• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
कमला भट्टराई
२०७९ कार्तिक २६ शनिबार ०६:५६:००
समाज

महिला श्रमिकका पीडा : अर्कै छ सुन्दरताभित्रको दुःख

चियाबगानमा महिलाले लस्करै हरियो पत्ती टिपेको देख्दा देख्नेलाई त सुन्दर लाग्छ, तर सुन्दरताभित्रको दुःख अर्कै छ

२०७९ कार्तिक २६ शनिबार ०६:५६:००
कमला भट्टराई

 

चियाका बोट समाउँदै वामे सर्न सिकेकी थिइन् भीमादेवी बोहोराले । पोसिलो र पर्याप्त खाने कुराको त कुरै नगरौँ । तीन महिनासमेत नपुग्दै आमाको दूध खान पाइनन् भीमादेवीले । बगानका नालीहरूमा लड्दै, चियाका झिक्रा समाएर उठ्दै हुर्किएकी भीमादेवी अहिले तीन सन्तानकी आमा भइसकेकी छिन् । उनका तीन छोरीहरू पनि त्यसैगरी हुर्किरहेका छन् । 


४२ वसन्त कटाइसक्दासमेत गरिबी र अभावले भीमादेवीको पिछा छाडेन । दायाँ हातको हत्केलामा देखिएको सामान्य घाउको औषधिमूलो गर्न पनि पहाड बनेको छ उनलाई । हत्केलाको छाला आफैँ च्यातिन्छ । बगानको हप्तामारी कमाइले घरखर्च जेनतेन चल्छ । अलि–अलि बचेको पैसाले नजिकैको बुटाबारी र बिर्तामोडका फार्मेसीबाट औषधि किनेर खान्छिन् । २–४ वर्ष बितिसक्यो घाउ अझै निको भएको छैन । ठूलो अस्पतालमा गएर उपचार गर्ने पैसा छैन । भीमादेवीलाई परिवार चलाउनुपर्ने बाध्यता छ । त्यसैले घाउ भएकै हातले अर्जुनधारा नगरपालिका–११ स्थित न्यू गिरी टी स्टेटमा चियापत्ती टिप्ने काम गरिरहेकी छिन् । 


भीमादेवी एक प्रतिनिधि पात्र मात्र हुन् । १७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा गरिने चिया खेतीमा करिब ७० हजार श्रमिक आबद्ध छन् । उनीहरूमध्ये करिब ८० प्रतिशत महिला छन् । चियाबगानमा लस्करै हरियो पत्ती टिपेको देख्दा देख्नेलाई त सुन्दर लाग्छ । तर, सुन्दरताभित्रको दुःख अर्कै छ । चियाका कलिलो मुना टिप्न त सजिलै हुन्छ । तर, ३०–३५ किलोको चियापत्तीको भारी बोकेर काम गर्नुपर्दा कम्मर र ढाड दुख्ने विरामले अधिकांश महिला श्रमिक पीडित छन् । चियापत्ती बोक्ने डोकोको नाम्लोले निधार पोल्छ । वर्षौंदेखि डोको बोक्नुपरेकाले नाम्लोले महिला श्रमिकको कपाल झारिदिएको छ । चियाबगानमा हरियो पत्तीका लागि साप्ताहिक रूपमा विषादी छर्कनुपर्छ । विषादी छरेको पाँच दिनमै हरियो पत्ती पलाउँछ । विषादीको असर हरियो पत्तीको मुना टिप्ने महिला श्रमिकले खप्नुपर्छ । विषादीका कारण आँखा पोल्छ । शरीर चिलाउँछ । 


बगानमा काम गर्ने श्रमिक महिलाहरू अति विपन्न परिवारका छन् । अधिकांशको आफ्नो जमिन छैन । घर छैन । उनीहरू बगान मालिकले बनाइदिएको झुपडीमा बस्ने गर्छन् । अन्य क्षेत्रका श्रमिकभन्दा चियाबगानका श्रमिकलाई सरकारले हेर्ने नजरिया पनि फरक छ । त्यसकारण उनीहरूको दैनिक ज्याला पनि अन्य श्रमिकको भन्दा कम्ती छ । अन्य क्षेत्रमा महिला श्रमिकको दैनिक ज्याला कम्तीमा पाँच सय रुपैयाँ छ । तर, बगानमा महिला श्रमिक चार सय ३५ रुपैयाँमा दिनभर काम गर्न बाध्य छन् । महँगी आकासिएको छ । बगानभित्रको झुपडीमा सुविधा केही छैन । ४० बर्षअघि बनाइएका झुपडी भत्किएका छन् । टाटीबेरा छैन । छाना चुहिन्छ । छानाको जस्तापाता घामपानी दुवै नछेक्ने भएका छन् । वर्षामा पानी चुहिएर श्रमिक परिवार रातभर सुत्न सक्दैनन् । टाटीबेरा राम्रो नहुँदा घरभित्रै पसेर कुकुर बिरालोले खाना खाइदिन्छ । विद्युत्को सुविधा छैन । शौचालयको राम्रो व्यवस्था छैन । श्रमिकहरू आर्सनिक मिसिएको ट्युवेलको पानी पिउन बाध्य छन् ।

 

उमेर र शक्ति सबै बगान हरियो बनाउन खर्चिए पनि दुर्घटना, रोगव्याधि र अशक्त हुँदा उनीहरूले केही पाउँदैनन् । फूलकुमारी माझी त्यसैको एक उदाहरण हुन् । फूलकुमारी बगानमा काम गर्न पस्दा १८ वर्षकी थिइन् । उनले त्यहाँ तीन दशक काम गरिन् । तीन वर्षयता उनले दुई छाक खाना खानसमेत पाएकी छैनन् । उनी हतार–हतार बगानको काममा जान लाग्दा लडेर घाइते भएकी थिइन् । उनको कम्मरको हड्डी भाँचियो । करिब दुई वर्ष ओछ्यानबाट उठ्न सकिनन् । पैसाको अभावमा ठूलो अस्पतालमा उपचार गराउन सकिनन् । साथीसँगी र छरछिमेकको सहयोगले स्थानीय मेडिकलमा उपचार गरिन् । त्यही उपचारले अहिले सामान्य हिँड्डुल गर्न सक्ने भएकी छिन् । 


एकल महिला फूलकुमारीले नियमित औषधि खानुपर्छ । तर, पैसा अभावमा धेरै दुख्दा मात्रै उनी औषधि खान्छिन् । घाइते भएर ओछ्यान लाग्दा बगान प्रशासनले कुनै सहयोग नगरेको उनको दुखेसो छ । ‘घाइते भएर ओछ्यान लागेको खबर छिमेकीले बगान मालिककोमा पुर्‍यायो । तर, मालिकले कुनै सहयोग गरेनन्,’ ४८ वर्षीया फूलकुमारीले भनिन्, ‘हिड्डुल नै गर्न सकिरहेको छैन । अब त यही रोगले स्वर्ग लान्छ होला ।’ उनका तीन भाइ छोरा छन् । माइला आठ वर्षदेखि बेपत्ता छन् । जेठा र कान्छा छोरा पनि न्यू गिरी टी स्टेटमै काम गर्छन् । 

उमेर र शक्ति सबै बगान हरियो बनाउन खर्चिए पनि दुर्घटना, रोगव्याधि र अशक्त हुँदा उनीहरूले केही पाउँदैनन् । फूलकुमारी माझी त्यसैको एक उदाहरण हुन् । उनले त्यहाँ तीन दशक काम गरिन् । तर, तीन वर्षयता उनले दुई छाक खाना खानसमेत पाएकी छैनन् ।


बगानमा काम गर्दागर्र्दै श्रीमान् सुरेशलाई मुखबाट रगत आउने रोग लाग्यो । ‘उहाँको चियाको बोटमा औषधि छर्किने काम थियो । सधैँ औषधि छर्किंदा त्यसको असर उहाँलाई पर्‍यो । शरीरमा सधैँ घाउखटिरा आउने, आँखा चिलाएर रातो हुने र पछि मुखबाट रगत जाने हुन  थाल्यो,’ आँसु झार्दै उनले भनिन्, ‘पैसा नहुँदा उहाँको रोगको उपचार गर्न सकेनौँ । उपचार नपाएरै उहाँ बित्नुभयो ।’


चिया श्रमिकले बिहान ३ बजे नै ओछ्यान छोड्नुपर्छ । नित्यकर्म, घरआँगन सरसफाइ गरेर बिहान ६ बजेसम्म खाना पकाएर खाइसक्नुपर्छ । निद्राले नछाडे पनि केटाकेटीलाई उठाएर सरसफाइ गरिदिनुपर्छ । स्कुलको तयारी गरेर ७ नबज्दै चियाबगानमा हाजिर भइसक्नुपर्छ । एकाबिहानै कतिलाई खाना रुच्दैन । खाजाकै भरमा ११ बजेसम्म बगानमा चियापत्ती टिप्नुपर्छ । पर्याप्त पोसिलो खान पाउँदैनन् । समयमा खाना खानसमेत नपाएकै कारण बगानमा काम गर्ने प्रायः श्रमिकलाई पेट दुख्ने समस्या छ । 


‘ग्यास्ट्रिकको विमार नभएको त मान्छे नै छैन,’ गुणमाया न्यौपानेले भनिन् । ५४ वर्षकी न्यौपानेले आन्द्रा काटेर फालेकी छिन् । ‘ग्यास्ट्रिक बिग्रिएर अल्सर भइसकेछ । तीन वर्षअघि पेटको आन्द्रा काटेर प्लास्टिकको पाइप जोडेकी छु,’ उनले भनिन्, ‘२५ वर्षअघि नै श्रीमान् बित्नुभो । धनसम्पत्ति छैन । बगानकै कमाइले बिहान–बेलुका हातमुख जोडेकी छु । काम त गर्नैपर्‍यो ।’ मेचीनगर नगरपालिकास्थित टोकला चियाबगानमा १५ दिन काम गरेपछि गुणमायाले चार हजार आठ सय रुपैयाँ थाप्छिन् । उक्त पैसाले १५ दिनको घरखर्च र दैनिक खानुपर्ने औषधि किन्न मात्र पुग्छ । अर्को १५ दिनको औषधि र घरखर्च जोहो गर्न गुणमायाले नियमित बगानमा काम गर्नुपर्ने बाध्यता छ । 


नेपालको संविधान २०७२ ले श्रमको हकलाई मौलिक हकअन्तर्गत राखेको छ । संविधानमा भनिएको छ, ‘प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ ।’ संविधानमा उल्लेख भए पनि चिया श्रमिक आफ्नो सामान्य हकअधिकारबाट समेत वञ्चित हुनुपरेको नेपाल चियाबगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ बताउँछन् । 


संविधानकै धारा ४३ मा सामाजिक सुरक्षाको हक पनि उल्लेख छ । उक्त धारामा भनिएको छ, ‘आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुनेछ ।’ तर, आर्थिक रूपमा अति विपन्न, एकल महिला तथा ठूलो संख्यामा लोपोन्मुख जातिका नागरिक चिया क्षेत्रमा श्रमिकका रूपमा कार्यरत रहे पनि संविधानको उक्त धारा उनीहरूको जीवनमा लागू भएको पाइँदैन । 


सरकारले श्रम ऐन २०७४ समेत लागू गरिसकेको छ । उक्त ऐनमा श्रमिकका लागि कोष, उपदान तथा बिमासम्बन्धी व्यवस्था उल्लेख छ । ऐनको दफा ५२ को उपदफा २ मा रोजगारदाताले सम्बन्धित श्रमिकले काम प्रारम्भ गरेको दिनदेखि नै लागू हुने गरी उनको नाममा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्ने उल्लेख छ । दफा ५३ मा रोजगारदाताले प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकको ८.३३ प्रतिशतबराबरको रकम प्रत्येक महिना उपदानबापत श्रमिकको नाममा सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । 


राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडको तथ्यांकअनुसार ३० वटा अर्थोडक्स, ३८ वटा सिटिसी गरी ६८ वटा ठूला चिया उद्योग र एक सय ५० बढी साना अर्थोडक्स चिया प्रशोधन उद्योगहरू सञ्चालनमा छन् । एक सय ६० भन्दा बढी ठूला चियाबगान र १५ हजारभन्दा बढी साना कृषकका चियाबगान छन् । दुईवटा संस्थाले बाहेक चियाका कुनै पनि उद्योग तथा बगानले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन गरेको छैन । 


श्रम ऐनको दफा ५४ मा श्रमिकको कम्तीमा वार्षिक एक लाख रुपैयाँबराबरको औषधि उपचार बिमा तथा दफा ५५ मा श्रमिकको जुनसुकै प्रकारको दुर्घटनालाई समेट्ने गरी कम्तीमा सात लाख रुपैयाँबराबरको दुर्घटना बिमा गराउनुपर्ने कानुनी व्यवस्था छ । सरकारले आर्थिक ऐन ०७६ को दफा २१ (४) मा श्रमिकको निवृत्तभरणबापतको आय र योगदानमा आधारित निवृत्तभरण कोषमा योगदान गर्ने व्यक्तिको आयमा कर छुटको व्यवस्थासमेत गरेको छ । 


तर, सरकारले लागू गरेको श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन गराउन नसक्दा त्यसको प्रत्यक्ष मारमा चिया श्रमिक परेका छन् । सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन र श्रमिकलाई कोषमा सूचीकरण गराउन कोषले रोजगारदातालाई दबाब वा आदेश गर्न सक्ने अधिकार दिइएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको दफा १७ मा रोजगारदातालाई तत्काल कोषमा सूचीकरण हुन र आफूले नियुक्त गरेको वा रोजगार सम्बन्ध कायम गरेको श्रमिकलाई कोषमा सूचीकरण गराउन आदेश दिन सक्ने व्यवस्था छ । तर, सरकारले कार्यान्वयनमा कडाइ गर्न नसक्दा ऐन लागू भएको तीन वर्ष बितिसक्दासमेत सामाजिक सुरक्षा कोषमा रोजगारदाता एवं श्रमिक सूचीकरण हुन र गराउन सकिरहेको छैन ।


उद्योगीले भने श्रमिककै कारण सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न नसकेको आरोप लगाउँछन् । हल्दिबारी टी इन्डस्ट्रिजका सञ्चालक चन्डी पराजुलीले चिया श्रमिककै कारण चियाबगानमा सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न गाह्रो भएको बताए । ‘चिया कारखानामा कामदार नियमित हुन्छन् । हामीले उनीहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरिसकेका छौँ । तर, बगानमा कामको प्रकृति फरक छ । सिजनअनुसार कामदार धेरै र थोरै आवश्यक पर्छ । सिजनमा कहिल्यै बगानमा काम नगरेकालाई पनि काममा लगाउनुपर्ने अवस्था हुन्छ,’ उनले भने, ‘त्यसरी सिजनमा मात्र काम गर्न आउने कामदार कोषमा समेटिन चाहँदैनन् । उनीहरूले आफ्नोतर्फको १० प्रतिशत रकम कोषमा जग्गा गर्न दिँदैनन्, मान्दैनन् ।’ नेपाल चिया उत्पादक संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका पराजुलीले सिजनअनुसार काम र कामदार संख्यामा हेरफेर हुने भएकाले चियाबगानलाई योगदानमा आधारिक सामाजिक सुरक्षा कोषमा सूचीकरण गर्न गाह्रो रहेको तर्क गर्छन् ।  


श्रमिकका पक्षमा बनेका ऐन, कानुन प्रभावकारी कार्यान्वयन हुन नसक्दा चिया श्रमिकले अझै वैज्ञानिक तलबभत्ता, सुविधा नपाएको दुःखद अवस्था छ । रोजगार सम्झौताविनै श्रमिक बीसौँ वर्षसम्म काममा खटिनुपर्ने निरीह अवस्थामा छन् । कानुन कार्यान्वयन नभएकै कारण चिया श्रमिकले कानुनबमोजिम पाउनुपर्ने ग्रेड र बोनस प्राप्त गर्न सकेका छैनन् । श्रमिकका लागि भन्दै रोजगारदाताले श्रमिकबाट दशकौँदेखि एक प्रतिशत रकम उठाउँदै आएको छ । तर, उक्त रकम कुन श्रमिकको कति जम्मा भयो ? र, संकलन गरिएको रकम कहाँ जम्मा भइरहेको छ ? भन्नेबारे कुनै श्रमिकलाई जानकारी छैन । श्रमिकले आफ्नो पसिना बगाएर कमाएको रकमबाट एक प्रतिशत रकम रोजगारदातालाई दिँदै आए पनि श्रमिक सेवानिवृत्त हुँदा कुनै उपदानसमेत प्राप्त नगरी रित्तो हात कम्पनीबाट निस्किनुपर्ने अवस्था छ । सेवानिवृत्त श्रमिक वृद्ध अवस्थामा कम्पनीले दिएको आवास सुविधासमेत छाडेर हिँड्नुपर्ने बाध्यता छ ।