• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश खनिया
२०७९ असोज २९ शनिबार ०७:२५:००
फिल्म

सिनेमामा द्वन्द्वको राजनीति

२०७९ असोज २९ शनिबार ०७:२५:००
गणेश खनिया

अढाइ दशक नाघिसकेछ, नेपालमा माओवादीले तत्कालीन व्यवस्थाविरुद्ध सशस्त्र युद्व थालेको । यो घटनालाई हेर्ने विविध नजर छन् हामीबीच, अनि त्यस्तै शब्दावली पनि, माओवादीका लागि ‘जनयुद्व’ त अन्य पक्षका लागि सशस्त्र द्वन्द्व, माओवादी द्वन्द्व, हिंसात्मक द्वन्द्व आदि । तत्कालीन राज्यपक्षका लागि त माओवादीहरू आतंककारी र उनीहरूको युद्ध आतंकवादी क्रियाकलाप नै थियो । अब त माओवादी वार्तामार्फत शान्ति प्रक्रियामा छिरेकै डेढ दशक भइसकेको छ । यसबीच कला साहित्यका विविध विधामा दशवर्षे द्वन्द्वका कथाव्यथा समेटिन थाले । विभिन्न कोणबाट युद्ध र यसका प्रभावबारे बहस विमर्श भइरह्यो । विभिन्न समयमा घटेका युद्धबारे संसारभर नै धेरै लेखिएका छन् । यस्ता युद्ध साहित्यले भयावह समय र कहालीलाग्दो विगतलाई विस्मृतिमा जानबाट रोक्छन् ।


‘पल्पसा क्याफे’, ‘उर्गेनको घोडा’, ‘खलंगामा हमला’, ‘छापामारको छोरो,’ ‘छापामार युवतीको डायरी’, ‘रोल्पा सुइना’ मात्र होइन, अरू पनि किताबहरू निस्किए, कविता कोरिए, संस्मरण लेखिए । यसबाहेक चित्रकलामा पनि उतारियो युद्धकालीन/युद्धोत्तर घटनाहरू अनि सिनेमाका पर्दामा पनि स्थान पाए ती विषयले । नेपाली सिनेमामा त्यस युद्धका फरक–फरक आयामलाई फरक–फरक कोणबाट पस्किएको पाइन्छ– अनुभूतिका आधारमा, अनि आस्थाका आधारमा पनि । यहाँ दश वर्षभित्र बनेका केही प्रतिनिधि सिनेमामार्फत द्वन्द्वको चित्रण र त्यसका प्रभावबारे चर्चा गरिनेछ ।


सेनाको ब्यारेकमा माओवादी समर्थकलाई दिइने चरम यातनाको विषयमा बनेको सिनेमा ‘वधशाला’ले द्वन्द्वकालको दृश्य आख्यानको गतिलो गोरेटो खनेको थियो । त्यसवेला माओवादी लडाकुको यातनाको त कुरै भएन, सर्वसाधारण पनि चामलमा घुन पिसिएझैँ पिसिन बाध्य थिए । ‘कालो पोथी’ले जातीय दलन, सांस्कृतिक परिवेश, सामाजिक पछौटेपनबीच माओवादी दमनको बिम्बात्मक दृश्यांकन गर्छ । ‘सेतो सूर्य’ले द्वन्द्वबीच परिवार र सिंगो समाज नै कसरी पक्ष–विपक्षमा विभक्त थियो र लास व्यवस्थापनजस्तो संवेदनशील घटना पनि कति कष्टकर थियो भन्ने झलक दिन्छ । मानवीय संवेदनालाई मिहिन ढंगले देखाइएका यी दुवै सिनेमाले सचेत सिनेप्रेमीको मन जिते । त्यसपछि बनेका सिनेमा ‘त्यान्द्रो’ र ‘टलकजंग भर्सेज टुल्के’ले पनि त्यही द्वन्द्वकथाका अलग आयाम समेटेका छन् । ‘त्यान्द्रो’ले सांस्कृतिक फाँटमा संलग्न माओवादी लडाकु जब घाइते हुन्छ, त्यसपछि उसले पाएको उपेक्षा र अवहेलनालाई बडो मार्मिक ढंगले प्रस्तुत गरेको छ । ‘टलकजंग भर्सेज टुल्के’भित्र द्वन्द्वबीचका असहजतामा लाभ लिने छट्टुहरू र अनाहकमा द्वन्द्वको घानमा पर्ने सोझासीधाको नालीबेली केलाउँछ । माओवादी पार्टीकै अगुवाइमा बनेकोे ‘लाल सलाम’ले त्यसवेला चलिरहेको माओवादी युद्धमा लडाकुहरू जनताका समस्यासँग एकाकार र रिजेभिजेको देखाउँछ । तर, यथार्थ त्यो मात्र थिएन । एकपक्षीय दृष्टिकोणले माओवादी युद्धको जयजयकार गरिएका ‘आगो’, ‘आवाज’जस्ता अरू पनि सिनेमा बने ।


हालैका केही नयाँ नेपाली सिनेमामा पनि कुनै न कुनै रूपमा तत्काीलन द्वन्द्वले स्थान पाएको छ । द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षबाट सुराकी प्रयोग गरिन्थे, एक–अर्काका गतिविधिमाथि निगरानी हुन्थ्यो । छद्म रूपमा संलग्न यी सुराकीका कारण शाही सेना र माओवादी सेनाबीचको झडपले नाटकीय मोड लिन्थ्यो, यिनै सुराकीकेन्द्रित कथा छ ‘दोख’भित्र । सुन्दर कथालाई भन्ने सशक्त शैलीको अभाव देखिन्छ यो सिनेमामा । ‘पानीफोटो’ले बेपत्ता परिवारको कहर भन्छ । द्वन्द्वका दौरान हराएको छोरोको खोजीमा भौँतारिएका जोडीको मर्मस्पर्शी व्यथा समेटिएको छ यसमा । आफन्तको अवस्था सार्वजनिक नहुँदाको पीडा र हैरानी भोगिरहेका परिवारजनको वर्तमान यथार्थबीच दोषी पक्षलाई गरिएको निरन्तर खबरदारी हो ‘पानीफोटो’ । माओवादी शान्ति प्रक्रियामार्फत सत्तासीन भएपछि कसरी हिजोका वाचाबाट विमुख हुँदै गयो ? कसरी नवप्रवेशीहरू हाकाहाकी माओवादी पार्टीका हर्ताकर्ता बने र हिजोका लडाकु र तिनका परिवारप्रति उदासीन बन्दै गए ? यी कथाव्यथाको बेजोड प्रस्तुति रहेको छ ‘प्रकाश’ सिनेमाभित्र ।

हाम्रा सिनेकर्मीले सिनेमा अध्ययन त राम्रो गरे, प्रविधिका धेरै आयाम पनि बुझे, तर समाजको ऐतिहासिक र सामाजिक अध्ययनमा चुके


१९६० देखि नै भिन्न धारका सिनेमा बने छिमेकी देश भारतमा । नायककेन्द्रित ‘लार्जर द्यान लाइफ’का मूलधारका सिनेमाले औसत जनमत रोमाञ्चित र प्रभावित भइरहेको वेला भोकमरी, गरिबी, नक्सलवादी आन्दोलन, सहकारी अभ्यासलगायत अन्य निषेधित तथा ओझेल परेका विषयमा समानान्तर सिनेमा बन्दै गए । सत्यजित रे, ऋत्विक घटक, मृनाल सेनले सम्याएको बाटोमा असीको दशकमा आइपुग्दा पहलाज निहलानी, श्याम वेनेगल, दिवाकर ब्यानर्जी, गौतम घोष आदि सिनेकर्मी मिसिँदै गए र सिनेमामा नायक होइन, विषय नै प्रधान हो भन्ने तथ्य उजागर गर्दै गए, धिमा स्वरमा आफ्ना कथा भन्दै गए । नाट्यक्षेत्रबाट आएका ओम पुरी, नसिरुद्दिन शाह, सवाना आजमी, स्मिता पाटिल आदि कलाकारले ती अलग कथालाई अझ सजीव बनाए, उन्नत अभिनयमार्फत । अहिले त्यही भिन्न धार झन्डै मूलधार बनिसकेको अवस्था छ बलिउडमा । यही दिशामा दर्शकको मनोविज्ञानको सापेक्ष द्वन्द्वजस्ता गहन विषयलाई बहुआयामबाट पर्गेल्दै नयाँ कथा सुनाउन नेपाली सिनेजगत् पनि जुर्मुराइरहेको छ यतिखेर, यो अत्यन्त उत्साहजनक पक्ष हो ।


प्रकाश सपुतको गीत ‘पिर’मा एकजना पूर्वलडाकू महिला वेश्यावृत्तिमा लागेको र पुरुष लडाकु वेश्यालय गएको दृश्य देखाउँदा माओवादी समर्थक तथा नेता–कार्यकर्तालाई धेरै अपमानबोध भयो । यस गीतले धेरै बहस विमर्श जन्मायो । यथार्थमा पूर्वलडाकुहरूको अवस्था अझ विकराल छ । जीवनयापनका लागि उनीहरूले छानेका माध्यमहरू धेरै असहज छन् । त्यही निरीहताको फाइदा उठाउँदै एमाले अध्यक्ष केपी ओलीले लडाकु तथा घाइतेहरूको उपचार तथा व्यवस्थापनको जिम्मा लिने उद्घोष गरिरहँदा माओवादी शिविर मौन रहन्छ, प्रतिवादमा केही सुनिँदैन । यो मौनता र निरीहतालाई यो शिविरको लाचार अनुमोदन किन नमान्ने ? ‘पिर’मा तरंगित माओवादीवृत्त द्वन्द्वकेन्द्रित सिनेमातर्फ बिरलै ध्यान दिन्छ ।


राज्यपक्ष र माओवादी पक्षका आ–आफ्नै स्वार्थका कारण कचपल्टिएको छ द्वन्द्व व्यवस्थापन, कैयौँ बेपत्ताबारे बेखबर छन् परिवारजन अझसम्म । ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ राजनीतिक नेतृत्वको स्वार्थमा निष्प्रभावी बनिरहेको छ । यसैले ‘पानीफोटो’ सिनेमाका दम्पतीको जस्तै मानसिक आघात झेलिरहेछन् कैयौँ परिवार अहिले पनि । तर, यसै समस्याको एउटा हिस्सेदार हो माओवादी । अरू दलहरू जसरी नै कानमा तेल हालेजसरी नसुनेझैँ, नदेखेझैँ बस्नुमा नै उचित लाग्यो माओवादीलाई पनि ।


सिनेनिर्माताका पनि आ–आफ्नै राजनीतिक पृष्ठभूमि हुन्छ । आफ्ना एजेन्डालाई कलाका माध्यमले व्यक्त गर्न पाइन्छ मजाले । तर, कलाकारले बृहत् क्यानभासबाट हेर्ने अपेक्षा त अवश्य रहन्छ नै । सिनेमामा राजनीतिको कलाविहीन प्रतिबिम्बन देखियो भने अवश्यै भद्दा लाग्छ । मुगुको परिवेशमा बनेको ‘कालोपोथी’मा सिनेमामार्फत गरिएको राजनीतिको स्पष्ट रेखा भेटिन्छ । अलि एकपक्षीय भएको भनेर त्यतिखेर पनि वामवृत्त तातेको थियो यो फिल्मको प्रदर्शनताका । शाहीसेना र विद्रोहीलाई समान स्पेस दिँदादिँदै पनि तत्कालीन राज्यपक्षकै केन्द्रीय ध्वनि स्थापित गर्न खोजेको छ ‘दोख’ले पनि ।  ‘प्रकाश’ सिनेमाले जुम्लाको राजनीतिक भूगोलमा अन्य पार्टीहरू अस्तित्वमै नरहेको देखाउनु र बेथितिको सम्पूर्ण दोषको भागिदार माओवादी रहेको किटान गर्नुु पनि एउटा पक्षधरता लाग्छ । यो सिनेमाले माओवादीविरोधी भाष्य निर्माणमा लागेको भनी शिक्षामन्त्री देवेन्द्र पौडेलले लगाएको आरोपलाई पूरै खारेज गर्न सकिँदैन । आरक्षण र समावेशितामाथिको प्रहारले अर्को जटिल बहस निम्त्याएको छ ‘प्रकाश’ले ।


सिनेमामा राजनीतिको रंग त ‘लाल सलाम’मा अझ बाक्लो भेटिन्छ । माओवादीको विगत पनि निष्कलंक छैन । लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको बीभत्स हत्या, चितवन बाँदरमुढेको दर्दनाक घटना माओवादीको अनुहारमा पोतिएको कलंक थियो । यस्तो कहालीलाग्दो जटिलताबीच ‘लाल सलाम’जस्ता सिनेमाबाट सर्वसाधारणको ‘ब्रेनवास’ गर्ने कामबाहेक अन्य बौद्धिक वा प्राज्ञिक बहसलाई कुनै टेवा पुग्दैन । 


पछिल्ला सिनेमाबारे अधिकांश माओवादीहरू बेखबर देखिन्छन् । अहिले सत्तासीन प्रचण्डको नेतृत्वमा रहेको माओवादी मात्र होइन, त्यो युद्धको विरासत बोक्नेहरू नेत्रविक्रम चन्द, मोहन वैध, आहुति, गोपाल किराँती सबै नै हुन् । तर, यी सांस्कृतिक उत्पादनप्रति उनीहरूको मौनताले सिनेमा वा अन्य कलामा जे देखाइयो, त्यही ठिक रहेछ भन्ने भाष्यलाई घुमाउरो पाराले अनुमोदन गरेन र ? धेरै पढेर बाबुरामको के अवस्था भयो भन्दै आहुतिप्रति कटाक्ष गरेथे कुनै समय कार्यकर्तामाझ प्रचण्डले । ताली पड्काउँदै गललल हाँसेर उनको भनाइलाई अनुमोदन गर्ने कार्यकर्ताको जमातबाट के नै अपेक्षा गर्न सकिन्छ र ? माओवादी वृत्तमा अध्ययन संस्कृति पहाडी पानीका मूलझैँ सुक्दै छ निरन्तर । त्यो वृत्तबाट तार्किक र आलोचनात्मक विमर्शको गुन्जायस न्यून भइसक्यो । लाचार, बेखबर र असंवेदनशील बनी प्राप्त लाभांश सोहोर्दै तिकडमबाजी र भुइँफुट्टा राजनीतिमा डुब्नु नै आफ्नो उद्देश्य बनाइरहेको छ यो पार्टीले यतिखेर । क्षयीकरणको रफ्तार यसरी नै बढ्दै जाने हो भने आउँदो दशकसम्म युद्धको इतिहासमा गर्व गर्ने र माओवादी हुँ भनी दाबी गर्नेहरूलाई मैदानै नरहने सम्भावना छ ।


दशकपहिले नै भारतीय सांस्कृतिक चिन्तक आशिष नन्दीले माओवादी द्वन्द्वलाई नेपालको इतिहासमा एउटा महत्वपूर्ण पानीढलो घटना भन्दै यसबारे धेरै प्राज्ञिक, साहित्यिक कर्म गर्न बाँकी रहेको बताएका थिए । आफ्नै विरासतलाई जगेर्ना गर्न पनि युद्धकालीन इतिहासको व्यापक र सन्तुलित अभिलेखीकरण आवश्यक थियो, माओवादीसम्बद्ध बौद्धिकहरूबाट । उक्त पार्टीको सांस्कृतिक विभाग र चिन्तनशील समूह यसमा चुकेकै हुन् । गम्भीर र अलि आलोचनात्मक तहमा रहेर उक्त कित्ताबाट विचार विमर्श हुन सकेन । माओवादी पृष्ठभूमिका सांस्कृतिककर्मीहरू एकजुट छैनन्, छिन्नभिन्न छन् । अधिकांश त सत्ताधारी नेताको पछि लाग्ने र एकेडेमीजस्ता नियुक्त हुने ठाउँ ढुकेर बसेका छन् । अलमलमै रहेर सांस्कृतिक कर्मबाटै अलग भई जीविकाको लागि अर्कै बाटो खोज्ने पनि छन् । प्रतिबद्ध बनी जनजागरणमार्फत क्रियाशील बन्न खोज्नेहरू अत्यन्त न्यून छन् । जागरण गायक खुशीराम पाख्रिन पनि जीवनका पछिल्ला समयमा माओवादीका स्वार्थकेन्द्रित गतिविधिका कारण अत्यन्त दुःखी थिए । नयाँ पुस्ताका कला, संगीतकर्मीहरूको उत्साह जगाउने गतिविधि खासै थालिएको छैन । त्यसैले प्रतिबद्ध सांस्कृतिककर्मीहरू पलायन हुने खतरनाक परिवेश बनिरहेको छ । 


खासमा माओवादी द्वन्द्वको एउटै खालको प्रभाव र आघात पनि थिएन देशभर । भूगोलपिच्छे फरक छन्, द्वन्द्वका गाथाहरू । एक दशकबीच माओवादी द्वन्द्वमा निकै सिनेमा बने । गम्भीर विषय, अनि प्रस्तुति अझ बोझिलो हुँदा द्वन्द्वकेन्द्रित सिनेमाले दर्शकलाई आकर्षित गर्न सकेन । त्यसैले अब द्वन्द्वका अनेक पाटालाई केस्राकेस्रामा केलाएर, गहिरो अध्ययन अनुसन्धानपश्चात् त्यहाँका अगोचर पक्षहरूलाई सिनेमाका पर्दामा ल्याउनु आवश्यक छ । बहुपक्षीय कथाहरूको खोजी गर्नुपर्नेछ । एक दशकदेखि प्रयोगमा आएको माओवादी द्वन्द्व विषयक सिनेमामा सजीवता ल्याउन फरक प्रसंग, सामाजिक धरातलीय यथार्थ, इतिहास र संस्कृतिका ओझेल परेका पाटाहरूका माध्यमबाट तत्कालीन समाज र घटनाको दृश्यांकन गरिन बाँकी छ ।


संसदीय अभ्यासमा रहेका नेपाली कांग्रेस, एमाले आदि दलसँगै राजतन्त्र उन्मूलनमा निर्णायक बन्यो माओवादी शक्ति । राज्य र अधिकांश दलहरूबाट आतंककारी ठानिएको माओवादीलाई राजनीतिक दल ठान्नेमा दिवंगत नेता प्रदीप गिरिको नाम अघिल्लो पंक्तिमा आउँछ । मानवअधिकारवादी कृष्ण पहाडी माओवादीका कट्टर आलोचक हुन्, तर कम्तीमा पनि संविधानसभाको माग स्थापित गर्नमा माओवादीलाई जस दिन्छन् । राजतन्त्रको दाह्रानंग्रा निकाल्नमा अघिल्लो मोर्चामा रहेको माओवादी युद्ध र आन्दोलनलाई हालको क्षयीकरणको आलोकमा हेरेर धारेहात लगाउने जमात बढ्दो छ । अहिलेका माओवादी नेताहरूको सुविधासम्पन्न जीवनयापन, आसेपासे पोस्ने प्रवृत्ति र ठेकेदारी शैलीलाई देखेर द्वन्द्वनिःसृत उपलब्धिलाई धुलिसात गर्नेहरूको उपस्थिति बलियो बन्दै छ । द्वन्द्वपश्चात् जन्मेहुर्केका अहिलेको युवापिँढी असमानताको इतिहास र उत्पन्न द्वन्द्वबारे जानकार छैन । हाम्रा सिनेकर्मीले सिनेमा अध्ययन त राम्रो गरे, प्रविधिका धेरै आयाम पनि बुझे, तर समाजको ऐतिहासिक र सामाजिक अध्ययनमा चुके । वैकल्पिक इतिहासको गोरेटो कोर्न पनि विगतको त्यो कालखण्डमा नसमेटिएका विविध विषयमा सिनेकर्मीहरूको ध्यान पुग्न आवश्यक छ । विभेद र द्वन्द्वको ऐतिहासिक उत्खनन गर्दै सतही संकथनमाथि चुनौती दिने सिनेमा निर्माणको उत्तिकै खाँचो छ ।