• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टाेपलाल अर्याल
२०७९ मङ्सिर ३ शनिबार ०९:४२:००
रिपाेर्ट

‘चुचुरोमा पुग्दा न हाँस्न सकेँ, न रुन’

२०७९ मङ्सिर ३ शनिबार ०९:४२:००
टाेपलाल अर्याल

गुल्मीको मुसिकोट नगरपालिका–३ का २६ वर्षीय गणेश कार्की नेपाली सेनामा प्रवेश गरेको सात वर्ष भयो । उनी ०७२ सालमा सहायक सेनानी पदबाट नेपाली सेनामा प्रवेश गरेका थिए । उनी अहिले नेपाली सेनाको सहसेनानी पदमा कार्यरत छन् । मध्यमवर्गीय परिवारमा हुर्किएका कार्की सरल स्वभावका छन् । मिहिनेती र अनुशासित उनी कलिलो उमेरमै सगरमाथाको चुचुरोसम्म पुगेका छन् । उनले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘सफा हिमाल अभियान–२०२२’ अन्तर्गत गत वैशाखमा सगरमाथा आरोहण गरेका हुन् । 

 

गणेशले नेपाली सेनामा प्रवेश गर्नुअघि हिमालसँग साक्षात्कार गर्ने मौका पाएका थिएनन् । स्नातक चौथो सेमेस्टर पढ्दा होस्टेलका सुपरिवेक्षक नेपाली सेनाका भूपू हुद्दा वसन्तबहादुर थापासँग उनको भेट भयो । उनीसँगको भेटले नै गणेशलाई नेपाली सेना बनायो र सगरमाथासम्म पनि पुर्‍यायो । 

 

थापाका छोरा प्रेम थापाले नेपाली सेनाको अधिकृतका लागि तयारी गरिरहेका थिए । उनैले गणेशलाई प्रेरित गरे । त्यसपछि गणेशले पनि प्रेमसँगै नेपाली सेनामा नाम निकाले । सेनामा प्रवेशसँगै माउन्टेन वारफेर बेसिक तथा एड्भान्स तालिम गर्ने मौका पाए । त्यो अवसरले हिमालप्रतिको मोह बढायो । 

 

खुसी र डरकोे हिमाल–यात्रा 

 

नेपाली सेनाको तर्फबाट गणेश र अमल्दार देवी न्यौपाने तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड अविरल राई र दुईजना शेर्पा गाइड (टुक्ते शेर्पा र निमा शेर्पा) सहित कुल पाँचजनाले सगरमाथा आरोहण गर्दै थिए । २४ चैत ०७८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरू निस्किए ।

 

‘सगरमाथा देखेर आङै सिरिंग भयो । मनले कल्पना गरेको भन्दा सयौँ गुणा फरक पाएँ,’ सगरमाथा आधार शिविर पुगेपछिको अनुभव उनले सुनाए, ‘मनमा खुसी, डर र कुतूहल बोकेर हिमाल उक्लियौँ ।’ खुम्बु आइस फलको बाटोमा पाइलै सार्न नसकेको र घामले अनुहार जलेर छियाछिया भएको अनुभव पनि उनले सुनाए ।

 

२६ वैशाख ०७८ बिहान ६ बजे क्याम्प ३ बाट उकालो लाग्ने क्रममा एक्कासि तेज वेगले हावा चल्न थाल्यो । सबैको मनमा डरले जरा जमाउन थाल्यो । बेसक्याम्पसँगको संवादपछि जुन कुरा नहोस् भन्ने सवैको प्रार्थाना थियो, त्यही भयो ।

 

क्याम्प ३ माथि आँधी तुफानको संकेत देखियो । टोली त्यहाँबाट तुरुन्तै क्याम्प–२ मा फर्किनू भन्ने आदेश आयो । ‘जिन्दगीमै त्योजस्तो नमिठो पल सायदै कहिले भोगिनँ,’ गणेशले सुनाए । त्यस दिन क्याम्प–२ मै फर्किएर २७ वैशाख ०७८ मा पुनः आरोहणको लागि दुवै टिम क्याम्प–३ तर्फ प्रस्थान गर्‍यो । 

 

चुचुरोमा दोस्रो जीवन

 

चुचुरोभन्दा केही तलको अन्तिम र कठिन खुड्किलो हिलारी स्टेप हो । गणेशले उक्त स्टेपमुनि जिउँदो मान्छे अढेस लागेजसरी एउटा शव पल्टेको देखे । मन निकै अताल्लियो । टोली अगाडि बढ्यो । ‘अचानक दाइनेतिर तीन–चार मिटर नजिकै हिमपहिरो खस्यो,’ गणेशले भने, ‘हिउँ खस्दा मुटुले ठाउँ छोड्यो ।’

 

उनीहरूले त्यस वेलासम्म १.५ लिटर प्रतिमिनेटको दरले अक्सिजन प्रयोग गरिसकेका थिए । गणेशले भने, ‘निमा दाइसँग एक्स्ट्रा बोटल छ भन्ने सोचेँ । समिटसम्म दुई लिटर प्रतिमिनेट अक्सिजन खान्छु अनि तल झर्दा नयाँ अक्सिजनको बोटल लैजान्छु । निमा दाइलाई अक्सिजन लगाइदिन आग्रह गरेँ ।’ देवी र निमा दाइ अगाडि थिए । समिट पुग्न करिब १० मिनेट बाँकी थियो । उनलाई एक्कासि रिंगटा लाग्यो । ज्यान अनियन्त्रित हुन थाल्यो । सोचेको ठाउँमा पाइला टेक्न सकेनन् । अक्सिजन शून्य लेभलमा झर्‍यो । सहयोग माग्न अगाडि–पछाडि कोही देखेनन् ।

 

गणेशले त्यसवेला जिन्दगीको अन्तिम विश्रामस्थल सगरमाथा सम्झिए । आँखामा लासका दृश्य नाच्न थाले । घरपरिवार, बुबाआमा, साथीभाइहरूलाई अन्तिमपटक सम्झिए । उनले भने, ‘करिब २० मिटर कुदेर घुँडाले टेकेर देवी र निमा दाइलाई चिच्याई–चिच्याई बोलाउन खोजेँ । तर, आवाज नै आएन । हात हल्लाउन थालेँ । समिटमा फोटो खिच्न व्यस्त अरूले कप्तान साब आइपुग्यो भन्ने ठाने ।’ उनलाई अरूले हात हल्लाएरै अभिवादन गरे । निकै बेरसम्म हात हल्लाइरहेको देखेपछि देवी दौडेर आइन् र उनलाई सहयोग गरिन् । ‘चुचुरोमा पुगेपछि शून्य अनि फरक अनुभूति हुँदो रहेछ,’ उनले भने, ‘त्यो समय न हाँस्न सकियो न रुनै ।’

 

टाकुरामा बिताएका ती २०–२५ मिनेटले जिन्दगीका सबै दुःखकष्ट भुलाएको उनले सुनाए । स्वच्छ हावाको स्पन्दन, घामको उदाउँदो लाली, भर्खरै उम्रिएका च्याउझैँ देखिने हिमालहरू यी सबैले निकै आनन्द दिएको उनको अनुभव छ । 

 

उनको हिमाल यात्राभन्दा केही दिनपहिले उनकै गाउँका दीपक महतको सगरमाथा आरोहणकै क्रममा ज्यान गयो । त्यो खबरले उनलाई पनि त्रसित बनाएको थियो । उनले भने, ‘दीपक दाइको मृत्यु र बाटोमा देखेको शवले त्रसित बनाएको थियो । तर, सफल भएँ ।’