• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रीओम श्रेष्ठ ‘रोदन’
२०७९ कार्तिक ५ शनिबार ०९:१८:००
सम्झना

आख्यान शताब्दी पुरुषका आदर्श र अभिलेख

२०७९ कार्तिक ५ शनिबार ०९:१८:००
श्रीओम श्रेष्ठ ‘रोदन’

कसलाई थाहा, पाँच वर्षसम्म बोल्न नजानेका सत्यमोहन जोशी १०३ वर्षसम्म पनि नथाकेर बोलिरहन्छन् भन्ने । त्यसवेलासम्म उनीसँग इसाराले मात्र कुरा गर्नुपथ्र्याे । भक्तपुरको सूर्यविनायक मन्दिरको दर्शन गराए बच्चाले बोल्न सक्छ भन्ने परम्परागत विश्वास थियो । उनलाई बोकेर त्यहीँ लगिएपछि नै नेवारीमा बोल्न थालेका थिए । नेपालीमा भने उनले दश वर्षको हुँदा मात्र बोल्न सकेका थिए । त्यही सत्यमोहन अस्वस्थ भएर अस्पतालको आइसियूमा नपुगुन्जेलसम्म कहिल्यै चुप लागेर बसेनन् । भाषा, साहित्य, संस्कृति, कलाका विषयमा बोलिरहे नेपालीमा, नेवारीमा, संस्कृतमा र अंग्रेजीमा । 


आख्यान शताब्दी पुरुषका रूपमा सम्मानित सत्यमोहन नेपाली र नेवारी संस्कृतिका इन्साइक्लोपिडिया नै थिए । कर्णाली लोकसंस्कृतिका अन्वेषक थिए । नेपाली मुद्राका अध्येता र संकलक पनि थिए । कलाकार अरनिकोका विज्ञ पनि थिए । असोज ६ गते उपचारका लागि अस्पतालमा लगिएको थियो सत्यमोहनलाई । असोज ३० गते संसारभरिका नेपालीलाई स्तब्ध बनाउने समाचार बने उनी । अस्पतालबाट निकालिएको उनको शव ललितपुर महानगरपालिकामा केही घन्टा राखेर फेरि अस्पताल नै फर्काइएको छ । ललितपुरको बखँु बहालमा जन्मिएर १०३ वर्षको सार्थक जीवन बिताएका सत्यमोहन जोशी जीवनमा कहिल्यै नथाक्ने, नहार्ने र सक्रिय साधकका रूपमा उदाहरण बने ।


उनी अस्पतालमा भर्ना हुनु केही दिनअघि अर्थात् भदौ २३ गते साहित्यकार पवन आलोक, शंकर भारती र मैले बंगलादेशबाट आएका केही स्रष्टालाई भेटघाटका लागि लगेका थियौँ । उनी त्यतिवेला पनि निकै अस्वस्थ थिए । उनले आफू बिरामी भएकाले धेरैबेर कुरा नगर्ने जानकारी पहिले नै गरेका थिए । तर, बंगाली स्रष्टाहरूले देखाएको खुसी र उत्साह देखेपछि दुई घन्टाभन्दा बढी समय उनीहरूसँगै बिताएका थिए । सत्यमोहनले बंगलादेशको भाषासाहित्यबारे बोलेको देखेर उनीहरू छक्क परेका थिए । बंगलादेशका स्रष्टाहरूले आफ्नो देश फर्किएपछि शताब्दी पुरुष जोशीलाई भेट्न पाएकाले नेपाल भ्रमण सार्थक र उपलब्धिमूलक भएको लेखेका थिए । 


सत्यमोहन आफूप्रति इमानदार थिए । त्यसैले उनी भाषासाहित्य र संस्कृतिप्रति सदा इमानदार बने । सबैप्रति सधैँ सकारात्मक बने । उनको सामान्य र सक्रिय जीवनशैली नै समाजका लागि उदाहरण बन्न सकेको छ । चुप लागेर एकछिन पनि बस्न नसक्ने, केही न केही काम गरिरहने उनको दैनिकीजस्तै बनेको थियो । उनले आफू बसिरहेको कुटीजस्तो घर भत्काएर लोकसाहित्य परिषद्को भवन बनाउन दिएका थिए । त्यस समय उनको व्यस्तता झन् बढेको थियो । जहिले पनि अरूलाई अराइपराइ गरिरहेका देखिन्थे । कहिले बैठक गरिरहेका हुन्थे । कहिले स्रोतका लागि कुरा गरिरहेका हुन्थे । भेटघाटका लागि आइरहनेहरूसँग पनि झर्को नमानी कुरा गरिरहेका हुन्थे ।


सकारात्मक सोच र व्यस्तताले नै आफू स्वस्थ र दीर्घजीवनको भएको कुरा उनले १०० वर्ष पुगेको सन्दर्भमा बताएका थिए । उनले भनेका थिए, ‘मलाई पाँच–छ वर्षसम्म आमाले दूध खुवाउनुभो । त्यति लामो समयसम्म आमाको दूध खान पाउने मान्छे अरू छन् कि छैनन् मलाई थाहा छैन । तर, मैले खाएँ । त्यसैले होला म अहिलेसम्म बाँचेको छु र स्वस्थ पनि छु ।’


सक्रियताले नै जीवन सफल बनाउन सकेका सत्यमोहनले आफ्नो आयुलाई पूर्ण सदुपयोग गर्न सके । कहिले कुनै कार्यक्रममा जान अप्ठेरो मानेनन् । कसको, कस्तो, ठूलो–सानो केही सोधेनन् । कहिले पनि मपाईंको कुरा गरेनन् । अरूलाई प्रोत्साहित गर्न र प्रशंसा गर्न कहिले कन्जुस्याइँ गरेनन् । उनलाई घरमा भेट्न आउनेहरूको कहिले कमी हुन्थेन । जिज्ञासा लिएर आउनेहरूलाई अल्छी नमानी बताइदिन्थे । भेदभाव नगरी सबैलाई समान व्यवहार गर्थे । घरमा आएका कसैलाई पनि मुख जुठो नगरी पठाउँदैनथे । त्यसैले बखुँ बहालको जोशीनिवास आस्थाको जीवित सङ्ग्रहालयजस्तै बनेको थियो ।  

१३औँ शताब्दीका कलाकार अरनिकोलाई खोजी गरेर चिनाउने र राष्ट्रिय विभूति बनाउने काम पनि सत्यमोहनले नै गरेका थिए । चीन गएका वेला उनले अरनिकोबारे खोजी गरेर अनुसन्धनात्मक पुस्तक ‘कलाकार अरनिको’ प्रकाशित गरेका थिए । उनले रेडियो पेकिंगमा ६ वर्ष काम गरे । त्यही वेला उनले चिनियाँहरूलाई नेपाली भाषा सिकाउने काम पनि गरे । जीवित हुँदासम्म सत्यमोहनले आफूलाई देश र जनताका लागि हुनसम्मको प्रयोग गरे । मृत्युपश्चात् पनि विद्यार्थीका लागि अध्ययन गर्न काम लाग्ने गरी शरीर छोडेर गए । सुकर्मले सत्यमोहनका कीर्तिहरू अमर भएजस्तै उनको शरीर पनि सदाका लागि सुरक्षित हुने भएको छ ।


सत्यमोहन विद्वताले, सामाजिक प्रतिष्ठाले, राष्ट्रिय मान्यताले र मानपदवीले जति उचाइका थिए, त्योभन्दा बढी अरूलाई गर्ने हार्दिक र शालीन व्यवहारले सबैको मन जितेका थिए । यही कारण देशभित्रका मात्र नभएर संसारभरिका नेपालीका आदर्श बनेका थिए । यो नै उनको प्राप्ति र सत्यमोहनपन बनेको थियो ।रञ्जना ट्रेड सेन्टरका सञ्चालक साहित्यकार रामकाजी कोने थिए । उनले सेन्टरको उद्घाटन मन्त्री वा गभर्नरबाट नगराएर अग्रज स्रष्टाबाट गराउन खोजे । त्यसकै लागि उनीसँग कवि यादव भट्टराई र म एकजना प्रसिद्ध कविकहाँ पुगेका थियौँ । एक घन्टाजति बसेर अनुरोध गर्दा पनि उनले मानेनन् । भाषासाहित्यभन्दा फरक क्षेत्रको कार्यक्रममा जाँदिन भने । कोने दाइले व्यावसायिक भवनको उद्घाटन गराएर स्रष्टाको सम्मान गर्न खोजेका थिए । तर, कविको नकारात्मक टिप्पणी सुनेर निराश भएका थिए । कविको घरबाहिर निस्कनासाथ एकपटक सत्यमोहन जोशीलाई अनुरोध गर्ने हो कि भनेर मैले प्रस्ताव राखेँ । 


०७१ साल साउन बीस गतेको बिहान हामी पुग्यौँ जोशीनिवास । विषयवस्तु बताएर अनुरोध गर्नासाथ उनले भनेका थिए, ‘व्यापारिक केन्द्रको उद्घाटनमा पनि मलाई सम्झिनु मेरो लागि ठूलो अहोभाग्य हो ।’सत्यमोहन त्यत्तिकै सबैका प्रिय भएका होइनन् भन्ने एउटा उदाहरण मात्र हो यो ।भदौको पहिलो हप्ता पनि अस्वस्थ नै थिए सत्यमोहन । ‘स्रष्टा साँझ’ अमेरिकाका अध्यक्ष प्रभात दीक्षित र ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’का पूर्वअध्यक्ष प्राध्यापक मोहन सिटौला अमेरिकाबाट आएका थिए । उनीहरूले पनि सत्यमोहनसँग भेट्ने इच्छा गरेपछि जोशीनिवास पुगेका थियौँ । सन्चो छैन, त्यसैले एकैछिन मात्र कुरा गरौँ भनेका थिए सुरुमा । तर, सबैका कुरा सुनिसकेपछि उनले निरन्तर चालीस मिनेट बोले । 


अथाह ज्ञान र तेज स्मरण शक्ति भएकाले उनी कुनै विषयमा बोल्न थालेपछि छोटो बोल्न सक्दैनथे । त्यही भेटमा दीक्षितले विश्वमा १०० वर्ष नाघेका भाषासाहित्यका प्रसिद्ध र लोकप्रिय पाँचजनामध्ये सत्यमोहन तेस्रो भएको बताएका थिए । त्यो सुनेपछि उनी झन् उत्साही बनेका थिए । सत्यमोहनलाई पहिले वरिष्ठ संस्कृतिविद् र लोकसाहित्यविद् भन्ने गरिन्थ्यो । नेपाल सरकारले वि.सं. २०७४ वैशाख २१ गते आख्यान शताब्दी पुरुषको उपाधिले सम्मान गरेपछि उनी त्यही नामले पुकारिन थालेका थिए । जोशीलाई यो उपाघि दिलाउन साहित्यकार नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंको महत्वपूर्ण भूमिका थियो । प्रसाईं दम्पतीले वि.सं. २०७१ मा जोशी ९५ वर्षको हुँदा नै पाँच लाख नगद राशिसहित शताब्दी पुरुषको उपाधिले सार्वजनिक अभिनन्दन गरेका थिए । त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पनि जोशीको सम्मानमा कार्यक्रमसहित विभिन्न सुविधाहरूको व्यवस्थापन गरेका थिए । जोशीका महत्वपूर्ण पुस्तकको अंग्रेजीमा अनुवाद गरेर प्रकाशन गरेका थिए ।


सत्यमोहन जोशीले गरेका कामको उच्च मूल्यांकन सरकारी र निजीस्तरबाट पनि भएका छन् । पुरस्कार सम्मानमा कहिले ध्यान नदिने भए पनि यस मामलामा उनी अत्यधिक भाग्यमानी बने । यही कारण उनी अन्य भाषासाहित्यका व्यक्तित्वभन्दा पृथक् बन्न सफल भए । जीवनभरि पुरस्कार र सम्मानले कहिले नछोडेका जोशीलाई निधनको एक दिनअघि पनि ‘कलिङ लिटरेचर फेस्टिबल’मा पुरस्कृत गरिएको थियो ।


भाषासाहित्य, कला, संस्कृति र पुरातत्वका क्षेत्रमा पहिलो अभिलेख बनाएर सत्यमोहनले इतिहास बनाउने काम गरेका छन् । जीवित अवस्थामा एक दर्जनजति अभिलेख बनाएका जोशीको मृत्युपछि पनि अभिलेख बनेको छ । उनको निधनमा सरकारले राष्ट्रिय शोक मनाएर कात्तिक १ गते सार्वजनिक बिदा दियो । स्रष्टाको नाममा राष्ट्रिय झन्डा झुकाएर बिदा दिइएको यो नै पहिलोपटक हो ।

सत्यमोहनले विद्वताले, सामाजिक प्रतिष्ठाले, राष्ट्रिय मान्यताले र मानपदवीले जति उचाइका थिए, त्योभन्दा बढी अरूलाई गर्ने हार्दिक र शालीन व्यवहारले सबैको मन जितेका थिए । यही कारण देशभित्रका मात्र नभएर संसारभरिका नेपालीका आदर्श बनेका थिए । यो नै उनको प्राप्ति र सत्यमोहनपन बनेको थियो ।


उनले तीनपटक मदन पुरस्कार पाएर पनि पहिलो कीर्तिमानी अभिलेख बनाएका थिए । वि.सं. २०१३, २०१७ र २०२८ मा हाम्रो लोकसंस्कति, नेपाली राष्ट्रिय मुद्रा र कर्णाली लोकसंस्कृति ग्रन्थका लागि प्राप्त गरेका थिए । तेस्रोपटक भने उनले विहारीकृष्ण श्रेष्ठ, स्थिर जङ्गबहादुर, चूडामणि बन्धु र प्रदीप रिमालसँग संयुक्त रूपमा पाएका थिए । जीवित अवस्थामा हुलाक टिकट प्रकाशित हुने पनि सत्यमोहन पहिलो र एक मात्र स्रष्टा हुन् । वि.सं.२०७७ माघ २० गते उनको तस्बिर अङ्कित टिकट प्रकाशन गर्नका लागि नीतिगत व्यवस्था नै परिवर्तन गरिएको थियो । निर्देशिकामा कुनै विशेष व्यक्तिको मृत्यु भएपछि मात्रै कदरस्वरूप तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गर्ने भन्ने व्यवस्था रहेको छ । 


टिकटमा पहिलो टाँचा विभागीयमन्त्रीले लगाउने व्यवस्था छ । तर, सत्यमोहनको मुहार अङ्कित दश रुपैयाँको टिकटमा भने राष्ट्रपतिले पहिलो टाँचा लगाइएका थिए । यस मामलामा पनि उनी पहिलो नै भएका छन् ।जीवित अवस्थामा नै सर्वसाधारण व्यक्तिको सिक्का प्रकाशित हुने पनि सत्यमोहन पहिलो र एक मात्र स्रष्टा हुन् । उनको जन्मशताब्दीको अवसर पारेर नेपाल राष्ट्र बैँकले तीन प्रकारका चाँदीका सिक्का प्रकाशित गरेको थियो । २५००० मूल्यको पच्चीस हजार, १००० मूल्यको पनि पच्चीस हजार र १०० रुपियाँको दश हजार थान सिक्कामा एकातिर सगरमाथा र अर्कोतिर जोशीको मुहार राखिएको थियो । 


नेपाल राष्ट्र बैँकमा सत्यमोहनले पाँच दशक विज्ञका रूपमा सेवा गरेका थिए । नेपाली रुपैयाँमा कसको चित्र राख्ने, कस्तो राख्ने, किन राख्ने, सांस्कृतिक दृष्टिले त्यसको के महत्व हुन्छ भन्ने उनको सल्लाहपछि मात्र नोट छाप्नका लागि स्वीकृत हुन्थ्यो । मुद्रा संकलनमा पनि उनको गहिरो अभिरुचि थियो । उनले बनाएको मुद्रा सङ्ग्रहालयमा राजा जयप्रकाश मल्लका पालाका र संसारकै सबैभन्दा सानो बुद्ध अङ्कित सुनको मुद्रा पनि छन् । उनले बताएअनुसार छाउनीको राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा नभएका मुद्रा पनि उनको सङ्ग्रहालयमा छन् ।नेपालमा पासपोर्टको प्रचलन नहुँदै विदेश भ्रमणमा गएका सत्यमोहनलाई नै पहिलोपटक इ–पासपोर्ट दिइएको थियो । इ–पासपोर्टको सुरुवात परराष्ट्र मन्त्रालयले उनीबाटै गरेको थियो ।


दक्षिणी ध्र्रुवको सबैभन्दा पुछारमा रहेको देश न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली पनि सत्यमोहन नै हुन् । उनी जनसंख्या विभागबाट तथ्यांक पद्धतिसम्बन्धी अध्ययनका लागि वि.सं. २०१० जेठ १६ गते त्यहाँ पुगेका थिए । विमानस्थलमा उनलाई वैदेशिक मामला विभागका प्रतिनिधिले भिआइपी कक्षमा लगेका थिए । त्यहाँ धेरैजना पत्रकारहरू बसिरहेका थिए । न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको टाकुरामा पुगेकै दिन सत्यमोहन न्युजिल्यान्ड पुगेका थिए । सगरमाथाको देशको मान्छे र तेन्जिङ शेर्पाको गाउँले भनेर उनलाई विमानस्थलदेखि नै भव्य स्वागत सम्मान गरेको कुरा प्रतिनिधिले बताएपछि थाहा पाएका थिए । 


वि.सं.२००० मा गोरखापत्रमा पहिलोपटक जागिरका लागि दरखास्तको माग गरिएको थियो । त्यही सूचनाबाट जागिर खानेमध्येमा सत्यमोहन परेका थिए । ‘औद्योगिक व्यापारिक समाचार सङ्ग्रह अड्डा’ नामक संस्थाका लागि मुलुकभरि औद्योगिक सर्भे गर्नका लागि पाँचजना कर्मचारीको माग गरिएको थियो । जसमा नरकान्त अधिकारी (पूर्वमहालेखा परीक्षक), नयनबहादुर खत्री (पूर्वप्रधानन्यायाधीश), केशरबहादुर आचार्य (तथ्याङ्क विभागका पूर्वमहानिर्देशक), धीरबहादुर रायमाझी (सङ्ख्या विभागका चिफ सुपरिडेन्ट) र धनबहादुर अधिकारी (दार्जिलिङ) छानिएका थिए । त्यसमध्ये नैनबहादुर खत्री बिएल पढ्न लखनउ गएकाले वैकल्पिक उमेदवारका रूपमा रहेका सत्यमोहन जोशीले जागिर पाएका थिए । अड्डाका हाकिम भने प्रो.भीमबहादुर पाण्डे थिए । 


पुरातत्व तथा संस्कृति विभागका पहिलो डायरेक्टर बन्ने सौभाग्य पनि सत्यमोहनले नै पाएका थिए । त्यतिवेला उनी जनसङ्ख्या विभागमा खरदारसरहका सर्भे अफिसर थिए । उनी चीनको सद्भावना भ्रमण सकेर त्रिभुवन विमानस्थलमा आइपुग्दा आफू नियुक्ति भएको थाहा पाएका थिए । उक्त कुरा रेडियोले सुनाएको भनेर यादवप्रसाद पन्तले सुनाएका थिए । आमनिर्वाचनपछि बिपी कोइरालाको सरकारले उनलाई नियुक्ति गरेको थियो । विभागीय मन्त्री परशुनारायण चौधरी थिए । 


उनले आफ्नो कार्यकालमा जमलको पाँच रोपनी जग्गा किनेर राष्ट्रिय नाचघरको स्थापना गरेका थिए । उनले नै भक्तपुरको राष्ट्रिय कला सङ्ग्रहालय र पाटनको पुरातात्विक बगैँचाको पनि स्थापना गरेका थिए । सत्यमोहन डायरेक्टर भएकै वेला विश्वबन्धु थापाका भतिजा रमेशजङ्ग थापालाई सामान्य पदमा नियुक्ति गर्न खोजिएको थियो । त्यही वेला २०१७ सालको काण्ड भएपछि सत्यमोहनलाई निकालेर रमेशजङ्ग थापालाई नै डायरेक्टर बनाइएको थियो ।आफ्नै नामको पदक आफैँले दिन पाउने स्रष्टा पनि सत्यमोहन नै थिए । उनको सम्मानमा त्रिमूर्ति निकेतनले स्थापना गरेको ‘सत्यमोहन जोशी शताब्दी पदक’ उनले २८५ जनालाई प्रदान गरेका थिए ।


काठमाडौं विश्वविद्यालयले महाविद्यावारिधिको मानार्थ उपाधि दिने पहिलो साहित्यकार पनि सत्यमोहन नै थिए ।१३औँ शताब्दीका कलाकार अरनिकोलाई खोजी गरेर चिनाउने र राष्ट्रिय विभूति बनाउने काम पनि उनैले गरेका थिए । अभय मल्लको पालामा अरनिको चीन गएका थिए । सम्राट् कुवलया खाँको निमन्त्रणामा उनी नेपालका ८० जना कलाकारहरूको नेतृत्व गरेर गएका थिए । चीन गएका वेला सत्यमोहनले अरनिकोको बारेमा खोजी गरेर अनुसन्धनात्मक पुस्तक ‘कलाकार अरनिको’ प्रकाशित गरेका थिए । उनले रेडियो पेकिंगमा ६ वर्ष काम गरे । त्यही वेला जोशीले चिनियाँहरूलाई नेपाली भाषा सिकाउने काम पनि गरेका थिए । यसबाट उनी जुन ठाउँमा पुगे पनि, जस्तो जिम्मा पाए पनि उदाहरणीय काम गर्थे भन्ने पुष्टि हुन्छ । 


वि.सं.२०७७ मंसिरमा सत्यमोहन र राधा जोशीले किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई शरीर दान गरेका थिए । दम्पतीले नै शरीर दान गर्नेमा पनि उनी पहिलो बनेका छन् । जीवित हुँदासम्म सत्यमोहनले आफूलाई देश र जनताका लागि हुनसम्मको प्रयोग गरे । मृत्युपश्चात् पनि विद्यार्थीका लागि अध्ययन गर्न काम लाग्ने गरी शरीर छोडेर गए । सुकर्मले सत्यमोहनका कीर्तिहरू अमर भएजस्तै उनको शरीर पनि सदाका लागि सुरक्षित हुने भएको छ ।


आख्यान शताब्दी पुरुष सत्यमोहन जोशीले चाहेर पनि पूरा गर्न नसकेको भने चक्रसम्भरको पौभा चित्रको पूर्णता हो । करिब एक वर्षदेखि निर्माण गर्न थालिएको यो चित्र लोकसाहित्य भवनको दोस्रो तलाको भित्तामा बनाइएको छ । यो चित्र हाल अन्तिमको पनि अन्तिम चरणमा छ । कलाकार लोक चित्रकारको नेतृत्वमा बनिरहेको यो पौभाचित्रबारे सत्यमोहन निकै उत्साही थिए । उनी आफूकहाँ आउनेहरूलाई सो चित्र हेर्न अनुरोध गर्ने गर्थे र त्यसको महत्वबारे बताउने गर्थे । 


उनी चित्रका बारेमा यसरी बताउँथे, ‘यो चित्र देखिएजस्तो मात्र हुँदैन, यसभित्र गहिरो दर्शन हुन्छ । यो तन्त्रको पनि विषय भएकाले सार्वजनिक स्थलमा राखिँदैन । बज्राचार्यहरूको आँग अर्थात् अरू जान नमिल्ने ठाउँमा राखिएको हुन्छ । दुनियाँमा यस्तो चित्र बनाउने परम्परा हटिसकेको छ । त्यसैले यो चित्र बनिसकेपछि यससम्बन्धी अध्ययनका लागि विदेशीहरू पनि आउन सक्ने सम्भावना छ ।’ नेपाली र नेपाल भाषासाहित्य, कला र संस्कृतिका आदर्श व्यक्तित्व आख्यान शताब्दी पुरुष सत्यमोहन जोशीको सादा जीवन, उच्च विचारलाई हामीले अलिकति मात्र आत्मसात् गर्न सक्यौँ भने पनि उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।