• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रूपक अलंकार 
२०७९ मङ्सिर ३ शनिबार १०:१८:००
साहित्य

श्रमाटन : त्रासद यात्राको रोमाञ्चक प्रस्तुति 

२०७९ मङ्सिर ३ शनिबार १०:१८:००
रूपक अलंकार 

समीक्षा

 

बिएन जोशीको ‘श्रमाटन’ पुस्तक पढ्नुभन्दा केही समयअगाडि ‘युएईले दिएको खुसी’ भन्ने पुस्तक पढ्ने अवसर पाएको थिएँ । दिमागमा बेन्ज्यामिनको ‘खबुज’ले छोडेको विकराल तस्बिर पनि स्पष्ट थियो । ‘युएईले दिएको खुसी’ पढ्दा वैदेशिक रोजगारीका रमाइला पक्षको अनुभूति भयो । विदेश गएर पैसा कमाउनु सरल काम हो भन्ने लाग्यो । विदेश जानेले आफू र आफ्नो परिवारको जीवनयापनस्तरलाई माथि उठाउँछन्, देशको अर्थतन्त्रमा टेवा पुर्‍याउँदै देशको प्रतिष्ठालाई समेत उचाइमा पुर्‍याउँछन् भन्ने पुस्तकले भनेको थियो । 

 

जब सांग्रिला प्रकाशनमार्फत बजारमा आएको ‘श्रमाटन’ पढेँ मेरो मनमा वैदेशिक रोजगारीका भयानक, विकराल दृश्य नाच्न थाले । विदेशबाट आउनेले ल्याएको चकलेटले मीठो बनाएको जीब्रो तितो भयो । नाइलनको डोरीले बेरिएका सुटकेसमा दुःखका कपडा तह लगाएर ल्याएजस्तो लाग्यो । फराकिलो टेलिभिजन, क्यामेरा र मोबाइलमा अथाह पीडाका आँसु कटकटिएका छन्जस्तो लाग्यो । विमानस्थलबाट बाहिरिएका अनुहारमा सम्पत्तिको हाँसोभन्दा पनि अनकन्टार जंगलमा जिन्दगीले काटेका जहरिला कहरबाट पाएको मुक्तिको मुस्कान नाचेजस्तो लाग्यो । किनभने, ‘श्रमाटन’ वास्तविक दुःखको पुलिन्दा रहेछ । अथक संघर्षको दस्तावेज रहेछ । 

 

हामीले तीर्थाटन, धर्माटन, पर्यटनजस्ता शब्दहरू बारम्बार सुनिरहेका थियौँ । यदाकदा ती शब्दलाई व्यवहारमा उतारेका पनि छाँै । धर्माटन, तीर्र्र्र्र्थाटन र पर्यटनमा आनन्द हुन्छ । तर, श्रमाटन बाध्यकारी यात्रा हो । जीवनको आवश्यकता हो । श्रमपूर्वक सम्पत्ति सञ्चय गरी जीवनलाई गतिशील बनाउने यात्राको नाम हो श्रमाटन । त्यसकारण, यसमा संघर्षको घर्षण अत्यन्त रापिलो हुन्छ । त्यही रापलाई बिएन जोशीले श्रमाटन पुस्तकमा उतारेका छन् । 

 

विधागत हिसाबमा भन्दा ‘श्रमाटन’ आत्मसंस्मरणात्मक निबन्ध हो । लेखकले वैदेशिक रोजगारीका क्रममा भोगेका जटिल दुर्घटनालाई यस कृतिमा लिपिबद्ध गरेका छन् । तर, पुस्तक पढ्दा उपन्यासको स्वाद पाइन्छ । लेखक आफ्नो लेखनीका माध्यमले पाठकलाई निरन्तर पुस्तकमा आकर्षित गर्न सक्षम देखिन्छन् । आधुनिक समयमा पनि समयले मानिसलाई कसरी आदीमानवलाई जसरी संघर्ष गर्न बाध्य पार्छ ? जीवन जिउने इच्छाको त्यान्द्रोले मानिसलाई कतिसम्म दुःख गर्न बाध्य बनाउँछ भन्ने पीडा पुस्तकले देखाउँछ । 

 

मानिस आफ्नो सपनाको फेर समातेर देशदेशावर दौडिरहेको हुन्छ । अब त केही हुन्छ कि भन्ने आशाले विगतका तिता अनुभवलाई स्मृतिको भित्रीपत्रमा पट्याएर अगाडिको यात्रामा हिँड्न विवश हुन्छ । तर, परिस्थितिले फेरि पनि असफलताको क्रूर झापड हानिरहन्छ । पटक–पटकको असफलतालाई कुल्चेर अघि बढ्ने अथक यात्राको लामो फेहरिस्त हो श्रमाटन । 

 

प्रारम्भिक उमेरमै लेखकलाई वैदेशिक रोजगारीको आकर्षणले लोभ्यायो । त्यसपछि उनले देश छाडे । लेखकले सन् १९९५ देखि २००४ सम्म श्रमाटनका लागि विदेशको श्रमाटन गरे । यस यात्रामा उनले यति धेरै ठक्कर खाए कि जुन विवरण पढ्दा पाठकको मुटु अनवरत काँपिरहन्छ । उनले पाएका दुःख न हामीले सपनामा देखेका छौँ न विपनामा कल्पना गरेका छौँ । 

 

यो किताब पढिरहँदा समुद्रीमार्गबाट युरोप छिर्न खोज्ने अफ्रिकीहरू समुद्रमा खसेर मरेको दृश्य आँखामा आउँछ । मेक्सिकोको जंगल पार गरेर अमेरिकाको पर्खाल नाघ्ने विवश अनुहार स्मृतिमा नाच्न आउँछन् । इराकमा मरेका नेपालीका कंकालहरू उठेर दौडिन थाल्छन् । यी त थाहा भएका अभागीहरूको कुरा न हो । वैदेशिक रोजगारीमा गएर गुमनाम मृत्युवरण गर्नेहरूको वास्तविक संख्या कतै पाइन्न । मर्नका लागि वा दुःख पाउनका लागि हवाईजहाज चढेरै जानुपर्छ भन्ने छैन । जयसिंह धामीले जसरी तुइनमा झुन्डिए पनि पुग्छ, तर कारण त अन्तर्राष्ट्रिय सीमा त हो । सबैको साझा भनिएको पृथ्वीलाई राजनीतिक स्वार्थका ग्रेटवाल निर्माण गरेर भाग लगाएपछि त मानिस नै मानिसको शत्रु भएको हो । वैदेशिक रोजगारी सोचेजस्तो रमणीय छैन भन्ने कुरालाई किताबले बारम्बार जोड दिएको छ । 

 

यो पुस्तक कुनै शास्त्रीय सिद्धान्तको मर्यादामा नरहीकन लेखिएको दुःखको स्वस्थानी हो । स्थानअनुसार कुन घटनालाई प्रस्तुत गर्ने भन्ने विषयमा लेखकले स्वविवेकको उपयोग गरेका छन् । यसका प्रमुख पात्र लेखक स्वयं हुन् । आफ्ना अनुभव र अनुभूतिलाई तीव्र संवेदनाका साथ प्रस्तुत गर्न उनको लेखनी सफल भएको छ ।

 

संसारमा दुःख पाउने मानिस धेरै छन् । वैदेशिक रोजगारीमा कष्टसाधना गर्ने उनी पहिलो व्यक्ति होइनन् । तर, आफ्ना अनुभूतिलाई सटीक र प्रभावकारी शैलीमा अभिव्यक्त गर्ने प्रतिभा सबैसित हुँदैन । मिहीन ढंगले हेर्ने हो भने त त्रुटिहरू जहाँ पनि फेला पर्छन् । जस्तो एक ठाउँमा उनले मध्याह्नको साँढे तीन बजेको रहेछ भनेर लेखेका छन् । साढे तीन बजेको समय अपराह्न हो मध्याह्न होइन भन्ने कुरामा ख्याल नपुगेको मात्रै हो । यस्ता केही सामान्य समस्यालाई सामान्य नै मान्ने हो भने ‘श्रमाटन’ एकपटक मात्र होइन, पटकपटक पढ्नका लागि उपयुक्त छ । 

 

[email protected]