• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
पवन बराइली
२०७९ कार्तिक १९ शनिबार ०६:५६:००
सम्झना

...त्यसपछि जंगली याकले लखेट्यो

२०७९ कार्तिक १९ शनिबार ०६:५६:००
पवन बराइली

सोलुखुम्बुको दुर्गम गाउँमा जन्मिए, चुङ्बा शेर्पा । अहिलेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–३, चौरीखर्कमा त्यतिबेला न बिजुली बत्ती थियो, न मोटरबाटोे, न त सुविधासम्पन्न अस्पताल नै । चुङ्बा ५ वर्षको छँदा आमा बितिन् । आमाको अभाव महसुस नहोस् भनेर बाबु, दिदी र दाईहरूले धेरै नै माया गरे । आउने जाने पर्यटकहरूले पनि बालबालिकालाई धेरै माया गथ्र्ये । हाँस्न लगाएर फोटो खिच्थे । कतिपय फोटो खिचेर आफ्नो बाटो लाग्थे । अत्याधुनिक क्यामेरा भएकाहरूले तत्कालै फोटो धुलाएर पनि दिन्थे । किशोरावस्थामा एक पर्यटकले यसरी नै चुङ्बालाई फोटो खिचेर दिए । ‘त्यसबेला क्यामेरा देख्दा, क्यामेराले खिचेको आफ्नै फोटो हेर्न पाउँदा निकै रमाइलो लाग्थ्यो । तर अहिले त्यो पुराना फोटो कता पुग्यो, पुग्यो,’ चुङ्बाले सम्झिए, ‘मलाई क्यामेराप्रति आकर्षित गर्ने श्रेय त्यही फोटोलाई जान्छ ।’ 


१९ वर्षको उमेरमा विवाह गरेका चुङ्बाले त्यसको केही वर्षभित्रै ‘म्यानुअल्टा’ ब्रान्डको क्यामेरा किने । उनीभित्र अरुको हाँसोलाई लेन्समा कैद गर्ने हुटहुटी थियो । ‘त्यो क्यामेरा बोकेर हिंड्नुको सान बेग्लै थियो । त्यतिबेला गाउँमा निकै थोरैसँग क्यामेरा हुन्थ्यों,’ उनले भने,‘मैले गाउँलेहरूका धेरै फोटो खिचें । त्यसपछि रिल धुलाउनका लागि काठमाडौं पठाउँथे । दुई–तीन महिनापछि बल्ल फोटो धुलाएर आउँथ्यो । गाउँलेहरूलाई ती फोटोहरू सित्तैमा बाँड्थें । उनीहरू खुसी भएको देख्दा मलाई बेग्लै आनन्द आउँथ्यों ।’


यसरी नै फोटोमा मानिसको हाँसो कैद गर्ने उनको रहर थियो । तर, छोराछोरी हुर्किदैँ गएपछि पारिवारीक जिम्मेवारी थपियो । ‘मेरो गाउँका अधिकांश दाईहरू ट्रेकिङ पेशामा थिएँ । म पनि त्यतै लागेँँ,’ उनले भने । पर्यटकको भारी बोकेर पहाड चढ्न थालेका चुङ्बा बिस्तारै ट्रेकिङ गाइड हुँदै होटल व्यवसायी बने । यसबीच उनले छोटो समय ट्राभल एजेन्सी पनि चलाए । केही समय एयरलाइन्समा काम गरे । 

नेपालमै दुर्लभ मानिएको जंगली याकलाई आफ्नो क्यामेरामा कैद गर्न सकेकोमा चुङ्बालाई गर्व छ । यसका लागि उनी हेलिकोप्टर नै चार्टर गरेर हुम्लाको लाप्चा पुगेका थिए ।


‘पर्यटन व्यवसायमा सक्रिय भएपछि फोटोग्राफीमा उत्तिसाह्रो ध्यान दिन पाइएन । तर, मेरो सपना ज्युँदै थियो । त्यहीकारण मैले यस अवधिमा पनि पानासोनिक, निकोन, क्यानोनलगायत ब्रान्डका क्यामेराहरू किनिरहेँ । कहिलेकाँही फूर्सद मिलेकोे समय हिमाल र मानिसको जनजीवन खिच्ने गर्दथें ।’


छोराछोरीलाई उचित शिक्षा दिने, पारिवारीक जिम्मेवारी पूरा गर्ने र आफूलाई आर्थिक रुपमा सक्षम बनाउने काम उनले पर्यटन व्यवसायबाट प्राप्त आम्दानीले गरे । अहिले तीन छोरीमध्ये एक छोरी पाइलट र दुई छोरामध्ये जेठा छोरा डाक्टर छन् । बाँकी दुई छोरीहरू पनि व्यापार–व्यवसायमा सक्रिय छन् । चुङ्बाले लुक्ला विमानस्थलमा दशकौंअघि खोलेको होटललाई अहिले कान्छा छोराले सञ्चालन गरिरहेका छन् । 


छोराछोरी आ–आफ्नो क्षेत्रमा स्थापित भइसकेकाले चुङ्बाको काँध हल्का भएको छ । उनी कहिले हुम्लाको लाप्चा पुग्छन्, कहिले अफ्रिकाको तान्जानिया पुग्छन् । उनको एउटै मिशन छ – जंगली जनावर र चराहरूलाई क्यामेरामा कैद गर्न‘ । उनी चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा, कोशी टप्पु, इलाम, मनाङ, सगरमाथा, हुम्लालगायत देशका धेरै ठाउँ पुगिसकेका छन् । वाइल्ड लाईफ फोटोग्राफीका लागि उनले अत्याधुनिक क्यामेरा र लेन्स किनेका छन् । तर, राम्रो फोटोका लागि उपकरणसँगै प्यासन पनि आवश्यक पर्ने उनी बताउँछन् । 


मनाङमा केही समयअघि दुर्लभ हिउँ चितुवा खोज्न उनी सहयोगीहरूसहित पुगेका थिए । पहिलोपटक उनी आठ दिन त्यहाँ बसे । तर हिउँ चितुवा भेटिएन । ‘त्यतिबेला होटलमा बसेको थिएँ । बिहानै होटल छाडेर हिउँ चितुवा खोज्न संभावित स्थानसम्म पुग्थें । ८ दिनसम्म बस्दा पनि चितुवा नभेटिएपछि निराश हुँदै फर्कनुपरेको थियो,’ चुङ्बाले भने,‘दोस्रोपटक फेरि गएँ । यसपटक होटलमा होइन, टेन्ट गाडेर जंगलमै बसें । १६ दिनको बसाईमा बल्ल हिउँ चितुवा भेटियो र क्यामेरामा कैद गर्न पाएँ ।’


उनले फोटोग्राफीको औपचारिक तामिल लिएनन्, न कसैलाई गुरु नै माने । निरन्तर लगनशीलता र भोगाईलाई नै गुरु मान्छन् । ६२ औं वसन्तमा हिडिरहेका चुङ्बाले पछिल्ला ५ वर्ष यसरी नै जंगली जनावरको खोजीमा बिताएका छन् । यसक्रममा नेपालका कुना–कन्दरासम्म पुगेका चुङ्बा चोरी शिकारीका कारण वन्यजन्तुहरू असुरक्षित बन्दै गएको अनुभव सुनाउँछन् । ‘जनावर खोज्दै अघि बढ्दा कतिपय ठाउँमा हामीले पासो लगाएको देखेका छौं । त्यस्तो अवस्थामा सम्बन्धित निकाय वा संरक्षणकर्मीहरूलाई फोन गरेर जानकारी दिने गरेको छु,’ उनले भने । 

‘चिसोमा चरिरहेका चौँरीको बथानमा पोथी खोज्दै जंगली याक मिसिन आएको रहेछ । म ३० मिटरजतिको दूरीमा थिएँ । नजिकैबाट खिच्छु भनेर १५ मिटरजति अगाडि आएँ,’ उनले सम्झिए, ‘मैले याकतर्फ क्यामेरा सोझ्याएको थिएँ, आक्रमणका लागि याक मतर्फ सोझियो ।’


१४ लाख खर्चिएर तान्जानिया पुगेका चुङ्बाले त्यहाँ दुर्लभ ‘सर्भल क्याट’ लाई क्यामेरामा कैद गरेका थिए । ‘केवल १५ दिनको बसाईका क्रममा मैले ‘सर्भल क्याट’लाई क्यामेरामा कैद गर्ने अवसर पाएँ । यसलाई आफ्नो भाग्य ठानेको छु । किनकी, यो निकै दुर्लभ वन्यजन्तु हो ।’


नेपालमै दुर्लभ मानिएको जंगली याकलाई आफ्नो क्यामेरामा कैद गर्न सकेकोमा चुङ्बालाई गर्व छ । यसका लागि उनी हेलिकोप्टर नै चार्टर गरेर हुम्लाको लाप्चा पुगेका थिए । तर, लाप्चाको मौसम खुलेको थिएन । चारैतिर हुस्सु थियो । जंगली जनावर आउने आशमा चुङ्बा बसिरहे । ‘चिसोमा चरिरहेका चौरीको बथानमा पोथी खोज्दै जंगली याक मिसिन आएको रहेछ । म ३० मिटरजतिको दूरीमा थिएँ । नजिकैबाट खिच्नु भनेर १५ मिटरजति अगाडि आएँ,’ उनले संझिए,‘मैले याकतर्फ क्यामेरा सोझाएको थिएँ, आक्रमणका लागि याक मतर्फ सोझियो । फोटो खिचेर म पनि सहयोगीहरूसँगै हतार–हतारमा दौडिएँ । धन्न केही समय खेदेपछि याक पनि रोकियो, भाग्यले बाँचे ।’


इन्टरनेशनल युनियन फर कन्जरभेशन अफ नेचर (आईसिएन) ले यो याक जंगली याक नै भएको पुष्टि गरिसकेको छ । तिब्बत–नेपाल क्षेत्रमा पाइने लोपोन्मुख जंगली याक पछिल्लो समय नेपालको हुम्ला जिल्लामा मात्रै पाइने चुङ्बाको दाबी छ । उनका अनुसार जंगली याक ६ हजार मिटरसम्मको उचाईमा बस्छ । जाडोयाममा कहिलेकाँही ४३ सय मिटरसम्म झर्छ । ‘जंगली याक निकै आक्रामक हुन्छ । यसले स्थानीयलाई पनि आक्रमण गर्ने रहेछ,’ चुङ्बाले भने,‘त्यहीकारण स्थानीयहरू यसलाई मन पराउँदैनन् ।’


चुङ्बाले पछिल्लो ५ वर्षको अवधिमा डाँफे, ग्रे क्राउन्ड क्रेन, इजिप्टियन गोस, फिस इगललगायत चराचुरुंगी तथा एकसिंगे गैंडा, अर्ना, कस्तुरीलगायत विभिन्न दुर्लभ प्रजातिका वन्यजन्तुहरूको तस्विर खिचिसकेका छन् । 


जंगली जनावरबाट वाइल्डलाईफ फोटोग्राफरहरू कत्तिको असुरक्षित छन् त ? जवाफमा चुङ्बा भन्छन्,‘प्रायः जनावरहरूले आफूलाई असर नपरेसम्म मानिसलाई आक्रमण गर्दैनन् । आफू असुरक्षित हुने देखेपछि वा प्रत्यक्ष इन्काउन्टर भएपछि उनीहरूले आक्रमण गर्ने हुन् । बरु, मानिसबाट जनावर असुरक्षित छन् । जलवायु परिवर्तन, चोरी–शिकारीलगायत कारणले गर्दा धेरै जनावर लोपोन्मुख अवस्थामा पुगेका छन् ।’

आफुले खिचेका फोटोहरू चुङ्बाले विभिन्न सरकारी निकाय तथा व्यक्तिहरूलाई उपहारस्वरुप दिने गरेका छन् । ‘मैले प्यासनका लागि फोटो खिचेको हुँ, कहिले पनि बेचेको छैन । कहिलेकाँही समाजसेवाका लागि पैसा उठाउन यी फोटोहरू प्रदर्शनीमा राख्ने गरेको छु । प्रायः चिनोस्वरुप मानिसहरूलाई दिन्छु । प्रकृतिप्रति सबैको लगाव बढोस् भन्ने मेरो इच्छा हो,’ उनले भने । 


वन्यजन्तुको संरक्षणमा सबैको विशेष ध्यान जानुपर्ने उनी बताउँछन् । ‘आजै संरक्षणको पहल गरिएन भने हामीले फोटोमा कैद गरेका कतिपय जनावर भोलि यस धर्तीबाट लोप भएर संझनामा मात्रै सिमित हुनसक्छन् । त्यस्तो, दुखद् परिस्थिती निम्तन नदिनका लागि सरकार र संरक्षणकर्मीहरूले उचित पहल गर्न जरुरी छ ।’