• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अनुप सुवेदी काठमाडाैं
२०७६ बैशाख २१ शनिबार ०६:४६:००
फिल्म

एभेन्जर्स मन्दविष

फिल्म समीक्षा

२०७६ बैशाख २१ शनिबार ०६:४६:००
अनुप सुवेदी काठमाडाैं

फिल्मको भव्यरूपको भयंकर उपयोग हलिउडको फिल्म निर्माण परम्परा हो । ठूलो लगानी, ठूलो हल्ला, कम्प्युटरमा निर्मित ‘स्पेक्टेकल’ फिल्मलाई भव्य बनाउने फर्मुला । यही परम्परामा निर्माण भएको ‘एभेन्जर्स : एन्डगेम’ गत सातादेखि संसारभरि प्रदर्शनमा आयो । हलिउडले दर्शकलाई फिल्मप्रति नतमस्तक बनाउने कलाबाजी तीन घन्टा अँध्यारोमा बस्नुभन्दा धेरै पहिलेदेखि नै सुरु गर्छ । ‘एन्डगेम’को निर्माण घोषणा फिल्मको कथा, पटकथा, निर्देशक, लगानी आकलन र अन्य प्रारम्भिक कुराको छिनोफानो अगाडि नै सन् २०१४ मा भएको थियो र साथमा सुरु भयो फिल्मको प्रचार । हलिउडका ठूला बजेट फिल्मको प्रचारमा लगानीको आधा रकम छुट्याइन्छ । प्रचारको त्यो रकमले दर्शक हलभित्र पस्नुअघि नै फिल्मबाट प्रभावित बनाउने काम भइसक्छ । 

यो फिल्म सन् २०१२ मा प्रदर्शनमा आएको ‘क्रसओभर सुपरहिरो’ फिल्म ‘एभेन्जर्स’को चौथो शृङ्खला (सिक्वेल) हो । सुपरहिरो फिल्म अतिमानवीय क्षमताको नायकले आममानिसको सुरक्षा र संरक्षणका लागि गर्ने क्रियाकलापमा आधारित फिल्मलाई मानिन्छ । ‘सुपरहिरो’ फिल्म निर्माणको इतिहास सन् १९२० मा बनेको मुक फिल्म ‘द मार्क अफ जिरो’बाट सुरु हुन्छ । त्यसको व्यावसायिक असफलताले त्यसले निरन्तरता पाएन ।

सन् १९७७ प्रदर्शनमा आएको ‘स्टारवार’को सफलताले स्वैरकल्पना र विज्ञान कथामा दर्शकको आकर्षणलाई पुष्टि ग-यो भने ‘सुपरहिरो’ फिल्मका लागि ढोका खोल्यो । सन् १९७८ मा प्रदर्शन भएको ‘सुपरम्यान’ फिल्मको व्यावसायिक सफलताले त्यसका सिक्वेल बन्न थाले भने अन्य ‘सुपरहिरो’ फिल्म ‘रोबोकप’ (१९८७), ‘ब्याटम्यान’(१९८९) आदि पनि बने । यस्ता फिल्ममा साहस, द्वन्द्व (फाइट) र स्वैरकल्पनाको भरमार उपयोग हुन्छ र यसलाई सघाउँछ दृश्य प्रभाव (स्पेसल इफेक्टस्) ले । सन् १९८४ मा प्रदर्शन भएको ‘टर्मिनेटर’ले ‘फाइट’, स्वैरकल्पना र दृश्यप्रभावमा ‘सुपरहिरो’ फिल्मलाई पछाडि पारेपछि ती फिल्मका व्यवसाय धरापमा परे । 

सन् २००२ मा प्रदर्शनमा आएको ‘स्पाइडरम्यान’को सफलताले सुपरहिरो फिल्मको पुनरुद्धार ग-यो । त्यसयता ‘ब्याटम्यान’का शृंखला, ‘हल्क’ ‘घोस्टराइडर’ ‘ट्रान्सफरमर’ आदि थुप्रै फिल्म प्रदर्शनमा आएर ‘सुपरहिरो’ फिल्मले हलिउडमा आधिपत्य जमाएको छ । हलिउडको बजार अमेरिकाबाहिर विस्तार गर्न यस्ता फिल्मले मद्दत गर्दै आएका छन् । चीन र भारतमा ‘एभेन्जर्स : एन्डगेम’ले ‘बक्सअफिस’मा रेकर्ड बनाइरहेको छ । 

बितेको दुई दशकमा ‘सुपरहिरो’ फिल्म लोकप्रिय हुनुमा दुई कारणलाई प्रमुख मानिएको छ । सन् २००१ मा ‘ट्विन टावर’ हमला र त्यसयता अमेरिकाले चलाएको कथित आतंकवादविरुद्धको लडाइँ र कम्प्युटरमा निर्माण गर्न सकिने भव्य दृश्यहरू र दृश्यप्रभाव प्रविधिको विकास ।सन् २००७ मा स्थापना भएको मार्भल सिनेम्याटिक युनिभर्सले धेरैवटा ‘सुपरहिरो’ फिल्मलाई आफ्नो मातहत निर्माण गर्न थाल्यो । पहिलो फिल्म ‘आइरनम्यान’ (२००८) को सफलतापछि यो कम्पनीले ‘थोर’, ‘क्यप्टेन अमेरिका’, ‘फस्र्ट एभेन्जर्स’, ‘स्पाइडर म्यान’, ‘क्याप्टेन मार्भल’ जस्ता सुपरहिरो फिल्मका शृंखला निर्माण गर्दै आएको छ ।

यस कम्पनीले अगाडि बनाएका यहाँ उल्लेखित सुपरहिरो फिल्मका नायकलाई एउटै फिल्ममा राखेर बनाएको फिल्म ‘द एभेन्जर्स’ सन् २०१२ मा प्रदर्शनमा आयो । धेरै फिल्मका नायकलाई एकै फिल्ममा राखेर उनीहरूका पृष्ठभूमिसहित कथा निर्माण गरी बनाएको हुनाले यो ‘क्रसओभर सुपरहिरो’ फिल्म बन्यो । यो छुट्टै शृंखलाको रूपमा मार्भलले बनाउँदै आएको छ । ‘एभेन्जर्स : एज अफ अल्ट्रोन’ (२०१५), ‘एभेन्जर्स : इनफिनिटी वार’ (२०१८) पछि ‘एभेन्जर्स : एन्डगेम’ शृंखलाको चौथो फिल्म हो । पछिल्ला फिल्ममा पछि बनेका सुपरहिरो फिल्म जस्तै ‘डा. स्ट्रेन्ज’, ‘ब्ल्याक प्यान्थर’ आदिका नायकलाई थप्दै लगिएको छ । 

‘एभेन्जर्स : इनफिनिटी वार’मा यो पृथ्वीलाई नष्ट गर्न चाहने थानोस नाम गरेको खलनायक छ । समय, यथार्थ, आत्मा, शक्ति, मस्तिष्क, अन्तरिक्षका रहस्य भएका रत्नहरू विभिन्न ठाउँमा छन् । ती रत्नहरू एउटा पञ्जामा राखेर चुट्की बजाउँदा चुट्की बजाउनेले चाहे जसरी पृथ्वीको भविष्य निर्धारण गर्न सक्छ । यो स्वैरकल्पनाको पृष्ठभूमिबाट कथा सुरु भएपछि ‘सुपरहिरो’हरू ती रत्न थानोसको हात लाग्न नदिने प्रयत्नमा लाग्छन् भने थानोस् आफ्नो चाहना पूरा गर्न ती रत्न हात पार्ने ध्याउन्नमा लाग्छ । थानोसको खलनायकीको अगाडि सुपरहिरोहरूको केही लाग्दैन । थानोसले रत्न हात पार्छ र चुट्कीको भरमा पृथ्वीको आधा प्राणी नष्ट पार्छ । सुपरहिरोहरू कोही नष्ट, कोही घाइते र कोही हराउँछन् । ‘इनफिनिटी वार’ खलनायकको सफलतामा सकिन्छ । तर दर्शकको मनमा प्रश्न बाँकी नै रहन्छ ‘अब सुपरहिरोहरू के गर्छन्’ ? दर्शकको मनमा यो जिज्ञासा जगाउन फिल्मका दुई शृङ्खला (सिक्वेल)को निर्माणको घोषणा एकैपटक गरिएको थियो । यसलाई फैलाउने प्रचारतन्त्र त छँदै छ । 

लोककथा मिथक र क्रिस्चियानिटीमा अमेरिकी मूल्य र जीवन पद्धति मिसाएर तयार पारिएका यी फिल्मले अमेरिकी मूल्य र जीवन पद्धतिलाई दर्शकमा मन्दविषसरह फैलाउँछन्

‘एभेन्जर्स : एन्डगेम’को कथानकको पृष्ठभूमि ‘इनफिनिटी वार’भएको बताउन थानोसले चुट्की बजाउनु ठीक अगाडिको अवस्थाबाट सुरु गरिन्छ, सामान्य अवस्थामा रहेको परिवारका केही सदस्य यत्तिकै हराउँछन् । थानोसले ६ वटा इनफिनिटी रत्न जडित पञ्जा लगाएर चुट्की बजाई पृथ्वीका आधा जीव नष्ट बनाएको ३ सातापछि क्याप्टेन मार्भलले हराएका नेबुला र आइरनम्यानलाई अन्तरिक्षको अनन्त गहिराइबाट उद्धार गरेपछि उनीहरू पृथ्वीमा फर्कन्छन् र बाँकी रहेका एभेन्जर्सहरूसँग मिसिन्छन् । सबै एभेन्जर्स मिलेर थानोसलाई खोज्छन् । उसलाई घाइते अवस्थामा भेट्छन् । 

थानोसले पृथ्वीको आधा जीवन नष्ट पारेको कामलाई एभेन्जर्सले उल्ट्याउन चाहन्छन् । तर, थानोसले त्यस्तो गर्न नमिलोस् भनेर इनफिनिटी रत्नहरू नष्ट पारिसकेको छ । त्यसको रिसले थोरले थानोसको गर्धन छिनाउँछ । एभेन्जर्स उपाय नपाएर आ—आफ्नो बाटो लाग्छन् । पाँच वर्षपछि एन्टम्यान क्वान्टम परिधिबाट उम्कन सफल हुन्छ । उसले एभेन्जर्समध्येका ब्ल्याकबिडो र क्याप्टेन अमेरिकालाई भेट्छ । पृथ्वीमा बितेको पाँच वर्ष एन्टम्यानका लागि क्वान्टम परिधिमा पाँच महिना मात्र हुन्छ । उसले क्वान्टम परिधिको प्रयोगबाट समयमा पछाडि फर्केर थानोसको कामलाई उल्ट्याउन सकिने अवधारणा अगाडि सार्छ । 

सम्पर्कमा नभएका एभेन्जर्सलाई खोज्छन् र सबै नयाँ अभियानमा सहभागी हुन्छन् । एभेन्जर्स अब ‘टाइम ट्राभल’ गरेर थानोसले इनफिनिटी रत्नहरू जम्मा गर्नुअगाडिको समयमा पुग्छन् र रत्नहरू भेला पार्न थाल्छन् । विभिन्न ठाउँबाट विभिन्न उपायले रत्नहरू भेला पारेर फेरि वर्तमानमा आउँछन् । उता थानोस पनि चुप लागेर बस्दैन । उसले नेबुलालाई कब्जा गर्छ र उसको भविष्यको स्मरणलाई पढ्छ अनि एभेन्जर्सको भविष्यको योजना र गतिविधि भूतमा नै थाहा पाउँछ । थानोस पनि ‘टाइम ट्राभल’ गरेर वर्तमानमा आउँछ । इनफिनिटी रत्नहरूका लागि लडाइँ हुन्छ । ती रत्नजडित पञ्जाबाट एभेन्जर्सले थानोसले नष्ट पारेको पृथ्वीको आधा जीवन फिर्ता ल्याएर पृथ्वीलाई साविककै अवस्थामा राख्न चाहन्छन् । तर, थानोस भने त्यो पञ्जाको उपयोग गरेर यो पृथ्वी नष्ट पारी उसले गरेको कामको सम्झना नभएका प्राणी भएको अर्को पृथ्वी बनाउन चाहन्छ । यो लडाइँमा एभेन्जर्सहरू सफल हुन्छन् । 

‘एन्डगेम’मा दर्शकमा आश्चर्य र सन्तुष्टि जगाउन प्रयोग भएको ‘टाइम ट्राभल’ गरी भविष्यबाट भूतमा गएर भविष्यमा हुने घटनालाई सच्याउने अवधारणा ‘टर्मिनेटर’ (१९८४) मा नै प्रयोग भएको थियो । ‘टर्मिनेटर’का सबै शृंखला यही अवधारणामा आधारित छन् । तर, ‘टर्मिनेटर’ सुपरहिरो फिल्म भने होइन । सुपरहिरो फिल्मको अवधारणा दैनिक पत्रिकामा वा छुट्टै शृंखलाको रूपमा छापिने चित्रकथा (कमिक सिरिज)बाट आएको हो । शृंखलाको रूपमा चित्रकथा छापिन थालेको अमेरिकामा सन् १९२८ देखि मानिन्छ ।

सुपरम्यान, क्याप्टेन अमेरिकाजस्ता सुपरहिरो रचिएको ४० को दशकलाई चित्रकथाको स्वर्ण युग भनिन्छ । त्यसवेला मार्भल कमिक्सले ती चित्रकथा शृंखला प्रकाशित गथ्र्यो । ४० दशकमा नै ती चित्रकथालाई छोटा फिल्म बनाएर शनिबार केटाकेटीको लागि प्रदर्शन गरिन्थ्यो । त्यसैगरी ‘एक्सम्यान’, ‘स्पाइडरम्यान’, ‘हल्क’, ‘आइरनम्यान’ रचिएको साठीको दशकलाई चित्रकथा शृंखलाको रजत युग भन्ने गरिन्छ । यी चित्रकथालाई टेलिभिजनमा कार्टुन शृंखलाको रूपमा निर्माण र प्रदर्शन हुँदै आएको छ । केटाकेटीका लागि लेखिएका ती चित्रकथामा बनेका फिल्म भने युवाकेन्द्रित छन् । युवाकेन्द्रित हुनाले नै सुपरहिरो फिल्ममा कथानक खलनायक र सुपरहिरोको लडाइँमा आधारित हुन्छ । नायकलाई सुपरहिरो बनाउन पनि खलनायकलाई राक्षसी बनाइएको हुन्छ । युवा दर्शक तान्न लडाइँ (फाइट)का दृश्यहरू लोमहर्षक बनाइन्छ । 

ट्विन टावर आक्रमणपछि संसारभरि अमेरिकाले कथित आतंकवादविरुद्धको युद्ध घोषणा गरेपछि सुपर हिरो फिल्महरूको लगातार ‘बक्स अफिस’ सफलताले यस्तै कुरालाई इंगित गर्छ । अमेरिकी राजनीतिलाई यी फिल्मले तर्कपूर्ण बनाउँछन् ।

सुपरहिरो फिल्ममा मात्र हैन, हलिउडका अधिकांश फिल्ममा हिंसा उपभोग्य कुरा बनाइएको हुन्छ । हिंसाले उत्पन्न गर्ने भय, पीडा, व्यथा आदि भावना गायब भएका कम्प्युटरमा तयार पारिएका विशेष प्रभाव उत्पन्न गर्ने भव्य र चमत्कृत दृश्य । यस्ता चमत्कृत दृश्य भनेको लागुपदार्थ सेवन जस्तै हो, उपभोग गर्दै गएपछि मात्रा बढाउँदै जानुपर्ने । त्यसैले लडाइँका दृश्यलाई बढी चमत्कृत गर्ने र भव्य बनाउन नायकको लक्ष्य पनि बढाउँदै लैजानुप¥यो । सन् १९२० मा बनेको पहिलो सुपरहिरो फिल्म ‘द मार्क अफ जिरो’को नायकको लक्ष्य आफ्नो सहरमा हुने भ्रष्टाचार निर्मूल गर्नु थियो । त्यो ‘सुपरम्यान’ (१९७८) मा आइपुग्दा सहरको रक्षामा पुग्यो । पछिका सुपरहिरो फिल्ममा मानवको रक्षा, पृथ्वीको रक्षा हुँदै अहिले तारामण्डलकै रक्षा गर्ने अभिभारा नायकको अभिभारा हुने कथानक बनाउन थालिएको छ र चमत्कृत गर्ने लडाइँका दृश्यहरूको तर्क निर्माण गरिएको छ ।

मानव जाति रक्षकको भूमिकामा उभ्याइएको नायक साहसी, इमानदार, वचनबद्ध, नवीन सोच भएको हुनुप-यो । व्यक्तिको अप्राप्य रहरका यी गुणले नायकप्रतिको आकर्षण बनाउन उपयोग हुन्छ । यो नायकको चरित्र निर्माणका साथै कैयौँ फिल्मका कथानक लोककथा र मिथकबाट लिएको छ । जस्तो ‘थोर’ (२०११) नर्मन मिथबाट लिइएको हो ।

पहिले राजा महाराजाको समयका कथामा नायक उद्धारकर्ता राजकुमार हुन्थ्यो । अहिले पुँजीवादमा प्रविधि र क्षमताको मिश्रण भएको नायक हुन्छ । ती लोककथा र अहिलेका सुपरहिरो फिल्मलाई दाँज्दा उस्तै लाग्छ, घटनाक्रमलाई समयानुकूल र दर्शकलाई आकर्षित गर्न आवश्यक ‘स्पेक्टेकल’को आवश्यकता पूरा हुने गरी बनाइएका । लोककथामा हिंसाको चित्रमय वर्णन हुँदैनथ्यो । अहिलेका सुपरहिरो फिल्म हिंसाको विस्तृतीकरण र समान्यीकरणमा टिकेका छन् । लोककथा मिथक र क्रिस्चियानिटीमा अमेरिकी मूल्य र जीवन पद्धति मिसाएर तयार गरिएका यी फिल्मले अमेरिकी मूल्य र जीवन पद्धतिलाई दर्शकमा मन्दविषसरह फैलाउँछन् ।

हिंसाको सामान्यीकरणले हिंसा गर्नु र हिंसा सहनुलाई समान्य व्यवहारको रूपमा स्थापित गर्छ । यसले अमानवीय कृत्यलाई पनि सामान्य व्यवहारको रूपमा बुझ्ने बनाउँछ भने अर्कोतर्फ सत्ताले गर्ने हिंसालाई तर्कपूर्ण भनेर ग्रहण गराउँछ । ट्विन टावर आक्रमणपछि संसारभरि अमेरिकाले कथित आतंकवादविरुद्धको युद्ध घोषणा गरेपछि सुपरहिरो फिल्महरूको लगातार ‘बक्स अफिस’ सफलताले यस्तै कुरालाई इंगित गर्छ । अमेरिकी राजनीतिलाई यी फिल्मले तर्कपूर्ण बनाउँछन् । सबै सुपरहिरो फिल्ममा नायक अमेरिकी अथवा उसले नेतृत्व गरेको हुन्छ । ‘एभेन्जर्स : एन्डगेम’मा एभेन्जर्सले उपयोग गर्ने अन्तरिक्षयानको आकार उड्दै गरेको चिल (फल्कन) जस्तो छ । चिल अमेरिकाको राष्ट्रिय चिह्न पनि हो । 

सुपरहिरो फिल्मका नायक धेरैजसो गोरा व्यक्ति हुन्छन् । मार्भल सिनेम्याटिक युनिभर्सले निर्माण गरेको ब्ल्याक प्यान्थर (२०१८) मा पहिलोपटक काला जातिको व्यक्तिलाई नायक बनाइएको छ । ‘एन्डगेम’मा ब्ल्याक प्यान्थर पनि पात्रको रूपमा सामेल हुन्छ र थानोसविरुद्धको अन्तिम लडाइँमा उसका सैनिकहरू सामेल हुन्छन् । बाराक ओबामाले राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेपछि मात्र सुपरहिरो फिल्ममा कालाजातिको व्यक्ति नायक बन्ने अवसर जु-यो । ‘एन्डगेम’को अन्तिम दृश्यमा ‘क्याप्टेन अमेरिका’ पात्रले आफ्नो ढाल काला जातिको पात्र ‘फाल्कोन’लाई दिन्छ । अमेरिकाको राष्ट्रिय चिह्न ‘क्याप्टेन अमेरिका’ले आफ्नो उत्तराधिकारी छानेको व्यक्तिको नाम मिल्नु संयोग मात्र होइन । अमेरिकी काल्पनिकीमा आएको सामान्य परिवर्तनको संकेत यसले प्रदर्शित गर्छ । 

एन्थोनी र जो रोसोले निर्देशन गरेको ‘एभेन्जर्स : एन्डगेम’ले नयाँ कुरा भन्दैन, पुरानै कुरालाई दाहो-याउँछ मात्र । जुनसुकै विधाका कला साहित्यका माध्यमले मानिसलाई ऊ र उसको वरिपरिको संसार बुझ्न, मानिस र मानिसको वरिपरिको संसारसँगको अन्तर्सम्बन्ध बुझाउन मद्दत गर्छ भन्ने मान्यता राखिन्छ । तर, सुपरहिरो फिल्मले नयाँ कुरा भन्ने भन्दा पनि फिल्मको भव्य रूपको उपयोग गरी दर्शक तान्ने उपक्रम गर्छन् । यो फिल्म हेर्दा पनि निश्चित सूत्र निश्चित खालको चमकदमकले सबै राजनीतिक स्थिति, हिंसा, क्रूरता, असमानता सबै पर्दापछाडि पर्छन्, बाँकी रहन्छ फिल्मको ‘स्पेक्टेकल’ ।