मेरो अघि रात घोप्टिँदो छ
खस्रो ढिँडोको माम्रोजस्तो सडकमा
चुपचाप म साइकल ठेल्दै छु
जंगलीय अस्तित्व गायब गराइएको
यस मध्यसडक खण्डमा
एउटा सुकेको पातसमेत भेट्न मुस्किल छ
बरु आँधी चलेर प्लास्टिक, बोतल, धुलो दौडिरहेछन्
दायाँ हातमा पिलपिल बत्तीसहित मोबाइल छ
सिमसिम झरीसाथ
रात चिर्दै डेरातर्फ बढिरहेछु
बाक्लो धुलो निष्क्रिय हुँदै गएको छ
र यही आकाशगंगामुनि
साँगुरो सडक पार गर्दागर्दै
उही मूल सडक आइपुगेको छु
पर एउटा प्रकाश–स्तम्भ
ठडिएको चोक देख्तै छु
त्यहाँ पुग्नुअगावै सतर्कसाथ
साइकल गिअर बदलेको छु
एउटा दुर्गन्धित सरकार
अर्थात् हराउँदो प्राचीन खोला
थाकेर मौन घिस्रिरहेछ
पसिनाभित्र दिउँसोको घाम
डुबुल्की मारिरहेझैँ भइरहेछ
मेरो अगाडि–पछाडि
अजङ्गका टिपर गुडिरहेछन्
एउटा निर्माणाधीन पुल
साम्ने देखा पर्न थालेको छ
तुरुन्तै त्रासमा छु, किन म ?
यो महानगरबीचमा
औरही खोला पनि हुन सक्छ !
२५ पुस २०७६ को टिपर त होइन, त्यो ?
०००