• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रगति राई
२०७९ कार्तिक २६ शनिबार ०७:२४:००
साहित्य

कविताको आवाज

यो संग्रहका कविताको मधुर आवाजलाई ध्यान दिएर सुन्ने हो भने एउटा महत्वपूर्ण जानकारी दिइरहेको भेटिनेछ 

२०७९ कार्तिक २६ शनिबार ०७:२४:००
प्रगति राई

निभ्दै गरेको शिखाको अनुरोध
झर्दै गरेको पातको आग्रहमा
जीवनको वसन्त आफैँ भित्र खोज्छु म
जीवनको प्रस्थान र जीवनको आगमन
एउटै बिन्दुमा भेट्टाउँछु म ।

 

जिउन सिकाइरहन्छन् मलाई
दियोको अन्तिम लप्का 
र शरदका पहेँला पातहरू ।
(शीर्ष कविता, पृष्ठ ९)

 

कवि दीपा राई पुनको कवितासंग्रह ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’बाट शीर्ष कविताका केही अंश यहाँ राखेँ । छोटा–छोटा कविताहरूका सँगालो हो यो संग्रह । एक कप चिया खाइसक्ने समयमै संग्रहका सबै कविता पढी सकिन्छ । 


संग्रहको नाम ज्यादै लामो लागे पनि कविताहरू भने ससाना चिटिक्कका छन् । कविताले अनेक तरहमा जीवनको व्याख्या गर्छ । प्रेमको शक्ति र आग्रहबारे विश्लेषण गर्छ । यो दुनियाँमा जीवनले भोग गर्ने अवधिबारे अलार्म बजाइरहन्छ । भूमिकास्वरूप संग्रहमा कवि विप्लव प्रतीकले लेखेका छन्,‘संसारमा जति कविता लेखिएका छन् ती सबै अधिकांश मानवीय संवेदना, युटोपियाको कामना र जीवनको खोजमा समर्पित छन् ।’ 


कविताहरू कम लेखिन थालेको पक्कै हो । कविता राजनीतिक दलहरूमा विभाजित हुन थाले । सत्ताबाहिर बसुन्जेल सर्वहाराको पक्षमा लेखिएका कविता सत्तामा पुगेपछि स्वयं कविले आफ्नै कविता च्यात्न थाले । कविता क्षणिक स्वार्थपूर्तिका लागि हतियार बन्न थाल्यो । सयौँ वर्ष बाँच्न सक्ने कविताको आयु छोटिँदै जान थाल्यो । कवितालेखनको यस्तो संक्रमणकालीन अवस्थामा दीपा राईका कविता मधुर आवाजका साथ हामीसामु उपस्थित छन् । जो जीवन र जगत्का बारेमा ससाना प्रश्त्ताप लिएर उदाएका छन्–


क्षमा
सहेर जिउने कला हो ।
क्षमा गर्नेहरू आफू दुख्दैनन्
र, अरू कसैलाई पनि दुखाउँदैनन् । 
(क्षमा, पृष्ठ ३८)


‘क्षमा’ शीर्षकको यो तीन लाइन सिंगो कविता हो । हेर्दा कुनै एक टुक्रा मात्र उद्धृत गरेजस्तो देखिन्छ । यस्ता छोटा–छोटा कविताहरूको सँगालोले नै पूर्ण संग्रह बनेको छ ।


हाँगामा अडिएको 
एउटा पात
जो केही पलअघिसम्म
फूलसँगै थियो
झर्‍यो र मिल्यो माटोमा
तत्काल सम्झिएँ तिम्रो प्रेम र समर्पण ।
(समर्पण, पृष्ठ ३१)

 

यस संग्रहभित्रका अधिकांश कविता प्रेम र जीवनका पेरिफेरीमै घुमेका छन् । कविताहरूमा ‘तिमी’ मुख्य पात्र भएर ‘म’चाहिँ सहायक पात्र भएको भेटिन्छ । यहाँ भएका कविताहरूले कविताको संग्रह नबनाएर प्रेमबारे लेखिएको उपन्यासजस्तो भान दिलाउँछ । मानौँं, ‘तिमी’ भन्ने प्रेमको एउटा ठूलो पहाड छ । त्यही पहाड वरिपरि घुमेर म पात्रले अनेकन कल्पना गर्छ । जीवनलाई उल्टापुल्टा पारेर हेर्छ । कसैको सामीप्यता हुनु र नहुनुको फरकपनलाई तुलना गर्छ ।


अट्न त के अट्दैन र यो मनमा ?
चाहना असीमित छ यो मनमा ।
ए समय,
तिमी मलाई दिन्छौ नै भने
थोरै सही, उज्यालो देऊ
जसले म संसारकै अँध्यारो मेट्न सकुँ ।
(प्रार्थना, पृष्ठ ४०)

 

युद्धको प्रतिकार युद्धले नै गर्ने, विनाश बदला विनाश नै गर्ने अहं चलिरहेको वेला यी कविताले भने सिर्पm प्रेम गर, र प्रेमले नै जित भनेर बारम्बार भनिरहन्छ । आजभोलि पाठक पनि अनेकन रंग र संघमा विभाजित छन् । त्यसकारण ती पाठकहरूले खुबै गाली गर्नेछन्, सोलोडोलो प्रेमको मात्रै रंग भएको कविता भनेर । तर, यो संग्रहका कविताहरूको मधुर आवाजलाई ध्यान दिएर सुन्ने हो भने अवश्य एउटा महत्वपूर्ण जानकारी दिइरहेको भेटिनेछ । 


तिम्रो अगाध प्रेमको पासोमा
कतिले जीवन होमे,
कतिले सपना जलाए, 
ती सब सम्झिएर
प्रत्येकपल झस्किन्छौ ? कि झस्किदैनौ ?
(मृत क्रान्तिकारी, पृष्ठ २९)

 

हरेक देश कि त आफैँ गृहयुद्धमा थलिएको छ, कि त छिमेकीको कलहमा मुछिएको छ । तपाईं पनि एकचोटि सम्झिनुहोस् त, कति वर्ष भयो साझा खुसीमा रमाउन नपाएको । देशप्रति रोष प्रकट गर्दागर्दै हाम्रो पूरै जीवन सकिन पो लागेन र ? ‘नयाँ बनिन पुरानो भत्किनै पर्छ’ भन्दाभन्दै न पुरानो केही बाँकी रह्यो, न त नयाँ नै बन्यो । जीवन नै संक्रमणकालमा सकिजाला कि ?

 

रगतको होली खेल्नेहरूको
म गुण गाउनै सक्दिनँ,
आक्रोशप्रति विश्वास छैन मेरो,
तर रामराज्यको सपना देखाएर
मान्छे जब खेल्छ मान्छे कै सिकार
म रिसले थर्थर काँप्तछु ।
(म सक्तिनँ, पृष्ठ १८)


कवि स्वयं स्वगत कथनमा लेख्छिन्,‘यसभित्र संग्रहित कविताहरू मैले गाएका जीवनका गीत हुन् । मैले जसरी जानेँ जीवनको उत्सव मनाउन, यी कविता तिनकै लय हुन् । जसलाई शब्दमा बुन्ने क्रममा कहिलेकाहीँ मैले आफूलाई हराइदिएकी छु भने कहिलेकाहीँ आफूलाई पहिल्याएकी पनि छु । जहाँ मैले आफूलाई हराएँ, त्यहाँ दर्द, आनन्द, मिलन, विछोड र जीवनको निस्सारता महसुस गर्न भने कहिल्यै बिर्सिनँ । र, जीवनमा के पाएँ, त्यो खुसीले स्वीकार गरेँ ।’


लेनिन, सेक्सपियर, माओ, हेमिङवे आदिका जन्मस्थानलाई संसारमा एक तीर्थस्थलको रूपमा विकास गरिँदा नेपालमा भने महाकविको डिल्लीबजारस्थित निवास भत्काएर नामेट पारेको घटनासँग तिक्तता पोख्दै कविले कविता लेखेकी छिन्, 


हेमिङवे ! 
तिम्रो सम्झनामा
श्रद्धाको फूल लिएर तिम्रो आँगन टेक्दा
म भने महाकवि देवकोटाको 
भत्काइएको घर झल्झली सम्झेर
भावविह्वल भएकी छु ।
तर, सोच्दछु–
स्नेह र अवहेलना
भावना मात्र होइनरहेछ
संस्कार र सोच रहेछ ।
(हेविङवे, पृष्ठ ९६)

 

‘आमा’ यो एक शब्दमा ब्रह्माण्डको सबैभन्दा धेरै व्याख्या लुकेको हुन्छ । हरेक व्यक्तिले कहीँ न कहीं आमाप्रति केही शब्द कोरेका हुन्छन् या मनमा श्रद्धाका फूल अवश्य नै फुलाएका हुन्छन् ।


गोर्कीको ‘आमा’ उपन्यास संसारमै लोकप्रिय पनि छ । मान्छे हुनुमा दुःख यसै छ, थप दुःख स्त्री हुनुमा छ, झन् महाकष्ट आमा हुनुमा छ । शारीरिक दुःखदेखि सन्तानप्रतिको चिन्ताले मानसिक दुःखको बोझ थोपरिदिन्छ । सन्तान ६०–७० सत्तरी वर्षका नै किन नहुन्, तर नब्बे कटेका आमालाई सन्तानले दुःख पाउला भन्ने पिरले खियाउन कहिल्यै छाड्दैन ।


‘आमा मरी टुहुरो; बा मरी झन् सुरो’ यसैले यो उखान बनेको होला । यो संग्रहमा आमाप्रति लेखिएको कवितांश यस्तो छ–


गहिरो वेदना रहेछ तिम्रो कान्ति भरिएको मुस्कानभित्र
अनेकन दर्द रहेछन् तिम्रो दिव्य मनभित्र
असह्य पीडा भोग्दाभोग्दा पो बनेको रहेछ मन्त्रझैँ तिम्रो बोली ।
जीवन सहनै त हो यही सम्झी बाँच्यौ होला
र, भनिदियौ मलाई ‘जीवन एक फूल हो ।’
तर, आमा
यो फूल बन्न कति गाह्रो ?
सधैँ याद राख्नुपर्ने कहीँकतै भुल नहोस् ।

 

कविताप्रतिको प्रेमले संग्रहमाथि यति लेखेँ । कृतिकारप्रतिको श्रद्धाले होला कविताहरू जता फर्काए पनि उत्तिकै सुन्दर लाग्छन् । तर, मजस्तै सबै पाठक सुबानी हुन्नन् । तीनले अवश्यै नै कचकच गर्नेछन्, सायद यसरी... ‘केही कविताबाहेक बाँकी सबै कविता एकैजस्ता लागे । खाली, तिमी र तिम्रोजस्ता शब्द दोहोर्‍याइ–तेहर्‍याइ आएका छन् । तिमीबाहेक अरूलाईचाहिँ प्रेम गर्नै नपर्नेजस्तो... ।’ आदि भन्लान् । कविले यस्ता खालका पाठकका भावनाको ख्याल गरिदिऊन् । शुभकामना ।
०००