• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ३ शनिबार १०:२४:००
समाज

पुलमुनिको ‘देश’मा कहिले आउँछ गणतन्त्र ?

२०७९ मङ्सिर ३ शनिबार १०:२४:००

नेपालमा पुलमुनि पनि ‘देश’ छ । धेरै टाढा होइन, सिंहदरबारछेउछाउ, संसद् भवन वरपर । पुलमुनि बस्नेहरूलाई जब अटेरी भोकले सताउन थाल्छ, उनीहरू आधारातमै उठ्छन्, सहरका चोक, गल्लीहरूमा अरूले फालेका सामान बटुलेर कवाडीमा बेच्छन् अनि भोक मेट्छन् ।

सिंहदरबारदेखि करिब तीन सय मिटरनजिकै बिजुलीबजार पुलमुनि छ, मान गुप्ताको अर्को ‘दरबार’ । मान विगत एक दशकदेखि त्यहाँ बसिरहेका छन् । त्यहाँ बस्ने सातजना युवामध्ये उनी एक हुन् । युवावस्थामै प्रौढ देखिएका मान पुलमुनिको ‘देश’मा बस्न थालेको १० वर्ष नाघिसकेको छ । 

यो एक दशकमा पुलमाथिको देशमा के–के परिवर्तन भए, मान बेखबर छन् । पुलमाथि कतिजनाको सवारी भयो, कतिजनाको शवयात्रा निस्क्यो, कतिले जुलुस निकाले, कतिले लाठी र पानीको फोहोरा भेटे, कतिजना जुलुसमा हिँड्दाहिँड्दै अलप भई पजेरो चढ्न पुगे मानलाई हेक्का छैन । प्रधानमन्त्रीले कोही भोकै मर्नुपर्दैन भनेकै बखत कीर्तिपुरको सडकपेटीमा सूर्यबहादुर तामाङले भोकै मर्नुपरेको खबर पनि सायद मानले थाहा पाएनन् । महाजनको खेत खन्दाखन्दै भोकै मरेका मलर सदाबारे पनि मान अन्जान छन् । उनलाई यति थाहा छ, बिहान ३ बजे नै उठेर सहरका गल्ली चहारिएन भने नगरपालिकाले फोहोर उठाएर लान्छ, अनि पुलमुनि चुलो बल्दैन ।

त्यसदिन भदौ महिनाको घाम पुलमुनि पुगिसकेको थिएन । धोबीखोलाको दुर्गन्ध नाक भाँचिने गरी आइरहेको थियो । पुलमाथि गाडी गुडेको अर्को आवाज आइरहकै थियो । अरूले फालेको म्याट मानले खै कताबाट बोकेर ल्याएछन् । त्यही म्याटमाथि टुक्रुक्क बसेर मानले सुनाएका थिए आफ्ना विगत ।

मानको घर भारतको बिहारमा पर्छ । कुन गाउँ, कुन टोल उनको स्मृतिबाट हराइसक्यो । आमा बितेपछि उनी सानैमा टुहुरा भए । बुबासँग बालखैमा सर्लाही पसे । सर्लाहीमै हुर्किए । बुबा मजदुरी गर्ने, मान स्कुल पढ्ने । जीवन दुःख–सुखमै चल्दै थियो । उनको बुबालाई के झोँक चल्यो कुन्नि छोरा साथ लिएर काठमाडौं पसे । सातदोबाटोछेउमा पाउरोटी फ्राक्ट्रीमा काम गर्न थाले । मान फेरि स्कुलमा भर्ना भए । 

मान बाल्यकालबाट उक्लिएर किशोरावस्थातिर बढ्दै थिए । बुबाको कडा निर्देशक, स्कुलको कठोर नियम, उनी न मनलाग्दी घुम्न पाउँथे, न त उनका कोही साथीहरू नै, दिक्क हुँदै गए । आफ्नै दैनिकीदेखि उकुसमुकुस हुँदै थिए । त्यहीवेला मनीषा नामकी किशोरीसँग उनको प्रेम भयो । ‘मैले मात्रै मन पराएँ धेरै,’ मानले मुसुक्क हाँस्दै सुनाए ।

माया फक्रिन नपाउँदै उनीहरूको विछोड भयो । मनीषाको यादमा मानले हातको नसा काटे । नसा त काटियो, तर सम्झना काटिएन । मनीषालाई सम्झिरहने लत बाँकी रह्यो, नाडीमा काटिएको खत बाँकी रह्यो । नाडीको खत देखाउँदै मानले लजाउँदै भने,‘यी हेर्नुस् त । पूरै काटेको नि ।’ 

एकातिर प्रेम वियोग, अर्कोतिर स्कुलको कडा नियम । त्यसमाथि बुबाको किचकिच । सबैदेखि दिक्क भइसकेका थिए मान । सबै बन्धनबाट फुत्किएर सहरका चोक, गल्लीहरूमा मस्त घुम्न चाहन्थे । तर, कहाँ जाने, कसरी जाने ?

दिक्क लागिरहेकै वेला ललितपुरकै एकजना मगर युवासँग मानको भेट भयो । ती युवा कवाडीका सामानहरू बटुल्ने काम गर्थे । अरूले फालेको सामान बटुलेर पैसा कमाइने, न कसैको किचकिच, न कसैको माया, न कोठाभाडा तिर्नुपर्ने, न स्कुलको नियम मान्नुपर्ने, मगर युवाको जीवनशैली मानलाई खुब मन पर्‍यो ।

अब मगर युवा र मानको भेट बाक्लिन थाल्यो । मानलाई रहस्यमय लागेको सहरबारे मगर युवाले सविस्तार वर्णन गरिदिए । मानभन्दा पाका मगर युवाले उनलाई सहर घुमाए । बुबाले जति गाली गरे पनि मान मगर युवासँग घुम्न छाडेनन् । ती युवासँग हिँड्दाहिँड्दै मानलाई ‘डेन्ड्राइट’ सुँघ्ने लत लाग्यो । पहिला दिन बिराएर कोठा पुग्ने उनी बिस्तारै हप्ता बिराएर कोठा पुग्न थाले । अन्ततः मानले कोठा छाडे । 

अब उनी मगर युवासँगै बोरा बोकेर कवाडीको सामान खोज्दै सहरका गल्लीमा हिँड्न थाले । जब सहर निदाउँथ्यो, तब मान ब्युँझन्थे । किशोर मानले आधारातमै उठेर अरूले फालेका कवाडीको सामानमा मूल्य खोज्न थाले । 

दुनियाँले उनलाई दुत्कार्दै भनिदियो, ‘विग्रेको मान्छे ।’ सहरले उनको हैसियत किटानी गरिदियो ‘खाते’ । तर उनलाई बिगार्न स्कुलको कडा नियम, गरिब बाबुको विवशता, समाजको मानवताद्वेषी व्यवहार, श्रमिकलाई अपमान गर्ने समाज सबै जिम्मेवार थियो । यसबारे कसलाई चासो ?

गल्लीहरूमा हिँड्दाहिँड्दै मानका महिनाहरू बिते, वर्षहरू बिते । उनका बुबाले पटक–पटक लिन पनि आए । तर, उनी गएनन् । तल धोबीखोलातिर पुलुक्क हेर्दै मान भन्छन्, ‘अहिले त धेरै वर्ष भयो, लिन आउन छाड्नुभयो । खै बुबा पनि कहाँ हुनुहुन्छ, थाहा छैन ।’

न बस्ने घर, न कसैको डर । जहाँ पुग्दा रात पर्‍यो त्यही वास, त्यहीँ घर । खुला चौर, पार्क, देवालय, सबै उनको घर । त्यस्ता घरमा न कोठाभाडा तिर्नुपर्ने झन्झट, न घरबेटीको किचकिच । न बिजुलीको बिल आउँछ, न घर भत्काउन भूकम्प र डोजर आउँछ । जतिवेला निद्रा खुल्यो, हिँडी हाल्यो । हिँड्न मन लागुन्जेल हिँड्यो, जहाँ पुग्दा थकाइ लाग्छ त्यहीँ भुसुक्कै निधायो । बेघरको दिनचर्यामा मान अभ्यस्त हुँदै गए । अनगिन्ती भोका रातहरू कहिले सडकमा सुते, कहिले पुलमुनि सुते । झरि परिरहँदा भोकै रुझ्दै सुते । कठ्यांग्रिने जाडोमा लगलग काम्दै सुते ।

त्यसरी जिन्दगी बाँच्नेहरू यो सहरमा मान मात्रै कहाँ थिए र । सयौँ, हजारौँ बेघर मानिसहरू भेटे । मान भन्छन्, ‘हामीजस्तो पुलमुनि सुत्ने मात्रै काठमाडौंमा एक हजारभन्दा धेरै छौँ ।’ सबैको कथा उस्तै । कोही सडकमै जन्मिएका, कोही गरिब आमाबाबुले उपचार गर्न नसकेर अस्पतालमै छाडेर भागेका, कोही भूकम्प, कोरोना महामारी पनि सबथोक गुमाएर बेघर बनेका, कोही काम खोज्दाखोज्दै नभेटेपछि अलपत्र परेका । मान उनीहरूका साथी बने । अनि बिजुलीबजारको पुलमुनि बस्न थाले । 

उत्तरपट्टि एउटा बैंकको अग्लो बिल्डिङ छ । पुलमुनिबाट बैंकको नाम चम्किएको रातभरि देखिन्छ । तर, पुलमुनि कैयौँ रात चुलो बल्दैन । बैंकको नाममा चम्किएको उज्यालो पुलमुनिसम्म आइपुग्दैन । कहिले उनीहरू भोकै सुत्छन् । कहिले मासु ल्याएर पकाउँछन् । मान भन्छन्, ‘हामी पालैपालो चामल र तरकारी ल्याएर पकाउँछौँ । कमाइ नभएको वेला भोकै पनि सुत्छौँ ।’ 

समयको पैया कसैलाई पुलमुनि छाडेर, कसैलाई पुलमाथि गुडाएर अघि बढिरह्यो । पुलमाथि कतिपटक ट्राफिकले कोरेका पहेँला चिह्न मेटिए, फेरि लेखिए । तर, समय जति नै गुज्रे पनि मानको मनको कुनाबाट अनिषाको तस्बिर मेटिएन । बाटोमा बोरा बोकेर हिँडिरहँदा अनिषाजस्तै कोही देखे हतपत मुख छोप्दै कुनामा गएर उनले कतिपटक हेरे–हेरे । बितेको एक दशकमा अनिषाको तस्बिर कस्तो भइसक्यो, उनलाई थाहा छैन । अनिषाको झझल्कोले नछाडेपछि उनले पुलमुनि भित्तामा रातो अक्षरले अनिषा लेख्ने निधो गरे । ठूलो अक्षरमा अनिषा लेख्दालेख्दै रङ सकियो । अनिषा पूरा लेख्नै पाएनन् । भित्तातिर देखाएर मान सर्माउँदै सुनाउँछन्, ‘अब पैसा भएपछि फेरि रङ किनेर पूरा लेख्छु ।’

पुलनजिकै दोहोरी साँझ छ, मान वेला–वेला दोहोरी साँझको भयाङछेउमा पुगी गीत अघौजी सुन्छन्, मनमनै नाच्छन् । उनलाई भित्र पस्न अनुमति छैन । गीत सुनि सकेर राति अबेर पुलमुनि फर्किन्छन् । चिसो महिनामा प्रायः आधारातमै उनको निद्रा खुल्छ । त्यसपछि फेरि बोरा बोकेर सहरका चोक, गल्लीहरू चाहन्छन् । ‘पुलिसले त्यस्सै कुट्छ । अरूले खाते भन्दै लखेट्छ, पैसा लुटेर लैजान्छ, कुकुरले पनि दुःख दिन्छ,’ मानले दुःख सुनाए । सहरियाले प्रयोग गरेर फालेका चप्पल, जुत्ता, कपडा लिएर पुलमुनि आउँछन् । कतिपय आफैँ लगाउँछन्, कतिपय साथीहरूलाई दिन्छन् । कुरा गर्दागर्दै मानकै साथी राजकुमार भुजेल खुट्टा खल्ट्याङ खल्ट्याङ गर्दै आइपुगे । मानको खुट्टामा घाउ भएको देखेर उनले चप्पल ल्याइदिएका रहेछन् । ‘ला यो लगा ।’ राजकुमारले कुनै गल्लीबाट अरूले फालेको पुरानो चप्पल ल्याएका थिए । उनको आवाज सुन्दा यस्तो लाग्थ्यो, उनी मानका बुबा हुन्, जसले बजारबाट नयाँ लुगा किनेर ल्याएका छन् ।

राजकुमार हाम्रो नजिकै बसेर कुरा सुन्न थाले । ‘बाटोमा कोही बूढाबूढी माग्न बसेको छ र योसँग पैसा छ भने १,२ सय नै दिन्छ नि,’ राजकुमारले सुनाए ।
‘हामी पो कमाउन सक्छौैँ, उनीहरूको को छ र,’ मानले बिस्तारै भने । 
‘त्यो दिनको घटना भनिस् ?’ राजकुमारले मानलाई भने । 
‘कुन त्यो रातिको घटना ?’ 
‘अँ ।’
मान त्यसदिनको घटना भन्न अनकनाए । राजकुमारले जोड गरेपछि धोबीखोलातिर एकपटक आँखा दौडाए, अनि भन्न थाले । 
त्यो पुस महिनाको रात रहेछ । चिसोले आधा रातमै ब्युँझिएपछि मान कवाडीको सामान खोज्न बोरा बोकेर हिँडेछन् । एउटा चोकमा पुग्दा मानिसहरूको कोलाहल देखेछन् । 

उनी त्यही गए । के भएकोरहेछ भनी छेउमा टोलाएर हेरिरहे । त्यो भिडबाट कसैले उनलाई चोर भन्यो । त्यसपछि सबैले उनलाई भकाभक कुट्न थाल्यो । मानले आफू चोर होइन भनेर जति नै बिन्ती गरे पनि कसैले सुनेनन् । पुसको ठिहीमा सबै लुगा खोलेर मानलाई बिजुलीको पोलमा बाँधियो । त्यसपछि बाल्टिनका बाल्टिन पानी खन्याएर कुट्नसम्म कुटियो । मान चिच्याइरहे । चोर होइन, कहिल्यै चोरेको छैन, भनिरहे । तर, उनको चिच्याहट सुनिदिने कोही भएन । कुट्दाकुट्दै थाकेपछि स्थानीयहरू गए । चिसो रातमा चिसो शरीर बोकेर निर्वस्त्र मान रातभरि रोइरहे । कसो–कसो हात खोलेर भाग्दैभाग्दै पुलमुनि पुगे ।

त्यो रात अनिषालाई खुब सम्झिए । बुबालाई र दिवंगत आमालाई पनि धेरै सम्झिए । उनले त्यही रातबाट फेरि अठोट गरे, अब मानवता हराएको त्यो बाहिरी दुनियाँमा कहिल्यै फर्केर जान्नँ । यही पुलमुनिको जीवन ठीक छ । उज्यालो भएपछि साथीहरूलाई सुनाए, ‘अब म कतै जान्नँ । यही हो मेरो संसार हो ।’

चोरको परिभाषा मान र राजकुमारहरूको जीवनमा पुगेर हेरेपछि बदलिन्छ । कसलाई चोर भन्ने ? भाग्यको गफ दिएर, कानुन बनाएर अरूको भाग खोसेर थुपार्नेहरूलाई भन्ने कि माया मारेको सामान बटुलेर त्यसलाई पुनः प्रयोग गरी जीविका चलाउने मानहरूलाई भन्ने ?
त्यसपछि मान धेरै बोल्न खोजेनन् । 
‘तपाईंको खुट्टा के भएको ?’ राजकुमारलाई सोधेँ ।
‘भाँचिएको पहिला । फेरि लडेर मर्कियो ।’ मान हाम्रोछेउमा बसेर कुरा सुनिरहे । अब राजकुमारको कथा सुरु भयो । 

राजकुमारको कथा

तीसवर्षे राजकुमार पहिला फिल्म क्षेत्रमा काम गर्दारहेछन् । उनीसँग लाइटम्यान र स्पटब्वाई भएको अनुभव छ । सर्लाहीका उनी पुलमुनि बस्न थालेको १० वर्ष नै भइसक्यो । फिल्म क्षेत्रमा काम गरेका दिनहरू त्यतिवेला फेरि ताजा भइदिन्छ जब हरेक हप्ता पुलपारि नयाँनयाँ फिल्मका पोस्टरहरू टाँसिन्छन् । मान र राजकुमारहरू त्यो पोस्टर हेरेर कहाँनी अनुमान गर्छन् । पोस्टरमा सुकिला–मुकिला कलाकारका फोटाहरू भए कहाँनी धेरै पर पुग्दैन । जब गाउँका मानिसहरू, आफूजस्तै सामान्य पात्रहरू पोस्टरमा देख्छन् तब उनीहरू राति अबेरसम्म कहानी अनुमान गरेर बस्छन् । 

राजकुमार तीन–चार महिनामा एकपटक घरमा फोन गर्छन् । उनीसँग फोन छैन । घरको नम्बर साथमा राखेका छन् । बाहिर कसैको मोबाइल मागेर घरमा फोन गर्छन् । दिदी र आमा उनको आवाज सुन्नेबित्तिकै रुन थाल्छन् । उनले आमा र दिदीलाई भनेका छन्, ‘म फिलिम लाइनमा काम गर्छु । हेर आमा, तिम्रो छोरा एकदिन फिलिममा आउँछ ।’

गरिब परिवारमा जन्मिएका राजकुमारले ९ कक्षासम्म पढे । त्यसपछि पढ्न पाएनन् । फिल्म लाइनमा काम गर्दागर्दै कुलतमा फसे । अभाव र गरिबीमा कुलत थपियो । त्यसपछि उनी पुलमुनि पुगे । 

राजकुमारले केही महिनाअघि बल्ल–बल्ल एउटा मोबाइल किनेका थिए । घर जान केही पैसा पनि जम्मा गरेका थिए । उनले मोबाइल किनेको क्षण पुलमुनि ठूलो खुसियाली छायो । राजकुमारले फ्री वाइफाईबाट डाउनलोड गरेर केही फिल्म ल्याएका थिए । उनीहरूले रातभरि त्यो फिल्म दोहोर्‍याइतेहर्‍याइ हेरे । तर त्यो खुसी धेरै दिन टिकेन । राति राजकुमार सुतिरहेको वेला अर्को पुलमुनि बस्नेले त्यो मोबाइल उडाइदियो ।

मोबाइल हराएको एक हप्तापछि राजकुमार कवाडीको सामान खोज्न राति जाँदै थिए । सुनसान सडकमा मानिसहरू दोहोरी साँझ, डान्सबार, डिस्कोबाट धमाधम बाहिरिँदै थिए । सुनसान सडक किनारमा एउटा मोटरसाइकल लडिरहेको देखे । त्यसको छेउमा मातेको मान्छे मस्त घुरिरहेको देखे । उसको छेउमा भएको आइफोनमा निरन्तर फोन आइरह्यो । लडिरहेको मान्छेको पाइन्टतिर हेरे । हजार–हजारका नोटका एउटा मुठो देखे । राजकुमारले बिस्तारै उसको हातबाट मोबाइल निकाले । त्यसपछि फोन उठाए, ‘तपाईंको मान्छे यहाँ चोकमा लडिरहेको छ । छिटो लिन आउनु ।’ 

राजकुमार ती बेहोस जँड्याहाको रखवारी गरेर बसिरहे । १५ मिनेट बित्दा नबित्दै एकजना महिला र पुरुष आइपुगे । ती महिलाले राजकुमारलाई केही पैसा दिन खोजे । तर, राजकुमारले लिएनन् । भन्छन्, ‘म आफ्नो मिहिनेत गरेर खान्छु । किन लिनु उसको पैसा ।’

राजधानीका पुलमुनि बस्ने करिब एक हजार बेघर मानिसमध्ये यी प्रतिनिधि कथा हुन् । एकाध महिना पुलमुनि चिहाएर कतिजनाको कथा खोतल्न सकिन्छ र ?

‘मानव सेवा आश्रम’का अनुसार देशभर १६ सय बेघर मानिस उक्त संस्थामा आश्रित छन् । ‘सिविन नेपाल’ले सन् २००७ मा गरेको अध्ययनअनुसार नेपालमा सडक बालबालिकाको मात्रै संख्या पाँच हजार छ । एकाध एनजिओ–आइएनजिओबाहेक बेघरबारे आजसम्म कुनै पनि सरकारी निकायले तथ्यांक राखेको देखिन्न । ‘महानगरसँग यस्तो तथ्यांक छैन । बेहारिसे मान्छे भेटिए व्यवस्थापनका लागि आश्रमलाई जिम्मा लगाउँछौँं,’ काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा त (५)मा सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूका लागि पुनस्र्थापना केन्द्र सञ्चालन गरी व्यवस्थापन, अनुगमन र नियमन गर्ने भनिएको छ । तर, यस्ता ऐनहरूको आँखा पुलमुनि पुगेको देखिँदैन ।

बेघरहरूका लागि काम गर्ने अमेरिकी संस्था ‘द नेसनल अलाइन्स टु इन्ड होमलेसनेस’को २०२० को रिपोर्टअनुसार अमेरिकामा करिब पाँच लाख ८० हजार बेघर मानिस छन् । ‘हिन्दुस्तान टाइम्स’को २०१७ को समाचारअनुसार इन्डियामा करिब १० लाख ७७ हजार बेघर मानिस छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वभरि करिब एक अर्ब ६० करोड मानिस ओत लाग्नसमेत मुस्किल पर्ने कमजोर टहराहरूमा बस्छन् । युवाहरूसमेत बेघर हुने जोखिम हरेक वर्ष बढिरहेको संघले जनाएको छ । ‘ह्याविटाट फर ह्युमानिटी’का अनुसार संसारभर १५ करोड बेघर मानिसहरू छन् ।

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालका उपाध्यक्ष राजु तामाङका अनुसार देशभर करिब ७० लाख र उपत्यको तीन जिल्लामा मात्रै करिब चार लाख सुकुमबासी छन् । यो संख्यालाई कथित विकासप्रेमीहरूले सम्पन्नताको तगारो ठानिरहेका छन् र पटक–पटक डोजर लिएर बस्तीमा पुगिरहेका छन् । मधेसका भूमिहीन दलितहरू डोजरद्वारा लखेटिएपछि वास खोज्दै हिँडेको युगौँ भइसक्यो । सरकार सहर बढेकोमा हर्षबढाइ गरिरहेको छ । तर, सहरले असमानता बढाउँदै लगेको र पुलमुनिको ‘देश’ फैलिँदै गएकोबारे चिन्ता गर्दैन । 

संयुक्त राष्ट्र संघ मानिसको बेघर स्थितिलाई समाज निर्मित अवस्था मान्छ । सन् २०१५ को एक रिपोर्टमा संघले भनेको छ,‘बेघर अवस्थासँग व्यक्तिगत परिस्थिति र प्रणालीगत अवस्था जिम्मेवार हुन्छ । जोसँग शक्ति र स्रोत छ, उसैले बेघर मानिसहरूको परिचय निर्धारण गरिदिन्छ । कानुन, राजनीतिक पार्टी, व्यवसायी र मिडियाहरूले बेघर मानिसलाई नैतिक रूपमा कमजोर ठानेर व्यवहार गर्छ । बेघरहरूको दुरावस्थाको दोषी बेघरहरूमाथि नै थोपरिदिन्छ ।’

संघले औँल्याएजस्तै मान र राजकुमारहरूले यो सहरबाट केवल अपमान भोगेका छन् । अनाहकमा प्रहरीबाटै पटक–पटक यातना पाएका छन् । उनीहरूले ‘खाते’ उपमा पाएका छन् । तर, पुलमाथि बस्नेहरूले प्रयोग गरी फालेका सामान पुनः प्रयोग गरी जीविका चलाउने उनीहरूको असल कामलाई कसैले चिन्न चाहेका छैनन् । डेनमार्कको एक अनलाइन ‘दवल्र्डकाउन्टस्डटकम’का अनुसार प्रयोग यही गतिमा हुने हो भने आगामी ४५ वर्षमा संसारको इन्धन सकिँदै छ, दैनिक करिब ३३ लाख टन खाना नष्ट हुन्छ, दैनिक करिब २२ करोड टन कच्चा पदार्थ पृथ्वीबाट निकालिन्छ । ‘अक्स्फाम’लाई उद्धृत गर्दैै वल्र्ड काउन्टस्ले लेखेको छ, जनसंख्या वृद्धिको यही अवस्था रहने हो भने आगामी २७ वर्षपछि संसारमा मानिससँग खानेकुरा हुनेछैन । १७ वर्षपछि सफा पानी पाइनेछैन, २५ वर्षपछि समुद्रमा माछा पाइनेछैन, ओजन लेयर ठीक गर्ने समय ४७ वर्ष मात्रै बाँकी छ ।

विद्वान्हरूले धर्तीबाट अब कच्चा पदार्थ दोहन होइन उत्पादित सामानको पुनः प्रयोग गर्नुपर्नेमा जोड दिइरहेका छन् । तर, पुलमाथि बस्नेहरूले यो मर्मलाई सुनिरहेका छैनन् । विद्वान्का कुरा मानहरूले सुनेका छैनन् होला, तर उनीहरूले यो संसारलाई काम लाग्ने असल काम गरिरहेका छन् । उनीहरूबाट पुलमाथि बस्नेले सिक्नुपर्छ । तर, मानहरू पुलमुनि नै बस्नुपर्छ भन्ने होइन । राज्यले एकजना पनि मानिसलाई पुलमुनि बस्न बाध्य पार्नुहुन्न । 

समाजशास्त्री केशव सिलवाल भन्छन्, ‘सहर शक्तिशाली, धनी र पुँजीपतिको अधीनमा हुन्छ र तिनको सेवामै योजना बन्छन् । हाम्रोजस्तो अव्यवस्थित सहरीकरण भएको देशमा बेघरबार, सहरी गरिबी झन् बढ्दै जान्छ ।’ समाज अध्येता डा. सविन निङ्लेखू ‘विकसित’ र ‘आधुनिक’ भनिने देशहरूको नक्कल गर्दा हाम्रो भागमा पर्ने यस्तै हो भन्छन् । ‘किनकि, ती सहरको बीउ नवउदारवादी पुँजीवाद हो,’ उनी भन्छन्, ‘नवउदारवादी सौन्दर्यशास्त्रको चस्माले हेरेपछि एक गरिबलाई ‘कसिंगर’ नै देख्ने हो । ‘विकसित’ ठानिएको झुर सहरको क्रुर नक्कल हो हाम्रो सहर ।’

चुनावी रौनकबीच दुई महिनापछिको एक साँझ फेरि पुलमुनि पुगेँ । मानको वासस्थान पुलपारि ढल बगेर आउने ह्युमपाइपमा सरेछ । उनी खुट्टा खल्ट्याङ–खल्ट्याङ पार्दै वारि आए । राजकुमार बिरामी भई सुतिरहेका थिए । मान खाना पकाउने तयारीमा लागे । आगो फुक्दै भने, ‘अस्ति राति काममा जाँदा बाटोमा फलामका टुक्रा भेटेँ । बोकेर गैरा’को थिएँ, पुलिसले सटर फोर्न हिँडेको भनेर रातभरि कुट्यो । यी खुट्टामा हेर्नु त । जीउमा पनि सुम्लैसुम्ला छ ।’ उनको नलीखुट्टा सुन्निएछ । ‘अरू मान्छे आएर पनि हाम्रै पैसा लुटेर लान्छन् । हामीलाई त सबैले हेप्छन्,’ मानले सुस्तरी भने । त्यसपछि उनी बोलेनन्, बटुकोमा गुन्द्रुक भिजाउन थाले । राजकुमार ओच्छ्यानमा खोकेको सुनियो ।

यतिवेला पुलमाथिको देशलाई चुनाव लागेको छ, तर पुलमुनिको ‘देश’लाई केवल भोक लागेको छ । पुलमाथिको देश चुनावी आचारसंहिता पालना गर्दै क्षणिक मौनतामा छ । तर, पुलमुनिको ‘देश’ अपहेलित जीवन बाँच्दै सधैँ मौनतामा छ । मनमा लागिरह्यो, चुनाव, गणतन्त्र, मानवअधिकार सबै पुलमाथिको देशलाई मात्रै आएकोरहेछ । पुलमुनिको ‘देश’मा केही पनि आएको रहेनछ ।

पुलमुनिको ‘देश’मा कहिले आउला गणतन्त्र ?