• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रामसिंह श्रीस
२०७९ कार्तिक ५ शनिबार ०८:३२:००
सम्झना

अलबिदा प्रिय ओम

२०७९ कार्तिक ५ शनिबार ०८:३२:००
रामसिंह श्रीस

मेरा प्रिय मित्र, प्रा.डा. ओम गुरुङ (ओमप्रसाद गुरुङ)को उपचारको क्रममा निधन भयो । करिब १० वर्षअघि उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो । केही समय पहिले उहाँको गर्धनको बाहिरी भागमा क्यान्सर भएको पुष्टि भएको थियो । यसैक्रममा मिर्गाैलाले काम गर्न नसकेपछि उहाँको असामयिक निधन भयो । मैले प्रिय मित्रलाई गुमाउन पुगेँ ।


वि.स. २००९ साल माघ २७ गते बाग्लुङको साबिक अम्मरभूमि गाविस वडा नम्बर ६, हाल ताराखोला गाँउपालिका वडा नम्बर– १ भुस्कात गाउँमा जन्मनुभएका कमरेड ओम गरुङसँग मेरो पहिलो भेट ०२३ सालमा कक्षा ६ मा अध्ययन गर्दा भएको थियो । कक्षा ८ सम्म हामीले सँगै अध्ययन गर्‍यौँ । कक्षा ९ मा अध्ययन गर्ने वेलामा केही राजनीतिक घटना घटे । हामीले अध्ययन गर्ने विद्यालयको प्रधानाध्यापक कमरेड चित्रबहादुर केसी (हाल राष्ट्रिय जनमोर्चाको अध्यक्ष) हुनुहुन्थ्यो ।

त्यसवेला प्रारम्भमा काठमाडौंबाट गएका शिक्षक जगतमान बज्राचार्यले हामीलाई आफ्नो विषय विज्ञान र गणितबाहेक राजतन्त्र र पञ्चायती व्यवस्थाको विरुद्धमा र वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षमा पनि शिक्षा दिनुहुन्थ्यो । १६–१७ वर्षका हामी ठिटाहरू राजतन्त्र र पञ्चायती व्यवस्थाको विरोधी र वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षपाती भइसकेका थियौँ ।

जगतमान बज्राचार्य काठमाडौं गएपछि फर्कनुभएन । उहाँको ठाउँमा झलनाथ खनाल (भूपू प्रधानमन्त्री) जानुभयो । उहाँले पनि जगतमान बज्राचार्यको बाटोलाई निरन्तरता दिनुभयो । हामी कक्षा ९ मा भर्खर अध्ययन गर्न थालेको समयमा स्थानीय जालीफटाहाहरू र पञ्चायती व्यवस्थाविरुद्ध केही गतिविधि भए । प्रशासनिक दमन सुरु भयो । प्रधानाध्यापक चित्रबहादुर केसी भूमिगत हुनुभयो । अन्य शिक्षकहरूलाई गिरफ्तार गरेर लगियो । विद्यालयको पढाइ अस्तव्यस्त भयो । यस्तो अवस्था सिर्जना भएपछि अभिभावकहरूले ओम गुरुङलाई त्यस विद्यालयबाट छुटाएर विद्यामन्दिर मावि बाग्लुङ लैजानुभयो । म भने, त्यही विद्यालयमा नै रहेँ । यसरी हामीले अध्ययन गर्ने ठाउँ अलग–अलग भए । 


शिक्षा प्राप्त
ओम गुरुङले ५ कक्षासम्म गाउँमै जनप्रेम प्राथमिक विद्यालय भुस्कातमा पढ्नुभयो । कक्षा ६ देखि ८ सम्म भरत चैतन्य माध्यमिक विद्यालय हरिचौर हालको पृथ्वी माध्यमिक विद्यालय हरिचौरमा अध्ययन गर्नुभयो । कक्षा नौको अध्ययन गल्कोट माध्यमिक विद्यालय मझुवा फाँटमा गर्नुभयो । राजनीतिक कारणले गर्दा उहाँले त्यस विद्यालयमा पूरै अध्ययन गर्न पाउनुभएन । कक्षा नौ र दश विद्यामन्दिर माध्यमिक विद्यालय बाग्लुङमा पढ्नुभयो । त्यसै विद्यालयबाट उहाँले विसं ०२७ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । त्यसपछि सन् १९७३ मा महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङबाट आइए पास गर्नुभयो । बिए पास सन् १९७५ मा पिएन क्याम्पस पोखराबाट गर्नुभयो । सन् १९७८ मा इतिहास विषयमा एमए त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट गर्नुभयो । त्यसपछि १९८० मा भारतको पुने विश्वविद्यालयबाट मानवशास्त्रमा एमए गर्नुभयो । सन् १९९२ मा उहाँले संयुक्तराज्य अमेरिकाको कोर्नेल विश्वविद्यालय इथाका न्युयोर्कबाट मानवशास्त्रमा एमए र सन् १९९६ मा त्यसै विश्वविद्यालयबाट मानवशास्त्रमै पिएचडीको उपाधि प्राप्त गर्नुभएको थियो । 


राजनीतिक जीवन 
धेरैलाई उहाँको राजनीतिक जीवनबारे थाहा नहुन सक्छ । तर, उहाँले सुरुदेखि नै कम्युनिस्ट पार्टीसँग जोडिएर काम गर्नुभएको थियो । कमरेड ओम गुरुङ विसं. २४–२५ सालतिरबाट विद्यार्थीकालदेखि नै वामपन्थी आन्दोलनमा सक्रिय हुनुभएको थियो । ०२५ सालमा गल्कोट माध्यमिक विद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा म उपाध्यक्ष र उहाँ सचिव पदमा चुनावी प्रतिस्पर्धा ग¥र्यौँ र विजयीे भयौँ । राजनीतिक कारणले हामी अलगअलग ठाउँमा अध्ययन गर्ने भए तापनि हामीबीचमा व्यक्तिगत र पार्टीगत सम्बन्ध कायम नै रह्यो । जगतमान र झलनाथ फर्केपछि मेरो सम्बन्ध चित्रबहादुर केसीसँग निरन्तर भइरहन्थ्यो । सहपाठी भएको नाताले ममार्फत ओम गुरुङसँग पार्टीगत सम्पर्क हुन्थ्यो ।

 

उहाँले जहाँ अध्ययन गर्न गए तापनि निरन्तर पार्टी सम्पर्कमा रहेर काम गर्नुभएको थियो । पार्टीको आन्तरिक जिम्मेवारी लिएर पूरा गर्नुहुन्थ्यो । उहाँ प्रारम्भमा विसं. ०२८ सालदेखि ०३१ सम्म नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय न्युकलसको नेतृत्वअन्तर्गत रहेर काम गर्नु भयो । ०४० सम्म नेकपा (चौम)को नेतृत्वअन्तर्गत रहेर काम गर्नुभयो । ०४० मा पार्टीमा फुट भयो । मोहनविक्रम सिंह र मोहन वैद्यको नेतृत्वमा नेकपा (मसाल) बन्यो भने निर्मल लामाको नेतृत्वमा नेकपा (चौम) बन्यो ।

ठूला भनिने पार्टीहरूले विभिन्न प्रलोभन देखाएर उहाँलाई आफ्नो पार्टीमा प्रवेश गर्न अनुरोध गरेका थिए । उहाँले चाहेको भए लाभका थुप्रै पद पाउन सक्नुहुन्थ्यो । तर, उहाँले आफ्नो व्यक्तिगत तथा पारिवारिक हितभन्दा श्रमिक वर्ग तथा जनसमुदायको हितलाई माथि राखेर पार्टीको नीतिमा अडिग रहनुभयो ।

 

त्यसवेला उहाँ मसाल पक्षमा नै रहनुभयो । ०४२ सालमा नेकपा (मसाल)मा पुनः फुट भएर मोहनविक्रम पक्ष र मोहन वैद्य पक्ष भयो । त्यसवेला उहाँ मोहनविक्रम पक्षमा रहनुभयो । ०५९ मा नेकपा (मसाल) र नेकपा (एकता केन्द्र) एकीकृत भएर नेकपा (एकता केन्द्र मसाल) बन्यो । तर, यो पार्टी ०६३ सालमा तीन समूहमा विभाजित भयो । त्यतिवेला उहाँ मोहनविक्रम सिंहले नेतृत्व गरेको समूह र नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको दुवै समूहपट्टि लाग्नुभएन । नेकपा (एकीकृत) निर्माण गर्ने कार्यमा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो । त्यसपछि नेकपा (एकीकृत) र नेकपा–माओवादीलाई एकीकरण गरी नेकपा (क्रान्तिकारी माओवादी) निर्माण गर्ने काममा पनि उहाँको महत्वपूर्ण देन छ । पछिल्लो चरणमा उहाँ नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वअन्तर्गत रहेर कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । 


उहाँ पार्टीको बुद्धिजीवी संगठन, अन्तर्राष्ट्रिय विभाग तथा अन्य विभिन्न विभाग तथा आयोगमा रहेर पार्टी र क्रान्तिको पक्षमा निरन्तर क्रियाशील रहनुभयो । पार्टीका दस्तावेजहरू अंग्रेजीमा उल्था गर्नेलगायत थुप्रै काम उहाँबाट हुन्थे । पार्टी सदस्य रहेर बौद्धिक क्षेत्रबाट सहयोग गर्दा पार्टीलाई बढी फाइदा हुन्छ भन्ने उहाँको धारणा थियो । पार्टी केन्द्रीय समितिमा आउनेभन्दा पनि सल्लाहकारमा रहेर पार्टीलाई बढी योगदान दिन सक्छु भन्ने उहाँलाई लागेको थियो । त्यसैअनुसार उहाँलाई सल्लाहकार समितिको संयोजक बनाइएको थियो । उहाँ नियमित रूपमा पार्टीलाई लेभी तिर्नुहुन्थ्यो, साथै पार्टीका कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग जुटाइदिनुहुन्थ्यो ।


आदिवासी जनजातिहरूको मुक्तिका लागि उहाँको ठूलो योगदान भएको र त्यस विषयमा विज्ञनै भएको हुनाले उहाँलाई पार्टीले आदिवासी जनजाती आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी पनि दिएको हो । त्यसकारण उहाँ अखिल नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ प्राध्यापक र जनजाति महासंघको महासचिव हुँदा र सरकारको विभिन्न आयोगमा रहँदा पनि पार्टी नीतिअनुसार सम्बन्धित ठाउँमा विषय लैजान प्रयत्नशील रहनुहुन्थ्यो । 


आन्दोलनमा योगदान
नेकपा (चौम)मा ०३८/३९ देखि नै उत्पीडित आदिवासी जनजाति र दलित समुदायको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा बहस सुरु भएको थियो । त्यही बहसको परिणामस्वरूप ०४१ सालमा सम्पन्न पाँचौँ महाधिवेशनले जनजाति र दलित समुदायका बारेमा एउटा बेग्लै प्रस्ताव नै पारित गरेको थियो । त्यही प्रस्तावअनुसार नै ०४४ सालमा अखिल नेपाल जनजाति सम्मेलनको गठन भएको थियो । त्यो संगठनको प्रारम्भमा न्युकलस गठन गर्दा म संयोजक थिएँ । पछि भेलाबाट कमरेड परी थापा र त्यसपछि कमरेड केबी गुरुङ त्यसको नेतृत्वमा आउनुभयो । त्यसवेला ओम गुरुङ त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रको असिस्टेन्ट प्रोफेसर भइसक्नुभएको थियो । आदिवासी जनजाति तथा दलित समुदायको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा उहाँसँग छलफल हुन्थ्यो । त्यसैकारण ओम गुरुङ ०४५ सालदेखि अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय सल्लाहकार हुनुभयो ।

१६–१७ वर्षका हामी ठिटा राजतन्त्र र पञ्चायती व्यवस्थाको विरोधी र वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षपाती भइसकेका थियौँ


उहाँ ०५८ देखि ०६१ सम्म नेपाल आदिवासी जनजाति महासंघको सहासचिव पदमा रहेर काम गर्नुभयो । यो अवधि राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना गर्न र समावेशी र समानुपातिक प्रतिनिधित्वका लागि भीषण संघर्ष चलेको समय थियो । राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिँदा कतिपय जनजाति नेता तथा जनजाति संगठनले दीपावली गर्दै राजाको कदमलाई समर्थन गरेका थिए । स्वयं आदिवासी जनजाति महासंघ खुलेर राजाको कदमका विरुद्धमा उत्रिएको थिएन ।

 

त्यसप्रकारको स्थितिमा गणतन्त्रको पक्षमा र आदिवासी जनजातिहरूको हकअधिकार प्राप्तिका लागि गरिएको संघर्षमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । नेपालमा राजतन्त्र र केन्द्रीकृत सामन्ती एकात्मक राज्यव्यवस्थालाई हटाएर लोकतान्त्रिक संघीय गणतन्त्र नेपाल निर्माण गर्ने अभियानमा महासंघको तर्फबाट उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो । तर, राज्यले जुन प्रकारको संघीय संरचना ल्यायो त्यसमा उहाँको असमति रह्यो । सामथ्र्य र पहिचानका आधारमा संघीय संरचना बन्नुपर्छ भन्ने उहाँको धारणा थियो । त्यसैले पछाडि पारिएका आदिवासी जनजातिहरूलाई हित गर्ने प्रकारको संघीय संरचना प्राप्त गर्न आन्दोलन गर्नुपर्ने उहाँको जोड थियो । उहाँले गोर्खा आर्मीको हकअधिकारका लागि संघर्ष गर्ने संगठन गेसोमा पनि प्रमुख सल्लाहकार भएर सहयोग गर्नुभएको थियो । 
शैक्षिक क्षेत्रमा योगदान


उहाँले सबैभन्दा पहिले सन् १९७३ मा महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङमा प्राध्यापन गर्नुभयो । त्यसपछि सन् १९८० देखि सन् २०१५ सम्म ३६ वर्ष त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्राध्यापन गर्नुभयो । यस अवधिमा उहाँले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय समाजशास्त्र–मानवशस्त्र विभागको संस्थापक सदस्य हुनुको साथै १२ वर्षसम्म त्यस विभागको प्रमुख भएर शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनुभएको थियो । शिक्षा क्षेत्रमा योगदान दिएबापत उहाँले थुप्रै विभूषण र उपाधि प्राप्त गर्नुभएको छ । 


उहाँ खेलकुद र लोकगीतमा पनि दक्ष हुनुहुन्थ्यो । खुट्टा अशक्त हुँदाहुँदै पनि मज्जाले भलिबल खेल्नुहुन्थ्यो । मेरो गाउँको नाम चोरा हो भने उहाँको गाउँको नाम भुस्काट । एकपटक चोरा र भुस्काट दुई गाउँको बीचमा भलिबल प्रतियोगिता उहाँकै गाउँमा भयो । उहाँ र म आ–आफ्नो गाउँको खेलाडी टिममा थियौँ । खेल उहाँको टिमले जित्यो ।


उहाँ पहिलेदेखि नै लोक–दोहोरी गाउन सिपालु हुनुहुन्थ्यो । हालै कृष्ण कँडेलको इन्द्रेणीमा गाएको दोहोरीले पनि त्यसलाई पुष्टि गर्दछ । उहाँ अत्यन्तै मिलनसार र सहयोगी मन भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँको देशका प्रबुद्ध बुद्धिजीवीदेखि गाउँटोलमा बस्ने सर्वसाधारणसँग पनि समान प्रकारको सम्बन्ध थियो । 


लिनुपर्ने शिक्षा
ओम गुरुङबाट लिनुपर्ने मुख्य शिक्षा भनेको व्यक्तिगत पद प्रतिष्ठा र सुविधालाई तिलाञ्जली दिएर उत्पीडित श्रमिक, आदिवासी जनजातिहरूको मुक्तिको पक्षमा सतिसालझैँ उभिन सक्नु हो । ठूला भनिने पार्टीहरूले विभिन्न प्रलोभन देखाएर उहाँलाई आफ्नो पार्टीमा प्रवेश गर्न अनुरोध गरेका थिए । उहाँले चाहेको भए लाभका थुप्रै पद पाउन सक्नुहुन्थ्यो । तर, उहाँले आफ्नो व्यक्तिगत तथा पारिवारिक हितभन्दा श्रमिक वर्ग तथा जनसमुदायको हितलाई माथि राखेर पार्टीको नीतिमा अडिक रहनुभयो । हामी क्रान्तिकारीले उहाँको यसप्रकारको दृढ अडानलाई आत्मसात् गरौँ । लालसलाम कमरेड ओम ।