• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश सुवेदी
२०७९ मङ्सिर ३ शनिबार ०९:०२:००
खेल

विवादमा जेलिएको विश्वकप

२०७९ मङ्सिर ३ शनिबार ०९:०२:००
रमेश सुवेदी

खेलकुद

 

सन् २०१० को फिफा कांग्रेसबाट भूगोल र जनसंख्याको दृष्टिले एउटा सानो मध्यपूर्वको देश कतारले २०२२ को विश्वकप आयोजना अधिकार पायो । फिफाको तत्कालीन कार्यसमितिले सम्पूर्ण विश्वलाई आश्चर्यमा पार्दै कतारलाई विश्वकप आयोजनाको अधिकार सुम्पिएको थियो । 

 

आयोजक छनोट प्रक्रियादेखि नै विवाद र आलोचनाका थुप्रै शृंखला पार गर्दै कतार विश्वकपले उतारचढावका १२ वर्ष पूरा गरेको छ । र, मंसिर ४ बाट विश्व फुटबलको सबैभन्दा ठूलो मेला अहिलेसम्मको सबैभन्दा सानो आयोजक देशमा सुरु हुनेछ । 

 

विश्वकपका लागि छनोट भएका विश्वभरका उत्कृष्ट ३२ राष्ट्रले आठ सय ३१ खेलाडी दर्ता गराइसकेका छन् । युरोप, एसिया, अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका र आसियान क्षेत्रबाट ३२ राष्ट्र छनोट हुँदा विश्व फुटबलमा राज गर्दै आएका केही महारथीहरूले भने आफ्नो उपस्थिति पक्का गर्न सकेका छैनन् । यस्तोमा चारपटकको पूर्वविजेता इटालीसँगै नियमित सहभागीहरू कोलम्बिया र रुसजस्ता टिम छन् । 

 

यसैगरी, आफ्नो देश छनोट प्रतियोगितामा असफल भएकै कारण व्यावसायिक फुटबलमा तहल्का मच्चाइरहेको नर्वेका इर्लिङ हलान्ड, इजिप्टका मोहम्मद सलाहजस्ता केही शीर्ष खेलाडी पनि विश्वकपमा देखिने छैनन् । 

 

मैदानभित्रको प्रतिस्पर्धा, खेलाडीको स्टारडम, सहभागी देश र खेलाडी तथा प्रशिक्षकका कथा, आयोजनास्थलको माहोललगायतले फुटबलप्रेमीको ध्यान तान्न सुरु गरिसकेको छ । तर, यसपालि विगतको तुलनामा यस्ता फुटबलिङ पक्षभन्दा विवादका चर्चा बढी हाबी भइरहेका छन् । 

 

विश्वकपका लागि पूर्वाधार निर्माणको क्रममा प्रयोग गरिएका विदेशी कामदारमाथि कतारले गलत व्यवहार गरेको, विदेशी कामदारको श्रम अधिकार हनन गरेकोलगायतका विषयमा सुरुदेखि नै चर्को आलोचना गर्दै आएका पश्चिमा मुलुकको मुख अझै बन्द भएको छैन । कतार विश्वकप खेल्ने तयारीमा रहेको डेनमार्कले त ‘सबैका लागि मानव अधिकार’ अंकित अभ्यास जर्सी लगाएर कतारी प्रशासनको विरोध जनाउने तयारी गरेको थियो, जसलाई फिफाले अन्तिम समयमा रोक्नुपर्‍यो । 

 

यसैगरी, दुई साताअघि मात्र अस्ट्रेलिया, इंग्ल्यान्ड, बेल्जियम, अमेरिका, जर्मनीलगायत देशका खेलाडीले कतारमा मानव अधिकार हनन भएको तथा एलजिबिटिक्युआई समुदायप्रति अनुदार रहेको भन्दै त्यसको विरोधमा भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसपछि फिफाले नै त्यसमाथि हस्तक्षेप गर्दै सहभागी सबै देशका टिम तथा खेलाडीलाई ‘फुटबलमा केन्द्रित हुन र राजनीतिमा ध्यान नदिन’ आह्वान गर्नुपरेको थियो । 

 

ठूलो अर्थतन्त्र भए पनि जनसंख्या र भूगोलमा निकै सानो कतारले पूर्वाधार निर्माणमा विदेशी श्रमिकलाई जम्मा पारेको छ । कतारमा खासगरी नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, फिलिपिन्स, इन्डोनेसियालगायतका देशबाट रोजगारीका लागि कामदार जाने गरेका छन् ।

 

विदेशी कामदारलाई मनपरी तरिकाले कामबाट निकाल्ने र कामदारले आफ्नो इच्छाअनुसार काम परिवर्तन गर्न नपाउने, अत्यन्तै न्यून ज्यालामा काम लगाउने, बिदा नदिनेलगायतका आरोप कतारले पछिल्ला १२ वर्षमा खेप्यो । सँगै विश्व फुटबलका ठूला पश्चिमा देशहरूले सानो जनसंख्या भएको कतारमा फुटबलको समृद्ध संस्कार नभएको भन्दै विश्वकप आयोजनाका लागि ऊ लायक नरहेको तर्क पनि पेस गरिरहे । 

 

कतार सरकारले यही समयमा भौतिक पूर्वाधारमा जत्तिकै बल पश्चिमा आलोचनाबाट बँच्न पनि लगायो । त्यसका लागि कतारले आफूकहाँ काम गरिरहेका श्रमिकको ठूलो संख्या भएका नेपाल, भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सजस्ता देशका राष्ट्रिय टोलीबीच थुप्रै मैत्रीपूर्ण खेल आयोजना गराएर रंगशाला दर्शकले खचाखच पार्ने काम गर्‍यो । कतारमा फुटबलको संस्कार छ, यो खेल देशभित्र लोकप्रिय छ भन्ने देखाउन ठूलो रकम खर्चेर त्यस्ता खेलहरू आयोजना गरिएका थिए ।

 

विश्वकप खेल्ने तयारीमा रहेका विभिन्न पश्चिमा देशका टिमले मानव अधिकारको पक्षमा कतारको विरोध गर्ने विभिन्न तरिका अपनाइरहँदा कतारले आफ्नो कमजोरीमा पर्दा हाल्ने उद्देश्यका साथ ठूलो संख्यामा विदेशी कामदारलाई विश्वकप अवधिभरका लागि स्वदेश फर्काएको छ । कतारको थिचोमिचो सहेका विदेशी कामदार सहरमै उपस्थित भइरहँदा दोहाको भव्यतामा कमी आउन सक्ने र उनीहरूबाट मानव अधिकार हननका विषय सार्वजनिक हुन सक्नेमा आयोजक भयभीत छ । तर, उसले यसरी विदेशी कामदारलाई घर फर्काइनुमा चाहिँ विश्वकप दौरान दश लाखभन्दा बढी समर्थक दोहा आउने भएकाले बसोवासको व्यवस्थापन मिलाउन भन्दै आएको छ । 

 

विदेशी कामदारमाथि खराब व्यवहार गरिएको विषयमा कतारको आलोचना बढिरहेका वेला अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले ‘द केस एगेन्स्ट कतार’ नामको प्रतिवेदन सार्वजनिक गर्‍यो, जसमा विदेशी कामदारको अवस्था कतारमा अत्यन्तै दयनीय रहेको उल्लेख छ । प्रतिवेदनले विदेशी कामदारलाई त्यहाँको खप्नै नसकिने प्रचण्ड गर्मीका बाबजुद झोपडपट्टीमा राखिएको जनाएको छ ।

 

पश्चिमा मुलुक तथा अधिकारवादी संस्थाहरूको चर्को दबाबका बीच कतारले पाँच वर्षअघि त्यहाँको सबैभन्दा बढी विवाद भएको श्रम ऐन ‘काफिला’मा परिमार्जन गर्‍यो । त्यसपछि कामदारको पारिश्रमिक वृद्धि हुनुका साथै उनीहरूले काम फेर्न पनि पाउने व्यवस्था लागू भयो । कानुनको परिमार्जनले मरुभूमिको गर्मीमा काम गर्ने व्यवस्थामा पनि सुधार गरेको थियो ।

 

विश्वकपका लागि पूर्वाधार निर्माणको काम गर्ने क्रममा यो १२ वर्षमा हजारौँ कामदारले ज्यान गुमाएको मानव अधिकार संस्थाहरूले दाबी गरेका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले भने त्यो तथ्यांकलाई मानेको छैन । महासंघ नेतृत्वले पछिल्लो समय कतारले श्रमिक अधिकारको विषयमा उल्लेख्य सुधार गरेको भन्दै कतारले विश्वकप गर्ने कुरामा आफूहरूको कुनै आपत्ति नरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठनले सरकारी तथ्यांकलाई उद्धृत गर्दै सन् २०२० मा भएका औद्योगिक दुर्घटनामा कुल ५० जना कामदारको ज्यान गएको उल्लेख गरेको छ ।

 

एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र अन्य अधिकारकर्मी संगठनहरूले विदेशी कामदारको क्षतिपूर्तिका लागि फिफा तथा कतारसँग विश्वकपको पुरस्कार राशिबराबर ४४ करोड डलरको कोष स्थापना गर्न माग गरेका छन् । थुप्रै राष्ट्रिय संघ र प्रायोजकहरूले पनि यस विषयमा समर्थन जनाएका छन् ।

 

महिला तथा एलजिबिटिक्युआई समुदायको अधिकारको विषयमा पनि अन्तर्राष्ट्रिय समुदायले कतारको आलोचना गरिरहेका छन् । समलैंगिकलाई पनि कतारी कानुनले वर्जित गरेको छ । कतारले भने विश्वकपका लागि सबैखाले समर्थकलाई विनाविभेद स्वागत गर्ने बताएको छ ।

 

कतार विश्वकपले भोगेको अर्को आलोचना हो, त्यहाँको मौसम । जुनदेखि जुलाईको समयमा कतारी मरुभूमिको तापक्रम बढेर ५० डिग्री सेल्सियससम्म पुग्ने र त्यस्तो गर्मीमा फुटबल खेल्न नसकिने भन्दै पश्चिमा देशहरूले कतार विश्वकपको चर्को आलोचना गर्दै आएका थिए । तर, त्यसलाई २०१४ को सुरुमै फिफाका महासचिव जेरोम भाल्केले विश्वकप २०२२ हिउँदमा हुने घोषणा गरेर मत्थर पारे । महासचिवले घोषणा गरेको अर्को वर्ष फिफाले औपचारिक रूपमै यो विश्वकप २०२२ को नोभेम्बर र डिसेम्बरमा गर्ने निर्णय गर्‍यो ।

 

फिफाको यो निर्णय निकै जोखिमपूर्ण थियो । कारण, नोभेम्बर र डिसेम्बर भनेको विश्वभरका व्यावसायिक लिग चलिरहने समय हो । विश्वभरका राम्रा खेलाडीलाई आकर्षक मूल्यमा अनुबन्धित गरेर खेलाइरहेका युरोपका ठूला लिगहरूले फिफाको निर्णयलाई चुनौती दिने सम्भावना थियो । ठूला क्लब र फुटबललाई ठूलो उद्योगको रूप दिइसकेका युरोपेली देशले नमाने विश्वकप नै असफल हुने खतरा थियो । तर, फिफाले युरोपका ठूला लिगहरूले लामो समयसम्म विरोध गर्नाका बाबजुद अन्ततः त्यो समस्याको पनि समाधान गरिछाड्यो । त्यसमा युरोपकै ठूला फुटबल क्लब किन्ने कतारको फुटबल कूटनीतिको पनि महत्वपूर्ण भूमिका रह्यो । 

 

विवादका थुप्रै शृंखलालाई पार गरिसकेपछि विश्वकप आयोजनाको अन्तिम अवस्थामा पुगिसक्दा अब कतारसामू दुई उद्देश्य हुनेछन् । पहिलो, विश्वकपको भव्य र सफल आयोजना गरेर पूरा विश्वलाई सकारात्मक सन्देश दिनु र दोस्रो, आयोजकको नाताले मात्र पहिलोपटक खेल्न पाएको विश्वकपमा राष्ट्रिय टोलीको सहभागितालाई सुखद नतिजामा परिणत गर्नु ।