• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
डिसेम्बर १९१४ मा हाइटीको केन्द्रीय बैंकबाट द युएसस मचायस नामको यो जहाजमा अमेरिकाले पाँच लाख डलरबराबरको सुन लगेको थियो ।
न्युयोर्क टाइम्स
२०७९ कार्तिक १९ शनिबार ०७:१९:००
रिपाेर्ट

हाइटीमाथि अमेरिकी ज्यादती : ३० वर्षसम्म मच्चाइरह्यो लुट

२०७९ कार्तिक १९ शनिबार ०७:१९:००
न्युयोर्क टाइम्स

एक डिसेम्बरको अल्छीलाग्दो साँझको समय । आठ अमेरिकी नौ सैनिक हाइटीको राष्ट्रिय बैंकको मुख्यालयभित्र पस्छन् । त्यहाँबाट उनीहरू काठको बाकसमा पाँच लाख डलरबराबरको सुन भरेर बाहिर निस्किन्छन् । लुटको धनलाई गाडीमा हालेर उनीहरू समुद्र तटतर्फ हानिन्छन् । बीचमा सादा पोसाकमा रहेका अमेरिकी सैनिकले तिनलाई सुरक्षा दिइरहेका हुन्छन् । जहाजमा सुन लोड गरेको केही दिनपछि ती सुन वालस्ट्रिटको एक बैंकको भण्डारमा पुग्छ । यो सन् १९१४ डिसेम्बरमा हाइटीमा भएको सैन्य अप्रेसन हो, जुन पछि गएर अमेरिकाले गर्ने हाइटीको पूर्ण–कब्जाको पूर्वाभ्यासजस्तो सावित भयो । अर्को वर्ष ग्रीष्ममा अमेरिकी सेनाले हाइटीलाई आफ्नो कब्जामा लिए र दुई दशकसम्म कठोर शासन चलाए ।


अमेरिकी इतिहासमा विदेशी भूमिको अतिक्रमणको चर्चा हुँदा प्रायः भियतनाम र अफगानिस्तानको कुरा हुने गर्छ । तर, हाइटीमा भएको सैन्य अतिक्रमण पनि अमेरिकाले विदेशी भूमिमा गरेको सबैभन्दा लामोमध्ये एक थियो, जसको कमै उल्लेख हुन्छ । त्यो १९ वर्षसम्म चलेर सन् १९३४ मा सकिएको थियो । अमेरिकी सैनिक फिर्तीपछि पनि हाइटी अमेरिकी वित्तीय अधिकारीको नियन्त्रणमा रह्यो, जसले अर्को १३ वर्षसम्म देशको धन लुटिरह्यो ।


अमेरिकी तर्कअनुसार हाइटी यति गरिब र अस्थिर थियो कि यदि उसलाई अमेरिकाले कब्जा नगरेको भए अर्को कुनै विश्वशक्तिले कब्जा गर्ने थियो । उसका अनुसार आफ्नो आडैमा अर्को शक्तिको उपस्थिति अमेरिकी हितमा हुने थिएन । तत्कालीन विदेशमन्त्री रोबर्ट ल्यान्सिङले हाइटी अतिक्रमणलाई ‘अराजकता, बर्बरता र उत्पीडन’को अन्त्यका लागि चलाइएको मिसनको रूपमा चित्रण गरेका थिए । उनले एक ठाउँमा ‘अफ्रिकी जातिसँग राजनीतिक संगठनका लागि आवश्यक कुनै क्षमता नभएको’सम्म लेखेका छन् । तर, द न्युयोर्क टाइम्सले दशकौँसम्म गरेको कूटनीतिक पत्राचार, वित्तीय रिपोर्ट र अभिलेखहरूको अध्ययनले अमेरिकी अतिक्रमणका लागि अर्को शक्तिको पनि हात देखिएको छ । वालस्ट्रिट र त्यसमा पनि विशेष हाल सिटीग्रुपको रूपमा विकास भएको नेसनल सिटी बैंकले आफ्नो स्वार्थका लागि अमेरिकी सरकारलाई हाइटी आक्रमण गर्न उक्साएको देखिन्छ । 


सन् १९३५ मा हाइटीमा अवस्थित अमेरिकी फौजका प्रमुखमध्ये एक मेजर जनरल स्मेड्ले बट्लरले लेखेका थिए, ‘मैले हाइटी र क्युबालाई नेसनल सिटी बैंकका केटाहरूलाई आम्दानी संकलन गर्ने उपयुक्त स्थान बनाउन सघाएँ ।’ केही बैंकरको हितका लागि अमेरिकी सरकारले बन्दुकको नोकमा हाइटीको संसद् विघटन गर्‍यो, हजारौँ मानिसहरूको हत्या गर्‍यो, झन्डै ३० वर्षसम्म सो देशको वित्त नियन्त्रण गर्‍यो र देशको आम्दानीको ठूलो हिस्सा न्युयोर्कका बैंकरहरूलाई पठायो । अमेरिकाले हाइटी छाडेको केही समयपछि सन् १९४९ मा संयुक्त राष्ट्र संघले गरेको अध्ययनमा हाइटीवासी यति विपन्न पाएको थियो कि स्वयं अन्न उत्पादन गर्ने ती किसानहरू ‘भोकमरी’को अवस्थामा बाँचिरहेका थिए । 

 

‘अमेरिकी हितका लागि हानिकारक’
२०औँ शताब्दीको प्रारम्भिक वर्षसम्म पुग्दा हाइटी कैयौँ अमेरिकी स्वार्थको घेरामा परिसकेको थियो । यो मुलुक निर्माणाधीन पनामा नहरपारि अवस्थित थियो । अमेरिकाले पोर्टो रिको कब्जा गरेर आफ्नो देशमा गाभिसकेको थियो भने अमेरिकी पैसा क्युबाका चिनी खेतहरूमा ओइरिँदै थियो । हाइटी रहेकै टापुमा रहेको डोमिनिकन रिपब्लिकको आयात र निर्यात करमा अमेरिकाले नियन्त्रण कायम गरेको थियो । हुन त हाइटीमा अझै फ्रेन्चहरूको प्रभुत्व कायम थियो, तर सन् १९१० सम्ममा संयुक्त राज्य अमेरिकाले सो मुलुक पस्ने बाटो पहिल्याएको थियो, हाइटीको राष्ट्रिय बैंकको पुनः संरचनामा सहभागी भएर ।

अमेरिकी तर्कअनुसार हाइटी यति गरिब र अस्थिर थियो कि यदि उसलाई अमेरिकाले कब्जा नगरेको भए अर्को कुनै विश्वशक्तिले कब्जा गर्ने थियो । उसका अनुसार आफ्नो आडैमा अर्को शक्तिको उपस्थिति अमेरिकी हितमा हुने थिएन ।


सन् १८८० स्थापना भएको हाइटीको राष्ट्रिय बैंकप्रति देशवासीको अविश्वास चुलिँदै गएपछि फ्रान्स र जर्मनीका लगानीकर्ताले यसलाई नयाँ युरोपेली स्वामित्वअन्तर्गत ल्याउने कोसिस गर्दै थिए । यसमा अमेरिकाले विरोध जनायो । विदेश मन्त्रालयले उक्त प्रयासलाई आफ्नो सीमानजिक हुँदै गरेको आफूविरुद्धको कदमको रूपमा व्याख्या गर्‍यो । साथै मन्त्रालयले हाइटियन जनताको कल्याण र स्वतन्त्रताको लागि पनि यसले खतरा निम्त्याउने चेतावनी दियो । 


अमेरिकी विदेश मन्त्रालयका एक शीर्ष अधिकारीले सन् १९१० को हाइटियन नेसनल बैंकको पुनः संरचनाका लागि भएको सम्झौतालाई ‘अमेरिकी हितविरुद्ध र हाइटीको सार्वभौमिकताका लागि अपमानजनक’ भन्दै त्यसलाई नस्विकार्ने बताए । तत्कालीन विदेशमन्त्री फिलान्डर नक्सले केही वालस्ट्रिट बैंकहरूलाई वासिंगटनमा बोलाएर हाइटीको राष्ट्रिय बैंकमा लगानी गर्न प्रोत्साहित गरे । सोही आग्रहबमोजिम नेसनल सिटी बैंक अफ न्युयोर्कसहित चार अमेरिकी बैंकहरूले हाइटीको राष्ट्रिय बैंकको उलेख्य सेयर हिस्सा खरिद गर्‍यो । केही सेयर जर्मन बैंकको भागमा गयो भने सेयरको सबैभन्दा ठूलो हिस्सा भने पहिलेदेखिको स्वामित्वधारक पेरिसमै रह्यो । हाइटीको भागमा भने पुनः हात लाग्यो शून्य । द नेसनल बैंक अफ द रिपब्लिक अफ हाइटीमा पुनः एकपटक नामले राष्ट्रिय बैंक तर स्वामित्व विदेशीको हुने अवस्था आयो । 


स्थापनालगत्तै नयाँ राष्ट्रिय बैंकले पनि उसको पूर्ववर्तीले झैँ काम गर्न थाल्यो : सरकारका प्रत्येक निक्षेप र खर्चमा शुल्क उठाउने र विदेशी सेयरधनीलाई ठूलो नाफा सिर्जना गर्ने । हुन त यसले हाइटीको सरकारलाई ऋण दिलायो तर ऋणमा कमिसन र नाफा कटौती गरेर हाइटीले लगभग ९० लाख डलर प्राप्त गर्‍यो । यसको ब्याजसमेत गरेर उसले एक करोड २३ लाख डलर चुक्ता गर्नुपरेको थियो । राष्ट्रिय बैंकमा अमेरिकी लगानी हाइटीबाट फ्रेन्चहरूलाई निकाल्ने अमेरिकी अभियानको सुरुवात थियो र यसमा एक व्यक्तिको विशेष भूमिका रह्यो । 

 

सुनमाथिको दाबी
पूर्वपत्रकार रोजर लेस्ली फर्नहम सन् १९११ मा नेसनल सिटी बैंकमा आबद्ध भएपछि उनलाई बैंकको स्वार्थलाई विदेशमा विस्तार गर्ने जिम्मेवारी दिइयो, हाइटी उनको पहिलो गन्तव्यमध्ये एक थियो । उनले पहिले त वायोमिङबाट ल्याइएका घोडाहरूमा चढेर हाइटीभर चक्कर लगाए । यसक्रममा हाइटीमा अमेरिकी सरकारको सबैभन्दा भरपर्दो स्रोत बने । फर्नहम प्रशान्त महासागर र आन्द्र महासागर जोड्ने नहरका लागि पानामा छनोट गराउन अमेरिकी कंग्रेसलाई मनाउने व्यक्तिको रूपमा वासिंगटनमा प्रसिद्ध थिए । विदेश विभागसँग नजिक रहेका फर्नहम राष्ट्रपति वुड्रो विल्सनको शासनकालका विदेशमन्त्री विलियम जेनिंग्स ब्रायनसँग घनिष्ठ भए ।


फर्नहम र ब्रायन अन्ततः यति नजिक भए कि ब्रायनले नयाँ सरकारी नियुक्तिका लागि समेत फर्नहमको स्वीकृति खोज्न थाले । फर्नहमले यो घनिष्ठतालाई हाइटीमा अमेरिकी व्यापारिक हितको सुरक्षाका लागि त्यस मुलुक आक्रमणका लागि मनाउन प्रयोग गरे । उनले अमेरिकाले आक्रमण नगरे जर्मनीले सो टापु कब्जा गर्ने डर फैलाएर वासिंगटनको ध्यान खिचे । त्यसपछिका केही महिनामा विदेश मन्त्रालयका कूटनीतिज्ञहरूले ‘फर्नहम प्लान’ अवलम्बन गरे, जसले हाइटीको आयको एक महत्वपूर्ण स्रोत रहेको आयात र निर्यात करमाथि अमेरिकी नियन्त्रण गर्ने तयारी गरिँदै थियो ।

केही बैंकरको हितका लागि अमेरिकी सरकारले बन्दुकको नोकमा हाइटीको संसद् विघटन गर्‍यो, हजारौँ मानिसको हत्या गर्‍यो, झन्डै ३० वर्षसम्म सो देशको वित्त नियन्त्रण गर्‍यो र देशको आम्दानीको ठूलो हिस्सा न्युयोर्कका बैंकरहरूलाई पठायो ।


त्यो समयसम्म अमेरिकी द नेसनल बैंक अफ द रिपब्लिक अफ हाइटीमा अल्पसंख्यक सेयरधनी थिए । फर्नहमले अमेरिकी कंग्रेसमा गएर फ्रान्स पहिलो विश्वयुद्धका कारण युरोपमा व्यस्त रहेकाले बैंकको ‘सक्रिय व्यवस्थापन न्युयोर्कबाट हुन थालेको’ बताए । विदेश मन्त्रालयले फर्नहम प्लानमा आधारित रहेर एक सम्झौता मस्यौदा तयार गर्‍यो र त्यो फर्नहमलाई बोकाएर हाइटी पठायो । हाइटीका सांसदले यस सम्झौतालाई लिएर आफ्ना विदेशमन्त्रीको आलोचना गरे । उनीहरूले मन्त्रीले ‘देश अमेरिकालाई बेच्ने प्रयास गरेको’सम्म आरोप लगाए । संसद्को विरोधबाट यता विदेशी सेयरधनी रहेको राष्ट्रिय बैंक असन्तुष्ट भयो । उसले रकम जारी गर्न बन्द गर्‍यो र पहिले नै राजनीतिक तथा आर्थिक संकट झेलिरहेको हाइटी थप अस्थिर बन्यो । देशमा तीन वर्षभित्र पाँच राष्ट्रपति परिवर्तन भइसकेका थिए । यही अराजकतामाझ सन् १९१४ डिसेम्बरमा तत्कालीन विदेशमन्त्री विलियम ब्रायनले फर्नहमसँगको परामर्शमा हैटीको बैंकबाट पाँच लाख डलरबराबरको सुन जफत गर्ने नौसैनिक अपरेसन चलाए, (जसबारे यस लेखको सुरुमा उल्लेख गरिएको छ )।


अमेरिकी कदमबाट हाइटियन सरकार आक्रोशित भयो, यस कार्यलाई केन्द्रीय बैंक कोषको निर्लज्ज चोरी र स्वतन्त्र राष्ट्रको ‘सार्वभौमसत्तामाथिको आक्रमण’को संज्ञा दियो । अमेरिकाले उक्त भनाइको खण्डन गर्दै ‘गम्भीर जोखिममा रहेको अमेरिकी हितको रक्षा गर्न’ सुन देश ल्याएको तर्क दियो । वालस्ट्रिट यतिमै खुसी भएन । ऊ अमेरिकी सरकारले हाइटी कब्जा गरोस् भन्ने चाहन्थ्यो । विदेशमन्त्री ब्रायन हाइटीलाई अमेरिकी संरक्षण आवश्यक भएको मान्थे, तर उनी वालस्ट्रिटका लागि सो मुलुक कब्जा गर्ने पक्षमा थिएनन् । ब्रायनले राष्ट्रपति विल्सनलाई लेखेको पत्रमा यही उल्लेख थियो, ‘हाइटीमाथिको हस्तक्षेपको लागि सम्भवतः पर्याप्त आधार छन्, तर मलाई विशुद्ध व्यापारिक आधारमा हस्तक्षेप गर्ने मन छैन ।’ 


सरकारी अनिच्छाबीच सिटी बैंकका लबिस्ट फर्नहमले अमेरिकी सरकारलाई धम्की दिँदै भने, यदि अमेरिकी सरकारले व्यवसायीको पक्षमा हस्तक्षेप गरेन भने हाइटीबाट सबै अमेरिकी व्यवसाय बाहिरिनेछन् । सो देशमा अमेरिकी स्वार्थ बाँकी रहनेछैन । यस दबाबबीच अन्तमा ब्रायनले आक्रमणको समर्थन गर्दै विल्सनलाई पत्र लेख्दै भने, ‘हाइटीको राष्ट्रिय बैंकलाई अमेरिकी बैंकको शाखा बनाउने परिप्रेक्ष्यमा अमेरिकी हितहरू त्यहाँ रहन इच्छुक छन् । यसका लागि उनीहरूले सरकारको तर्फबाट सुरक्षा चाहेका छन् ।’

 

‘ब्वाँसोको जित’
उता हाइटीमा राजनीतिक अराजकता जारी थियो । सन् १९१५ जुलाईमा एक क्रोधित भिडले फ्रान्सेली वाणिज्य दूतावासमा लुकी बसेका राष्ट्रपति बिलब्रन गुइलोम सामलाई घिसारेर बाहिर ल्यायो र हत्या गरिदियो । केही इतिहासकार यस राजनीतिक उथलपुथलमा अस्थिर हाइटियन सरकारलाई पैसा रोक्ने र अघिल्लो वर्षको सुन कब्जा गर्ने कदमको भूमिका रहेको मान्छन् । राष्ट्रपतिको हत्या भएकै दिन अमेरिकी सेनाले हाइटी कब्जा गर्‍यो । अमेरिकी आक्रमण खासमा एक वर्षअघि नै नौसेनाले तयार पारेको विस्तृत योजनाअनुरूप भएको थियो । अमेरिकी सैनिकले सबैभन्दा पहिले राष्ट्रपति कार्यालय, भन्सारहरू कब्जा गरे । त्यसपछि अमेरिकाले एक कठपुतली सरकार गठन गर्‍यो, जसले अमेरिकालाई पूर्ण वित्तीय नियन्त्रण दिने सन्धिमा हस्ताक्षर गर्‍यो । 


अमेरिकाले हाइटी सरकारका सल्लाहकार भन्दै आफ्ना अधिकारी नियुक्त गर्न थाल्यो । सल्लाहकार भनिए पनि उनीहरूको खास काम भने हाइटीको राजस्व संकलनको निरीक्षण गर्ने, त्यसको खर्च स्वीकृत वा अस्वीकृत गर्ने थियो । देशभर सैन्य कानुन लागू भयो । निजी पत्रपत्रिका दबाइए र पत्रकारहरूलाई जेल हालियो । अमेरिकाले तर्क भने गरिरह्यो, ‘यदि अमेरिकाले जिम्मेवारी नलिएको भए अरू कुनै शक्ति आउने थियो,’ हाइटी कब्जा गर्ने कारबाहीको एक महिनाअघि ब्रायनलाई प्रतिस्थापन गरेका तत्कालीन विदेशमन्त्री लान्सिङले भनेका थिए । 


कब्जालगत्तै अमेरिकी अधिकारीले हाइटीको भित्री पहाडी भागलाई यसको तटमा जोड्न सडक निर्माण गर्न थाले । त्यसका लागि उनीहरूले १९औँ शताब्दीको हाइटियन कानुन ‘कोर्बे’ ब्युँत्याए । सो कानुनले नागरिकले करको सट्टा वर्षको केही दिन घरनजिकै सार्वजनिक निर्माण आयोजनामा काम गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, अमेरिकी सेनाले यस कानुनलाई बलजफ्ती घरबाट टाढा काम गर्न बाध्य पार्न प्रयोग गरे, त्यो पनि बेतलबी । हाइटीवासीले यसलाई दासत्व फर्किएको रूपमा बुझे र विद्रोह गरे । काकोस भनिने सशस्त्र पुरुषको जत्थाले विकट पहाडहरूबाट अमेरिकी सेनाविरुद्ध विद्रोह सुरु गर्‍यो । कर्भे कानुनअन्तर्गत काम गर्न बाध्य भएका बँधुवा मजदुरहरू भागेर विद्रोहमा सामेल हुने क्रम बढ्न थाल्यो । काकोसका एक नेता सार्लेमेन पेराल्टेले फ्रान्सविरुद्ध हाइटियन क्रान्तिलाई स्मरण गराउँदै ‘नयाँ आक्रमणकारीलाई समुद्रमा फ्याँक्न’ आह्वान गरे । अमेरिकाले जवाफमा कठोर प्रतिक्रिया जनायो । श्रमिकहरू कामबाट नभागून भनेर डोरीमा बाँधेर काममा लगाउन थालियो । कोर्भे श्रम व्यवस्थाबाट भाग्ने प्रयास गर्नेहरूलाई गोली ठोकियो । सैन्य अप्रेसनमा पेराल्टे पक्राउ परे । उनलाई मारेर ढोकामा बाँधेर खिचिएको तस्बिर मानिसहरूलाई बाँडिएको थियो ।


त्यस समयका लिक भएका सैन्य दस्ताबेजले ‘स्थानीयहरूको अन्धाधुन्ध हत्या केही समयसम्म चलेको र यस क्रममा तीन हजार २५० मारिएको’ देखाउँछ । अमेरिकाको कंग्रेसले सन् १९२१ मा यस घटनाबारे अनुसन्धान सुरु गर्दा सेनाले दुई हजार २५० मात्रै मृत्यु संख्या देखाएको थियो । ‘त्यो कठोर सैन्य शासन थियो, ब्वाँसोहरूको राज’ हाइटीका पत्रकार तथा कूटनीतिज्ञ एन्टोइन बर्भिनले त्यस समयको अमेरिकी शासनबारे सन् १९३६ मा लेख्दै भने । अमेरिकी राष्ट्रपतिले नियुक्त गरेका अमेरिकी सल्लाहकारहरूले हाइटीको कुल राजस्वको पाँच प्रतिशतसम्म तलब भत्तामा लिइरहेका थिए । कहिलेकाहीँ तिनले पाउने रकम सम्पूर्ण देशको सार्वजनिक स्वास्थ्यमा हुने खर्चभन्दा बढी हुन्थ्यो । 


सन् १९१७ मा अमेरिकाले हाइटीको नेसनल एसेम्ब्लीमा विदेशीहरूलाई भूमिको स्वामित्व दिने नयाँ संविधान अनुमोदन गर्न निर्देशन दियो । फ्रान्सबाट स्वतन्त्रता हासिल भएदेखि हाइटीले विदेशीलाई भूमि स्वामित्व लिन बन्देज लगाएको थियो । यो कदम उनीहरूले भविष्यमा तिनको भूमिमा हुन सक्ने बाह्य अतिक्रमण रोक्ने मनसायले उठाएका थिए । हाइटीका सांसदहरूले स्वतन्त्रतादेखिको व्यवस्था परिवर्तन गर्न अस्वीकार गरे । जवाफमा जनरल बटलरले संसद् नै भंग गरिदिए । अमेरिकी सैनिकले सभा चलिरहेको नेसनल एसेम्ब्लीमा मार्चपास गर्‍यो र सांसदहरूलाई बन्दुक देखाएर तितरबितर पार्‍यो । त्यसपछि जारी भएको नयाँ संविधानले ठूला व्यवसायीलाई जमिन स्वामित्वको बाटो खुलायो ।


नयाँ संविधान जारी भएपछि अमेरिकी व्यवसायीले वृक्षरोपणका लागि भन्दै हजारौँ एकड जग्गा भाडामा लगाए । किसानसँग अब देशमा सस्तोमा श्रम बेच्ने वा पारिश्रमिकका लागि छिमेकी देश जाने विकल्प मात्र बाँकी रह्यो । ठूला बैंकरबाट जमिन खोसिएपछि विस्थापित किसानहरू क्युबा र डोमिनिकन गणतन्त्रतर्फ गए । केही इतिहासकार अमेरिकी कब्जाको हाइटीमा परेको सबैभन्दा गम्भीर प्रभाव हाइटियनहरूको सामूहिक विस्थापनलाई मान्छन् । अमेरिकाको हस्तक्षेपपछि सन् १९२० सम्ममा नेसनल सिटी बैंकले हाइटीको राष्ट्रिय बैंकको सबै सेयर १४ लाख डलरमा किन्यो, जसले प्रभावकारी रूपमा हाइटीमा रहेको फ्रेन्च प्रभुत्व अन्त्य भयो र अमेरिकी प्रभुत्व सुरु भयो । 

हाइटीलाई नचाहिने ऋण
पाँच वर्षसम्म अमेरिकी अधिकारीले हाइटीलाई उसका पुराना ऋण तिर्न न्युयोर्क बैंकहरूबाट ऋण लिन आग्रह गरिरह्यो । यी पाँचै वर्षसम्म हाइटीले त्यसको प्रतिरोध गरिरह्यो । हाइटीको प्रतिरोधबाट आजित भएर अमेरिकीहरूले अतिक्रमणप्रति सकारात्मक रहेका हाइटियन नेता लुइस बोर्नोलाई राष्ट्रपतिको रूपमा थपना गरे । उनले पदभार ग्रहण गरेको हप्ता दिनमै न्युयोर्कबाट ऋण लिने संकेत दिए । सहायकमार्फत हाइटीको राष्ट्रिय बैंकको स्वामित्व लिएको नेसनल सिटी बैंक ऋणले पहिलो किस्ता जारी गर्‍यो । अमेरिकी सरकारले हाइटीले त्यो ऋण नतिरुन्जेल आफूले हाइटीको वित्त व्यवस्थापन गरिदिने भन्ने अग्रिम ग्यारेन्टी बसेपछि नेसनल सिटी बैंकले ऋण जारी गरेको थियो । त्यसपछि बैंकले हाइटीको लगभग सबै विदेशी ऋणमाथि नियन्त्रण बनायो ।


१९औँ शताब्दीमा जस्तै हाइटीको आयको सबैजसो हिस्सा ऋणको साउँब्याज तिर्नमा खर्च हुन थाल्यो । सरकारसँग जनतामा लगानी गर्न पैसा बच्न छाड्यो । सन् १९२९ को स्टक बजार दुर्घटना र त्यसपछिको महामन्दीको समयमा पनि हाइटीले किस्ता तिरिरहेको थियो । ऋण तिर्न देशमा भइरहेको सामाजिक खर्चको कटौतीले व्यापक असन्तुष्टि उब्जाइरहेको थियो । त्यसै समय विश्वभर कफीको मूल्यमा भएको गिरावटले सो बालीमा निर्भर हाइटी र त्यहाँका नागरिकको कठिनाइ थप गहिरियो । परिणामस्वरूप अमेरिका र बोर्नो प्रशासनविरुद्ध विरोध प्रदर्शन सुरु भयो । 


विद्यार्थीहरू छात्रवृत्ति खारेजीको विरोधमा प्रदर्शनमा उत्रिए । पोर्ट–ओ–प्रिन्सका भन्सार कर्मचारी राम्रो तलबको माग गर्दै आफ्नै कार्यस्थलमाथि आक्रमणमा उत्रिए । लेस कायस सहरमा एक हजारभन्दा बढी किसान तिनको दयनीय जीवन अवस्थाको सुधारको माग गर्दै सडकमा निस्किएका थिए । २० अमेरिकी नौसैनिकको टुकडी र किसानको भिडबीच जम्काभेट भयो । स्थिति तनावग्रस्त भएपछि कम्तीमा एक दर्जन मानिस मारिए, जुन घटना लेस कायस नरसंहारको रूपमा चिनिन्छ । यी घटनाहरूको अन्तर्राष्ट्रिय रूपमा आलोचना हुन थालेपछि अमेरिकाले हाइटीबाट फिर्ती हुनेबारे सोच्न थाल्यो । लगभग पाँच वर्षपछि, अन्ततः सन् १९३४ अगस्टमा अमेरिकी सेनाले हाइटी छोड्यो । त्यसको १३ वर्षसम्म हाइटीले वालस्ट्रिटको अन्तिम ऋण चुक्ता नगरेसम्म अमेरिकाले सो देशको वित्तमाथि नियन्त्रण छाडेन । हाइटीको सधैँको अस्थिरताका लागि अमेरिकाको कति जिम्मेवारी छ भन्ने कुरामा अझै बहस हुने गर्छ । तर, इतिहासकारहरू एउटा कुरामा भने सहमत छन्, स्वतन्त्रतादेखि झन्डै १३० वर्षसम्म हाइटीले देशको आयको ठूलो हिस्सा वैदेशिक फिरौती र ऋण तिर्नुपर्दा राष्ट्र निर्माणको क्षमतालाई ठूलो हानि गर्‍यो । 

(न्युयोर्क टाइम्सका लागि क्याथरिन पोर्टर, कन्स्टेन्ट मेहेउट, म्याट अपुजो र सेलम गेब्रेकिडेनद्वारा तयार खोज रिपोर्टको अन्तिम खण्ड श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)