको भुइँया माताको मूर्ति राखिएको हुन्छ । गाउँमा कसैको विवाह हुँदा परिवारका मान्छेले पहिले त्यही मूर्तिको पूजा गर्ने चलन छ ।
असोज औँसीको तेस्रो दिन गाउँका जिम्दारले चौकीदारलाई माटोले भुइँया माताको मूर्ति लिपपोत गर्न लगाउँछन् । त्यस दिन बेलुका गाउँको जिम्दारले आफ्नो घरमा कुलदेवताको पूजा गर्छन् । जिम्दारले पूजा गरेको दोस्रो दिन बेलुका समुदायका सबैले आ–आफ्नो घरमा पूजा गर्ने चलन रहेको कैलाली गाउँका भल्मन्सा मोली राना बताउँछन् । उनका अनुसार दीप प्रज्ज्वलनसँगै धानको बाला चढाएर आफूले मान्ने कुलदेवताको पूजा गरिन्छ । साउन र भदौ महिनामा देउता घुमफिरमा जाने गरेको विश्वास रानाथारू समुदायमा छ । असोज महिनामाऔँसीको तेस्रो दिन भुइँया माताको पूजा गरेसँगै देउता फिर्ता भएर आउने जनविश्वास छ ।
दसैँका वेला यो समुदाय आफ्नो कुलदेवताको पूजाआजामा व्यस्त रहन्छ । असोज औँसीको तेस्रो दिन रानाथारू समुदायको देउता ‘भुइँया माता’को पूजा सुरु हुन्छ । गाउँको दक्षिणतिर वनजंगल, नदीकिनारको छेउछाउमा पूजा गर्ने स्थान बनाएका हुन्छन्, जहाँ माटोले बनाइएको भुइँया माताको मूर्ति राखिएको हुन्छ ।
दसैँ मनाउने परम्परा नरहे पनि हिजोआज भने दसैँको रौनकले रानाथारू समुदायलाई पनि अलिअलि छुन थालेको शिक्षक मोतीराम राना बताउँछन् । दसैँका वेला विभिन्न मठमन्दिर र शक्तिपीठहरूमा हुने पूजाआजामा रानाथारू समुदायका कतिपय व्यक्ति सहभागी हुन थालेको उनको अनुभव छ । ‘अन्य समुदायको प्रभाव हाम्रो समुदायमा पनि देखिन थालेको छ । जमरा नराखे पनि धर्मप्रति धेरै आस्था राख्ने कतिपय बुढापाका मठमन्दिरमा गएर पूजापाठमा जान थालेका छन्,’ मोतीराम भन्छन्, ‘जमरा नै राखेर दसैँ मनाउने चलन भने सुरु भइसकेको छैन ।’
एक महिनासम्म मनाइन्छ ‘होरी’
रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरी (होली) हो । यो समुदायले एक महिना आठ दिनसम्म होरी पर्व मनाउने गर्छन् । फागुपूर्णिमाको एक महिनाअघि माघ पूर्णिमादेखि नै रानाथारू समुदायमा होली मनाउन सुरु हुन्छ । एक महिनासम्म राति नाचगान गरेर मनाउने चलन छ । फागुपूर्णिमाको दिन होरिका जलाउनुअघि मनाउने होलीलाई रानाथारू समुदायले ‘जिउँदो होरी’ भन्छ । गाउँभरिका मानिस राति एक ठाउँमा जम्मा भएर होरी गीत गाउँदै र होरी नाच नाच्दै रमाइलो गर्छन् । रानाथारू समुदायमा होरी नाच निकै प्रख्यात छ ।
होलिका दहनपछि आठ दिनसम्म ‘मरेको होली’ मनाउने चलन रहेको रानाथारू संस्कृतिका अध्येता जीवन रानाथारूले बताइन् । जिउँदो होरीमा नाचगान गर्दा रानाथारूले परम्परागत पोसाक लगाउँदैनन् । मरेको होरीको वेला भने परम्परागत पोसाक र गरगहना लगाउने चलन रहेको उनले बताइन् ।
रानाथारू महिलाले मनाउने ठूलो पर्व हो तिज । उनीहरूले साउनमै तिज मनाउँछन् । अन्य समुदायका महिला आफ्नो पतिको दीर्घायुका लागि र अविवाहिताले सुयोग्य वर प्राप्तिको कामनाका लागि तिजमा व्रत बस्ने गर्छन् । रानाथारू समुदायमा भने तिज मनाउनुको उद्देश्य र मान्यता फरक छ । रानाथारू महिलाहरू आफ्ना दाजुभाइको दीर्घायु र सुखशान्तिका लागि तिजमा व्रत बस्छन् । तिजमा व्रत बस्दा दाजुभाइको आयु बढ्ने विश्वास रहिआएको धनगढी बेलादेवीपुरकी सिर्जना राना बताउँछिन् ।
आदिवासीमा सूचीकृत रानाथारू समुदायको बसोवास कैलाली र कञ्चनपुरमा मात्र छ । रानाथारू समाजका अनुसार दुई जिल्लामा रानाथारूको जनसंख्या करिब तीन लाख छ । २०७८ को जनगणनामा पहिलोपटक रानाथारूको गणना छुट्टै गरिएको छ । समाजका अध्यक्ष कृपाराम राना भन्छन्, ‘हाम्रो जनसंख्याको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन ।’