• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल
२०७९ कार्तिक २६ शनिबार ०६:३६:००
यात्रा

खुम्बुमा खचाखच यात्री

२०७९ कार्तिक २६ शनिबार ०६:३६:००
नवीन अर्याल

अमेरिकन फोटोग्राफर कितिया पावलोभ्स्कीले खुम्बु क्षेत्रमा खिचेको हिउँ चितुवाको तस्बिर यतिवेला निकै चर्चामा छ । सामाजिक सञ्जाल, पत्रपत्रिका र अनलाइन मिडिया जताततै उनको कला र आँटको तारिफ भइरहेको छ । हुन पनि गोरकसेपबाट हिउँचितुवाको पाइला पछ्याउँदै पाँच हजार चार सय ८६ मिटर उचाइमा पुगेर सुन्दर तस्बिर क्यामेरामा कैद गर्नु सहज थिएन । विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा उनले खिचेका तस्बिरले विश्वभरिबाट तारिफ बटुल्न समय लागेन । 


एभरेस्ट ट्रेकिङकै क्रममा कितियाले चितुवाको तस्बिर क्यामेरामा कैद गरेकी थिइन् । उनको क्यामेरामा सगरमाथा क्षेत्रका थुप्रै सुन्दर तस्बिरहरू कैद छन् । तर, वाहवाही हिउँ चितुवाको तस्बिरले पायो । कितिया एभरेस्ट घुमेर फर्किसकिन् । तर, एभरेस्ट ट्रेकिङ जाने पर्यटकको घुइँचो भने अझै उस्तै छ । सगरमाथाको प्रवेशद्वार लुक्लादेखि नै ट्रेकिङ जाने पर्यटकको लर्को देखिन्छ । शरद ऋतु सकिनै लाग्दा ठन्डा बढ्दै छ, तैपनि हिमाली यात्रामा जाने ताँती रोकिएको छैन । यतिसम्म कि बाटोमा मान्छे पन्छाउँदै अगाडि बढ्नुपर्ने स्थिति छ । सगरमाथा आधार शिविरलाई गन्तव्य बनाएर स्वदेशी तथा विदेशी पदयात्रीहरू खुम्बुमा उकालो चढिरहेका छन् । 

लुक्लाबाट फाक्दिङ जाँदै गरेका पर्यटक

शनिबार लुक्लामा ओर्लिंदा एभरेस्ट ट्रेकिङ जाने र फर्किने पर्यटकले विमानस्थल खचाखच थियो । कतिपय यात्रीहरू गन्तव्यमा पुग्न नसकेर बीचबाटै फर्किएको पनि भेटिए । ट्रेकिङ जाने सबैको गन्तव्य कालापत्थर वा बेसक्याम्प मात्र हुँदैन । कतिपय नाम्चे पुगेर फर्किने हुन्छन् । कतिपय गोक्यो लेकतिर लाग्छन् भने कतिपय कोङ्दे, स्याङबोचे वा गोरकसेपसम्म पुग्ने मात्र पनि हुन्छन् । तर, लेक लाग्ने हुनाले सबै पदयात्रीहरू गन्तव्यमा पुग्न भने नसक्ने ट्रेकिङ गाइड सोनाम शेर्पा बताउँछन् ।


छिनछिनमै बदलिने मौसम । एकैछिनमा घाम लागेर न्यानो हुन्छ, उत्तिखेरै बादलले ढाकेर कठ्यांग्रिने चिसो हुन्छ । मौसम बिग्रिए हिउँ पर्न पनि बेर लाग्दैन । भौगोलिक बनावट, प्राकृतिक सुन्दरता, मौसमलगायत कारणले सगरमाथा क्षेत्र विश्वकै अलौकिक ठाउँ मानिन्छ । सगरमाथा बेसक्याम्प, कालापत्थर र गोक्यो लेक पुग्ने त साहसिक पदयात्रीको सपना नै हो । सुन्दर प्रकृतिको स्वादपान गर्दै ‘हाई अल्टिच्युड’मा पैदलयात्रा गर्नुको मज्जा बेग्लै छ । त्यसैले त बर्सेनि विश्वका हजारौँ साहसिक यात्री एभरेस्ट ट्रेकिङ जान नेपाल आउँछन् । 

शनिबार लुक्लामा ओर्लिंदा एभरेस्ट ट्रेकिङ जाने र फर्किने पर्यटकले विमानस्थल खचाखच थियो । कतिपय यात्री गन्तव्यमा पुग्न नसकेर बीचबाटै फर्किएका पनि भेटिए । ट्रेकिङ जाने सबैको गन्तव्य कालापत्थर वा बेसक्याम्प मात्र हुँदैन । कतिपय नाम्चे पुगेर फर्किने हुन्छन् ।


कोभिडले दुई वर्ष पर्यटन पूरै सुस्तायो । तर, यस वर्षको शरदकालीन सिजनमा कोभिडलाई बिर्साउने गरी ट्रेकिङ जाने पर्यटक आएको पर्यटन व्यवसायी फुर्वा शेर्पाले बताए । वसन्तकालीन सिजनमा सगरमाथा आरोहण र ट्रेकिङका लागि आउने पर्यटकको भिड पनि उस्तै थियो । यतिवेला फाक्दिङ र कोङ्देमा रहेको आफ्नो रिसोर्ट ट्रेकिङ आएका पर्यटकले भरिएको उनले बताए । शनिबार पंक्तिकार लुक्लादेखि फाक्दिङसम्म पुग्दा बाटोमा मान्छे पन्छाउँदै हिँड्नुपरेको थियो । बाटोमा एभरेस्ट ट्रेकिङ जाने नेपालीहरू पनि उत्तिकै देखिए । 


पर्यटक पैदल मात्र होइन, आकाशमा पनि उडिरहेका छन् । हेलिकोप्टर कम्पनीलाई एभरेस्ट बेसक्याम्प जाने पर्यटक बोक्न भ्याई–नभ्याई छ । बिहान उज्यालो भएदेखि घाम नअस्ताउन्जेलसम्म पर्यटक बोकिरहेको हेली एभरेस्टका प्रबन्ध निर्देशकसमेत रहेका शेर्पाले बताए ।पर्यटकलाई लुक्लाबाट कोङ्दे, गोरकसेप, गोक्यो, कालापत्थर, एभरेस्ट बेसक्याम्पलगायत ठाउँमा हेलिकोप्टरले भ्रमण गराइरहेका छन् । हेलिकोप्टर चढेर कालापत्थर र बेसक्याम्पसम्म पुगेर फर्किने धेरै छन् । अझ बिहान काठमाडौंबाट हेलिकोप्टरमा कोङ्दे पुगेर ब्रेकफास्ट खाई फर्किने सौखिन पर्यटक पनि हुने गर्छन् । पैदल यात्राको तुलनामा हेलिकोप्टर यात्रा धेरै महँगो पर्ने हुँदा हिँड्न सक्नेहरू सडकबाटै बेसक्याम्पतर्फ लाग्ने गाइड सोनाम शेर्पाले बताए ।

सगरमाथा आधारशिविर जाँदै गरेका पर्यटक


खाद्यान्न, ग्यासका सिलिन्डर, पर्यटकका झोला बोकेका खच्चड र चौँरी पनि बाटैभरि भेटिए । सामान बोकेका खच्चड र चौँरीको लवालस्करले पर्यटकलाई निस्फिक्री हिँड्न पनि कठिन भइरहेको थियो । खुम्बु पासाङ ल्हामु गाउँपालिकाअन्तर्गत पर्ने एभरेस्ट ट्रेकिङ रुटमा गाडी नचल्ने हुनाले हेलिकोप्टर, खच्चड, चौँरी वा मान्छे आफैँले सामान बोक्नुको विकल्प छैन ।

कसरी पुगिन्छ एभरेस्ट बेसक्याम्प ?
लुक्लादेखि एभरेस्ट बेसक्याम्प पैदलै पुगेर फर्किन सातदेखि १० दिनसम्म लाग्छ । बास बस्न र खानका लागि कुनै समस्या छैन, ठाउँ–ठाउँमा लज र रिसोर्ट खुलेकै छन् । एक छाककै हजारभन्दा बढी तिर्नुपर्दा महँगो लाग्न सक्छ । चोला पास, गोक्यो लेक, कालापत्थर र एभरेस्ट बेसक्याम्प घुमेर लुक्ला फर्किएका जुम्लाका हेडमास्टर टंक महतले सुनाउँदै थिए– ‘लुक्लाबाट सबै ठाउँ पुगेर फर्किंदासम्म प्रतिव्यक्ति २० हजार रुपैयाँ हाराहारी खर्च भयो होला ।’

लुक्ला बजार

काठमाडौंबाट बिहानै जहाज चढेर लुक्ला पुगिन्छ । पर्यटकीय सिजनमा जहाजको टिकट मूल्य प्रतियात्रु नौ–दश हजारसम्म पुग्ने गर्छ । सोही दिन लुक्लामा खाना खाएर फाक्दिङ वा मोन्जो पुगेर बास बस्न सकिन्छ । पहिलोपटक यात्रा गर्नेलाई फाक्दिङ पुग्न चार–पाँच घन्टा र मोन्जो पुग्न आठ घन्टाजति लाग्छ । अर्को दिन नाम्चे पुगेर बस्न सकिन्छ । नाम्चे आफैँमा सुन्दर ठाउँ हो ।

नाम्चेबाट, तेङ्बोचे, देङ्बोचे भ्याली, लोबुचे हुँदै गोरकसेप पुग्न सकिन्छ । यी सबै गन्तव्य पाँचदेखि आठ घन्टासम्मको पैदल दूरी हुन् । हाई अल्टिच्युडमा एकै दिन लामो यात्रा गर्न कठिन हुन्छ । गोरकसेप एभरेस्ट बेसक्याम्प जाँदा बास बस्ने अन्तिम ठाउँ हो । त्यहाँबाट अढाइ–तीन घन्टामा बेसक्याम्प र एक घन्टामा कालापत्थर पुगेर बास बस्न गोरकसेप नै फर्किन सकिन्छ ।