• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
दिनेश पन्त
२०७९ असोज २९ शनिबार ०७:०३:००
अनुवाद

दक्षिण एसियाली उपमहाद्वीपमा मात्रै सीमित छैन जात

२०७९ असोज २९ शनिबार ०७:०३:००
दिनेश पन्त

अमेरिकामा जातमा निहित समस्यालाई अस्वीकार गरेर गुगलले हालै जातमा आधारित विभेदबारेको छलफल कार्यक्रम रद्द गरेको छ । रद्द गरिएको कार्यक्रमको पृष्ठभूमिमा गुगलका एक दलित कर्मचारीले आफ्ना उच्च जातका वरिष्ठ कर्मचारीले दुर्व्यबहार गरेको आरोप लगाएका छन्, हाल अमेरिकामा यो आरोपका सम्बन्धमा कानुनी सुनुवाइ चलिरहेको छ ।

प्रवासी भारतीय एवं दक्षिण एसियालीमाझ जात–आधारित विभेदको बहस चलिरहँदा संयुक्त राष्ट्र संघले ३६ वर्षीय दलित महिला अश्विनी केपीलाई नश्लवादका समकालीन प्रारूप, नश्लीय विभेद, जातिद्वेष (जेनोफोबिया) र अन्य असहिष्णुताका मामिलामा राष्ट्र संघीय मानव अधिकार आयोगको विशिष्ट विशेषज्ञका रूपमा नियुक्त गरेको छ ।

अश्विनी संयुक्त राष्ट्र संघ मानव अधिकार आयोगको विशिष्ट विशेषज्ञमा नियुक्त हुने एसियाकी पहिलो दलित महिला हुन् । आश्विनीले नेपालसँग पनि नजिकबाट जोडिएर काम गरेकी छिन् । उनले विद्यावारिधिको शोधपत्रमा दलित मानव अधिकारका सन्दर्भमा भारत र नेपालको तुलनात्मक अध्ययन गरेकी थिइन् । उनको सफलता एवं संघर्षलाई उजागर गर्दै ‘द न्युज माइन्युट’का लागि बालकृष्ण गणेशनले लिएको अन्तर्वार्ता दिनेश पन्तले अनुवाद गरेका छन् :

नश्लवादका समकालीन प्रारूप, नश्लीय विभेद, जातिद्वेष (जेनोफोबिया) र अन्य असहिष्णुताका मामिलामा संयुक्त राष्ट्र संघ मानव अधिकार आयोगले यहाँलाई विशिष्ट विशेषज्ञका रूपमा नियुक्त गरेकोमा बधाई छ । एक महिला र दलितका रूपमा यो उपलब्धिलाई कसरी लिनुभएको छ ?  

यहाँलाई धन्यवाद । मैले ठूलो अवसर पाएको महसुस गरेकी छु । विशेषतः राष्ट्र संघमा मैले नेतृत्व गर्ने लक्ष्यको आलोकमा यो उपलब्धि विशाल छ । शक्तिशाली एवं निर्णायक पदमा महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व जहिल्यै पनि असमान रहेको छ । सीमान्तकृत समुदायको अपर्याप्त प्रतिनिधित्वका कारण विभिन्न मञ्चमा समानता एवं विभेदका बारेमा हुने बहस निरन्तर रूपमा प्रभावित हुने गरेको छ । म एक महिला र दलित हुँ, यो अवसरले मलाई अन्तर्सम्बद्धता (इन्टरसेक्सनालिटी)को परिप्रेक्ष्यमा वंशज र पेसागत पूर्वाग्रहलाई सम्बोधन गर्ने थुप्रै ढोका खोलिदिएको छ ।

दलित महिलाको समस्या लामो समयदेखि लैंगिकता मात्रको बहसले छायामा पारिदिएको छ, जहाँ जात–आधारित कारकलाई ध्यान नदिँदा दलित महिलामा गम्भीर प्रभाव पर्दै आएको छ । दलित महिलालाई नेतृत्वको भूमिकामा राख्दा लैंगिक एवं जातका बारेमा इमानदार बहसका लागि प्रोत्साहन मिल्छ, जुन म संलग्न हुने संस्थाको उद्देश्यसँग मेल खान्छ भन्नेमा मलाई दृढ विश्वास छ ।


यहाँको विगतको योगदानले तपाई अम्बेडकरवादी हो भन्ने देखाउँछ । अम्बेडकरवादी दृष्टिकोणबाट तपाईं नश्लवादलाई कसरी हेर्नुहुन्छ ?  
 मैले ‘दलित इतिहास महिना उत्सव’मा उत्साहका साथ सहभागिता जनाएकी छु । उत्सवको पहलकदमी प्रोजेक्ट मुक्तिले लिएको हो, जहाँ दलित समुदायको इतिहास, भाष्य र बारम्बार सहवरण वा बेवास्ता गरिएका पक्षमा ध्यान केन्द्रित गर्ने लक्ष्य राखिएको थियो । दलित इतिहास महिना उत्सवले मलाई हाम्रो समूहले उठाउने विशिष्ट विषयवस्तु र बहसका बारेमा धेरै सिकाएको छ ।

 

दलित इतिहास महिना उत्सव दलित दाबीअनुसारको वास्तविक इतिहास निर्माणका लागि आवश्यक ज्ञान उत्पादन गर्ने एक सशक्त प्रक्रिया थियो । बाबासाहेब अम्बेडकरले जात एवं नश्लका बारेमा गहन ढंगले लेखेका र बोलेका थिए । उनका अनुसार जात–व्यवस्था र नश्लभेदमा कैयौँ समानता छन् र जात–व्यवस्थामा निहित अस्पृश्यताले जात–व्यवस्थालाई नश्लभेदभन्दा निकृष्ट बनाएको छ । उनले जात–व्यवस्था वा नश्लभेदलाई सम्बोधन गर्ने सामाजिक–राजनीतिक एवं कानुनी खाका प्रस्तुत गरेका थिए । नश्लभेदका सम्बन्धमा अम्बेडकरले व्यक्त गरेका विचार वैश्विक जात–व्यवस्था एवं नश्लभेदविरोधी आन्दोलनमा अत्यन्त सान्दर्भिक छ ।  


यहाँले दक्षिण एसियाली अध्ययनमा विद्यावारिधि गर्नु भएको छ र एम्नेस्टी इन्डियामा आबद्ध भएर सीमान्तकृत समुदायका पक्षमा काम गर्नुभएको छ । यी अनुभवले जात एवं नश्लका बारेमा तपाईंको विचार कसरी निर्माण गरेको छ ? 

मैले आफ्नो विद्यावारिधिको शोध सेन्टर अफ साउथ एसियन स्टडिज जवाहरलाल नेहरू विश्वविद्यालय नयाँदिल्लीबाट पूरा गरेकी हुँ । मैले दलित मानव अधिकारका सन्दर्भमा भारत र नेपालको तुलनात्मक अध्ययन गरेकी छु । मेरो शोधग्रन्थको शीर्षक ‘दलित मानव अधिकारको अन्तर्राष्ट्रिय आयामः नेपाल र भारतको सन्दर्भ अध्ययन’ रहेको छ । विश्वव्यापी परिवेशमा अधिकार एवं वैधानिकताका सन्दर्भमा दलितको अवस्थाबारे अध्ययन राष्ट्र संघका विभिन्न संयन्त्र प्रक्रियालाई ध्यानमा राखेर शोध गरेकी थिएँ । विद्यावारिधिको शोधक्रममा म भारत र भारतबाहिरका दलित अभियन्ता एवं प्राज्ञसँग जोडिएकी थिएँ । मैले संवाद गरेका धेरै अभियन्ता एवं प्राज्ञ राष्ट्र संघका थुप्रै मञ्चमा संलग्न थिए । यी अभियन्ता एवं प्राज्ञका अनुभवले जात एवं नश्लका जटिलता एवं समानताबारेको मेरो बुझाइ निर्माण गर्न सघाएको थियो ।


एम्नेस्टी इन्डियामा काम गर्दा मैले व्यापारिक एवं मानव अधिकार टोलीको वरिष्ठ अभियन्ताको भूमिका निर्वाह गरेकी थिएँ । मेरो काम छत्तिसगढ, उडिसाजस्ता राज्यका आदिवासीका भूमि अधिकारमा केन्द्रित थियो । एम्नेस्टीमा काम गर्दा भारतका विभिन्न राज्यका आदिवासी समुदायको जीवनलाई नजिकबाट नियाल्ने मौका पाएकी थिएँ । दलित एवं आदिवासी समुदायका संघर्ष समान छन् । एक दलित महिलाका नाताले मैले आदिवासी विशेषतः आदिवासी महिलाको जीवन्त अनुभव महसुस गर्न सक्छु । आदिवासी र दलित प्रायः वंशज एवं पेसाका आधारमा विभेद खेप्छन् । जात र नश्लमा निहित जटिलताले यी दुईबीचको समानता बुझ्न सघायो र जातमा आधारित विभेदलाई पनि नश्लभेदमा जत्तिकै गम्भीरताका साथ सम्बोधन गर्नुपर्ने मत निर्माण गर्न सघायो । 


आफ्नो जातको खुलासा गर्नु एकदमै जटिल प्रक्रिया हो अर्थात् केहीले आफ्नो सीमान्तकृत पहिचान खुलाउँछन् भने केहिले लुकाउँछन् । तपाईंले आफ्नो जात निर्धक्क रूपमा खुलाउनुभएको छ । यो खुलासाले तपाईंलाई कसरी प्रभाव पार्‍यो ? 


जात सर्वव्यापी छ र सबैलाई आफ्नो जात खुलाउने सुविधा छैन । मेरो सन्दर्भमा जात खुलाउने प्रोत्साहन मैले आफ्ना आमा–बुबाबाट पाएकी हुँ । यसबाहेक म हुर्केको वातावरणले पनि जात खुलाउन प्रोत्साहन गर्‍यो । म जात चेतना बोक्नुलाई समस्याका रूपमा नहेर्ने पृष्ठभूमिबाट आएको हुँ । शिक्षित अभिभावकको लालनपालनले मलाई मेरो सामाजिक पहिचानलाई राजनीतिक एवं सामाजिक आलोकबाट बुझ्न सघायो । आफ्नो पहिचान खुलाउने एक किसिमको सुविधा मसँग थियो जुन धेरैसँग हुँदैन । हरेक सीमान्तकृत व्यक्तिका लागि पहिचान खुलाउनु एक जटिल परिस्थितिको सामना गर्नु हो । वास्तवमा निर्धक्क एवं स्पष्ट भई आफ्नो पहिचान खुलाउनु सजिलो काम होइन । दलितका सन्दर्भमा निर्धक्क रूपमा पहिचान खुलाउनुलाई गलत वा नकारात्मक रूपमा बुझिन्छ । मैले आफ्नो जात खुलाएका कारण मिश्रित प्रतिक्रिया पाएकी छु । दलित महिला हुनुको मेरो अनुभवलाई खारेज गर्दै आफ्नो पहिचान खुलाएकोमा मलाई प्रहार पनि गरिएको अनुभव पनि व्यहोरेकी छु । 


दलित समुदायबाट आएकी महिला भएकाले यहाँले विभिन्न वृत्तमा अत्यधिक चुनौती व्यहोर्नु भएको होला । तपाईं ती चुनौतीलाई कसरी लिनुहुन्छ ? हालको उपलब्धि हासिल गरिराख्दाको क्षणमा के तपाईं आफ्ना सुरुवाती दिनका बारेमा बताउन सक्नुहुन्छ ? 


वास्तवमा दलित महिला र हक्की स्वभावको हुनु सजिलो छैन । निश्चय नै प्राज्ञिक र अन्य क्षेत्रमा मैले द्वेष एवं विभेद भोगेकी छु । मेरो हक्की स्वभावका कारण मैले कैयौँ अवसर गुमाएकी छु । जुन क्षेत्रमा मेरो उपस्थिति थियो र जहाँ मैले काम गरेकी छु त्यहाँ विशेषाधिकारयुक्त समुदायकै मानिसको वर्चस्व छ । नतिजा यी क्षेत्रमा जात एवं सिमान्तीकरणका मुद्दा उठाउँदा द्वेषयुक्त वातावरण सिर्जना भएको छ । तर, यसले मलाई जात एवं सीमान्तीकरणका मुद्दा उठाउनबाट रोकेन । तथापि यी मुद्दामा सहानुभूति राख्ने व्यक्तिहरूको अथाह समर्थन भने रह्यो । र, जात, लैंगिकता र सीमान्तीकरणमा मेरो उत्सुकता एवं लगावले मलाई अगाडि बढाइरह्यो । बाल्यकालदेखि जातविरोधी एवं अम्बेडकरवादी आन्दोलनको हिस्सा हुनुको अलावा म विद्यार्थीकालमा राजनीतिक रूपमा सक्रिय थिएँ ।

म जवाहरलाल नेहरू विश्वविद्यालयमा सयुंक्त दलित विद्यार्थी फोरमको हिस्सा थिए जसले मलाई विद्यार्थी राजनीतिसँग परिचित गरायो । पछिल्ला १० वर्षदेखि म दलित, आदिवासी र महिला अधिकारको पैरवी गर्ने विभिन्न भुइँ तहका संगठनमा आबद्ध थिएँ । यी भुइँ तहका संगठनको आबद्धताले मलाई सीमान्तीकरणको यथार्थबारेको धारणामा परिवर्तन गर्न सघायो । अहिले म जहाँ छु त्यो सब प्राज्ञिक, सामाजिक आन्दोलन, शोध–अनुसन्धान एवं विभिन्न प्रगतिशील मञ्चमा हासिल गरेको अनुभवका कारणले सम्भव भएको हो । 


के राष्ट्र संघमा तपाईंको आबद्धताले जातमा आधारित विभेदलाई थप गम्भीरताका साथ हेरिनेछ भन्ने लाग्छ ? तपाईंले भारत र अन्य दक्षिण एसियाली मुलुकमा जातमा आधारित समस्या समाधानमा जोड दिनुहुनेछ भन्ने अपेक्षा हामी गर्न सक्छौँ ?


प्रतिनिधित्वले सीमान्तकृत समुदायसँग सम्बन्धित मुद्दालाई जोड दिने मामिलामा ठूलो भिन्नता ल्याउँछ भन्नेमा म दृढतापूर्वक विश्वास गर्छु । मैले प्राज्ञिक क्षेत्र एवं सामाजिक अभियानमा वंशज एवं पेसागत विभेद र जातविरोधी आन्दोलनमा व्यापक ढंगले र एकाग्र भएर काम गरेकी छु । आज विभेदका रूपमा रहेको जात दक्षिण एसियाली उपमहाद्वीपमा मात्रै सीमित छैन । जात एक वैश्विक परिघटना बनिसकेको छ जसले विश्वका करोडाैँ मानिसलाई प्रभावित पारेको छ । एक दलित महिलाको नाताले मैले विभेद एवं बहिष्करणको जीवन्त अनुभव बोकेकी छु ।

राष्ट्र संघमा काम गरिरहँदा यो अनुभवलाई कुनै हालतमा बेवास्ता गर्न सक्दिनँ । संस्थागत भएका नश्लवाद, नश्लीय विभेद, जातिद्वेष, जातमा आधारित विभेद र अन्य भेदभावका कारण अझै पनि करोडौँ मानिसलाई प्रभावित पारिरहेको छ । डर्बान सम्मेलनयता जात राष्ट्र संघ एवं अन्य वैश्विक मञ्चमा बहसको विषय बनेको छ । एक प्राज्ञ र अभियन्ताको हैसियतमा म जात आधारित विभेदको मुद्दा र यसलाई अन्तर्राष्ट्रिय रूपमा विभेद भएको हो भनेर उजागर गर्न कुनै कसर बाँकी राख्नेछैन ।